नेकपा (माओवादी केन्द्र) आठौं महाधिवेशन

‘दलाल पुँजीपतिको शरणमा परेपछि फुकीढल हुनेगरी माओवादी दुब्लायो’

जतिपालि माओवादी सरकारमा पुग्यो उति नै माओवादी नेता मोटाउने र पार्टी दुब्लायो। यसरी दिनानुदिन दुब्लाइरहेको माओवादी पार्टी आठौं महाधिवेशनले केके काम गरेपछि माओवादी पहिलेकै अवस्थामा फर्केला?

‘दलाल पुँजीपतिको शरणमा परेपछि फुकीढल हुनेगरी माओवादी दुब्लायो’

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले आजदेखि राजधानी काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आफ्नो आठौं महाधिवेशन गर्दैछ।

जतिपालि माओवादी सरकारमा पुग्यो उति नै माओवादी नेता मोटाउने र पार्टी दुब्लायो। यसरी दिनानुदिन दुब्लाइरहेको माओवादी पार्टी आठौं महाधिवेशनले केके काम गरेपछि माओवादी पहिलेकै अवस्थामा फर्केला? कस्ता नीति तथा कार्यक्रम ल्याएपछि माओवादीको दुब्लाएको ज्यान भरिएला? कस्ता बुटी खाएपछि माओवादीको ज्यान लाग्ला?

रोल्पा सदरमुकाम लिबाङ नजिकैको मगर बस्ती जंकोटका चित्रबहादुर घर्तीमगर (कमरेड गुलाफ) आफूजस्तै घाइते, सहिद परिवारको पनि पार्टी हो भनेर महाधिवेशनले ‘अपनत्वबोध’ गराउने माओवादी पार्टी बनाउनुपर्ने सुझाउँछन्। कमरेड गुलाफले माओवादी जनतातिर फर्कने कार्यक्रम ल्याउँछ कि भन्ने झिनो आश बोकेका छन्। माओवादीले मगरको आशलाई निराशामा परिणत गर्छ कि के गर्छ? महाधिवेशन कुर्नैपर्नेछ।

रोल्पा माओवादीको आधारभूमि हो। माओवादी जनयुद्धको रोल्पा रुकुमका पाखापखेराबाट नै देशभर फैलिएको थियो। माओवादी मोटाउनलाई उनले केही टिप्स दिएका छन्। आफूले दिएको टिप्स पूरा गर्ने हो भने माओवादी पहिलेकै अवस्थामा फर्कने उनको दाबी छ।

एक, सबभन्दा पहिले त माओवादी नेतृत्व जनतामा फर्कनुपर्छ।

उनका अनुसार अहिले त माओवादी नेतृत्व चाकडी, चाप्लुसीको घेराभित्र कैद छ। दलाल र पुँजीपतिहरूको इसारामा चलेको छ। जसले गर्दा माओवादी पार्टी नै भुइँमान्छेबाट कट्दै गएको छ। मगरको थप कथन छ, “यी जम्मै घेरा तोडेर माओवादी नेतृत्व जनतामाझ गए माओवादी मोटाउँछ। जनताका आकांक्षालाई सुन्नेमात्र गरे पनि, सम्बोधन त परकै कुरा भयो, माओवादीको ज्यान लाग्छ।”

दुई, माओवादी नेतृत्वले शहीद, घाइते, अपांग, बेपत्ता, जनमुक्ति सेनाका ढुकढुकी सुन्ने धैर्य गर्नुुपर्छ। तिनका सुखदुख सुन्ने र सम्बोधन गर्नुपर्छ। उनका अनुसार अहिले माओवादी यसरी दुब्लाउनुको मुख्य कारण दलालहरूको कुरा मात्र सुनेकाले हो।

उनले थपे, “अहिले त एक/दुई प्रतिशतबाहेक जम्मै अहिले त आफ्नो थलोबाट विस्थापित छन्। उमेर हुने र शरीरका अंग ठीकै भएका सबै कमरेडहरू वैदेशिक रोजगारमा कोही अरब उडेका छन् त कोही मलेसिया उडेका छन्। माओवादीले आफ्नो धरातलमा फर्केर तिनका सवाल सम्बोधन गरे माओवादीले ज्यान हालिहाल्छ नि। अरू केही गर्नैपर्दैन।”

कमरेड गुलाफ जाजरकोट पाँचकटिया पुलिसचौकी आक्रमणमा दायाँ हात गुमाएका थिए। यो थियो, २०५७ जेठ २५ गते। तीन महिनाअघि मात्र २०५६ चैत २३ गते सहोदर भाइ सन्तबहादुर घर्तीमगर(कमरेड क्रान्ति)लाई रुकुम पूर्वको तकसेरा आक्रमणमा मारिएका थिए। भाइ र दायाँ हात गुमाएपछि कमरेड गुलाफलाई माओवादीले जनमुक्ति सेनाबाट पार्टी संगठनमा सरुवा गरेको थियो।
४७ वर्षीय कमरेड गुलाफ अहिले माओवादी केन्द्रको विशेष प्रदेशअन्तर्गत कर्णाली प्रदेश समन्वय समिति संयोजक छन्।

माओवादीले गर्नैपर्ने अर्को मुद्दा जो विचारको प्रश्नसँग जोडिएको छ। अहिले माओवादीसामु पुँजीवाद रोज्ने कि समाजवाद भन्ने छ। भन्न त माओवादीले समाजवाद नै भन्छ। यति हुँदाहुँदै पनि माओवादीले पुँजीवादकै भए पनि ‘प्रगतिशील नवउदारवाद’को पक्ष मात्र लिए पनि पुग्छ।

सुदूरपश्चिम प्रदेश अछामका पुष्प न्यौपानेले माओवादी पहिलेकै अवस्थामा फर्कनलाई कमरेड गुलाफको टिप्समा चार बुँदा थपेका छन्। माओवादी विदेश विभाग सदस्य न्यौपाने भन्छन्।

एक, माओवादी पार्टीले माओवादी आन्दोलनका कार्यकर्तालाई मात्र सक्रिय गराउन सके मात्र पनि पुग्छ। अहिले माओवादी कार्यकर्ता निस्क्रियमात्र छैनन्, छरिएका छन्। ती संगठित पनि छैनन्। उनीहरू आफ्नो रोजीरोटीको पछि लागेर कुहिराको काग बनेका छन्।

दुई, माओवादीले उठाएका समावेशी समानुपातिक मुद्दालाई ती समुदाय र ती क्षेत्रका विकाससँग पनि जोड्नुपर्छ। उनका अनुसार सरकारले अब ल्याउने बजेटमा त्यस्ता समुदाय र क्षेत्रलाई पनि जोडेमात्रै पनि माओवादी मोटाउँछ।

तीन, माओवादी आफूले उठाएका जति एजेण्डा छन्, तिनका स्वामित्व लिन माओवादीले पहल गरे मात्र पनि पुग्छ। कर्णाली, सुदूरपश्चिम, मधेश, दलित, महिला र अल्पसंख्यक आदिवासी जनजातिका मुद्दा माओवादीले नै उठाएको हो। न्यौपानेका अनुसार माओवादीले उठाएका ती मुद्दा माओवादीले उठाएको हो कि अरू दलले? चिन्न नसकिने भएका छन्।

चार, माओवादीले गर्नैपर्ने अर्को मुद्दा जो विचारको प्रश्नसँग जोडिएको छ। अहिले माओवादीसामु पुँजीवाद रोज्ने कि समाजवाद भन्ने छ। भन्न त माओवादीले समाजवाद नै भन्छ। यति हुँदाहुँदै पनि माओवादीले पुँजीवादकै भए पनि ‘प्रगतिशील नवउदारवाद’को पक्ष मात्र लिए पनि पुग्छ।

न्यौपाने जनयुद्धकालमा डोको रेडियो भनेर चिनिने माओवादी प्रकाशन र प्रसारण विभागमा रहेर सुदूरपश्चिममा खटेका थिए। कमरेड गुलाफको छिमेकी गाउँ उत्तरी रोल्पाको राङ्कोटबाट महाधिवेशनमा भाग लिन मोहवीर विक पनि काठमाडौं आएका छन्। माओवादी फेरि पहिलेकै अवस्थामा फर्कन के गर्नुपर्ला भनेर उनले मगर र न्यौपानेको टिप्समा थप गरेका छन्। उनका अनुसार माओवादी नेतृत्व व्यापारी, दलाल पुँजीपतिको शरणमा परेपछि माओवादी यसरी फुकीढल हुनेगरी दुब्लाएको हो।

पूर्वजनमुक्ति सेनाका प्लाटुन सहकमाण्डर विकका टिप्स यस्ता छन्–

एक, माओवादीले जनपक्षीय काम गरे माओवादी पहिलेकै अवस्थामा आउँछ। त्यस्तो गर्नलाई माओवादीले गुमाउनुपर्ने केही छैन। माओवादीले नेताले कमाएर धनी बन्ने लोभमात्र त्यागे हुन्छ। त्यो भनेको माओवादी नेता कमाउनतिर नलागी जनताको माया र तिनका विश्वास कमाउनतिर लाग्नुपर्छ। त्यति गरे माओवादी मोटाउँछ।

दुई, जनयुद्धकालमा माओवादीले थुप्रै आश्वासन दिएको छ। ती आश्वासन पूरा गरे त हुन्थ्यो तर पूरा गर्न पहल गरे मात्र पनि पुग्छ। पूरा गर्न पहलमात्र गरे पनि माओवादी पहिलेकै स्थितिमा आउँछ। विकका अनुसार माओवादीले उत्पीडित क्षेत्र, जाति, समुदाय र लिंगको प्रतिनिधित्वको सवाल उठाएको थियो। तिनै सवाल उठाएपछिमात्र माओवादी जनयुद्ध देशभर फैलिएको थियो। शान्तिप्रक्रियापछि भने माओवादी नेतृत्व ती चिज छाड्दै सरकारमा सहभागी हुँदै आएको थियो। जसले गर्दा उसले उठाएका मुद्दा हराएपछि पार्टी दुब्लायो भने नेता जति मोटाए।

भारतसँग सुरुङ युद्ध घोषणा गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनयुद्धको उत्तरार्द्धमा भारतबाट नेपाल फर्केका थिए। फर्केपछि प्रचण्ड प्रायः रोल्पाको उत्तरी भेग राङ्कोट, राङ्सी, इरिबाङतिर बसेका थिए। त्यसबेला प्रचण्डका भान्सामा काम गर्नेमध्ये एक थिए, विक। अध्यक्ष प्रचण्डलाई तरकारी र मासुको व्यवस्थापन गर्न उनी रोल्पा र रुकुमका कुनाकानी चहारेका थिए। विक अहिले रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर पाँचका वडा सदस्य छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved