व्यापार घाटाको डरलाग्दो ग्राफ, भारतसँग मात्रै पाँच खर्ब नाघ्यो

आयातमा निर्भर नेपाली अर्थतन्त्रमा वर्षौंदेखि भारतको दबदबा कायमै छ। अर्थात् नेपालले आयात व्यापारका लागि भारतको विकल्प खोज्नै सकेको छैन। पछिल्ला वर्षहरू चिनियाँ आयात बढिरहेको भए पनि भारतको तुलनामा भने निकै पछाडि रहेको छ।

व्यापार घाटाको डरलाग्दो ग्राफ, भारतसँग मात्रै पाँच खर्ब नाघ्यो

काठमाडौं। चालू आर्थिक वर्षको पहिलो चार महीनामा भएको उच्च आयातका कारण नेपालले अहिलेसम्म उच्च व्यापार घाटा ब्यहोर्नुपरेको छ। चालू आर्थिक वर्षको शुरुका पाँच महीना साउनदेखि मंसीरसम्मको तथ्यांकअनुसार नेपालले आठ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको आयात गरेको छ। उक्त अवधिमा नेपालबाट विभिन्न देशहरूमा निर्यात भएको मालबस्तु भने जम्मा एक खर्ब २ अर्ब ९२ करोड बराबर मात्रै रहेको छ।

तथ्यांकअनुसार पाँच महीनामा मात्रै नेपालले सात खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँ व्यापार घाटा ब्यहोर्नुपरेको छ। पाँच महीनामा भएको व्यापार घाटाको यो तथ्यांक अहिलेसम्मकै अधिक हो। तथ्यांकअनुसार चालू आर्थिक वर्षको समीक्षा अवधिको व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको व्यापारघाटाको तुलनामा ५० प्रतिशतभन्दा बढीले बढेकोे देखिन्छ।

गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो पाँच महीनाको अवधिमा चार खर्ब ७५ अर्ब ४४ करोड मात्रै व्यापार घाटा देखिएको थियो। सो आर्थिक वर्षको पहिलो पाँच महीनाको तथ्यांकअनुसार पाँच खर्ब २५ अर्ब ४९ करोड रुपैयाँको आयात हुँदा ५० अर्ब ५ करोडको निर्यात भएको थियो।

भारतको दबदबा कायमै
आयातमा निर्भर नेपाली अर्थतन्त्रमा वर्षौंदेखि भारतको दबदबा कायमै छ। अर्थात् नेपालले आयात व्यापारका लागि भारतको विकल्प खोज्नै सकेको छैन। पछिल्ला वर्षहरू चिनियाँ आयात बढिरहेको भए पनि भारतको तुलनामा भने निकै पछाडि रहेको छ।

चालू आर्थिक वर्षको पाँच महीनामा भएको कूल आयातको करीब ६० प्रतिशत हिस्सा भारतले ओगटेको छ। कूल आयातमा पाँच खर्ब तीन अर्ब रुपैयाँको आयात भारतबाट भएको तथ्यांक छ। सो अवधिमा नेपालले भारतसँग चार खर्ब १५ अर्ब ८८ करोड घाटा ब्यहोरेको छ। भारतबाट सबैभन्दा बढी आयात हुने विषय नयाँ होइन, अघिल्ला वर्षहरूमा पनि औसतमा ६० प्रतिशत आयात भारतबाटै भएको तथ्यांकले देखाउँछ।

पछिल्लो समय नेपाली आयात व्यापार बढिरहेको चीनबाट चालू आर्थिक वर्षको पाँच महीनाको अवधिमा १२ खर्ब २२ अर्ब १९ करोड रुपैयाँको आयात भएको छ। सो अवधिमा नेपालले चीनसँग एक खर्ब २१ अर्ब १८ करोड व्यापार घाटा ब्यहोर्नुपरेको छ।

भारतबाट भएको आयातमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थ र खाद्य सामग्रीको रहेको छ भने चीनबाट भएको आयातमा फेन्सी लत्ताकपडा र फलफूलको हिस्सा ठूलो रहेको देखिन्छ।

घाटाको बढ्दो ग्राफ
आयातमूखी नेपाली अर्थतन्त्रमा व्यापार घाटाको ग्राफ वर्षेनी उकालोे लागिरहेको छ। आर्थिक वर्ष २०६६/०६७ मा नेपालले तीन खर्ब २७ अर्ब ५१ करोड मात्रै व्यापार घाटा ब्यहोरेको थियो। त्यसपछि अर्को आर्थिक वर्ष २०६८/०७९ मा चार खर्ब ३४ अर्ब ५५ करोड व्यापार घाटा भएको थियो।

त्यसपछि आर्थिक वर्ष २०७९/०७० मा पाँच खर्ब ३६ अर्ब २३ करोड व्यापार घाटा भएकोमा आर्थिक वर्ष २०७०/०७१ मा ६ खर्ब २६ अर्ब ५० करोड घाटा भएको छ। आर्थिक वर्ष २०७१/०७२ मा सात खर्ब ९९ करोड पुगेको व्यापार घाटा २०७२/०७३ मा सात खर्ब ४ अर्ब ४५ करोड भएको थियो।

यसरी हरेक वर्ष बढिरहेको व्यापार घाटाको ग्राफ आर्थिक वर्ष २०७३/०७४ मा नौ खर्ब ११ अर्ब २६ करोड पुगेको थियो। आर्थिक वर्ष २०७४/०७५ मा ११ खर्ब ६३ अर्ब ७४ करोड भएको व्यापार घाटा अर्को आर्थिक वर्ष २०७५/०७६ मा भने १३ खर्ब २१ अर्ब ४२ करोड पुगेको थियो।

आर्थिक वर्ष २०७६/०७७ मा भने नेपालले व्यापार घाटामा केही राहत महशुस गरेको थियो। सो आर्थिक वर्षमा नेपालले ब्यहोर्नुपरेको कूल व्यापार घाटा १० खर्ब ९९ अर्ब ८ करोड रुपैयाँ मात्रै थियो। तर सो आर्थिक वर्षमा कोरोना महामारीको चपेटाका कारण व्यापार नै हुन नसकेकोले यस्तो अवस्था सृजना भएको विश्लेषकहरू बताउँछन्।

गत आर्थिक वर्ष २०७७/०७८ मा नेपालले विभिन्न देशहरूसँग भएको व्यापारमा १३ खर्ब ९८ अर्ब ७१ करोड घाटा ब्यहोरेको थियो। सो आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा २७ दशमलव २६ प्रतिशतले व्यापार घाटामा वृद्धि भएको थियो।

चालू खाता र भुक्तानीको सन्तुलनमा धक्का
नेपालले ब्यहोर्नुपरेको उच्च व्यापार घाटाका कारण समग्र अर्थतन्त्रले गम्भीर असर थेगिरहनु परेको छ। अर्थशास्त्रीहरूका अनुसार चालू आर्थिक वर्षमा देखिएको डरलाग्दो व्यापार घाटाले नेपालको चालू खाता र शोधनान्तर स्थितिमा गम्भीर असर देखिइसकेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चार महीनाको तथ्यांकअनुसार शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब रुपैयाँले घाटामा छ। गत आवको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १० अर्ब रुपैयाँले बचतमा थियो।

यस वर्षको समीक्षा अवधिमा चालु खाता २ खर्ब २३ अर्ब १९ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १९ अर्ब १ करोडले बचतमा रहेको थियो।

उच्च आयातकै कारण विदेशी मुद्रा सञ्चितिमा समेत गिरावट आएको छ। समीक्षा अवधिमा विदेशी मुद्रा सञ्चितिमा ११ प्रतिशतले गिरावट आएको छ। गत आवको सोही अवधिमा नेपालको विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा घटेर १२ खर्ब ४४ अर्ब रुपैयाँमा झरेको छ।

के हो चालू खाता र भुक्तानी सन्तुलन ?
कुनै पनि देशको अन्तर्राष्ट्रिय व्यापारको सिधा सम्बन्ध शोधनान्तर स्थिति अर्थात् भुक्तानी सन्तुलन र चालू खातासँग हुन्छ। कुनै पनि देशले जति आयात घटाएर निर्यात बढाउँछ, त्यति नै विदेशी मुद्राको सञ्चिति बढ्छ।

चालु खाताको अन्तर्राष्ट्रिय व्यापारसँग सिधा सम्बन्ध हुन्छ। चालु खातामा वस्तु तथा सेवाको आयात तथा निर्यातका तथ्यांक समावेश हुन्छन्। यसको अर्थ कुनै पनि देशभित्र आउने जम्मा विदेशी मुद्रा र बाहिरिने मुद्रा बीचको अन्तर हो। बढी भित्रिए चालु खाता बचतमा हुन्छ, बढी बाहिरिए घाटा हुने गर्छ।

विदेशी मुद्रा निर्यात, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई), रेमिट्यान्सका कारण चालू खातमा फेरबदल हुने गर्छ। चालु खाता घाटा बढ्दा विदेशी मुद्राको सञ्चितिमा दबाब पर्ने गर्छ।

शोधनान्तर स्थितिमा भने चालु पूँजीगत तथा वित्तीय गरी दुई किसिमका तथ्यांक समावेश हुन्छन्। शोधनान्तरलाई अंग्रेजीमा ब्यालेन्स अफ पेमेन्ट भनिन्छ। यसको अर्थ एक देशले अन्य देशसँग गर्ने वित्तीय लेनदनको हिसाब नै शोधनान्तर हो। यसमा एक देश र अन्य देशहरूबीच आयात निर्यातका लागि हुने वित्तीय लेनदेन समेटिन्छ।

बस्तु तथा सेवाको आयात निर्यात, वित्तीय पूँजी, वित्तीय हस्तान्तरणमा देशबाट बाहिरिने रकमको तुलनामा भित्रिने पैसा बढी भएमा शोधनान्तर बचत हुन्छ, कम भए घाटामा रहन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved