दर्पण २०२१

राजनीतिक नेतृत्वको असफल वर्ष सन् २०२१

नैतिकताको ख्याल नगरी विचारधाराले मात्र निर्देशित शासनका परिणामहरू खतरनाक हुन्छन् भन्ने यो वर्षले देखाएको छ।

राजनीतिक नेतृत्वको असफल वर्ष सन् २०२१

एजेन्सी। सन् २०२१ मूलतः राजनीतिक नेतृत्वको अभावको वर्ष हो जसले नेतृत्वको असफलताको सामाजिक परिणामको लेखाजोखा माग गर्छ। मलाई लाग्छ, हामीमध्ये धेरै, यो वर्ष समय सुस्त भएको साक्षी बस्यौं। दुई सेकेण्ड दुई मिनेटजस्ता भए। र, यी १२ महिना  बन्द, खुला, लकडाउन, म्यान्डेटहरू,कम्फ्र्यु, सञ्चय र विनाशका एक दशकजस्ता भए।

लाखौं मानिसहरूले सबथोक गुमाएको यो वर्ष हामीले एकपटक फेरी बुझ्यौं, नेतृत्वको मुख्य कार्यभार आम जनतालाई के गर्नुपर्छ भन्नेभन्दा अझ धेरै छ। जनताप्रति कुनै मायामोह नभएको शासन कसरी तानाशाही र असफलताउन्मुख हुन्छ भन्ने विचार गर्न हामी बाध्य भयौं।

दोस्रो विश्वयुद्धको अन्त्यदेखि राजनीतिशास्त्रमा सबैभन्दा हाबी भएको विषय थियो- विचारधाराको लडाइँ। बहसको महत्वपूर्ण विषय विचारधारा हुन्थ्यो र सबथोक त्यसैबाट निर्देशित हुन्थ्यो। साम्यवाद र पूँजीवादबीच बहस थियो। र, संसारैभरी ती विचारधाराका समर्थकले हिंसा फैलाएका थिए।

पूँजीवादी सरकारहरूले आफूले सिर्जना गरेको नेतृत्वको रिक्तताको ख्याल नगरी गरिब देशका कम्युनिष्ट नेताहरूको हत्या गराए र छद्म युद्धलाई आर्थिक लगानी गरे। अर्कोतर्फ कम्युनिष्ट सरकारहरूले मानवीय क्षतीलाई पूर्णतः बेवास्ता गर्दै कहिल्यै नटुंगिने द्वन्द्व मच्चाए।

तथाकथित तेस्रो विश्व भनिएका देशबाट हामीले दुवै पक्ष उत्तिकै चरम विन्दुमा पुगेको देख्यौं। तर हाम्रो देशमा हिंसा फैलाउने हरेक पक्षले आफू सद्भावपूर्ण सहभागी भएको तर अर्को पक्ष लोभ र घृणावश सामेल भएको विश्वस्त पार्न खोजिरहे।

उनीहरूको सहभागितामा नैतिकताले भन्दा बढी विचारधाराले काम गरेको थियो। हरेक नेताले आफ्ना सिद्धान्तको गीता पाठ गर्थे।

सन् २०२१ ले हामीलाई स्पष्टसँग बताइदियो, नैतिक परिणामहरूलाई बेवास्ता गरी विचारधारा निर्देशित शासनको परिणाम खतरनाक र घातक हुन्छ। संसारैभर विभिन्न देशले संकटको समयमा विचारधारा निर्देशित शासनले कसरी काम गर्छ भन्ने साबित गर्न खोजे।

पक्कै पनि सबैभन्दा ठूलो चुनौती कोभिड-१९ हो। तेस्रो वर्षमा पुग्दै गरेको यो महामारीले अभूतपुर्व उथलपुथल र विनाश निम्त्याइरहेछ। यो सामग्री तयार पारिरहँदा विश्वभरी २८ करोड मानिसहरू संक्रमित भएका छन् भने ५४ लाखको निधन भइसकेको छ। त्यो भनेको स्लोभाकिया जस्तो देश नै समाप्त भए बराबर हो।

प्रशस्त भ्याक्सिन उपलब्ध हुँदाहुँदै पनि ओमिक्रोन भेरिएन्टका कारण फ्रान्स र संयुक्त राज्य अमेरिकामा यो महामारी शुरु भएयता सबैभन्दा धेरै संक्रमित भइरहेछन्। पटक-पटक लकडाउन र यात्रा प्रतिबन्धमा निर्भर भएका तर भ्याक्सिनको पहुँचलाई बेवास्ता गरिरहेका देशहरू यही बेला तनावमा छन्।

तर, संसारैभरका नेताहरूमा नैतिकताको अभाव कोभिड-१९ले मात्रै उजागर गरेको होइन। द्वन्द्व, आर्थिक संकट र जलवायु परिवर्तनका कारण संसारैभरी बसाइसराईं बढ्दो छ। त्यसले सिर्जना गरेको विश्वव्यापी शरणार्थी र आप्रवासी संकटले पनि यो नैतिकता अभाव दर्शाइरहेछ।

अफगानिस्तानमा तालिवानको पुनः उदयका कारण हजारौं मानिसहरू आफ्नो देश छोड्न हतारिए। अमेरिकालाई सहयोग गरेका कारण प्रतिशोध लिइने डरले व्याकुल उनीहरू बिना कुनै योजना छिमेकी देशहरू पाकिस्तान र इरान जान हतारिए। म्यानमारमा जुन्टा शासकबाट सताइएका सयौं अल्पसंख्यक बंगलादेश र थाइल्याण्ड पुगे। अर्कोतर्फ राजनीतिक अन्योल र हिंसाका कारण मध्य अमेरिकाका थुप्रै देशका मानिसहरू अमेरिका-मेक्सिको सीमातिर लाग्न बाध्य भए।

शरणको सुरक्षित मार्ग निषेध गरिएपछि भूमध्यसागर हजारौं मानिसहरूको जल समाधि बन्नपुग्यो। बेलायत र फ्रान्सलाई छुट्याउने ‘इंग्लिश च्यानल’ र बेलारुस-पोल्याण्डबीचको सीमा युरोपेली देशका सरकारहरूलाई जोखिममा रहेका मानिसको जीवनसँग खेल्ने नयाँ मोर्चा बन्नपुग्यो। चीनमा उइगुर जनता अहिले पनि विशेष निगरानीमा छन्। खाडी मुलुकहरूबाट सिर्जित र पश्चिमा हतियार उपयोग भइरहेको युद्ध येमनमा बढ्दो छ।

त्यस्तै, सन् २०२१ जलवायु संकट बढेर हाम्रो ढोका ढक्ढक्याएको वर्ष पनि हो। जर्मनी, फिलिपिन्स, अष्ट्रेलिया, इन्डोनेसिया र ब्राजिलमा बाढीले विभिन्न शहर र बजारलाई तहसनहस पार्‍यो। अचाक्ली वर्षाले संसारका विभिन्न नदीमा बाढी आयो र सयौं वर्षदेखि शान्त बगिरहेका नदीहरू आफ्ना किनारमा उर्लिए।

ध्रुवीय क्षेत्रको तापक्रम उच्च बिन्दुमा पुग्यो। यहीबेला वैज्ञानिकहरूले अन्टार्कटिकाको ‘डुम्सडे’ हिमनदी आउँदो तीन वर्षमा पग्लिएर समुद्री सतह आधा मिटर .(करीब २० इञ्च) बढ्ने चेतावनी दिए। त्यसले समुद्री किनारमा रहेका न्युयोर्क, मुम्बई र मोम्बासाजस्ता शहरमा विपत्ती निम्तयाउन सक्छ। उता, ग्लासगोमा सम्पन्न संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन पोडियममा आँसु चुहाँउँदै ओठे वक्तव्य जारी गरेर असफलतामा टुंगियो।

सन् २०२१ ले त्यसैले हामीलाई विचारधारबारे पुनर्विचार गर्न आग्रह गरिरहेछ। सरकारहरूले के भन्छन् होइन के गर्छन् भन्ने आधारमा तिनको समीक्षा गर्न बित्दै गरेको यो वर्षले आह्वान गरेको छ।

अमेरिकाको पूँजीवाद कोभिड-१९ को अर्थपूर्ण समाधान गर्न असफल भएको छ। यसले प्रशस्त भ्याक्सिन सुरक्षित राखे पनि कोभिडको जाँच र उपचार प्रभावकारी बनाउन सकेन। बरु असहयोगका कारण डाक्टर र नर्सहरू पेशा छोड्न बाध्य भए।

यही बीचमा सानो कम्युनिष्ट देश क्युवाले आफ्नै भ्याक्सिन निर्माण गर्‍यो। जनसंख्याको ८५ प्रतिशतलाई भ्याक्सिन दियो। कोभिडका कारण हुने मृत्युदरलाई शुन्य दशमलव नौमा राख्यो जबकी अमेरिकाको एक दशमलव ६ प्रतिशत पुग्यो।

आफूलाई लोकतन्त्र र समृद्धिको उदाहरणको रूपमा प्रस्तुत गर्ने क्यानडा भ्याक्सिन सञ्चय  विभेदकारी राजनीतिक गतिविधि गरेर आलोचित भयो। नयाँ भेरिएन्ट फैलाएको भनेर दक्षिण अफ्रिकी देशहरूलाई प्रतिबन्ध लगाएर उसले विभेदकारी चरित्र प्रदर्शन गयो।

युक्रेनमा युद्ध चलाउन रुस तम्सिरहेछ, जबकी आफ्नै देशमा कोभिडका कारण मृत्युदर दुई दशमलव ९ प्रतिशत पुगेको छ।

यी सबैका विपरीत न्युजिल्याण्डकी ज्याकिन्डा अडेर्नले विचारधारात्मक प्रतिस्पर्धा र अनेकौं उपमामा नअडिएर पनि शासन कस्तो हुनुपर्छ भन्ने नयाँ मानक खडा गरेकी छन्। उनले सरकार र नागरिकबीच खुला वार्ताको माध्यम स्थापित गरेर र उदाउँदा चुनौतीलाई द्रुत सम्बोधन गर्ने बन्दोबस्त बनाएकी छन्।

यी सबै विरोधाभासहरूले हामीलाई विचारधाराको कठबारबाट निस्केर जीवनयापनका सामान्य आधारमा सोच्न झक्झक्याउँछन्। सन् २०२१ ले हामीलाई अहिले राजनीतिक चिन्तन र व्यवहारमा हाबी भइरहेको ‘हामी र अरू’को भाष्यपछाडिको रित्तोपन सम्झाइदिएको छ। यो भाष्यको केन्द्रमा सहकार्य भन्दा प्रतिस्पर्धा, कट्टरपन्थी राष्ट्रवाद छ जसले आम मानिसहरूको सामुहिक हितभन्दा सीमितको हालीमुहाली सुनिश्चित गर्छ।

हालै असामयिक निधन भएकी प्राज्ञ बेल हुक्सले परिकल्पना गरेको प्रेममा आधारित राजनीति र समाजको अवधारणामा उभिएर भन्दा, सन् २०२१ मा एउटा सुक्ष्म भाइरसले ”हामीलाई सबैको हित सुनिश्चित गर्नु खोक्रो विचारधारात्मक विजय भन्दा उत्तम छ” भन्ने सम्झाइदियो। सन् २०२२ लाई उत्तम बनाउने हो भने राजनीतिक नेताहरूले यो शिक्षा ग्रहण गर्न जरुरी छ।

(‘डिजिटल डेमोक्रेसी, एनालग पोलिटिक्स’की लेखक न्याबोलाको अलजजिरामा प्रकाशित यो लेख अंग्रेजीबाट अनुवाद गरिएको हो।-सं)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved