महाधिवेशनपछिको कांग्रेसले सामना गर्नुपर्ने चुनौती

नेपाली कांग्रेसको नयाँ नेतृत्वको सबैभन्दा ठुलो चुनौती कांग्रेसको समाजवादी चरित्रको व्यवहारगत पुष्टि नै हो।

महाधिवेशनपछिको कांग्रेसले सामना गर्नुपर्ने चुनौती
दुर्गाप्रसाद गौतम

नेपालकै पाको र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको १४ ‍औं महाधिवेशन भखरै सम्पन्न भएको छ। नेतृत्व परिवर्तनको ठूलै बहस, चर्काचर्की, घम्साघम्सीबीच सम्पन्न यो महाधिवेशनले केन्द्रीय नेतृत्वमा पुरानै अनुहारलाई कायम राख्दै नयाँ अनुहारलाई सहायक नेतृत्वमा यथेस्ट स्थान दिएको छ। महाधिवेशन समापन भएसँगै कांग्रेस कसरी अगाडि बढ्छ भन्नेबारे पार्टीभित्र, शुभचिन्तक र आम जनतामा चर्चा र बहसको विषय बन्न थालेको छ।

नेतृत्व परिवर्तनका लागि १४औं महाधिवेशन शुरू हुनुभन्दा दुई वर्ष अगाडिदेखि कांग्रेसमा संस्थापन इतर पक्षका नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला र संस्थापन पक्षकै विमलेन्द्र निधिहरूले आवाज उठाइरहेका थिए। तर मूल नेतृत्व परिवर्तन हुने पक्कापक्किको नजिकै पुगेर यथावत् नै राख्नेतिर किन मोडियो भन्नेबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको छ। नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा अघिल्लो पुस्ताको भूमिका के कस्तो रहन्छ भन्ने आधारमा मूल नेतृत्व यथावत राख्ने ठहरमा यस्तो निर्णय भएको हो भन्ने विश्लेषण भइरहेको छ।

शेरबहादुर देउवाको नेतृत्वमा नै नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएकाले कांग्रेसका आगामी दिनको भुमिका र कार्यदिशा रुपान्तरण सहितको हुन्छ कि तदर्थतावादमा नै सीमित रहन्छ भन्ने चर्चा पनि नेपाली राजनीतिक वृत्तमा हुने गरेको छ। तथापी कांग्रेसको महामन्त्री जस्तो संगठन निर्माणको महत्त्वपर्ण पदमा दुई युवाहरू विश्वप्रकाश शर्मा र गगन थापाको चयनले परिपक्वताबीच कौशल र क्षमताको पहिचान नेपाली कांग्रेसका कार्यकर्ताले गरेको सन्देश दिएको छ। साथसाथै कांग्रेसलाई युग र पुस्ताको माग अनुरूपको पार्टीमा रूपान्तरण गर्ने उनीहरूले व्यक्त गरेको विचारको परीक्षण पनि शुरू भएको छ।

दोस्रो पुस्ता र चौथो पुस्तासम्मको फ्युजनबाट कांग्रेसको नेतृत्व निर्माण हुनुले एउटा मूलभुत सन्देश भने दिएको छ- अघिल्लो पुस्ता आफ्नो अगुवाइमा पार्टी रुपान्तरण भएको हेर्न चाहन्छ। आफ्ना प्रतिस्पर्धी शेखर कोइरालाले भन्दा झण्डै ८० प्रतिशत मत प्राप्त गरेकाले पार्टीको रूपान्तरण कसरी र कतिसम्म हुन्छ भन्ने सभापति देउवाको कार्यक्षमतामा निर्भर हुने सुनिश्चित गरेको छ। तथापी विजय हुन नसकेका प्रतिस्पर्धीलाई पार्टिको बाह्य संरचनामा दिने भूमिकाले उनको नीति स्पष्ट हुनेछ। त्यसो त अहिले केन्द्रीय समितिमा प्राप्त गरेको मतले पनि देउवालाई १३ औं महाधिवेशनको कार्यसमितिमा भन्दा सहज हुने सुविधा प्राप्त भएकोमा दुई मत छैन । तर यसरी अगाडि बढ्दा जनसमुदायले कांग्रेससँग गरेका अपेक्षा सम्बोधन नभएमा जनताको स्तरबाट अनुमोदन नहुनेमा कार्यसमिति चनाखो हुनुपर्नेछ ।

महाधिवेशनमा इमान्दार र सादगी छविका धनराज गुरुङलाई उपाध्यक्ष र युवाहरु माझ लोकप्रिय शर्मा र थापालाई महामन्त्रीमा निर्वाचित गरेर कांग्रेसका प्रतिनिधीहरूले कांग्रेसको रूपान्तरणमा उनीहरूको प्रत्यक्ष भूमिकाको अपेक्षा अभिव्यक्त गरेका छन्।

विगतमा पार्टीको मुल नेतृत्वमा नहुँदादेखि नै यी युवाले कांग्रेसको आन्तरिक जीवन परिवर्तनका लागि उठान गरेका मुद्दालाई आउँदा दिनमा व्यवहारमा कसरी लागू गर्छन् भन्नेले उनीहरूको र पार्टीकै राजनीतिक भविष्य निर्धारण गर्नेछ।

यो महाधिवेशनको अर्को महत्त्वपूर्ण सन्देश गुटरहित कांग्रेसको निर्माण हो। विगतमा केन्द्रीय कार्यसमितिमा नै ६० र ४० प्रतिशतको बनोट हुनेगरी पदाधिकारी र सदस्यहरू निर्वाचित भएका थिए। तर यसपाली त्यस्तो भएन। संस्थापनइतरका सभापति उम्मेदवारले ४० प्रतिशत मत पाए। महामन्त्रीमा संस्थापनइतर पक्षका उम्मेदवार भारी मतले विजयी भए। यी तथ्यांकले गुटरहित कांग्रेसको चाहना अभिव्यक्त गर्छ।

त्यसैले कांग्रेसले यी सन्देश बोध गर्दै कांग्रेसको मूल नेतृत्व जनजीविका र नेपाल राष्ट्रको पहिचान, स्वाभिमान, अखण्डता र स्वनिर्भरता निर्माणका मुद्दामा केन्द्रित भै अगाडि बढ्न जरूरी छ।

जार्गन बेचेर लोकप्रियता हासिल गर्ने समस्याबाट ग्रसित छ नेपाली समसामयिक राजनीति। नवनिर्वाचित केन्द्रीय समिति त्यो समस्याबाट मुक्त भएर आफुलाई स्पष्ट ढंगले प्रस्तुत गर्न जरूरी छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा स्थान विशेषले बन्दै आएका भुमिकालाई जनता बिच राख्दै आउँदा पनि बामपंथी पार्टीहरु नै किन जनतालाई भरोसामा लिन सफल छन् ? दलाल पूँजीवादी भइसकेका ती तथाकथित बामपन्थी दलहरू कसरी कांग्रेसलाई पुरातनवादी दक्षिणपन्थी पार्टीका रूपमा चित्रित गर्दै भ्रम सिर्जना गर्न सफल छन्?

यस्ता प्रश्नहरूको उत्तर खोज्ने चुनौती नेपाली कांग्रेसको हालै निर्वाचित नेतृत्वमा रहेको छ। गगन थापाले आफुलाई महामन्त्रीमा निर्वाचित गरियोस् भनी प्रस्तुत गरेको कार्यपत्रमा प्रस्तुत बिचार ‘सम्मुनत नेपाल र सम्मानित नेपाली’ भन्ने दृस्ठिकोणलाइ कांग्रेसले आफ्नो व्यबहारमा कति अबलम्वन गर्छ र यसको अवधारणा स्थापित गर्न उनी कति क्रियाशिल हुन्छन् भन्नेले कांग्रेसको भविष्यलाई दिशानिर्देश गर्नेछ।

नेपाली कांग्रेसको नयाँ नेतृत्वको सबैभन्दा ठुलो चुनौती कांग्रेसको समाजवादी चरित्रको व्यवहारगत पुष्टि नै हो। नवउदारवादी नीति अपनाउँदै नेपालका रूग्ण सार्वजनिक उद्योगहरू नीजिकरण गर्दा आन्तरिक तथा बाह्य आर्थिक संरचनागत स्वरुपमा पर्न गएका प्रभाव र परिणाम जनस्तरमा प्रवाह गर्न नसक्दा निर्वाचनका बेला विपक्षीले यही विषयलाई प्रहारको विन्दु बनाउने गरेका छन्।

यस्तो अवस्थाको अन्त्यका लागि पनि नेपाली कांग्रेसले तय गरेको समाजवादी बाटो के कस्तो हो? यसमा साधन तथा स्रोतहरूमाथि पहुँच र नियन्त्रण कस्तो र कसको रहने?  समतामूलक समाज निर्माणका लागि नेपाली कांग्रेसको समाजवादी आर्थिक आधार के हुने? यस्ता प्रश्नको निदानले नै नेपाली कांग्रेसको भविष्य र यसप्रतिको आकर्षण निर्धारण गर्नेछ।

– लेखक नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिका सभापति हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved