मुखमा चुनाव, मनमा विद्रोह ठिक थिएन : प्रचण्ड

मालेमावादको सिद्धान्तमा कुनै सम्झौता नगरी आजको स्थितिमा शान्तिपूर्ण रुपले सडक सदन र सरकारको मञ्चबाट समाजवादको आधार तयार पार्न अधिकतम जोड दिइरहेको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ।

नेपालभ्युज

मुखमा चुनाव, मनमा विद्रोह ठिक थिएन : प्रचण्ड

काठमाडौं। माओवादी अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियामा आएपछिको १५ वर्षमा पार्टी नेतृत्वका क्रममा आफूबाट भएको गल्ती स्वीकार गर्दै त्यसलाई नदोहोर्याउने प्रतिबद्धता गरेका छन्। आठौं महाधिवेशनको बन्द शत्रमा वैचारिक तथा राजनीतिक प्रतिवेदन  पेश गर्दै उनले आफ्ना गल्ती स्विकार गरेका हुन्।

उनले यसबीचमा मुख्य गरी तीनवटा गल्ती भएको उल्लेख गरेका छन्। आत्मसमिक्षा गर्दे प्रचण्डले पालुङटारमा भएको पार्टीको बिस्तारित बैठकपछि ”मुखमा चुनाव मनमा विद्रोहको नीति” लिनुलाई पहिलो गल्तीको रूपमा औल्याएका छन्।

त्यतिबेला विद्रोहमा कुरा गर्नुहुँदैन थियो भन्ने उनले स्विकारेका छन्। उनले सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नुलाई पनि आफ्नो गल्तीका रुपमा स्वीकार गरेका छन्। पार्टीमा छलफल गरेर निर्णय गर्नुपर्ने भएपनि त्यसअनुसार हुन नसकेको उहाँको भनाइ छ।

त्यसैगरी उनले पार्टीमा छलफल नगरी प्रचण्डपथलाई हठात् स्थगित गर्नुलाई पनि गल्तीको रूपमा उल्लेख गरेका छन्। तर अब प्रचण्डपथमा जान नसकिने उनको बुझाई छ।

भिन्न मतको स्मरण

नेपालको संविधानमा केही सीमा रहेका कारण सबै वर्ग, जाति क्षेत्र र समुदायको पहिचान र अधिकारसहित संघीयता संस्थागत हुन नसकेको उनको प्रतिवेदनमा उल्लेख छ।

संविधानसभामा आफ्नो पार्टीले केही विषयमा भिन्न मत राखेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले केही विषयमा संविधान संशोधन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

“हाम्रो संविधानले जुन दिशामा अगाडि बढ्ने सैद्धान्तिक राजनीतिक कानुनी आधार लिएको छ। समाजवाद उन्मुख अर्थ राजनीति प्रक्रियाबाट वैज्ञानिक समाजवादमा अगाडि बढ्ने आधार भएकाले दलाल नोकरशाहीले यो संविधान नै उल्ट्याउने र निरङ्कुश प्रणाली ल्याउने तीव्र षडयन्त्र गरिरहेका छन्,” उनले भने।

उनले कम्युनिष्ट पार्टीको आदर्शका रूपमा रहेको मालेमावादको सिद्धान्तमा कुनै सम्झौता नगरी आजको स्थितिमा शान्तिपूर्ण रुपले सडक सदन र सरकारको मञ्चबाट समाजवादको आधार तयार पार्न अधिकतम जोड दिइरहेको उल्लेख गरेका छन्।

उनले दुई-दुई पटक प्रतिनिधिसभाको विघटन गर्ने कार्यलाई प्रतिगमनको संज्ञा दिँदै वर्तमान गठबन्धनले संविधानको रक्षा गरेको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved