आठौँ महाधिवेशन

समूहगत छलफलको निष्कर्ष सुनेपछि जवाफ दिँदै प्रचण्ड

बन्दसत्रमा नेताहरुको सम्पत्ति छानविनदेखि नेताका छोराछोरीलाई सामुदायिक स्कूलमा अध्ययन गराउनुपर्ने सम्मको सुझाव आएको छ।

नेपालभ्युज

समूहगत छलफलको निष्कर्ष सुनेपछि जवाफ दिँदै प्रचण्ड
फाइल तस्वीर

काठमाडौं।  नेकपा माओवादी (केन्द्र) को जारी आठौं महाधिवेशन अन्तर्गत बन्दसत्रमा उठेका प्रश्नहरुकाे अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन शुरु गरेका छन्। अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि समूहगत रुपमा उठेका प्रश्नहरुको प्रचण्डले जवाफ दिन शुरु गरेका हुन्।

बन्दसत्रमा नेताहरुको सम्पत्ति छानविनदेखि नेताका छोराछोरीलाई सामुदायिक स्कूलमा अध्ययन गराउनुपर्ने सम्मको सुझाव आएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पेश गरेको राजनीतिक प्रस्ताव उपर भएको सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रममा पार्टीका नेताहरुको यस्तो सुझाव आएको हो। अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा आफ्नो फरक मत राख्ने क्रममा पार्टीका नेता लेखनाथ न्यौपानेले पार्टी शान्ति प्रक्रियामा आएपछि भष्टचारमा लिप्त भएको आरोप लगाएका छन्। १० बुँदे फरक मतमा पार्टी अध्यक्षको प्रतिवेदनमा सात फरक मत राखेका नेता न्यौपानेले “जनप्रतिनिधि र लाभको पदमा गएका सदस्यहरुको सम्पत्ति छानविन गर्न पार्टीभित्र समिति बनाउनुपर्छ” भन्दै माग गरेका हुन्।

यस्तै अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा आफ्नो फरक मत राख्दै पार्टीका अर्का नेता राम कार्कीले पनि पार्टीले आफैभित्रको भष्ट्र प्रवित्तिलाई दुरुत्साहित गर्नुपर्ने बताएका छन्। ११ पानाको फरक मत प्रस्तुत गर्दै नेता कार्कीले अध्यक्ष प्रचण्डको प्रस्तावलाई ‘काउन्टर’ दिँएका छन्।

अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्ने क्रममा कार्कीले सोभियत संघको विघटनपछि केही कालका निम्ति एक ध्रुवीय विश्वको सम्भावना बढेको, अमेरिका एक्लिएको तथ्य केलाउँदै चीनको शक्तिले विश्वको शक्ति सन्तुलनमा नै बदलाव ल्याएको बताएका छन्।

माओवादी अध्यक्ष दाहालको प्रतिवेदनमा विश्व एक ध्रुवबाट बहुध्रुव गएको बताउँदै गर्दा कार्कीले भने “वैचारिक,सैद्धान्तिक रूपमा विश्व पूँजीवादी व्यवस्थालाई चुनौती दिने अर्को ध्रुव टड्कारो रूपमा देखा परिसकेको स्थिति नभएको” दाबी गरेका छन्।

समूहगत छलफलको निष्कर्ष सनाउने अन्तिम दिन १५ पुसमा बागमती प्रदेशको ‘ख’ को तर्फबाट सुझाव दिँदै नेता इन्द्रबहादुर थिङले नेताहरुको जीवनशैलीमाथि प्रश्न उठाए। थिङले समानस्तरका नेताहरुको जीवनशैलीमा देखिएको फरकपनका विषयमा प्रश्न उठाएका थिए। “नेताहरुको जीवनशैलीबारे नेतृत्वले जवाफ दिनुपर्छ,” उनले माग गरेका छन्।

सामूहिक छलफलको निष्कर्ष र समूहको सुझवा सुनाउने क्रममा नेताहरुले एमसीसीको विरोध गर्नेदेखि भारतलाई विस्तावादी शक्तिका रुपमा उल्लेख गर्नुपर्ने माग समेत राखेका छन्। अमेरिकालाई साम्राज्यवादी शक्तिको संज्ञा दिँदै महाधिवेशनमा आफ्नो धारणा राख्ने नेताहरुले भारतलाई विस्तावादी शक्तिका रुपमा लिनुपर्ने सुझाव दिए।

सुझाव दिने क्रममा नेताहरुले अमेरिकी सहयोग परियोजनालाई विरोध गर्नुको कारण चीनलाई खुशी पार्न त होइन? भन्ने आशंका मिश्रित प्रश्न पनि नेतृत्व समक्ष राखे।

पार्टीले नेकपा एमालेदेखि नारायणकाजी श्रेष्ठको तत्कालिन पार्टीसँग एकता गर्न हतार गरेको कुरादेखि प्रदेश नंम्बर २ मा माओवादी आन्दोलनका सहिदको शालिक फुटाउन काममा पार्टीकै नेताको संलग्नता रहेको आरोप पनि लगाए। प्रदेश २ बाट समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा १४ पुससमा सत्यनारायण भगतले पूर्वमन्त्री गिरिराजमणि पोखरेलमाथि यस्तो आरोप लगाएका थिए।

यस्तै नेताहरुले ‘प्रचण्डपथ’ विचारधारा छोड्नु पार्टीको गल्ती भएको बताउँदै ‘प्रचण्ड विचार’ अघि सार्न सुझाव पनि दिएका छन्। १२ पुसमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पार्टीको राजनीतिक प्रतिवेदन उपर सामूहिक छलफल १३ र १४ पुसमा भएको थियो। विभिन्न २५ समूह बनाई काठमाडौंका विभिन्न स्थानमा पार्टीले प्रतिवेदन उपर सामूहिक छलफल चलाएकोमा १४ र १५ पुसमा निष्कर्ष सुनाएको थियो।

निष्कर्ष सुनाउने कार्यक्रम सकिएपछि आज (शुक्रबार) अध्यक्ष प्रचण्डले त्यसको जवाफ दिने कार्यक्रम छ। त्यसपछि पार्टीको स्थायी समितिको बैठक बस्नेछ। शुक्रबार बस्ने पार्टीको स्थायी समितिको बैठकले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया शुरु गर्ने बताइएको छ।

यसअघि बिहिबार पनि पार्टीको स्थायी समितिको बैठक बसेको थियो।

विधान संशोधन गर्न गठित मस्यौदा समितिले क्लस्टरबाट नयाँ केन्द्रीय समितिमा समावेश हुने नेताको सूची बनाउन नसकेपछि बैठक त्यसै टुंगिएको थियो।

क्लस्टरबाट केन्द्रीय समितिमा रहने नेता चयन गर्न देव गुरुङको नेतृत्वमा विष्णुपुकार श्रेष्ठ, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र जनार्दन शर्मा सम्मिलित समिति बनाइएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved