१२८ औँ माओ जयन्ती

माओका लुगादेखि चुरोटसम्म सङ्ग्रहालयमा (फोटो फिचरसहित)

चिनियाँहरूले माओलाई ठुलो सम्मान र आदरभाव प्रकट गर्छन्। माओलाई सम्मान गर्दै उनको शवदेखि प्रयोग गरेका हरेक कुरालाई सङ्कलन गरेर विभिन्न सङ्ग्रहालयमा प्रदर्शन गरिएको छ।

माओका लुगादेखि चुरोटसम्म सङ्ग्रहालयमा (फोटो फिचरसहित)

आज डिसेम्बर २६ तारिख अर्थात् १२८ औँ माओ जयन्ती। सन् १८९३ मा चीनको दक्षिणमा पर्ने हुनान प्रान्तको शाओसानमा किसान परिवारमा जन्मिएका माओ चतुङलाई विश्वमा सम्मान र आलोचना गर्ने मानिसहरू उत्तिकै छन्।

चिनियाँहरूले चाहिँ माओलाई ठुलो सम्मान र आदरभाव प्रकट गर्छन्। माओलाई सम्मान गर्दै उनको शवदेखि प्रयोग गरेका हरेक कुरालाई सङ्कलन गरेर विभिन्न सङ्ग्रहालयमा प्रदर्शन गरिएको छ।

माओको मृत्यु सन् १९७६ सेप्टेम्बर ९ तारिखमा बेइजिङमा भयो। मृत्युपश्चात् पनि माओको शवलाई बेइजिङको केन्द्र भागमा रहेको माओ स्मारक भवनमा विशेष रुपमा राखिएको छ।

माओको शव मात्र होइन उनले लगाएका पोशाक, प्रयोग गरेको कलम, लेखेका डायरी, पढेका पुस्तकलाई पनि संरक्षण गरेर विभिन्न सङ्ग्रहालयमा राखिएको छ। उनले प्रयोग गरेका टेबुल, कुर्सी, चुरोट, कैँचीदेखि जुत्ता र चप्पल पनि संरक्षण गरेर राखिएको छ।

चीनको पश्चिममा पर्ने कान्सु प्रान्तको दक्षिणमा काननान तिब्बती स्वायत्त प्रिफेक्चर रहेको छ। सो क्षेत्रमा माओ लङ मार्चको समयमा तीन दिन बसेका थिए। उनी बसेको सेल्टरको उक्त घरलाई अहिले पनि जस्ताको तस्तै राखिएको छ।

पूर्वी चीनको च्याङसुबाट शुुरु भएको लङमार्चमा सहभागी हुँदै माओ कान्सुको काननानमा सन् १९३५ सेप्टेम्बर १२ देखि १५ बसेका थिए।

उनी बसेको उक्त घरलाई ९६ वर्षदेखि उही रुपमा संरक्षण गरिएको छ। माओ सुतेको कोठा, ओछ्यान, माओले खाएको चुरोटका ठुटा, उनले पढेका किताब, डायरी र पोशाकलाई प्रदर्शनीमा राखिएको छ।

जहाँ माओ त्यहाँ चुरोट र किताब। माओ जति अध्ययनशील थिए उत्ति नै चुरोटका पारखी पनि। उनले सेल्टर लिएको ठाउँमा राखिएका सक्कली चुरोटका खातले पनि उनी चुरोटका अम्मली रहेको कुरालाई प्रस्ट्याउँछ।

माओ जन्मिएको हुनान प्रान्तको शाओसानस्थित घरलाई पनि सङ्ग्रहालय नै बनाइएको छ। माओ जुन प्रान्तमा गएर जहाँ जहाँ बसे ती सबै स्थानलाई चिरस्मरणका लागि सङ्ग्रहालय बनाइएको छ। यस्ता स्थानलाई चीनमा लालपर्यटन क्षेत्र भनिन्छ।

माओलाई चिनियाँ जनता र चीन भ्रमणमा आउने अथवा माओको बारेमा अध्ययन गर्न चाहनेहरूका लागि यस्ता ठाउँहरू महत्त्वपूर्ण हुने भएकाले संरक्षण गरिएको हो। चीनले नयाँ पुस्तालाई इतिहास सम्झाउन र आफ्ना नेताको योगदानलाई ताजा बनाउनका लागि यस प्रकारका कार्य गर्दै आएको छ।

अहिले पनि चीनमा माओको हस्ताक्षरको व्यापार हुने गरेको छ। ग्रेटवाल चढेपछि मात्र मान्छेको जीवन सार्थक हुन्छ भन्ने माओको अभिप्रायलाई उनको हस्ताक्षरसहित टिसर्ट र टोपीमा प्रिन्ट गरेर ग्रेटवाल चढ्ने पर्यटकलाई भिडाउने गरिन्छ।

बेइजिङको केन्द्र भागमा रहेको थिआनआनमन क्षेत्रको बीचमा सहिद स्मारक छ। उक्त स्मारकमा ’अमर सहिदहरु लाल सलाम’ भनेर माओहो हस्ताक्षर कुँदिएको छ। चीनबाट प्रकाशन हुने पिपुल्ड डेली अखबारको मास्टहेड पनि माओकै हस्ताक्षर हो।

माओ बास बसेको ठाउँ मात्र होइन माओ चढ्ने रेल र हवाई जहाज पनि सङ्ग्रहालयमा राखिएको छ। सन् १९४९ मा जनगणतन्त्र चीन स्थापना भएपछि चीनभरिको यात्रामा माओले प्राय रेललाई यातायातको साधन बनाए।

जनगणतन्त्र चीन स्थापना भएपछि माओले दुई पटक विदेश यात्रा गरेका थिए। उनको दुवै यात्रा तत्कालीन सोभियत संघ (हालको रुस)मा भएको थियो। सन् १९४९ डिसेम्बर ६ देखि १९५० फेब्रुअरी १७ सोभियत संघको भ्रमण गर्दा माओले रेल प्रयोग गरेका थिए। सन् १९५७ नोभेम्बर २ मा उनी विमान चढेर सोभियत संघ गएका थिए।

माओ सकेसम्म यात्रामा हवाई जहाज चढ्दैनथे। सुरक्षा र समय सदुपयोगका लागि उनको रोजाइमा रेल पर्ने गर्थ्यो। रेलमै पनि माओमाथि आक्रमण भएको थियो। सन् १९७१ मा चीनको दक्षिणभेगमा गएको बेला उनी सवार रेललाई लक्ष्य गरी विस्फोट गराइएको थियो। त्यतिबेला माओ संयोगले बाँचेका थिए। उक्त आक्रमणलाई नै ’लिनप्याओ षडयन्त्र’ भन्ने गरिन्छ।

रेलमा यात्रा गर्दा काम गर्न सजिलो भएकाले पनि माओको छनोटमा रेल पर्ने गरेको थियो। रेलमा यात्रा गर्दा माओले स्थानीय अधिकारीहरूसँगको भेटघाट र समस्या सुन्ने काम गर्दथे। सधैँ व्यस्त हुने र अत्यधिक बैठक तथा छलफल हुने भएकाले यात्राको समयमा पनि माओ रेलमा बैठक र छलफल चलाइ रहन्थे।

उनी जुन स्थलको यात्रा गर्थे त्यही स्थलका समस्या र जानकारीका लागि रेलको यात्रामा पनि व्यस्त हुन्थे माओ। माओलाई रेलको यात्रामा लेखपढ गर्न पनि सजिलो हुन्थ्यो। मानिसहरूसँगको भेट बाहेक माओ कि लेखिरहन्थे कि पढिरहन्थे।

माओले यसरी प्रयोग गरेको रेललाई राजधानी बेइजिङमा रहेको रेलवे सङ्ग्रहालयमा जस्ताको तस्तै राखिएको छ। बेइजिङको छाओयाङ जिल्लामा रहेको रेलवे सङ्ग्रहालय एक हजार वर्गमिटरमा फैलिएको छ। यो सङ्ग्रहालय स्थापना हुँदा माओको देहान्त भएको दुई वर्ष पुगेको थियो। सन् १९७८ मा स्थापित चिनियाँ रेल सङ्ग्रहालय पहिले चीनको रेल मन्त्रालयको विज्ञान र प्रविधि सङ्ग्रहालय अन्तर्गत थियो। सन् २००३ मा यसको नाम परिवर्तन गरेर चिनियाँ रेलवे सङ्ग्रहालय राखिएको हो।

सङ्ग्रहालय विभिन्न तीन वटा भवनमा रहेको छ। यो सङ्ग्रहालयको मुख्य मुख्य आकर्षण चेयरम्यान माओले प्रयोग गरेको ’माओरेल’ हो।
वास्प इन्जिनको प्रविधिमा चल्ने यो रेल सन् १९४१ मा जापानमा निर्माण गरिएको हो। चीनमा केही वर्ष चलेर बिग्रिएपछि यो रेल कतै फालिएको थियो। सन् १९४६ मा रेलवेका कर्मचारीले भेट्दा यो थोत्रो र पूर्ण रुपमा विरूप अवस्थामा थियो। यसलाई मर्मतसंभार गरेपछि सन् १९४९ सम्म चीनमा सञ्चालित क्रान्तिमा यसले जनमुक्ति सेनाका लागि सामान ढुवानी गरेर चीनको इतिहासमा निकै महत्त्वपूर्ण योगदान दिएको थियो।

सन् १९४९ अक्टोबर १ मा नयाँ चीन स्थापना भएपछि बेइजिङ बाहिरका ठाउँमा भ्रमण गर्नुपर्दा माओले यही रेल प्रयोग गर्दथे। सङ्ग्रहालयमा रहेको माओ रेलको अवलोकन गर्दा देखिन्छ कि त्यहाँ माओको छुट्टै कार्यालय स्थापना गरिएको थियो। डेस्क, टेबुलबत्ती, पुस्तक राख्ने दराज, मेच आदि माओको अध्ययन कोठामा छन्। त्यसैगरी सुत्ने कोठाका पलङ, डसना तथा सिरकहरूलाई अहिले पनि संरक्षण गरेर राखिएको छ। उनका घरायसी प्रयोगका सामग्रीहरू हेड बोर्ड, चप्पल, आलमारी, साइड टेबुल लगायतका सबै सामग्रीहरू माओ रेलका डिब्बामा छन्।

रेलको अर्को डब्बामा माओको बैठक कोठा पनि निकै आधुनिक र सजावटपूर्ण छ। सोफा, कफी राख्ने टेबुलसँगै पाहुनाका लागि बस्ने र कुराकानी गर्ने ठाउँहरू पनि आकर्षक छन्। माओ त्यही कोठामा बसेर चीनका विभिन्न क्षेत्रका अधिकारीहरूसँग चीनको शासन कार्यबारे छलफल गर्दथे।


माओले प्रयोग गरेको विमानलाई पनि सङ्ग्रहालयमा राखिएको छ। १७ जना यात्री अट्ने यो एयरक्राफ्ट ८ घण्टा १० मिनेटसम्म उड्न सक्थ्यो। रेलमा जस्तै विमानमा पनि माओको ओछ्यान, सोफा र टेबल राखिएको छ।

सोभियत संघले बनाएर सन् १९५६ मा स्टालिनले माओलाई उपहारमा दिएको आई एल फोटिन एयरक्राफ्टले माओले अन्तिम पटक चङचौबाट बेइजिङ ल्याएको थियो। यो विमान १९९२ सम्म चिनियाँ आकाशमा उड्यो। सन् २००४ बाट निर्माण सुरु भएर २००७ मा निर्माण सम्पन्न भएको चिनियाँ नागरिक उड्डयन सङ्ग्रहालय माओ विमान राखिएको छ।

माओका भनाइहरू विश्वमै चर्चित छन्। कम्युनिष्टले मात्र होइन गैरकम्युनिष्टहरुले पनि माओका भनाइलाई उद्धृत गर्ने गरेका छन्। महिलालाई सम्मान गर्दै माओले भनेका थिए ’महिलाहरू आधा आकाश हुन्।’

माओको यो भनाइ विश्वमा राजनीति गर्ने नेताहरूका लागि मुखाग्र जस्तै छ।
सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना हुनु अगाडि नै सन् १९१९ मा माओले लेखेका थिए, संसार हाम्रो हो, राष्ट्र हाम्रो हो, समाज हाम्रो हो। यदि हामीले बोलेनौ भनेँ को बोल्छ? यदि हामी सक्रिय भएनौँ भने को हुन्छ?


Comment

2 thoughts on “माओका लुगादेखि चुरोटसम्म सङ्ग्रहालयमा (फोटो फिचरसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved