प्रचण्डमा ‘लिन प्याओ’ फोबिया : किन कोही छैन उत्तराधिकारी ?

गएको मंसीरमा सम्पन्न एमाले चितवन महाधिवेशनमा तिनै ‘डमीवाल’ ओलीलाई सांकेतिक चुनौती दिन भीम रावल उभिएका थिए। के अर्का डमीवाल प्रचण्डलाई चुनौती दिन कोही भीम रावल जाग्ला त, माओवादीमा? कोही ‘भीम रावल’ उभिए पनि नउभिए पनि प्रचण्डको ‘उत्तराधिकारी फोबिया’ त उनकै अभिव्यक्तिले देखाएको छ।

प्रचण्डमा ‘लिन प्याओ’ फोबिया : किन कोही छैन उत्तराधिकारी ?

“लिन प्याओलाई उत्तराधिकारी भनेको त त्यही माओलाई गोली हान्न हिँड्यो। उत्तराधिकारी भनिफाष्टो हुँदोरहेछ। त्यो त काल रहेछ नि। म किन भन्ने, म भन्दिनँ” यो भनाइ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हो। उनले केही समयअघिमात्र आफ्नो विद्यार्थी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका थिए।

प्रचण्डले किन यस्तो भने? उनको भनाइबाट सहजै बुझ्न सकिन्छ, प्रचण्ड नेतृत्व हस्तान्तरणप्रति सकारात्मक छैनन् वा माओवादीमा कोही लिनप्याओजस्तै धोकेबाज छन्। शंकाले लंका जलाउँछ, “साँच्ची प्रचण्डले किन यस्तो भने होलान्?”

हो, उत्तराधिकारी घोषणा गर्दा जोखिम देख्ने उनै प्रचण्ड आइतबारदेखि राजधानी काठमाडौंमा जारी माओवादी आठौं महाधिवेशनबाट पुनः अध्यक्ष दोहोरिने निश्चितप्रायः छ। जो ३२ वर्षयता अनवरत पार्टी प्रमुखमा आसन जमाएका छन्।

स्मरणीय त के भने, केपी ओलीको धुँवादार विरोध गर्ने प्रचण्डको महाधिवेशनथलोमा ओलीको जस्तै प्रचण्ड ‘डमी’ उभ्याइएका छन्। ‘आइ लभ यु केपी बा’ भन्दै ओली डमीसँग सेल्फी हान्ने ओली भक्तहरूले जसरी प्रचण्ड डमीसँग पनि प्रचण्ड भक्तहरूले सेल्फी हानेका छन्।

गएको मंसीरमा सम्पन्न एमाले चितवन महाधिवेशनमा तिनै ‘डमीवाल’ ओलीलाई सांकेतिक चुनौती दिन भीम रावल उभिएका थिए। के अर्का डमीवाल प्रचण्डलाई चुनौती दिन कोही भीम रावल जाग्ला त, माओवादीमा? कोही ‘भीम रावल’ उभिए पनि नउभिए पनि प्रचण्डको ‘उत्तराधिकारी फोबिया’ त उनकै अभिव्यक्तिले देखाएको छ। यसैले चासो चुलिएको होला, ‘प्रचण्डको उत्तराधिकारी को होला’ भनेर।

यसका स्वाभाविक कारणमध्ये पहिलो कारण हो- प्रचण्ड उमेरले उत्तरार्द्धमा छन्। र, लामो समयदेखि नै पार्टी प्रमुख छन्। दोस्रो कारण हो, कहिले कांग्रेस त कहिले एमालेको फेर समाएर पार्टी सत्तासीन त भइरहेको छ। तर, नेता मोटाउने र पार्टी दुब्लाउने क्रम पनि दिनानुदिन चलिरहेको छ।

यस्तो स्थितिमा माओवादी प्रमुखले महाधिवेशन मुखैमा किन उत्तराधिकारीबारे मुख खोले होलान्? पक्कै पनि बुझ्नेलाई कुरो गहिरो छैन होला त?

‘सक्सेसर’ सवाल

अंग्रेजी शब्द हो, सक्सेसर। अक्सफोर्डलगायत डिस्नरीहरूका अनुसार यसको अर्थ हो- कुनै व्यक्ति वा वस्तुको ठाउँमा नयाँ व्यक्ति वा वस्तुले प्रतिस्थापन गर्नु। नेपालमा सक्सेसरलाई उत्तराधिकारी भनेर बुझ्ने चलन चलेको छ। त्यही उत्तराधिकारीबारे थोरै मन्थन गरौं।

सक्सेसरबारे न मार्क्सले लेखेका छन् न लेनिनले न त माओले नै। कम्युनिष्ट आन्दोलनमा सक्सेसरबारे लिखित दस्ताबेज भेटिन्न। तर, सक्सेसर सवालले कम्युनिष्ट पार्टीमा नेतृत्व हस्तान्तरण प्रक्रियामा भने जहिल्यै जटिलता थपेको देखिन्छ। नेतृत्व हस्तान्तरणको अभ्यासमा बदनाम छ। किन बदनाम भयो भन्ने सवालमा एउटै कुरा कारण काफी छ। त्यो हो, राजाले युवराज घोषणा गरेजसरी उत्तराधिकारी घोषणा गर्ने र पछि राजा हुने।

जसको आधार कि वंशज देखिन्छ कि गुट। विभिन्न मुलुक र विभिन्न विचारधाराका पार्टीका नेतृत्व हस्तान्तरण अभ्यासमा जे भने पनि ती सक्सेसर वा ‘हेअर’ वा ‘डिसाइपल’ वा फलोअर नै छन्। नेपालमा यही सक्सेसरको नेपाली शब्द उत्तराधिकारी बनाएर गरिने व्याख्याले पनि राजाले युवराज घोषणा गरेर पछि राजा बनाएजस्तै भन्ने ठाउँमा पुग्छ।

डिक्शनरीले भनेजस्तै एउटा व्यक्तिको ठाउँमा अर्को व्यक्तिले प्रतिस्थापन गर्ने हो भन्नेमा त सबै सहमत देखिन्छन्। तर, कस्तो व्यक्ति वा समूह? गुटको कि वंशजको कि शिष्य कि? राजाले जेठा छोरा वा छोरीलाई उत्तराधिकारी गरेजस्तै हो कि कस्तो हो? छलफल भएको देखिन्न। नेपालका कम्युनिष्ट पार्टीका नेताहरूले सक्सेसरलाई यसरी बुझेको देखिन्छ–

एक, नेतृत्वको विचारमा केही नयाँ थप गरेको हुनुपर्छ। त्यसलाई विकास गर्ने हुनुपर्छ।

दुई, विचारमा विकास।

यसअनुसार त मूल नेतृत्वको कमीमा नयाँले थप्ने हो। गतिरोध छ भने थप व्याख्या गर्दै विकास गर्ने हो। जे होेस्, मूल नेतृत्वलाई थप नयाँ केही हस्तक्षेपसहित नेतृत्व प्रतिस्थापन पन गर्ने नै सक्सेसर हो।

एमाले स्थायी समिति सदस्य एवं चिन्तक घनश्याम भूसाल भन्छन्, “नेतृत्वमा नयाँ कुरा थप्ने होला। सक्सेसर भन्नु र उत्तराधिकारी भन्नेमा फरक होला। सक्सेसरले प्रतिस्थापित गर्छ। त्यसको ठाउँमा आफू जान्छ। उत्तराधिकारीले त उसले जे गराएको छ, त्यही सम्हाल्ने भयो। हेअर हो, उत्तराधिकारी भनेको। अधिकार भन्ने चिज छ, त्यो नै गलत कुरा हो। पछिल्लो दर पिँढीले दिने कुरा निरन्तरता दिने कुरा नै उत्तराधिकारी त लिएर खाने भयो।”

भूसालको यसमै थप व्याख्या पनि छ। उनको व्याख्याले भन्छ- ‘बुद्धिविवेक क्षमता वंशाणुगत सर्छ भन्ने उत्तराधिकार मान्नु भनेको आधार भनेको वंशबाट सर्छ भन्ने हो। गणतन्त्र आए पनि कम्युनिष्ट पार्टीले पनि नजिकको विश्वास गरेको मान्छे, विरासत हस्तान्तरण गरेर जान्छ भन्ने हो। सामन्तवादको अवशेष हो। यिनीहरूले यसरी होइन सामान्यतः व्यक्तिका इन्ट्रेस्ट पहिलो नेताका कमजोरीका रक्षाका लागि, उसका निजी स्वार्थका लागि जे जे गरेको हुन्छ। त्यसमा औला नउठाओस् भनेर पिँढीदर भइरहोस् भनेर हो। अर्को आए त पुनर्विचार गर्न सक्छ, उल्टिन सक्छ। कमजोरी लुकाउन र निजत्व बचाउन र जुगजुग बचाउन उत्तराधिकारीको कुरा गर्छन्।”

माओवादी केन्द्रीय सदस्य डोरप्रसाद उपाध्याय निर्मलकुमारका अनुसार सक्सेसर वैचारिक उत्तराधिकारी भनेको त जुन कार्यदिशा छ त्यसमा टेकेर विकास गर्ने क्षमता भएको मानिस हो। भन्छन्, “उही किताब पाठ पढ्न त जो आए पनि हुन्छ। कोर्स करेक्सन गर्ने हुनुपर्छ। नयाँ कोर्स विकास गर्न नयाँ सोंच र चिन्तन भएको मानिस। होइन भने त उपाध्यक्षलाई अध्यक्ष बनाएर हुने त वंशको कुराजस्तै त हो। उत्तराधिकारी भनेको व्यक्ति होइन, समूह हो। विचारको केन्द्रीकृत सामूहिक श्रृंखला हो। एउटाले अर्कोलाई दिनु भनेको होइन। त्यो त विचार श्रृंखलासँग जोडिएको हुन्छ।”

मननयोग्य के कुरा के छ भने, भन्ने बेलामा त सबै नेताले भन्छन् कि, उत्तराधिकारी योग्य हुनुपर्छ। मुख्य नेतृत्वका कमी पूरा गरेर आउने योग्य र भर्भराउँदो हुनुपर्छ। मानौं, मुख्य नेतृत्वको कमी अर्थशास्त्रमा रहेछ भने त्यो कमी पूरा गर्ने, अन्य विषयमा पनि कमजोरी पूरा गर्न सक्ने, त्यसमा थप गर्न सक्ने।

स्मरणीय त के भने, एकथरी नेता त सामन्तवादी राज्यसत्तामा सामन्तवादी संरचनाकै शब्द भन्छन्, सक्सेसरलाई। खस नेपालीमा उल्था गरिएको उत्तराधिकारी शब्द मात्र होइन कि मूल सक्सेसर शब्दमै पनि विमति जनाउँछन्, कति कम्युनिष्ट नेताले। यो त विचारमा विकास गरेर थप गरी जाने भन्ने सवाल हो भन्दै उनीहरू त सक्सेसर पनि सामन्ती कुलबाट आएको भन्छन्। त्यसैले कम्युनिष्टले भन्ने गरेको कुरा सक्सेसर शब्दले नबोक्ने तिनका तर्क छन्।

नेकपा नेता धर्मेन्द्र बाँस्तोला(कञ्चन)का अनुसार नेतृत्व निर्माण र विकासको कुरा उत्तराधिकारीले बोक्दैन बोक्दैन नै, सक्सेसर शब्दले पनि नेतृत्व हस्तान्तरण विधि बोक्दैन। बाँस्तोलाको कथन छ, “सक्सेसर शब्द नै रोयल वा सामन्त संस्कृतिसँग जोडिएकाले नेतृत्व बन्ने र बनाउने कुरालाई यसले न बोक्न सक्छ न त न्याय नै गर्छ।”

उसो भए सक्सेसर भनेर व्याख्या गरिने नेतृत्व हस्तान्तरणको प्रक्रियालाई कुन शब्दले न्याय देला? यसबारे जानकारबीच मन्थन हुँदै जाला। आश गरौँ, सक्सेसर र उत्तराधिकारीको बदलामा नेतृत्व हस्तान्तरण विधि बोक्ने कुनै नयाँ अंग्रेजी वा नेपाली शब्द चाँडै भेटिएला। आश गरौं। भर पनि परौं।

अन्तर्राष्ट्रिय अभ्यास

मार्क्सले १८४८ मा कम्युनिष्ट घोषणापत्र लेखे। कम्युनिष्ट शासन व्यवस्था भने लेनिनले वर्षपछि मात्र सोभियत संघमा लागू गरे। उनकै पालादेखि नेतृत्व हस्तान्तरणको सक्सेसरबारे छलफल भएको भनेर व्याख्या गर्न थालेको देखिन्छ।

लेनिन घाइते भएको बेला उनले केन्द्रीय समितिलाई लेखेको अन्तिम चिठीमा स्टालिनभन्दा ट्राटस्की बढी अन्तर्राष्ट्रिय छवि राम्रो भएको र स्टालिन अलि रुखा छन् (लेनिन, कलेक्टेड वर्क्स, भाग ४५, पेज ६०७९) भनेर लेखेको कुरालाई ट्राटस्कीलाई सक्सेसरको रूपमा उभ्याएको व्याख्या गरिएको छ। जुनबेला कार्यवाहक महासचिव स्टालिनले पार्टी आफ्नो कब्जामा लगभग लिइसकेका थिए। लेनिनको चिठीको आशय थियो, सोभियत चलाउने त अन्तर्राष्ट्रिय जनमत पनि चाहिन्छ। त्यो अन्तर्राष्ट्रिय सोच र जनमत स्टालिनमा कम छ। त्योभन्दा ट्राटस्की उपयुक्त हुन् भनेर उल्लेख गरे।

माओवादी जनयुद्धकालीन अंग्रेजी पत्रिका ‘द वर्कर’का सम्पादक कुमार शाह भन्छन्, “हो, लेनिनको त्यही चिठीदेखि सक्सेसर सवाल उठेको छ, व्यावहारिक हिसाबले। तर, सिद्धान्तमा कतै पनि पुष्टि गरेको छैन। किन लेनिनले ट्राटस्कीलाई छान्न खोजे? क्रान्तिकारी सोधकर्ताले खोजी गरेका छैनन्। नेतृत्वमा ट्राटस्की बेटर हुन्छन्, स्टालिनभन्दा भन्नेमात्र हो।”

राजनीतिक विश्लेषक झलक सुवेदी त्यही चिठीको व्याख्या गर्दै उत्तराधिकारीभन्दा पनि कार्यवाहक महासचिवको रूपमा स्टालिनले पार्टी चलाइरहेको बेला ‘स्टालिनको अवगुन छन, ट्राटस्कीलाई नेता बनाउन पाए हुने’ भन्ने आशयमात्र हो भन्छन्। उनले भने, “उत्तराधिकारी बनाउनेभन्दा पनि पार्टीमा कसको भूमिका बढाउन र देश कता जाला भनेर गरेको चिन्तन देखिन्छ।”

लेनिनको चिठीबारे नेकपा नेता हेमन्तप्रकाश ओलीले सुदर्शन त्यसबेलाको सन्दर्भ बुझेर मात्र अर्थ्याउन आग्रह गर्छन्। भन्छन्, “स्टालिन र लेनिनपत्नी क्रुप्सकायाबीच मनमुटाव थियो। स्टालिनले बैठकमै क्रुप्सकायालाई गाली गरेको भनेर लेनिनले चिठीमै लेखेका छन्। लेनिन त कमरेड र पत्नी क्रुप्सकायाबाट प्रभावित हुने नै भए। त्यसबेला क्रुप्सकायाको जिनेभेव र कामेनेभसँग मिलेकी थिइन्। त्यसबेला क्रुप्सकायासँग स्टालिनको टसलजस्ता कुरा र सन्दर्भ अध्ययन नगरी हुन्न।”

चीनमा माओले लिन प्याओलाई सक्सेसर घोषणा गरे (एण्ड माओ मेक्स फाइभ, माओ त्सेतुङस् लाष्ट ग्रेट ब्याटल, पेज ८०)। तर, त्यही उत्तराधिकारी भनेर दस्ताबेजहरूमा व्याख्या गरेको देखिन्न। नेपालमा कम्युनिष्टहरूले सक्सेसरको रूपमा कुरा गर्दा नकारात्मक रूपमा लिन प्याओ छुटाउँदैनन्। नेतृत्वको खुबै प्रशंसा गरी नेतृत्व हडप्न नेतृत्वलाई नै मार्ने षड्यन्त्र गरेको भनेर व्याख्या गर्छन्। माथि प्रचण्डले लिन प्याओको प्रसंग उठाएको सन्दर्भ पनि त्यही हो।

भन्दाखेरि कम्युनिष्ट पार्टीले नेतृत्व भन्नेबेला सामूहिक नेतृत्व भनेर व्याख्या गर्छन्। बहसचाहिँ व्यक्तिकेन्द्रित देखिन्छ। शाह थप्छन्, “तर आधिकारिक रूपमा कतै लेखेको भेटिन्न।”

भियतनाममा भने अंकल अर्थात् होचि मिन्हको सक्सेसरको कुरा उठेको देखिन्न। उत्तर कोरियामा पारिवारिक विरासत देखिन्छ। किम इल सुङका छोरा, नाति।

क्युबामा फिडेल क्यास्त्रोपछि उनका भाइ राहुल आए। गैर कम्युनिष्ट अर्थात् पूँजीवादी पार्टीमा उत्तराधिकारी भनेको सुनिँदैन। तर, पारिवारिक विरासत भने चर्को देखिन्छ।

भारतमा भारतीय राष्ट्रिय कांग्रेसमा नेहरू गान्धीको पारिवारिक विरासत देखिन्छ। भारतका अन्य क्षेत्रमा पनि त्यस्ता विरासत देखिन्छ। तिनीहरूमा उत्तराधिकारीभन्दा पनि पारिवारिक विरासतको रूपमा व्याख्या गरेको देखिन्छ।

नेपालमा वाम शिविरको नेपाल कम्युनिष्ट पार्टी २००६ सालमा खुल्यो (सुरेन्द्र केसी, नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास, भाग १) भने गैरवाम शिविरको नेपाली कांग्रेस पनि २००६ सालमै (राजेश गौतम, भाग १)।

तर, एउटा मननयोग्य कुरा के भने, राणा, राजा र काजी खलकीय नेतृत्वको पूर्व पञ्चहरूको पार्टी राप्रपामा राजेन्द्र लिङ्देनले नेतृत्व छलाङले नेतृत्व परिवर्तनबारे नेपाली राजनीतिमा नयाँ बहसले भने प्रवेश पाएको छ। सबैभन्दा ठूलो वाम दल एमालेले पश्चिमा पुँजीवादी दलहरूको सिको गर्दै दुई अवधि कार्यकारी पदमा रहने र उमेर हद तोकेर नेतृत्व हस्तान्तरण सहज अभ्यास थालेको छ। भलै केपी ओलीले लोकतान्त्रिक विधि मिचेका किन नहोऊन्।

नेपालमा पनि आफूलाई लोकतान्त्रिक दल दाबी गर्ने नेपाली कांग्रेस होस् या आफूलाई कम्युनिष्ट भन्ने कम्युनिष्ट पार्टी। ती दुई धारकै पार्टी नेतृत्व परम्परागत राजा शान र शैलीमा राजरत रहे। आफूलाई लोकतान्त्रिक दाबी गर्ने नेपाली कांग्रेस नेतृत्व पारिवारिक विरासतमा छ। कोइराला विरासत। मातृका, बीपी, गिरिजा, सुशील कांग्रेस सभापति भए।

स्मरणीय त के भने, बीपी, गिरिजा र सुशील त कांग्रेस सभापति पदसँगै आर्यघाट गए। लोकतान्त्रिक दल भनिने नेपाली कांग्रेसको त यस्तो हबिगत छ भने नेपालका कम्युनिष्ट पार्टीका के कुरा गर्नु। ३२ वर्षदेखि पार्टी प्रमुख रहेका प्रचण्डजस्तै मोहनविक्रम सिंह, नारायणमान बिजुक्छे रोहित, सीपी मैनाली पार्टी सत्तामा लीन छन्। यी सबै सक्सेसरप्रति सकारात्मक छैनन्। प्रचण्डले त लिन प्याओ घोषणा गरेर माओ नबन्ने घोषणासमेत सार्वजिनक कार्यक्रममै गरे।

तर, एउटा मननयोग्य कुरा के भने, राणा, राजा र काजी खलकीय नेतृत्वको पूर्व पञ्चहरूको पार्टी राप्रपामा राजेन्द्र लिङ्देनले नेतृत्व छलाङले नेतृत्व परिवर्तनबारे नेपाली राजनीतिमा नयाँ बहसले भने प्रवेश पाएको छ। सबैभन्दा ठूलो वाम दल एमालेले पश्चिमा पुँजीवादी दलहरूको सिको गर्दै दुई अवधि कार्यकारी पदमा रहने र उमेर हद तोकेर नेतृत्व हस्तान्तरण सहज अभ्यास थालेको छ। भलै केपी ओलीले लोकतान्त्रिक विधि मिचेका किन नहोऊन्।

नेतृत्व निर्माण र हस्तान्तरणकै सवालमा नेपालभित्र र बाहिर पनि राम्रो अभ्यास देखिन्न। नेता भूसालका अनुसार त लिन प्याओपछि उत्तराधिकार बदनाम भयो। भूसाल भन्छन्, “उत्तराधिकारको नाउँमा गुटको मान्छेलाई च्याप्ने र अरूलाई लखेट्ने भइरह्यो।” भूसालले नेतृत्व निर्माण ज्ञान उत्पादनसँग जोडे। त्यसपछि उनले जोडे, लेनिनले ‘के गर्ने’ भन्ने पुस्तकको चर्चा।

“कम्युनिष्ट पार्टीमा ज्ञान उत्पादन कुरा सहज र स्वाभाविक छैन। लेनिनले के गर्ने भन्ने किताबमा ज्ञान विज्ञानमा कसरी पार्टीभित्र उत्पादन हुन्छ भनेर लेखे। उनले योग्यतम् लिडर हुन्छ भन्ने व्याख्या गरे। स्टालिन सत्तामा आएपछि जनवादी केन्द्रीयतालई स्टालिनको व्याख्यापछि त्यसको सार मर्दै गयो। अब जो नेता भयो त्यो योग्य हुन थाल्यो।माथिकाले जे भन्छ, त्यो मान्ने भयो। राज्यको अभ्यास कस्तो भयो भने समाजले केही पनि गर्न परेन। किनभने राज्यले दिन्छ। राज्य भनेको के हो भने कम्युनिष्ट पार्टीले जे अह्राउँछ त्यो हो। लामो समय चल्दैगयो। राज्यले सोच्ने भएन। विचार्ने नै भएन। पार्टीमा के भयो भने व्यक्तिले धेरै चिन्ता गर्न परेन। अल्पमतले पनि सोच्न परेन। बहुमतले सोच्छ। व्यक्तिले सोच्न परेन, समितिले सोच्छ। माथिकाले सोच्छ। माथि कसले गर्छ त? महासिचवले। ज्ञान उत्पादन त यस्तो भयो कि सिंगो सोभियत मोडल त एक जनाले सोच्ने भयो। त्यसो भएपछि उसले घोषणा गर्ने उत्तराधिकारी हुने भयो। लेनिनको प्रत्येक व्याख्या उल्टिन्छ। जो योग्य त्यो नेता भन्ने यसरी उल्टिन्छ, जो नेता त्यो योग्य। अयोग्यले शासन गर्न थालेपछि, अयोग्यका गुटबन्दीका कमजोर लुकाउन र प्रशंसा बाँचिरहोस् भनेर घोषणा गर्न थाले, उत्तराधिकारी।”

वाम वा गैरवाम दुवैथरी दलमा अभ्यासमा भएको नेतृत्व निर्माण र हस्तान्तरणका सक्सेसर र पारिवारिक विरासत जे होऊन्, ती दुवै सामन्त सोच, मनोविज्ञानकै करामत हुन्।

आफ्नो नेतृत्व चुनौतीको रूपमा कुनै कमरेडलाई देख्नेबित्तिकै प्रचण्डले जोरजुलुमै गरेका छन्। अनेकअनेक जुक्ति लगाएर ढालेका छन्। अन्ततः प्रचण्डले आफ्नो चुनौती ठानेका नेताले कि माओवादी छाडेका छन् कि दुनियाँ छाडेका छन्। दुनियाँ छाड्नेमा यानप्रसाद गौतम आलोक थिए। उनी माओवादी हिरासतमै रहेको बेला शाही नेपाली सेनाले मारेको भनिन्छ। बाँकी बाबुराम भट्टराई, रामबहादुर थापा बादल, रविन्द्र श्रेष्ठहरूले माओवादी छाडे।

माओवादीमा अभ्यासः सक्सेसर सकेका प्रचण्ड

जसरी अन्तर्राष्ट्रिय रूपमा माओको उत्तराधिकारी घोषणापछि लिन प्याओको दुखान्त भयो, त्यसरी नै नेपालको माओवादीमा पनि प्रचण्डलाई चुनौती दिनेहरूका लिन प्याओकै नियति दोहोरिएको छ। आफ्नो नेतृत्व चुनौतीको रूपमा कुनै कमरेडलाई देख्नेबित्तिकै प्रचण्डले जोरजुलुमै गरेका छन्। अनेकअनेक जुक्ति लगाएर ढालेका छन्। अन्ततः प्रचण्डले आफ्नो चुनौती ठानेका नेताले कि माओवादी छाडेका छन् कि दुनियाँ छाडेका छन्। दुनियाँ छाड्नेमा यानप्रसाद गौतम आलोक थिए। उनी माओवादी हिरासतमै रहेको बेला शाही नेपाली सेनाले मारेको भनिन्छ। बाँकी बाबुराम भट्टराई, रामबहादुर थापा बादल, रविन्द्र श्रेष्ठहरूले माओवादी छाडे।

स्मरणीय त के छ भने, चुनौतीप्रति असहिष्णु प्रचण्डलाई उनका राजनीतिक गुरु मोहन वैद्य किरणले भने सहजै नेतृत्व हस्तान्तरण गरेका थिए। २०४५ सालको सेक्टर काण्ड वैद्यको नेतृत्व हस्तान्तरणको एउटा संयोग मात्र थियो।

यही कुरा भन्न अलि पछिल्तिर फर्केर हेरौँ।

मोहनविक्रम सिंह नेतृत्वको पार्टी विभाजित भयो। सिंह अल्पमतमा परे। नेकपा (मशाल) मोहन वैद्यले नेतृत्व गरे। सिंहले नेकपा (मसाल) बनाए। सिंहसँगको अन्तसंघर्षमा वैद्यलाई सघाउनेमध्ये एक थिए, पुष्पकमल दाहाल प्रचण्ड।

आफूभन्दा जान्ने र भर्भराउँदो देखेर वैद्यले प्रचण्डलाई २०४६ मा नेतृत्व हस्तान्तरण गरे। त्यसबेला प्रचण्ड ३६ वर्षका थिए। वैद्यले हस्तान्तरणको लागि सेक्टर काण्ड नै किन रोजे? वैद्यपछिका दोस्रो तेस्रो वरीयताका चन्द्रप्रकाश गजुरेल गौरव र यानप्रसाद गौतम आलोकको नेतृत्व दाबी। तिनलाई छल्न पनि वैद्यले सेक्टर काण्डपछिको समय रोजेको देखिन्छ।

“प्रचण्डले नेपालमा एउटै चिङकाङ हुन सक्तैन। चीनजस्तो विशाल देश होइन। यहाँ त धेरै बनाउनुपर्छ। बहुआधार क्षेत्र बनाउने भनेर नयाँ चिज ल्याएका थिए। जसरी सक्सेसरले नयाँ चिज थप्ने भन्ने हुन्छ नि। हो, त्यही कुरा उनले थपेका थिए,” नेकपा नेता हेमन्तप्रकाश ओली सुदर्शनले भने।

शाह सुदर्शनको कुरामा थप्छन्, “अलिअलि इच्छा पनि जाहेर गर्ने र हाँकेर जानेजस्तो नयाँ खोजेको वैद्यले भन्थे। उनको कुराले प्रचण्डमा नेतृत्व महत्वाकांक्षा जाग्यो। गौरवमा पनि। यानप्रसाद गौतम आलोकमा पनि। त्यसबेला नेतृत्व पाउन त्रिपक्षीय भिडन्त थियो। वैद्य गौरव र आलोकलाई नदिई प्रचण्डलाई दिए।”

यसरी २०४६ सालमा पार्टी प्रमुख बनेका प्रचण्ड मशाल महामन्त्रीबाट २०४८ मा नेकपा (एकता केन्द्र) को महामन्त्री भए। २०५१ मा नेकपा (माओवादी)को महामन्त्री भए। २०५२ फागुन १ गतेदेखि नेपालमा दीर्घकालीन जनयुद्ध थाल्यो, सातबुँदे बाचासहित। जो यसप्रकार छ :

१. हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी मालेमावादका शिक्षामा आधारित हुनेछ। हाम्रो देशको विशिष्ठताअनुसार गाउँबाट सहर घेर्ने रणनीतिमा आधारित जनयुद्धको रूपमा अघि बढ्ने यस प्रक्रियाको अपराजय मार्क्सवादी सैन्य सिद्धान्तका रूपमा जनयुद्धको सिद्धान्तप्रति अविचलित रहने प्रतिबद्धता

२.जनयुद्धको थालनी हाम्रो यो योजना राज्यसत्ताबाहेक सबै भ्रम हो भन्ने मान्यतामा आधारित हुनेछ। जनताको निम्ति राजनीति सत्ता कब्जामा गर्नु नै सशस्त्र संघर्षको प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावादलगायत सबै प्रकारका विचलनकारी चिन्तन र प्रवृत्तिरुद्ध निरन्तर संघर्ष गर्न पार्टी आफ्नो प्रतिबद्धता जाहेर गर्दछ।

३. हाम्रो योजना सामान्तवाद र साम्रराज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने त्यसलगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहारा अधिनायकत्वको क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सांस्कृतिक क्रान्तिहरू चलाउँदै मानवजातिकै स्वर्णिम भविष्य साम्यवाद स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ।

“एक पटक हतियार उठाएपछि त्यसलाई अन्त्यसम्म लैजाने दृढताबिना सशस्त्र संघर्ष थाल्नु सर्वहारावर्ग एवं आमजनताप्रति अपराध हुने कुरामा हामी दृढ छौ।” यो संघर्ष जनताको मनास्थितिमा आंशिक सुधार गर्ने प्रतिक्रियावादीहरूलाई दबाब दिई सामान्य सम्झौतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन। यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्नपुँजीवादी, संकीर्ण, राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवं जातिवादी भ्रमहरूबाट पूर्णरूपले मुक्त हुनेछ।

४. यो योजना सर्वहारा अन्तराष्ट्रवादको महान भावनामा आधारित रहनेछ। नेपाली क्रान्ति विश्व सर्वहारा वर्गको अभिन्न अंग हो यसले विश्वक्रान्तिको सेवा गर्ने छ। हाम्रो पार्टी यस सन्दर्भमा मालेमावादको निर्देशनमा विश्वक्रान्ति अघि बढाउन तथा नयाँ अन्तर्राष्ट्रियको निमार्णको दिशामा अघि बढिरहेको क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन रिम (जसको सदस्य हाम्रो पार्टी पनि छ)को विकासमा अझ बढी सहयोग पुर्‍याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ।

५. हाम्रो योजना नयाँ जनवादी क्रान्तिकालमा सर्वहारा वर्गको क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको सैद्धान्तिक मान्यतामा आधारित हुनेछ। अन्तरविरोधको नियमको सार्वभौमिकताअनुसार पार्टी भित्री संघर्षलाई द्वन्द्वात्मक ढंगले ग्रहण त्यसलाई सञ्चालन गर्नु पार्टीलाई त्यसरी सजीव राखी हरक्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु हृदयले जनताको सेवा गर्ने, जनतासँग घनिष्ठ सम्बन्ध कायम राख्ने जनादेशको सिद्धान्त अविचल रहने कुरामा पार्टी कटिबद्ध छ।

६. हाम्रो योजना सर्वहारा वर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यताअनुसार बन्नेछ। पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादविरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबद्ध गर्दै सशस्त्र संघर्ष सञ्चालन गरिनेछ। कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र संघर्ष श्रमजीवी जनसमुदायको मुख्यतः गरिब किसानहरूमाथि भर परेर चल्नेछ। कहिल्यै र कुनै पनि हालतमा पार्टी विदेशी एवं प्रतिक्रियावादी गुटहरूको दबाब धम्की र प्रलोभनमा पर्ने छैन।

७. जनयुद्ध आफ्नै नियमअनुसार त्यो सरल रेखामा होइन, जटिल बक्ररेखामा अघि बढनेछ। लेनिनको क्रान्ति आफैंले आफ्नो विकास क्रममा सधैँ नै असाधारण जटिल परिस्थिति श्रृजना गर्दछ भन्ने कुरालाई आत्मसात गरेर जानु जरुरी छ। जित र हार उपलब्धि र क्षतिका च्रकहरू पार गरेर नै जनयुद्ध विजयी बन्ने छ। खराब कुरालाई असल कुरामा रूपान्तरण गर्ने अन्तरविरोधको नियमलाई ठिक ढंगले पकडेर नै हामीले जनयुद्ध नेतृत्व गर्नसक्ने छौँ।

त्यसबेला माओवादी प्रभाव सीमित क्षेत्रमा थियो। त्यसमध्ये एउटा क्षेत्र थियो, रापतीका रोल्पा र रुकुम। रापती इन्चार्ज भएर रामबहादुर थापा बादल पुगे। जनयुद्ध थाल्न के के गर्नुपर्ने त्यसको तयारी र विकास गरे। उनले आफ्नो बुताले भ्याएको रोल्पा र रुकुमको सन्दर्भमा विभिन्न सिर्जनात्मक कार्यक्रम पनि ल्याए। तीमध्ये एक थियो, सिज (रुकुमको सिस्ने हिमाल र रोल्पाको जलजला पहाड) मितेरी अभियान।

जनयुद्धकालीन रोल्पा इन्चार्जसमेत रहेका शाह भन्छन्, “बादललाई गरेर आउँछु भन्ने त परेको होला। ग्रामीण वर्ग संघर्ष सिर्जना भयो। गाउँको गाउँ मुद्दा लाग्यो। एक्लै बौद्धिक रूपमा सोचेर नयाँ बाटो दिए। फ्युज र वायर सिष्टमको विकास गरे। मृग खेदेजस्तो कांग्रेसले चारी लाउने र पुलिस बथान बसेको बेला पार्टीले निर्णय नगर्दै भूमिगत हुने संस्कार बसाए। यसरी बस, छिप भनेर सिकाए। भूमिगत र खुला काम गर्न नेता कार्यकर्तामाझ वायर र फ्युज सिष्टमको विकास गरे। एकैजनाले लाष्ट सेल्टरसम्म लग्दा हत्या हुने क्रम बढेपछि फ्युज सिष्टम विकास गरे। एउटा सेल्टरबाट अर्को ठाउँमा पुगे पछि फ्युज काट्ने र फेरि अर्कोले लान्छ। वायर खुला कार्यक्रम हो। यसरी उनले वायर र फ्युजको विकास गरे। यसले धेरै कार्यकर्ता बचे। धेरै मारिएको भए त माओवादी आन्दोलन रोल्पा रुकुममा उठ्ने पनि थिएन कि?” कसरी माओवादीले सिज मितेरी अभियान चलाएको थियो भन्ने कुरा पनि थप्छन्, “एउटै जिल्लामा हुँदा घेरा हालेर सिध्याउने भयो। त्यसैले रोल्पा, रुकुम जोडेर कार्यक्रम गराउने र स्वयंसेवक दलसम्म बनाउने ढुंगा पल्टाउने, रूख ढाल्नेजस्ता भूमिगत कामका योजना बनाए। केन्द्रले सोचेभन्दा अघि नयाँ कार्यक्रम ल्याए। तर, बादलले गरेका कामको पार्टीले दस्ताबेजीकरण भने गरेको छैन। उनका नयाँ काम पनि दस्ताबेजमा लेखिएन।”

बादलले रोल्पा रुकुममा लागु गरेका फ्युज र वायर सिष्टम नै देशभर लागू भयो। उनले लालसलामको बदला सिज सलाम चलाए। सिज नामक दस्ताबेज पनि लेखे। उनले प्रचण्डले भन्दा फरक ढंगले विकास गरे।

मुद्दा लागेर भूमिगत भएका नेता कार्यकर्ता जोगाउन र परिचालन गर्न बादलले शुरु गरेको फ्युज र वायर सिष्टम देशभर त चल्यो नै, उनले सिज नामक दस्ताबेज पनि लेखे। उनले प्रचण्डले भन्दा फरक ढंगले रोल्पा रुकुममा जनयुद्धको विकास गर्दै अघि बढाए।

अभियानले उनी पार्टीभित्र नेता स्थापित भए। पार्टीभित्र बादल स्थापित भए भने बाहिर बाबुराम भटराई। प्रचण्ड आफूलाई कहीँ पनि देखेनन्।

ठीक त्यसैबेला प्रचण्डले बादललाई लखनउ बोलाए।

“स्वाट्टै लखनउमा लगे। भनियो, नेतृत्वलाई खतरा छ। स्थानीय कार्यकर्ताले नजाने भनेर प्रतिरोध त गरे। अन्तमा कार्यकर्ताले एस पनि भनेनन् नो पनि भनेनन्। प्राविधिक रूपले के मिलाउनुपर्ने हो? प्रचण्डले सबै मिलाएका थिए। कसरी के भएको थियो? यसबारे लेखराज भट्टलाई थाहा छ। बादलले ‘योजनाबद्ध रूपमा ल्याएर यसो गराएको हो’ भने। हामी फसेकाले बिहे गर्न पाउनुपर्छ भने। मेरो कमजोरी हुँदो हो तर एउटै कोठामा डेरा गराइदिने, बाहिर बस्न नपाइने भन्ने किन गरियो? भनेर बादलले प्रश्न गरे।”

मुद्दा लागेर भूमिगत भएका नेता कार्यकर्ता जोगाउन र परिचालन गर्न बादलले शुरु गरेको फ्युज र वायर सिष्टम देशभर त चल्यो नै, उनले सिज नामक दस्ताबेज पनि लेखे। उनले प्रचण्डले भन्दा फरक ढंगले रोल्पा रुकुममा जनयुद्धको विकास गर्दै अघि बढाए।

“तर बादलले गरेका सिर्जनात्मक काम दस्ताबेजमा कतै पनि उल्लेख भएन,” आफ्नो हस्ताक्षरमा रहेको बादलको सिज दस्ताबेज सम्झदै नेता हेमन्तप्रकाश ओली सुदर्शनले भने, “त्यो त उनले माथि पनि पठाए तल पनि सर्कुलेट भयो।”

सिज अभियानसँग बादल पार्टीभित्र नेताको रूपमा स्थापित हुने नै भए। पार्टीबाहिर बाबुराम भटराई एसएलसी टपर भनेर स्थापित नै थिए। भट्टराईकै कारण सहरिया पढालेखा मानिस माओवादीमा लागेका थिए। प्रचण्डले आफूलाई न पार्टीभित्र देखे न त पार्टीबाहिर।

नेतृत्व हत्याउन लागेको भनेर प्रचण्डले बादललाई ‘लिन प्याओवादी प्रवृत्ति उन्मुख’ भन्ने आरोपसहित कारबाही गरे। दस्ताबेजमा भनिएको छ, “उहाँहरूको चिन्तन र कार्यशैली लिनप्याओबादी प्रवृत्तितिर उन्मुख भएको कुरा स्पष्ट छ। जसमा मुख्यतः बादलको चिन्तन र कार्यशैली लिनप्याओवादी प्रवृत्तितिर उन्मुख भएको कुरा स्पष्ट हुन्छ (नेपाली कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरू, पेज ३९३)।”

त्यसैमाथि बादलले ‘पम्फा भुसालसँग प्रचण्डले नै सुनियोजित ढंगले एकै ठाउँमा बसालेको’ आरोप लगाएका छन्, हो, उनै भुसालसँगको यौन सम्बन्ध पनि मिसाएर बादलमाथि कारबाही भयो। जनयुद्ध सुरु भएको दुई वर्ष पुग्दैथियो

माओवादीमा नेतृत्व हस्तान्तरणबारे भएको ठूलो दुर्घटना यही थियो। चीनमा कसरी भएको थियो भन्ने कुरा माथि विस्तार भइसकेको छ। लिनप्याओले जसरी नेतृत्व हत्याउन खोजेको भनिएको छ। तर नेतृत्व हत्याउन विभिन्न षड्यन्त्र गरेको भनेर भने प्रचण्डले स्थापित गर्न सकेनन्। यसरी प्रचण्डले आफ्नो नेतृत्व चुनौती देखेको सबैभन्दा नजिकका बादललाई पन्छाए।

अर्का थिए, यानप्रसाद गौतम आलोक। उनलाई राजधानीछेवैको ललितपुर भट्टेडाँडा पुुलिसचौकी हानेर अराजकता गरेको आरोप थियो। उनले त पोष्टरमा बलिदानको भनेर प्रचण्ड र उनको समानान्तर फोटो र भनाइ राखेर पूर्वमा पोष्टर छ्याप्छ्याप्ती पारे। पृष्ठभूमिसहित कुमार शाह भन्छन्, “आफूले महासचिव पाउँदाखेरिकै प्रतिस्पर्धी सीपी गजुरेल गौरव र यानप्रसाद मिले भन्ने प्रचण्डलाई लागिरह्यो।

यानप्रसाद संगठन बनाएर आए। पूर्वको इन्चार्ज थिए। केन्द्रभन्दा फरक लिएर आए। नेतृत्वको टकराव नै थियो। मञ्चमा पनि प्रचण्डभन्दा उत्तेजित भाषण गर्थे। त्यतिबेला गाउँबाट शहर घेर्ने थियो। यानले भने शहरमा नगरी कसरी हुन्छ? चक्मा दिएर गाउँमा जोड दिने भनेर दुस्साहससिक खाले काम गरे। भट्टेडाँडा पुलिसचौकी हाने। त्यसअघि नै नेतृत्व स्थापित गराएर मात्र आन्दोलन अघि जान्छ भनेर प्रचण्डको फोटो र कोटेसन राख्ने सर्कुलर भइसकेको थियो। ‘बलिदान क्रान्तिको ऊर्जा हो- कमरेड आलोक’ भनेर प्रचण्डकै समककक्षीको रूपमा पूर्व क्षेत्रमा पोष्टर टाँसे।”

बादल र पम्फा भुसालको यौन काण्ड पनि मिसाएजसरी प्रचण्डले आलोकालाई पनि आलोककी साली एवं माओवादी नेता रुकु चौलागाईंसँगको यौनसम्बन्ध जोडेर कारबाहीमा परे। माओवादीको बन्दी अवस्थामा रहेकै बेला शाही नेपाली सेनाले आलोकलाई मारेको भनिन्छ।

माओवादीमा नेतृत्व हस्तान्तरणबारे भएको ठूलो दुर्घटना यही थियो। चीनमा कसरी भएको थियो भन्ने कुरा माथि विस्तार भइसकेको छ। लिनप्याओले जसरी नेतृत्व हत्याउन खोजेको भनिएको छ। तर नेतृत्व हत्याउन विभिन्न षड्यन्त्र गरेको भनेर भने प्रचण्डले स्थापित गर्न सकेनन्। यसरी प्रचण्डले आफ्नो नेतृत्व चुनौती देखेको सबैभन्दा नजिकका बादललाई पन्छाए।

अर्का थिए, रवीन्द्र श्रेष्ठ। टाठा श्रेष्ठ। उनले सक्सेसर घोषणा गरेर जाने कुरा पनि उठाए। युवाहरूमा सबैभन्दा चनाखा पनि थिए।

रुकुम चुनबाङ बैठकको बेला श्रेष्ठसँगको गरेको कुराकानी शाह सम्झन्छन्, “भोेलि नै मरिहाले पनि मानिसले सुनिश्चतता खोज्छ के। कसरी पत्याउने? गाह्रो भयो। उनले भने कि, प्रचण्ड घुमेरै आउने एमाले नै हो। म सीधै एमाले हुन्छु भनें। मैले भनेँ, निस्केर उतै जाने हो भने किन एक्लै जाने? प्रचण्ड पनि जाँदैछन्, सँगै जाम्। …त्यसपछि युवाहरूले आफूआफू धुरी बनाउन लागे। मागे हुने रहेछ र घोषणा हुने रहेछ भनेर सकारात्मक रूपले लिए। समीक्षा भएन।”

श्रेष्ठले भनेजस्तै प्रचण्ड पनि केपी ओलीको नेतृत्व स्विकारेर एमाले भए। श्रेष्ठ भने त्यसअघि एमाले भए। मन्त्री पनि भए। एमाले भएका प्रचण्ड बादल लगायतलाई एमालेमै छाडेर फर्के।

अर्का त थिए, बाबुराम भट्टराई। उनले माओवादीमा लोकतान्त्रीकरणको कुरा कुरा शुरुदेखि अन्तसम्म नै उठाए।

संसदीय दलसँग मिलेर लोकतन्त्रलाई बनाउने भन्ने उनले भनेजसरी भयो।

भारतमा मोहन वैद्यलगायत नेता समातिए। त्यही ताका यता प्रचण्डसंग वैचारिक मतभेद भएपछि भट्टराई रुकुम लाबाङ बैठकबाट कारबाहीमा परे। माओवादीको थुनामा परे। जसको नीति उसको नेतृत्व भन्ने जुनको कुरा थियो, प्रचण्डले कहिल्यै हस्तान्तरण नगर्ने देखेपछि उनले माओवादी नै छाडे। एकथरी माओवादी नेता नेतृत्व हस्तान्तरण गर्न प्रचण्ड असहिष्णु नभएको भए बाबुराम भट्टराई माओवादी छाड्ने थिएनन्। उनीहरूको भनाइ छ, आफूले बनाएको नीति बोकेर पार्टी प्रमुख भइरहने र आफू भने हेरेको हेर्यै भएपछि माओवादी छाडेका भन्छन्।

माओवादी नेता उपाध्याय भन्छन्, “वैचारिक राजनीतिक हिसाबले प्रचण्डका प्रतिस्पर्धी बाबुराम हुन्। बाबुरामले आफ्नो भिजन कार्यान्वयन गर्ने हो। २१ सदीको पास गर्ने, नेतृत्व पास गर्ने, उत्तराधिकारको कुरा गर्ने अनि छाडिदिनुपर्ने नि भन्ने भयो। बाबुरामको आफ्नै योजना विचार योजना कार्यान्वयन गर्न उत्तराधिकारी सुहाउँथ्यो। उनलाई नेतृत्व दिएको भए पार्टी अर्को ठाउँमा जान्थ्यो होला।”

बादल अहिले एमालेमा छन्। बाबुरामले छाडे। वैद्यले छाडे। कुल मिलाएर प्रचण्डले आफ्ना नेतृत्व चुनौती जति सके।

यसले दुई कुरा देखाउँछ–

एक, माओवादी नेतृत्वले नेतृत्व विकासको संस्कृति बसालेन। लेखक डा.अमर गिरी भन्छन्, “नेतृत्व बन्छ मात्र होइन, बनाइन्छ पनि हो। पार्टीले नयाँ नेनृत्व निर्माण गर्न के के काम गरेको छ? सबै मुख्य नेताले गरेको छैनन्। पार्टीले नै योजनाबद्ध ढंगले सिष्टमको विकास गर्नुपर्छ। हामीले पार्टीलाई लोकतान्त्रीकरणको कुरा गर्न नै सकेनौं।”

दुई, प्रचण्डले शिष्यमात्र उत्पादन गर्न लागे। त्यस्तो संस्कृति बसाले। त्यसरी बनाउँदा उनले चुनौती दिन नसक्ने बनाउने भए। गिरीका अनुसार एउटै नेतृत्वमा सधैं बसिरहने बनाउन त फलोअर नै उत्पादन गर्नुपर्छ। नत्र त मुख्य नेता बन्न सकिन्न नि। चुनौती दिने नेता किन उत्पादन गर्ने? चुनौती नदिने एसमेन उत्पादन गर्ने हो।”

तीन, सामन्तवादी चिन्तनवाल गुरुकूलीय स्कुल चलाए। मभन्दा जान्ने देखिन थालेपछि त्यसलाई चुनौती सम्झेर हुत्याइहाले। कारबाही गरी सिध्याए।

सबैभन्दा नजिकको मित्र भनिएका बादलप्रति प्रचण्ड सबैभन्दा निर्मम देखिन्छन्। उनले अरूलाई कारबाही गरे पनि पहिलेकै पदमा पुनर्बहाली गरे भने बादल फेरि पार्टी सदस्य लिँदै सेल कमिटी सदस्य हुँदै उक्ले।

दुई, प्रचण्डले शिष्यमात्र उत्पादन गर्न लागे। त्यस्तो संस्कृति बसाले। त्यसरी बनाउँदा उनले चुनौती दिन नसक्ने बनाउने भए। गिरीका अनुसार एउटै नेतृत्वमा सधैं बसिरहने बनाउन त फलोअर नै उत्पादन गर्नुपर्छ। नत्र त मुख्य नेता बन्न सकिन्न नि। चुनौती दिने नेता किन उत्पादन गर्ने? चुनौती नदिने एसमेन उत्पादन गर्ने हो।”

को हो प्रचण्डको सक्सेसर

माओवादी पार्टीको अध्यक्षपछिको कार्यकारी पद महासचिव हो। त्यसैले जो महासचिव हो, ऊ नै प्रचण्डको सक्सेसर भनेर हेर्न थालिएको छ। त्यसैले अब बन्ने महासचिव को होला भनेर चासो देखिएको हो।

महासचिव भएपछि अध्यक्षमा स्वाभाविक दाबी सुहाउने देखिन्छ। यद्यपि एमाले, माओवादीजस्ता पार्टीमा प्रचण्ड र ओली नै हाबी हुँदा तिनकै तजबिज महत्वपूर्ण हुने देखिन्छ।

माओवादी नेता लेखनाथ न्यौपाने भन्छन्, “हाम्रो पार्टी अध्यक्ष स्वयंले म अभिभावकीय भूमिकामा बस्छु भनेर प्रस्ताव गर्नुभयो र एउटा विधि निश्चित गरेर त्यो विधिमार्फत् जो आउँछ त्यसलाई सबैले नेतृत्व मानेर जानुपर्छ भनेर उहाँले पहल गर्नुपर्छ। यस्तै भयो भने यो सम्मेलन पछाडिको अर्को महाधिवेशनसम्म नेतृत्व हस्तान्तरणको प्रक्रियाले मूर्त रूप लिनसक्छ। उहाँले त्यो प्रक्रियाको प्रस्ताव गर्नुभएन, नेतृत्व गर्नुभएन र पहलकदमी लिनुभएन भने अरूले गरेर यो विषयवस्तु सहजतापूर्वक टुंगोमा पुग्छ र पुस्तान्तरण हुन्छ भन्ने म ठान्दिनँ”

ओलीले एमाले र माओवादी एक हुँदा विष्णु पौडेल महासचिव थिए। तर, गएको महाधिवेशनमा न अध्यक्षको दाबी गरे न त पुनः महामहाचिव नै भए। एमालेमा देखिएको नजिरलाई मलजल गर्छन्, जनार्दन शर्मा। महासचिव हुँदैमा सक्सेसरको रूपमा हेर्ने कुराप्रति विमति जनाउँछन्, “पदाधिकारी र स्थायी कमिटीबाटै उत्तराधिकारी निर्माण हुन्छ। महासचिव त तेस्रो वरीयतामा पर्छ। अध्यक्षात्मक प्रणालीमा अध्यक्ष र उपाध्यक्ष हुन्छ, त्यसपछि महासचिव हुन्छ।”

महासचिव भइसकेका माओवादीमा दुई जना छन्। एकजना पार्टी प्रमुख महासचिव भएका र अर्का अध्यक्षपछिको शक्तिशाली महासचिव भएका। कुनै बेला नेकपा एकता केन्द्र र एकताकेन्द मसालका महाचिव नै भएका नारायणकाजी श्रेष्ठ हुन्। श्रेष्ठ एकीकृत माओवादीमा मोहन वैद्य किरण, बाबुराम भट्टराई लालध्वजपछिका तेस्रो वरीयताका उपाध्यक्ष थिए। अर्का पूर्वमहासचिव हुन्, कृष्णबहादुर महरा हुन्। जो प्रचण्ड अध्यक्ष हुँदाका महासचिव।

महराको महासचिवमा कमब्याक होला त? यसका दुई कारण सुनाउँछन्।

एक, एकथरी भन्छन्, प्रचण्डले महरालाई पार्टी प्रवक्ता बनाएकै महासचिव बनाउने रिहर्सल हो। संसद् सचिवालयकी कर्मचारीसँगको यौनसम्बन्धका कारण सभामुख पद गुमाउँदै जेल पुगेका महरालाई अदालतले सफाइ दिएपछि राजनीतिमा फर्कन चाहन्छन्। प्रचण्डले कमब्याकको वातावरण बनाइदिएको तर्क गर्ने पनि छन्।

दुई, महासचिवका दुई प्रबल दाबेदार वर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकरलाई लडाएर तेस्रो व्यक्तिको रूपमा आफू महासचिव हुने दाउमा छन्, महरा। पुन र शर्माले एकअर्कालाई नस्विकार्ने र तेस्रो व्यक्तिको रूपमा महरा महासचिव हुन सक्ने एकथरी माओवादी नेताका आकलन छ।

अदालतबाट सफाइ पाएपछि प्रवक्ता पाएर तंग्रिँदै गरेका महरा महासचिव भएर पूर्ण रूपमा स्वस्थ हुन चाहन्छन्।

त्यसैगरी, कुनै बेला संयुक्त जनमोर्चा नेपालकी अध्यक्ष भइसकेकी पम्फा भुसालको पनि महासचिवमा पदमा दाबी छ। उनी भन्छिन्, “दाबीभन्दा पनि एउटा आवश्यकता, एउटा संयोग पनि हो, नेतृत्व विकासमा। जुन आन्दोलनबाट हामी यहाँसम्म पुगेका छौं। धेरै सम्भाव्य मानिसहरू हामी छौं। म पनि त्यो भित्रको एक जना हो। हाम्रो आन्दोलनको निरन्तरता, सक्रियता, क्रियाशीलता र त्यसबाट हासिल गरेको ज्ञान क्षमता अनुभवका आधारमा मैले भन्न सक्छु। यसबारे नेतृत्वको टिमसँग छलफल गर्छु र अध्यक्षलाई पनि भन्छु।”

बादलसँगै प्रचण्ड माओवादीसँग एकता गरेकी पम्फाप्रति मूलधारे माओवादीको नजरमा महासचिव पद निर्भर देखिन्छ। लिंगीय समानताको मुद्दा उठाउने माओवादीले कार्यान्वयनमा जहिल्यै पुरुषवादी साबित भएको छ। अहिले बजारमा रहेका तीन मूलधारे राजनीतिक दल कांग्रेस, एमाले र माओवादीमा माओवादी मात्र हो, पदाधिकारीमा महिलालाई सामेल नगराएको। माओवादीमा सबैभन्दा माथिल्लो पदमा पुगेकी उनै पम्फा स्थायी समिति सदस्य छिन्। माओवादी नेतृत्व कार्यान्वयनमा महिलामैत्री नदेखिएकाले पम्फालाई महासचिव देलान् भन्ने सम्भावना सायदै देखेका छन्, माओवादी नेताहरूले।

अर्थ तथा योजना विभाग प्रमुख र केन्द्रीय कार्यालय इन्चार्जको जिम्मेवारी पाएका वर्षमान पुन अनन्त अर्का महासचिव दाबेदार हुन्। माओवादी सचिव भइसकेका पुन महाधिवेशनको बेला भने चीनमा उपचाररत छन्। पार्टी संगठनमा पकडको हिसाबले पुन सबैभन्दा बलिया मानिन्छन्। देशैभरको संगठनमा पुन प्रभाव छ। रोल्पाबाट माओवादी बीउ छर्न पुन दम्पती नै नेपालको पूर्वी भाग र काठमाडौं वरपर पुगेका थिए। चुनावमा पनि उनी ललितपुर र मोरङबाट उठे। भलै २०७० को चुनावमा मोरङबाट हारे। चल्तीको भाषामा पार्टी गुटमा उनकै गुट सबैभन्दा बलियो मानिन्छ।

पुनकै छिमेकी जिल्ला रुकुम पश्चिमका जनार्दन शर्मा पनि महासचिव दाबेदार छन्। जो अहिले माओवादी संगठन विभाग सम्हालेका छन्। उनले भनेका छन्, “अहिले संगठन विभाग प्रमुख भएकाले अर्को कार्यकारी भूमिका पाए हुन्थ्यो भन्ने मेरो चाहना छ।”

रोल्पा र रुकुमको माओवादीमा मनोवैज्ञानिक युद्ध पुरानै हो। एकले अर्काको अस्तित्व नस्विकार्ने उनीहरूको द्वन्द्व धेरै पुरानो हो। जसरी प्रचण्डले वैद्य, बादल र बाबुराम सकाएर माओवादीमा एकलौटी राज गरिरहेका छन्, त्यसरी नै रुकुममा लोकेन्द्र विष्टमगर र हेमन्तप्रकाश ओली सुदर्शनलाई सकाएर शर्मा रुकुममा राजरत छन्। केन्द्रमा कसो गर्छन्? हेर्न बाँकी छ।

दाबेदारमध्ये महरा, भुसाल, शर्मा र पुनमध्ये जिम्मेवारीका हिसाबले महरा महासचिव, पुन सचिव भइसकेका छन् भने शर्मा र भुसाल स्थायी समिति सदस्य। दाबेदार तीनै जना माओवादी आधार क्षेत्र रोल्पा र रुकुमका हुन्। महरा र पुन रोल्पाका हुन् भने शर्मा रुकुमका।

एकथरी माओवादी नेता भने अहिले बजारमा सुनिएका नामभन्दा बेग्लै नाउँ पनि महासचिव हुने आकलन पनि गर्छन्। यसको कारण हो, त्यो पद पनि प्रचण्डकै खल्तीबाट निक्लने हो। प्रचण्ड सुमेरु घुम्नेमध्ये कुनचाहिँले बाजी मार्छ? यसै भन्न मुस्किल छ। माओवादी नेताहरूका अनुसार प्रचण्डले महाधिवेशन हलमा गोजीबाट फुट्ट झिकेर नाम पढ्न लगाउने छन्। हलले ताली बजाउने छ। सकियो। जसरी एमाले महाधिवेशन चितवनमा केपी ओलीले शंकर पोखरेलको नाउँ झिकेका थिए। र, ताली बजाएका थिए। यसरी आउने उत्तराधिकारी नै हुन्, नेता घनश्याम भुसालले भनेजस्तै नेतृत्वका गल्ती जति छोप्ने, रफ्फु भर्ने।

एमालेमा शंकर पोखरेलले बाजी मारेजस्तै माओवादीमा कसले बाजी मार्छ? भन्न गाह्रो छ। एकथरी त यसो पनि भन्छन्, हलमा गाह्रो भएछ भने प्रचण्डले अध्यक्ष मात्र चुनेर बाँकी पछि गर्ने पनि हुन सक्छ। जसको झल्को माओवादी भातृ संगठनका महाधिवेशनहरूमा देखिएको छ।

उत्तराधिकारीबारे नकारात्मक र असहिष्णु छन्, प्रचण्ड। उत्तराधिकारी घोषणा गरेर माओ बन्न नचाहने प्रचण्ड। प्रचण्डले त्यसो भन्नुका तीन कारण दिन्छन्, माओवादी नेता डोरप्रसाद उपाध्याय निर्मलकुमार।

तीमध्ये एक हो, माओवादीमा मौलाएको गुटीय प्रतिस्पर्धालाई निष्तेज पार्न। गुट र तिनका बीचमा अस्वस्थ संघर्ष देखेर पनि समाधान खोज्न पनि उत्तराधिकारीको कुरा उठाएको उनको तर्क छ।

दुई, अध्यक्ष प्रचण्डको उमेरसँग पनि जोडिएको छ। उमेरको पनि उत्तरार्द्धमा छन्। उनले भने, “उत्तरार्द्धमा रहेका अध्यक्ष प्रचण्डको आफ्नो सुखद् बहिर्गमन होस् भन्ने चाह पनि होला।”

उनका अनुसार माओवादीको राजनीतिक कार्यदिशा एक्काइसौँ शताब्दीको जनवादमा उत्तराधिकारीको कुरा पनि छ। उनले थपे, “२१ सदीको जनवादमा पारेका छौं नेतृत्व आलोपालो पनि। नेतृत्व र उत्तराधिकारको कुरा रोल्पाको दुम्ला बैठकमा गरेका छौं।”

पार्टीमा त्यसरी उत्तराधिकारीको रूपमा भर्भराउँदो नयाँ नेतृत्व आएको देखिन्न। निर्मलकुमारको थप कथन छ, “चुनबाङ दस्ताबेजमा उत्तराधिकारको कुरा छ। त्यो कार्यावन्य गर्ने देखिन्न। पास गरेको १५-२० वर्ष भएकाले पनि अहिलेसम्म उत्तराधिकार विकास भएको छैन।”

तीन, राम्रो मानिस आए विश्राम लिने मनसुवा पनि होला। सहजै छाड्दा पदलोलुप, पावर हंगरको ट्याग पनि लाग्दैन नि।

माओवादीमा सक्सेसर छैन?

एकथरी माओवादीका अनुसार प्रचण्ड पनि सभापति पदसँगै आर्यघाट पुगेका कोइराला बन्धुहरूका पदचाप पछ्याउँदैछन्। माओहरूले खनेको बाटो पनि पार्टी सत्ताको प्रमुखमा सास नरोकिदासम्म बस्ने हो। माओवादी नेता पम्फा भुसाल भन्छिन्, “अध्यक्षको भन्दा नयाँ विचार, कार्ययोजना कसैले ल्याउँछ भनेमात्र अर्को आउँछ। त्यो सम्भव छैन। नेतृत्व विकासमा आवश्यकता र संयोग हो।”

भुसालकै भनाइमा ‘हो’मा ‘हो’ मिलाउँछन्, अर्का नेता हरिबोल गजुरेल, “अहिलेको मुख्य कुरा के हो भने अध्यक्षमा प्रचण्ड कमरेडको विकल्प नै छैन। यो कम्युनिस्ट आन्दोलनको समस्या हो, नेपालको मात्र होइन। विश्वभर नै कम्युनिस्ट आन्दोलनमा किन उत्तराधिकारीहरू तयार हुँदैनन्? यसबारे हामीले गम्भीर चिन्तन मनन गर्न जरुरी छ। कम्युनिस्ट आन्दोलनमा एकसे एक उत्तराधिकारीहरू तयार हुनुपर्ने हो खासमा। तर, किन हुँदैनन? के कारणले भएका छैनन्? भन्ने प्रश्न छ।”

गजुरेलका अनुसार त ‘विचारको कुरा हुँदा उत्तराधिकारी जन्मने हो’। उनी यसैमा थप्छन्, “अध्यक्षज्यूसँग मेरो अस्ति कुरा भएको थियो। विचारको विकास किन उत्तराधिकारी तयार भएन त? अहिले प्रचण्डपछि कोभन्दा मान्छेले भन्नै सक्दैनन्। किन भयो यस्तो? यदि विचारको बहसमा छलफल भएको भए, वैचारिक राजनीतिको तिक्ष्णता, के छ भन्ने कुरा थाहा हुन्थ्यो। विचारको बहसमा आफूलाई परिपक्व पनि गराउँथ्यो। लिडरसिपको उत्तराधिकारीको रूपमा अगाडि आउँथ्यो। विचारको बहस नभएपछि त कस्ले सांसद पाउने? कसले मन्त्री पाउने? कसले राजनीतिक नियुक्ति पाउने? कसले कुन पद पाउने भन्नेतिर गइसकेपछि उत्तराधिकारी तयार हुने कुरा आउँदैन। वैचारिक विकास नहुँदा उत्तराधिकारी तयार हुन नसकेको हो।”

“अब एउटै नेतृत्वलाई मान्ने कुरा किन गाह्रो कुरा होइन भने यो उसको योग्यता र क्षमतामा भर पर्ने कुरा हो। अहिले प्रचण्ड कमरेडले नेतृत्व छाड्छु भने पनि गर्ने कोही छैनन्। सबैलाई समेटेर लैजाने पनि कोही छैन। उत्तराधिकारीको टिम नै तयार भएको छैन।”

किन यस्तो भयो त? यसको एउटै कारण हो, राजनीतिक दलमा नेतृत्व विकास गर्नेभन्दा पनि शिष्य, अनुयायी बनाउने मात्र सीमित हुनु हो।

माओवादी नेता राम कार्की भन्छन्, “हाम्रोमा त शिष्य जन्माउने चलन छ।”

रमाइलो कुरा त के भने, माओवादीमा अलिकति चुनौती देख्नेबित्तिकै उठ्ने नसक्नेगरी थचार्ने संस्कृति मौलाएको छ। माओवादीभित्र मौलाएको गुटैगुटमा उत्तराधिकार जन्माउनेभन्दा पनि आफ्ना बनाउनेतिर मात्र लागेका छन्। मुख्य नेतृत्व पनि तिनलाई एकअर्कामा लडाएर आफ्नो नेतृत्व चुनौती घटाउनमै लीन छन्। माओवादी नेता कमला रोकामगर भन्छिन्, “सामूहिक नेतृत्व बनाउने हो। त्यो देखिएको छैन। यहाँ त कि राक्षसीकरण कि देवत्वकरण पो मौलाएको छ। सबै प्रतिभालाई नेतृत्वले समेटेर लिनुपरो। त्यस्तो नेतृत्व छैन। अहिले तल त गुटमात्र त छ। आआफ्ना त छ नि। आफ्ना समूहमा नभएका त पछि परे।”

कमलाकै लयमा लय हाल्छिन्, नेता जयपुरी घर्तीमगर। भन्छिन्, “राज्य, समाज, परिवारमा मरेपछि बिडो थाम्ने तयार हुनुपरो नि। यसलाई गम्भीर रूपले लिनुपर्छ। नेतृत्व कसले गर्न सक्छ? कति जना छन्? मुख्य नेतृत्वले उत्पादन गर्दै जानुपर्छ। उत्तराधिरकारी जन्माएर टिकाउने महत्वपूर्ण कुरो हो।”

भाष्कर गौतमका अनुसार त पछिल्लो पुस्ताबाट जसरी कार्यक्रम नै ल्याएर जसरी हस्तक्षेप गर्नपर्थ्यो, गरेनन्। त्यसपछिको पुस्ताले पनि गरेन। प्रचण्डलाई चुनौती दिने वैद्य, बाबुराम, विप्लवहरू बाटो लागे। वैद्य गएपछि प्रचण्ड हाबी हुने र बाबुराम निक्लने स्थिति आयो। यस्तो स्थिति आयो कि, अस्तित्व बचाउन प्रचण्डले ओली नेतृत्व स्विकारेर एमालेमा माओवादी मिसाए।

उसोभए, माओवादी प्रचण्ड नेतृत्व विकल्पविहीन हो त? जयपुरी थप्छिन्, “विकल्पविहीन त हुँदैन। बाबुराम, वैद्य, विप्लव गए पनि पछि त छन् नि। नेतृत्वसँगै मर्ने पार्टी त होइन नि। विकल्प हुन्छ। दोस्रो पुस्ताबाट नभए तेस्रोबाट, तेस्रोबाट नभए अर्को पुस्ताबाट आउँछ।”

भाष्कर गौतमका अनुसार त पछिल्लो पुस्ताबाट जसरी कार्यक्रम नै ल्याएर जसरी हस्तक्षेप गर्नपर्थ्यो, गरेनन्। त्यसपछिको पुस्ताले पनि गरेन। प्रचण्डलाई चुनौती दिने वैद्य, बाबुराम, विप्लवहरू बाटो लागे। वैद्य गएपछि प्रचण्ड हाबी हुने र बाबुराम निक्लने स्थिति आयो। यस्तो स्थिति आयो कि, अस्तित्व बचाउन प्रचण्डले ओली नेतृत्व स्विकारेर एमालेमा माओवादी मिसाए।

गौतमका अनुसार त्यसपछि माओवादीको दोस्रो पुस्तामा थप अलमलिए। सांगठनिक समीकरण पनि फेरियो। प्रचण्डसहित सबै कम्युनिष्ट पार्टी अलमलमा अल्झिए। दोस्रो र तेस्रो पुस्ताकाले मेसो पाएका छैनन्। ओलीलाई त भीम रावलले सांकेतिक भए पनि चुनौती दिए। माओवादीमा भने त्यति पनि देखिन्न।

एमाले माधव नेपाल सूह निक्लेपछि र माओवादीबाट वैद्य, बाबुराम, विप्लव निक्लेपछि ओली र प्रचण्ड दुवैलाई क्षणिक फाइदा भने छ। राजनीतिक विश्लेषक भाष्कर गौतम भन्छन्, “ओली र प्रचण्ड दुवैले २०७२ देखि २०७८ सम्म नै सबैलाई अलमलाए। तिनलाई यसको क्षणिक फाइदा छ। ओलीलाई महाधिवेशनमा फाइदा भयो। चुनौती नै भएन। वैद्य, बाबुराम, विप्लव हुँदा प्रचण्डलाई नेतृत्व चुनौती आउन सक्थ्यो। जति ओलीलाई आयो, प्रचण्डलाई त्यति चुनौती पनि देखिन्न।”

अर्का राजनीतिक विश्लेषक झलक सुवेदीले भने एमालेकालीन नेतृत्वको लामो व्याख्या गर्दै माओवादीमा नेतृत्व संकट छैन भनेर तर्क गर्छन्।

“एक वर्षअघिसम्म राप्रपामा कोही पनि कमल थापालाई क्रस गरेर आउलाजस्तो लाग्दैनथ्यो। थापाको एकलौटी थियो। राजेन्द्र लिङ्देनले थापालाई हराए त। एउटा उत्तराधिकारी आउने यसरी नै हो। अर्को हो, समकालीन नेताबीच प्रतिस्पर्धा हुन्छ र एकजनाले उछिन्छ। ईश्वर पोखरेलले भूमिगत कालमा केपी ओलीभन्दा त बढी काम गरे। खटे। तर, ओलीले उनलाई उछिने। ओलीले शंकर पोखरेललाई महासचिव बनाए। चुनाव हुँदो हो हार्थे होला। अहिले शंकरसँग कसलाई राख्ने र हटाउने भन्ने हतियार छ। उत्तराधिकारी निर्माण गर्ने प्रक्रिया यै हो,” विश्लेषक सुवेदी कथन छ, “माओवादीमा समस्या हो, मान्छे नभएका होइनन्। बाबुराम भट्टराई, रामबहादुर थापा बादल, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव उत्तराधिकारी हुने सम्भावना थियो। कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा छन्। तीबाट एकजना आउने हो। अहिले प्रचण्डको छायामा नदेखिएका हुन्। २०४९ सालमा मदन भण्डारी र जीवराज आश्रित पहिलो र दोस्रो हुन्। दुवै दासढुंगा दुर्घटनामा मारिए। सीपी मैनाली अल्पमतमा थिए। नेतृत्वमा माधव नेपाल आए। हो, त्यसरी प्रचण्ड नहुँदा पनि नेता नहुने हो र? होइन नि। मलाई त संकटजस्तो लाग्दैन। प्रचण्ड धुरी र अरू बलेसीजस्ता देखिएका मात्र हुन्। तर बलेसी बढेर धुरी नहुने होइन।”

सन्दर्भ सामग्री

कुराकानी

कमला रोकामगरसँग, २०७८ पुस ६ गते।
कुमार शाहसँग, २०७८ पुस ४ गते।
घनश्याम भुसालसँग, २०७८ पुस ७ गते।
जयपुरी घर्तीमगरसँग, २०७८ पुस ६ गते।
झलक सुवेदीसँग, २०७८ पुस ८ गते।
डा.अमर गिरीसँग, २०७८ पुस ५ गते।
डोरप्रसाद उपाध्याय निर्मलकुमारसँग, २०७८ पुस ५ गते।
धर्मेन्द्र बाँस्तोला कञ्चनसँग, २०७८ पुस ८ गते।
भाष्कर गौतमसँग, २०७८ पुस १२ गते।

युवराज चौलागाईंसँग, २०७८ पुस ५ गते।
राम कार्की पार्थ क्षेत्रीसँग, २०७८ पुस ६ गते।
हेमन्तप्रकाश ओली सुदर्शनसँग,
२०७८ पुस ७ गते।

किताब

https://www.marxists.org/archive/lenin/works/cw/index.htm (607 page)

(Lotta, Raymond, ed. 1978. And Mao makes 5, Mao Tsetung’s last great battle. Chicago: Banner Press.)

नेपाली कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु, ग्रन्थ १. २०६९

काठमाडौंः एकीकृत नेकपा माओवादी, मगराँत राज्य सम्मेलन आयोजक समिति केसी, डा.सुरेन्द्र २०६० नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास (भाग १) काठमाडौंः विद्यार्थी पुस्तक भण्डार

गौतम, डा.राजेश। २०७६ नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस (भाग १) काठमाडौंः भुँडीपुराण प्रकाशन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved