…जब विश्वयुद्धको एक दिन युद्ध रोकेर फुटबल खेलियो

एक घण्टाअघिसम्म एकअर्काका कञ्चटमा बन्दुक ताकिरहेका उनीहरूबीच वैमनस्यको कुनै भावना झल्किन्थेन। त्यस रात उनीहरूले  डिनर पनि सँगै बाँडेर खाए। किन युद्ध लडिरहेको ? आफैलाई प्रश्न गरे। युद्ध सकिएपछि फेरि भेट्ने वाचा पनि गरे। जुन फेरि कहिल्यै पूरा भएन।

…जब विश्वयुद्धको एक दिन युद्ध रोकेर फुटबल खेलियो

काठमाडौं। २८ जुन १९१४, भूमिगत सैन्य समूह ‘ब्ल्याक ह्याण्ड’का सदस्य, सर्बियाका उग्र राष्ट्रवादी नागरिक गाभिरिलो प्रिन्सिपले अष्ट्रिया-हंगेरी साम्राज्यका राजकुमार फ्रान्ज फर्डिनाण्डको हत्या गरे। त्यसको ठीक एक महीनापछि अष्ट्रियाले सर्बियामाथि आक्रमण गर्‍यो। यसैको जगबाट शुरु भयो – पहिलो विश्वयुद्ध।

उक्त घटनापछि पूरै युरोपको सैन्य शक्ति दुई खेमामा बाँडिएको थियो। त्यतिबेलाका युरोपका ६ महारथी राष्ट्रमध्ये फ्रान्स, रसिया र ब्रिटेनले एउटा समूह बनाए जो सर्बिएको पक्षमा थिए।

उता अष्ट्रिया-हंगेरीले भने जर्मनी र इटलीसँग मिलेर अर्को गठबन्धन बनायो। विस्तारै यी दुई समूहका राष्ट्रहरू एक-अर्काविरुद्ध आक्रमणमा उत्रिए। यसरी सिंगो विश्व दुई ध्रुवमा विभाजित भएर विश्वयुद्धमा होमियो।

विश्वयुद्ध शुरु भएपछि सयौं युवा सेनामा भर्ती भए। पाँच महीना अघिको जुलाईमा घर छाड्नुअघि युवाहरूले सोचेका थिए- चाँडै नै घर फर्किन पाइएला ! तर त्यो सम्भव थिएन।

पहिलो विश्वयुद्ध शुरु भएको पाँच महीना भइसकेको थियो।

मितिः २५ डिसेम्बर, सन् १९१४।

विश्वयुद्धको चपेटामा सिंगो विश्व परिसकेको थियो। तर मात्र एक दिनका लागि भए पनि क्रिसमसको मौका पारेर अघोषित रूपमा युद्ध रोकियो, हतियार बिसाइयो र अघिल्लो दिनसम्म लडाईं गरिरहेका दुई देशका सेनाहरू विपक्षी टिम बनेर फुटबल खेल्न थाले।

फ्रान्सको एउटा गाउँ फ्लेउरबेक्स नजिकैको युद्धमैदानमा जर्मनी र ब्रिटिसका सेनाहरू युद्ध लडिरहेका थिए। युद्धको लागि सेना लुक्न दुवैका आधार जमिनमा लामा-लामा खाडलहरू बनाइएको थियो।

युद्ध चलिरहँदा जर्मनी सेनाको उच्च तहले एउटा रणनीतिक चाल चाल्यो। क्रिष्टमसको दिन भएकाले हजारौं ‘क्रिष्टमस ट्री’ युद्धमैदानमा पठायो।

मनोबल बढाएर सेनालाई युद्धका लागि प्रेरित गरिराख्न अपनाइएको यसको नतिजा ठीक उल्टो आयो। किनकि विपक्षी खेमामा पनि उस्तै सजिएका ‘क्रिष्टमस ट्री’ हरू देखिन्थे। दुई समूहका सेनालाई धर्मले जोड्यो, जर्मन सेनाले गीत गाए- एक रात शान्ति होस्, यसपछि ब्रिटिस सेनाले पनि त्यसमा समर्थन जनाउँदै लय मिलाए। जर्मन सेनाले विपक्षीलाई चिठ्ठी लेखे, ‘तिमी पनि गोली नचलाऊ, हामी पनि चलाउदैनौं।’

ब्रिटिस सेनाले पनि सहमति जनाए।

यसपछि विस्तारै जमिनमुनि खाल्डोमा लुकेर रहेका जर्मन सेनाका टाउकाहरू देखिन थाले। उनीहरू कुनै पक्षको अधिनमा नरहेको स्वतन्त्र जमिनमा जम्मा भए। त्यसपछि ब्रिटिस सेना पनि स्वत:स्फूर्त रूपमा आफ्नो क्षेत्र छाडेर त्यहीँ आए। एकछिन अघिसम्म एकअर्कालाई मार्न संघर्ष गरिरहेका दुश्मनहरूले हात मिलाए।

‘मेरी क्रिष्टमस’ भन्दै क्रिष्टमसको शुभकामना साँटे र एकदिन युद्ध नगर्ने घोषणा गरे।

विश्वयुद्ध शुरु भएको पाँच महीनापछि क्रिष्टमसको अवसरमा अनौपचारिक रूपमा युद्धविराम भयो। भेटघाटमा पहिलोपटक एक अर्कालाई चिन्ने मौका पाए। दुवै पक्षले युद्ध बिर्सिएर भाइचाराको भावना देखाइरहेका थिए। गफमा मस्त देखिने प्रायः सबै सेनाका मोटा जुँगा थिए। बाक्ला कोट र बाक्लै गलबन्दी बेरेका उनीहरू सिगार बाँड्दै, धुँवा उडाउँदै गफिइरहेका थिए। गफसँगै उनीहरूले चकलेट पनि बाँडेर खाए र अन्त्यमा सँगै फुटबल पनि खेले।

त्यो समयमा मात्रै १९ वर्ष उमेर रहेका सेना एर्न विलियम्सको ‘फाइर एण्ड मोमेण्ट’ नामक पुस्तकमा उल्लेख गरिएको छ, ‘थाहा छैन त्यो मैदानमा कताबाट फुटबल आयो। त्यो दिन केही पनि योजनाअनुसार भएको थिएन, सबै गोली नचलाऔँ बाहिर निस्कौँ, रमाइलो गरौँ, फुटबल खेलौँ भनेर निस्किएका थियौँ।’

एक जर्मन सेनाका छोराले भेटेको उनको बुवाको डायरीमा उल्लेख गरेअनुसार ब्रिटिसहरूले पहिला आफ्नो सैन्य क्षेत्रबाट फुटबल ल्याएर हान्न थालेका थिए। उनीहरूले आफ्नो कोट फुकालेर त्यसैलाई गोलपोष्ट बनाएका थिए। त्यो त्यही ठाउँ थियो जहाँ केहीबेर अघिसम्म उनीहरू आफ्ना साथीका लास पन्छाइरहेका थिए। एक अर्कालाई मार्न तत्पर उनीहरू त्यही मैदानामा मिलेर फुटबल खेलीरहेका थिए।

विलियम्सका अनुसार, ‘त्यो खेलमा रेफ्री थिएन, त्यस्तो खेलको लागि हामीलाई किन चाहियो रेफ्रि? त्यो खेल बच्चाहरूले बाटोमा खेले जस्तो थियो। त्यो त फुटबलको जात्रा जस्तो थियो। हालको टीभीमा हेरे जस्तो फुटबल थिएन त्यो। हामीले लगाएका जुत्ता पनि निकै गरूंगा थिए र त्यो बेलाका फुटबल पनि बाक्ला छालाले बनेका हुन्थे। बरफले भिजेको मैदानमा बल पनि चाँडै नै गिलो भद्दा हुन्थ्यो।’

ठूला बुट लगाएका उनीहरू भिजेको मैदानमा सन्तुलन गुमाएर बारम्बार हिलोमा पछारिन्थे। दुश्मन सेनाको खेलाडी आएर एकअर्काको हात समातेर उठाउँथे। खेलमार्फत एक दिनका लागि भए पनि उनीहरू प्रेमको सन्देश छरिरहेका थिए। युद्ध लडेर थाकेका भए पनि रमाइलोका लागि उनीहरूले ठूलो जोशका साथ फुटबल खेलेका थिए।

तर करीब एक घण्टा जतिको खेलपछि जर्मन अफिसरले यसबारेमा थाहा पाएपछि उनले खेल रोक्न आदेश दिए। यतिबेलासम्म खेल ३–२ गोलले जर्मनको पक्षमा थियो। यदि खेल त्यत्तिकैमा नरोकिएको भए सायद उनीहरू एकअर्काको जीवन बुझेर हतियार बिसाउन अवस्थामै पो पुग्थे कि!

त्यो दिन एक सयभन्दा बढी सेनाले हतियार बिसाएर एउटै मैदानमा फुटबल खेलेका थिए। एक घण्टाअघिसम्म एकअर्काका कञ्चटमा बन्दुक ताकिरहेका उनीहरूबीच वैमनस्यको कुनै भावना झल्किन्थेन। त्यस रात उनीहरूले  डिनर पनि सँगै बाँडेर खाए। किन युद्ध लडिरहेको ? आफैलाई प्रश्न गरे। युद्ध सकिएपछि फेरि भेट्ने वाचा पनि गरे। जुन फेरि कहिल्यै पूरा भएन।

युद्धले सबै तहसनहस पार्‍यो। पाँच महीनाअघि जुलाईमा, चाँडै नै घर फर्किने सोचेका उनीहरू त्यसपछि कहिल्यै घर फर्किन पाएनन्। सँगै फुटबल खेलेका साथीहरूले अर्को दिनदेखि एकअर्कालाई गोली चलाए।

एजेन्सीको सहयोगमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved