अर्को पाटो

‘मेरो पहिलो प्रेम हो- चित्रकारिता’

‘मेरो पहिलो प्रेम हो- चित्रकारिता’

तीसको दशकदेखि नै नेपाली गीत-संगीत क्षेत्रलाई चम्काउँदै आए, दीपक खरेलले। समयान्तरमा उनको परिचय नै ‘सुगम गायक’ को रुपमा बन्न पुग्यो। २०३३ सालमा रेडियो नेपालबाट स्वर परीक्षणमा उत्तीर्ण भएपछि उनले गाए- ‘तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा…।’

शम्भुजीत बाँस्कोटाको संगीतमा सजिएको यो गीत यति चम्कियो, जुन अहिले पनि सदाबहार नै छ। त्यसयता उनका हरेक गीत चर्चाको चुलीमै रहे र अधिकांश गीत सदाबहारको श्रेणीमा छन्, आजपर्यन्त। पूर्णिमाको रात पनि, तिम्रा हर प्रश्नको जवाफ, ती आँखाहरूको, प्रतीक्षा गर मेरी मायालु, बादल बनाइदेऊलगायत सयौं गीतमा स्वर सजाइसकेका खरेललाई सबैले चिन्दछन्, एक प्रखर गायक र संगीतसाधकका रुपमा।
लुकेको अर्को पाटो पनि छ उनको। त्यो हो- चित्रकारिता।

गायकको चिनारी बनाउनुअघि नै उनले रङ र ब्रस खेलाउन थालिसकेका थिए। एक हिसाबले सिर्जन-संसारमा उनको पहिलो प्रेम बस्यो, चित्रकारितामा। भन्छन्, ‘चित्रकलामा मेरो लगाव स्कुलमा अध्ययन गर्न थालेदेखि नै भएको हो। त्यही समयदेखि नै चित्रकलाप्रति रुचि र लगाव रह्यो। स्कुले जीवन र कलेजमा अध्ययन गर्दासम्म म चित्रकलातिर डोरिएको थिएँ।’

विद्यालय तहमा अध्ययन गर्दा उनले भगवान्का थुप्रै चित्र बनाए। घरमा भएका भगवान्का तस्बिरहरू हेर्दै, चित्र बनाउँदै गर्ने बानी नै प¥यो। भन्छन्, ‘सुरुमा म भगवान्का तस्बिरहरूको स्केच उतार्थेँ र त्यसमा रङ लगाउँथेँ। त्यो बेला मैले श्रीकृष्ण, गणेश, दुर्गा भवानी आदिको चित्र बनाएको थिएँ। किनभने भगवान्को चित्र बनाउनमा नै मलाई रस लाग्थ्यो र आफूले बनाएका चित्र हेर्दा आनन्द आउँथ्यो।’

आफूले सिर्जना गरेका चित्रहरू उनी बुबा-आमालाई देखाउँथे र बुबा-आमाको स्यावासी बटुल्थे। तर त्यतिबेला बनाएका चित्रहरू अहिले उनीसँग छैनन्। भन्छन्, ‘ती चित्रहरूलाई फ्रेममा राख्ने चलन थिएन त्यतिबेला।’ त्यो बेला रङको जोहो चाहिँ उनी फागु खेल्दा उपलब्ध हुने रङ बटुलेर गर्थे। त्यही रङमा पानी घोलेर पानीरङको चित्र बनाउँथे। उनी सम्झिन्छन्, ‘त्यस्ता चित्रहरू फाइन चाहिँ हुँदैनथ्यो तर अरूले भने मन पराउँथे।’

खरेल जब पाँच वर्षका थिए, त्यतिबेला भेटे ठाकुरप्रसाद मैनालीलाई। पछिल्लो समय मैनाली नेपाली चित्रकलाको हस्तीकै रुपमा चिनिए। बुबाको साथीसमेत रहेका मैनाली पटकपटक उनको घरमा आइरहन्थे। त्यो बेला मैनाली भारतको बडोदरामा कला विषय लिएर अध्ययन गरिरहेका थिए। उनलाई खरेलका बुबाले सोध्नुभयो, ‘तिम्ले के विषय लिएर पढेका हौ ?’ मैनालीले कला विषय लिएर पढेको बताए। त्यसपछि बुबाले फेरि सोध्नुभयो, ‘तिम्लाई चित्र बनाउन आउँछ त ?’ मैनालीले भने, ‘आउँछ। किन नआउनु ?’

‘त्यही बेला मैनालीले मलाई तिमी पनि चित्र बनाउन सक्छौ भनेर हौंस्याउनुभयो। र, एउटा कलम झिकेर दिनुभयो।’ खरेल सम्झिन्छन्। उनले एउटा चित्र बनाएर मैनालीलाई दिएपछि मैनालीले खुसी हुँदै ‘ल, गज्जबको बनायौ, तिम्ले चित्र बनाउन सक्छौ’ भनेर फुर्क्याएँ।

त्यो बेला खरेल महेन्द्रआश्रम विद्या मन्दिरमा ३ कक्षामा अध्ययन गर्थे। कक्षामा एउटा सेक्सन थियो, कलाको। अरू विषयमा सामान्य रुचि भए पनि ड्रइङ सेक्सनमा भने असाध्यै रुचि रह्यो र त्यो सेक्सन उनी भरिसक्य छुटाउँदैनथे। शिक्षकहरूले पनि राम्रो नम्बर दिन्थे। भन्छन्, ‘म कहिले चरा, कहिले केकेको चित्र बनाउँथेँ र घरमा ल्याएर बुबा-आमालाई देखाउँथेँ।’

विद्यालय तहको आखिरी दिनहरू अर्थात् दश कक्षामा पढ्दा उनको मित्रता बढ्यो, वीरेन्द्रप्रताप सिंहसँग। दुवै पद्मोदय हाई स्कुलका विद्यार्थी। सम्झिन्छन्, ‘सिंहजी अहिले राष्ट्रकै प्रसिद्ध कलाकार हुनुहुन्छ। स्कुल पढ्दा भने हामी दुवै कलामा उत्तिकै भिजेका थियौँ। पछि मैले कलाभन्दा अर्कै विषय लिएर उच्च अध्ययन गरेँ, सिंहजीले चाहिँ बनारसमा गई कला विषयमै उच्च अध्ययन पूरा गर्नुभयो।’

कलेजमा अध्ययन गर्दाताक कलाप्रतिको रुचि भने बेजोडकै थियो, उनको। कुनै नाङ्लो पाए भने त्यसको उल्टोपट्टि कुनै चित्र बनाइहाल्थे। नाङ्लोमा डाँफे, गुराँसको चित्र बनाउन तम्सिइहाल्थे।

उनका एक जना साथी थिए- हिमालयविक्रम खत्री। उनको पनि चित्रकलाप्रति असाध्यै रुचि थियो। ती साथीले नेपाली सेनामा सेवा दिन थाले। तर उनी घरमै आउँथे र भन्थे, ‘मैले यस्तो आर्ट बनाएँ। अहिले पनि उनीसँग मेरो भेट भइरहन्छ र कलासम्बन्धी चर्चा पनि हुन्छ हामीबीच।’

चित्रकलाको माहोलमा भिज्दै गएका खरेल पछिल्ला दिनहरूमा गायनमा चम्किँदै गए र सरकारी सेवामा आबद्धसमेत भए। अरू क्षेत्रमा बढ्दै गएको व्यस्तताका कारण चित्रकारिताप्रतिको आफ्नो लगावमा कमी आएको खरेल स्वीकार्छन्।

एउटा चित्रको भने उनी सम्झना गर्छन्, ‘एक पटक म पोखरा गएको थिएँ र पोखराको एउटा भूदृश्यलाई चित्रमा उतारेँ। त्यो चित्रलाई लामो समयसम्म फ्रेममा राखेँ। तर त्यो चित्र अस्ट्रेलियामा बस्ने छोरीले लिएर गई। मैले अर्को चाहिँ स्याङ्बोचे मोनास्ट्रीको ठूलो चित्र क्यानभासमै बनाएको थिएँ। त्यो पनि छोरीले नै लिएर गई।’

कहिलेकाहीँ विदेश भ्रमणमा जाँदा त्यो देशको प्रसिद्ध कला-संग्रहालयमा पुगिहाल्छन्, उनी। केही वर्षपूर्व फ्रान्सको विश्वप्रसिद्ध लुभ्र संग्रहालयमा जाँदा त्यहाँ उनी छिरे र त्यो संग्रहालयमा २-३ दिनसम्मै गएर विश्वविख्यात चित्रहरू नियाले।

कलाप्रतिको गहन रुचिकै कारण कहिलेकाहीँ नेपालकै कला-संग्रहालयहरूमा पनि पुग्छन् उनी। भन्छन्, ‘म कहिलेकाहीँ सिद्धार्थ आर्ट ग्यालरीमा गएर घन्टौंसम्म चित्रहरू हेर्ने गर्छु। ती चित्रहरू हेर्दा मैले पनि यस्तै बनाउन पाए कति राम्रो हुन्थ्यो भन्ने भाव पलाउँछ।’

चित्रकलामा तन्मय भई समय दिनुपर्ने खरेलको अनुभव छ। भन्छन्, ‘कुनै बिहान चित्र बनाउन बसियो भने खानपिन गर्नसमेत बिर्सिइन्छ। चित्रकारितामा निकै समय र मिहिनेतको आवश्यकता पर्छ। ठूलो धैर्य पनि चाहिन्छ।’

आफूलाई अभिव्यक्त गर्न कलाकारहरूले विभिन्न माध्यम चुनेका हुन्छन्। खरेल भने प्राकृतिक दृश्यहरूलाई नै पछ्याउन चाहन्छन्। उनलाई उत्तम नेपाली, लक्ष्मण श्रेष्ठ, किरण मानन्धरलगायतका कला मन पर्छ। भन्छन्, ‘नेपालीले आफ्नो कलामा दार्शनिक भाव पोख्नु हुन्थ्यो। भारतमा बस्नु हुने नेपाली मूलका लक्ष्मणजीका चित्रहरू करोडौंमा बिक्री हुने हैसियत राख्छ। मानन्धरजीका प्राकृतिक भूदृश्य र अमूर्त दुवै कला मन पर्छ मलाई।’

पछिल्लो समय चित्रकलाप्रति रुचि बढे पनि कुनै उल्लेखनीय काम भने गर्न नसकिरहेको खरेल बताउँछन्। भन्छन्, ‘गएको वर्ष म पोखरा गएको थिएँ। हिमालको चित्र बनाउने हेतुले मैले फोटो पनि खिचेर ल्याएको थिएँ। तर समय दिन सकिरहेको छैन। कुनै दिन चित्रहरू बनाएर एकल प्रदर्शनी गर्ने रहर भने मनभित्र गढेर बसेको चाहिँ छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved