उपेन्द्र यादवमा रूपान्तरणको आवश्यकता छ : नवराज सुवेदी (अन्तर्वार्ता)

नवराज सुवेदी भन्छन्– ‘उपेन्द्र यादवमा रुपान्तरणको आवश्यकता छ। त्यस्तो नहुँदा पार्टी पंक्तिमा निराशा उत्पन्न हुने छाँटकाट देखिएको हो। र, त्यसले पार्टीलाई विघटनको बाटोमा लैजाने खतरा देखिन थालेको छ।’

नेपालभ्युज

उपेन्द्र यादवमा रूपान्तरणको आवश्यकता छ : नवराज सुवेदी (अन्तर्वार्ता)

उपेन्द्र यादव अध्यक्ष र पूर्व-प्रधानमन्त्री डा. बाबुराम भट्टराई संघीय परिषद् अध्यक्ष रहेको जनता समाजवादी पार्टीभित्र अहिले विभिन्न विषयमा विवाद शुरु भएको छ। त्यो विवादले पार्टी नै विभाजनउन्मुख भइरहेको चर्चा छ। सोही सन्दर्भमा पार्टीका कार्यकारिणी समिति सदस्य नवराज सुवेदीसँग नवीन झाले गरेको कुराकानीः

तपाईंहरूले नयाँ वैचारिक अवधारणासहित उपेन्द्र यादवसँग एकिकरण गरेर जनता समाजवादी पार्टी बनाउनुभयो। त्यो पनि एकपटक विभाजित भयो। फेरि पार्टीभित्र विवाद छ भन्ने सुनिन्छ, वास्तविकता के हो ?

एउटा जीवन्त पार्टीमा वैचारिक बहस र छलफल तथा परामर्श जति भयो, त्यति नै राम्रो हो। पार्टीभित्र बहसहरू ओझेलमा पर्‍यो भने चिन्ता गर्नुपर्छ। जहाँसम्म हाम्रो प्रसंग छ, हामीले एउटा फरक दृष्टिकोण र अवधारणासहित उपेन्द्रजीसँग एकीकरण गरेका हौं। पछि महन्थ ठाकुरसँग एकीकरण भएपछि जसपा, नेपाल गठन भएको हो। प्रतिनिधि सभा विघटनपछि हामीले एउटै दृष्टिकोणसहित त्यसको विरोध गर्‍यौं। तर, पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका केही एजेण्डाहरू सम्बोधन गर्नेगरी महन्थ ठाकुरसँग संवाद गर्नुभयो। मधेशबारे केही एजेन्डा कार्यान्वयन गर्न ओली तयार भएको तर्क उहाँहरूले गर्नुभयो। व्यावहारिक रूपमा त्यो ठीकै भए पनि सैद्धान्तिक रूपमा त्यो गलत थियो। हामीले गलत भन्यौं। त्यसपछि पार्टी फुट्यो।

पार्टी फुटको मार खेपेपछि अहिले पार्टीमा सैद्धान्तिक रूपमा कसरी कांग्रेस, एमालेलगायतका पुराना दलभन्दा फरक बन्ने भन्नेबारे बहस भइरहेको छ। तर त्यस अनुसार काम अगाडि बढ्न नसकेको हो कि भन्ने हाम्रो चिन्ता हो।

सबैभन्दा पहिला के बुझ्नुपर्छ भने हामी कांग्रेस, एमालेजस्तो होइन। त्यसो भए हामी के हौं भन्ने पहिचान ठीक ढंगले गर्नुपर्छ। त्यसपछि त्यो कसरी भन्ने व्यवहारको तहबाट पुष्टि गर्नुपर्छ। त्यसैले पार्टीमा विवाद भन्दा पनि बहस र छलफल पछिल्ला बैठकहरूमा घनिभुत रूपमा भएको छ।

पछिल्लो बैठकको प्रसंग ल्याइहाल्नुभयो। मंसीर पहिलो हप्ता बसेको जसपा कार्यकारिणी समितिको बैठकमा त अध्यक्ष उपेन्द्र यादवको चर्को आलोचना भएको सत्य हो नि ?

पार्टी बैठकमा केही गम्भीर विषयहरू उठेकै हुन्। र त्यो स्वाभाविक पनि हो। पछिल्ला बैठकमा सरकारमा सहभागितादेखि पार्टीका आन्तरिक विषयमा पनि कार्यकारिणी समितिका सदस्यहरूले गम्भीर रूपमा कुरा उठाउनुभएको छ। मलाई विश्वास छ, ती विषय कार्यान्वयन हुनेछन्। तर त्यसमा ढिलाई हुन थालेको आभाष हुन थालेको छ। पार्टी रुपान्तरणको सवाललाई सम्बोधन गर्न हामीले जति ढिलो गर्छौं त्यति नै समस्या थुप्रिँदै जानेछन्। अन्ततोगत्वा त्यसले हामीलाई क्षती नै पुर्‍याउनेछ।

फुटको मार खेपेपछि अहिले पार्टीमा सैद्धान्तिक रूपमा कसरी कांग्रेस, एमालेलगायतका पुराना दलभन्दा फरक बन्ने भन्नेबारे बहस भइरहेको छ। तर त्यस अनुसार काम अगाडि बढ्न नसकेको हो कि भन्ने हाम्रो चिन्ता हो।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको पूर्व नयाँ शक्ति पक्ष जसपाबाट अलग हुन थालेको भन्ने हल्ला के हो ?

हामीले पार्टी फोड्ने वा पार्टीबाट अलग हुने कुरा सोचेकै छैनौं। तर पार्टीले राजनीतिक रूपमा आफ्नो औचित्य पुष्टि गरेन भने हाम्रो महत्व रहँदैन। हामी अरूभन्दा सबै प्रकारले भिन्न हुनुपर्छ किनकी हामी सबै जनाको आ-आफ्नो लामो पृष्ठभूमी छ। पूर्वप्रधानमन्त्री भट्टराईजी पनि जनयुद्धदेखि माओवादी पार्टीको राजनीति गरेको मान्छे। त्यस्तै उपेन्द्रजीको पनि आफ्नो लामो इतिहास छ। तीन-तीनवटा मधेश आन्दोलनको नेतृत्व गरेको व्यक्तिलाई कसैले पनि अवमूल्यन गर्न मिल्दैन। त्यसैले हामी सबैजना एक ठाउँमा उभिएर नयाँ ढंगले देशमा बहिष्करणमा परेका सबै समुदायलाई अपनत्व हुनेगरी राजनीतिक दल बनाएका हौं।

हामी सबैले जनाले विगतका आ-आफ्नै गुट समातेर बस्यौं भने हाम्रो मिशन पूरा हुँदैन। र, त्यसले अन्ततोगत्वा पार्टी पंक्तिमा निराशा उत्पन्न गर्छ। त्यसले पार्टीलाई विघटनको बाटोमा लैजाने बाहेक अरू काम गर्दैन।

त्यसैले नै हामीले समयमै पार्टीमा देखिएका समस्या हल गर्नुपर्छ भनेर आवाज उठाएका छौं। यसको जिम्मा कार्यकारी अध्यक्षको काँधमा छ। मलाई पूरा विश्वास छ, उहाँले पार्टीमा उठेको आवाजलाई चाँडै सम्बोधन गरेर पार्टीलाई ठीक ट्रयाकमा ल्याउनुहुनेछ।

कुनै एउटा गुट र त्यसमा पनि खास समुदायलाई काखी च्यापेर काम गर्‍यो भने सबैको पार्टी बन्न सक्दैन।

तपाईंले यसो भनेपनि अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री भट्टराई आ-आफ्नै तरिकाले जिल्ला दौडाहामा लागेको देखिन्छ त !

मंसीरको पहिलो हप्ता बसेको पार्टी कार्यकारिणी समितिको बैठकमा सो समितिका सदस्यहरूले बडो गम्भिरतापूर्वक सबै कुरा राखेका छन्। त्यही भएर त्यसको कार्यान्वयनको विकल्प छैन जस्तो मलाई लाग्छ। जहाँसम्म दुई शीर्ष नेताहरूको जिल्ला दौडाहाको कुरा छ, त्यो स्वाभाविक नै हो भन्ने मलाई लाग्छ। शीर्ष नेताहरूको बीचमा समन्वय भए राम्रो हुन्थ्यो तर त्यो नदेखिएको साँचो हो। पार्टीमा समन्वयको खाँचो देखिएकै हो। त्यसैले पार्टीमा विभिन्न प्रश्न उठेका छन्। पार्टीको बैठकमा एउटा निर्णय हुने तर कार्यान्वयनमा अर्कै हुने भएकाले पनि समस्या देखिएको हो। जस्तो, सरकारमा सहभागिताबारे निर्णय गर्न बैठकबाट तीनजना शीर्ष नेतालाई जिम्मा दियौं। तर सरकारमा सहभागितालाई लिएर पार्टीमा व्यापक असन्तुष्टि देखियो।

सरकारमा सहभागिताको विषयलाई लिएर शुरु भएको असन्तुष्टि के पार्टी फुटसम्म पुग्न लागेको हो ? 

अहिले हामीले त्यसरी सोचेका छैनौं। तर अहिले जसरी पार्टी चलिरहेको छ, त्यसरी हामी अघि बढ्न सक्दैनौं। हामी कुरा चाहिँ संघीयता, समावेशी र विकेन्द्रीकरणको गर्ने अनि व्यवहारमा सबै कुरामा आफू केन्द्रीत हुन हुँदैन। तल्लो तहसम्म अधिकार पुर्‍याउनुपर्छ भन्ने हौं हामी तर पार्टी चलाउँदा त्यो ख्याल नगरी अगाडि बढ्यौं भने त्यो विरोधाभाष हुन्छ। त्यसैले हामीले पार्टीमा रुपान्तरणको सवाललाई उठाएका छौं, जसको कार्यान्वयन उपेन्द्र यादवजीको हातमा छ। उहाँमा रुपान्तरणको आवश्यकता छ। सक्दो चाँडो भयो भने राम्रो। त्यस्तो नहुँदा पार्टी पंक्तिमा निराशा उत्पन्न हुने छाँटकाट देखिएको हो। र, त्यसले पार्टीलाई विघटनको बाटोमा लैजाने खतरा देखिन थालेको छ।

उपेन्द्रजी मधेशबाट, अशोक राईजी जनजाती र बाबुराम भट्टराई खस-आर्यबाट भए पनि सिमान्तकृतको मुद्दामा सधैँ प्रतिबद्ध नेता हुनुहुन्छ। त्यही भएर हामीले पार्टीको नेतृत्वमा र काममा पनि तीनै नेताको सामुहिकता खोजेका छौ।

तपाईंको भनाईको आशयबाट जसपा फेरि फुट्न लागेको हो भनेर बुझ्दा हुन्छ, हैन ?

हाम्रो संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पार्टी एकीकरण गर्दा चौथो वरियतामा बस्नुभएको हो। वरियता विवादकै कारण पार्टी एकतामा समस्या देखिएपछि उहाँले त्यो स्तरको आफ्नो नैतिकता देखाउनुभएको हो। त्यही भएर हामी पार्टीमा पद र वरियताका लागि विवाद गर्ने नेता होइनौं। तर पार्टी राम्रोसँग चलाउन सामुहिक कामको आवश्यकता छ। त्यसैले हामीले सामुहिक नेतृत्व प्रणाली र अधिकारमा विकेन्द्रीकरणको कुरा गरेका हौं।

हिजो हामी सबै जनाले के गर्‍यौँ भनेर हुँदैन। उपेन्द्रजी फोरमको नेता हो भने भट्टराईजी नयाँ शक्तिको नेता। त्यस्तै, अशोक राई संघीय पार्टीको नेता हो। तर अब तिनै जना जसपा नेपालको नेता हो। आजको मितिमा जसपामा पूर्वराजपाका साथीहरू पनि ठूलो संख्यामा हुनुहुन्छ। त्यही भएर हामी सबैजना आफ्नो विगतको समूहलाई बिर्सेर वास्तविक रूपमा पार्टी बनाउनेतिर लाग्नुपर्छ। कुनै एउटा गुट र त्यसमा पनि खास समुदायलाई काखी च्यापेर काम गर्‍यो भने सबैको पार्टी बन्न सक्दैन।

अर्थात्, जसपा र खासगरी अध्यक्ष उपेन्द्र यादवमा व्यापक परिवर्तनको खाँचो देखिएको छ। तर उपेन्द्रजीले १५ वर्षमा एकपटक मात्रै पार्टी महाधिवेशन गर्नुभएको छ। कसरी र कुन आधारमा परिवर्तनको आशा गर्ने ?

तपाईंले भनेको कुरा पनि पार्टीमा उठेको छ। अहिले कांग्रेस, एमाले, माओवादी र राप्रपाले पार्टी महाधिवेशन गरेका छन्। एमाले र माओवादीले निर्देशित रूपमा पार्टी नेतृत्व चयन गरे। कांग्रेस र राप्रपामा एक हदसम्म लोकतान्त्रिक प्रक्रियालाई महत्व दिएको देखियो। तर हामी तीभन्दा फरक हौं भने अझै फरक ढंगले काम गर्नुपर्छ। उपेन्द्रजीले त्यसबारे पनि सोच्नुहुन्छ भन्ने मलाई विश्वास छ।

हामी सबै बहिष्कृत समुदायको पक्षमा छौं। पूर्वप्रधानमन्त्री भट्टराईले झन् अबको नेपालको प्रधानमन्त्री आदिवासी, जनजाती, दलित, मधेश वा महिला हुनुपर्छ भनेर सार्वजनिक रूपमा बारम्बार भन्नुभएको छ। यसका लागि हामीले काम पनि त्यही अनुसार गर्नुपर्छ। हाम्रो पार्टीको हरेक कामले मधेशदेखि हिमालसम्मको सन्तुष्टिलाई ख्याल गर्नुपर्छ। र, त्यो गर्न हामी सक्षम पनि छौं। हाम्रा तीनजना शीर्ष नेतालाई हेर्दा त्यो झल्कन्छ। उपेन्द्रजी मधेशबाट, अशोक राईजी जनजाती र बाबुराम भट्टराई खस-आर्यबाट भए पनि सिमान्तकृतको मुद्दामा सधैँ प्रतिबद्ध नेता हुनुहुन्छ। त्यही भएर हामीले पार्टीको नेतृत्वमा र काममा पनि तीनै नेताको सामुहिकता खोजेका छौ।

तपाईंहरूले उठाएको पार्टी सुधारको कुरा कार्यान्वयन भएन भने के गर्नुहुन्छ ?

पार्टी बैठकमा कुरा उठे अनुसार काम नभईरहेको साँचो हो। त्यसैले हामीलाई पनि डर लाग्न थालेको छ। तर अझै हामी पार्टी बैठकहरू नै डाकेर छलफल गर्छौं। विधान अधिवेशनदेखि संघीय परिषद्को बैठकसम्म हामी जानसक्छौं। र, यो सबैको उद्देश्य पार्टीमा रुपान्तरण नै हो। त्यो माथिल्लो तहबाटै हुनुपर्छ।

तपाईंहरूले जति आवाज उठाए पनि अध्यक्ष उपेन्द्र यादवजी मौन बस्नुभयो भने के हुन्छ ?

यो त उहाँमा निर्भर हुने विषय हो। उहाँले पार्टी राम्रोसँग सञ्चालन होस् भन्ने चाहनुभएको हो भने त्यस्तो गर्नु हुनेछैन। तर उहाँले पार्टी बैठकमा उठिरहेको विषयलाई अहिलेझैँ नजरअन्दाज गरेर अगाडि बढ्नुभयो भने पार्टीमा थप समस्या आउँछ भन्ने मलाई लाग्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved