माओवादी महाधिवेशन

देउवाको तारिफ गर्दै प्रचण्डले भने, ‘‘एमसीसीबारे प्रधानमन्त्रीको अभिव्यक्ति महत्वपूर्ण छ’’

नेपालभ्युज

देउवाको तारिफ गर्दै प्रचण्डले भने, ‘‘एमसीसीबारे प्रधानमन्त्रीको अभिव्यक्ति महत्वपूर्ण छ’’

काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्ति निकै महत्वपूर्ण रहेको बताएका छन्।

आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। महत्वपूर्ण समयमा सहज रुपमा ठूलो अभिव्यक्ति दिने गरेको गरेको भन्दै प्रचण्डले देउवाको तारिफ गरे।

यसअघि देउवाले एमसीसी देशको हितमा रहेको बताएका थिए। ” उहाँले एमसीसीबारे आफ्नो विचार भन्नुभयो। त्यो स्वतन्त्रता उहाँलाई छ। उहाँले आफ्नो कुरा भन्नुभयो। तर, उहाँले कहाँ हो राष्ट्रघाती भएको, त्यो देखाइदिनुपर्यो। म पनि त राष्ट्रघात चाहन्न। म देशभक्त हुँ भन्ने प्रमाणितै छ भन्नुभयो,” प्रचण्डले भने,” छलफल गर्दैछौ, समझदारी बनाउँछौंं भन्नुभयो। मानिसहरुमा कन्फ्युजन थियो नि, सदनभित्र सत्तापक्ष र प्रतिपक्षबचि जे चलिरहेको छ, त्यसबारे विभिन्न अभिव्यक्ति आइरहेका बेलामा उहाँको पनि महत्वपूर्ण अभिव्यक्ति आएको छ।’

देउवाले चुनावपछि पनि पाँचदलीय गठबन्धन कायम रहने बताएका थिए। ”उहाँले चुनावपछि पनि गठबन्धन जान्छ भनेर सजिलै भन्नुभयो। हामीले चाहेको पनि त्यही हो,” प्रचण्डले भने।

”उहाँ सोझो हुनुहुन्छ”

प्रचण्डले देउवा सोझो र निर्दोषजस्तो रहेको बताए। ”बडो संक्षिप्त बोल्ने प्रधानमन्त्रीजीले आज सुन्दर बोल्नुभयो। बडा इमानदारीताका साथ आजको परिवर्तनको निम्ति, संघीय गणतन्त्रका निम्ति, माओवादीको भूमिका प्रचण्डको भूमिकाबारे प्रधानमन्त्रीले बोल्नुभयो,” उनले भने।

यसअघि देउवाले ”प्रचण्डकै बलमा अन्य पार्टीहरू संविधानसभामा गएको’‘ अभिव्यक्ति दिएका थिए। प्रचण्डले त्यस अभिव्यक्तिका लागि देउवालाई बधाई दिए।

”उहाँ सरल रुपमा ठूला अभिव्यक्ति दिनुहुन्छ । उहाँ प्रधानमन्त्री छँदा माओवादीसँग शान्तिवार्ता चलिरहेको थियो। त्यतिबेला उहाँले प्रचण्ड बहादूर नेता हुन् भनिदिनुभयो। विद्रोहीलाई प्रधानमन्त्री बहादूर भनिदिदाँ हामीलाई धेरैले राम्रो रुपमा हेरेका थिए।”

”राजनेता नै भन्नुभयो”

प्रचण्ड यतिमै रोकिएनन्। देउवाले आफुलाई राजनेता भनेको पनि उनले स्मरण गरे।

”पछिल्लोपटक हामीले प्रधानमन्त्री लेनदेन गर्यौं। म र उहाँबीच जे गर्ने भनेर सहमति भएको थियो। त्यही पालना गरेर मैले उहाँलाई प्रधानमन्त्री प्रस्ताव गरें। उहाँले त्यतिबेला संसद्बाट ‘प्रचण्ड राजनेता नै रहेछन्’ भन्नुभयो,” प्रचण्डले भने,”यति ठूलो अभिव्यक्ति सहज रुपमा भन्नुभयो। मलाई एउटै डर, कतै पछिल्लो अभिव्यक्तिका कारण कांग्रेसभित्र उहाँले आलोचना खेप्नुपर्ने त होइन भन्नेमा छ। तर, आलोचना र विरोधले छाला दह्रो भइसकेको हुनाले साना–तिना आलोचनाले उहाँलाई फरक पर्दैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved