प्रिय कथा

चिहान

चिहान

रचनागर्भ- यो कथाको परिवेश आजभन्दा २८ वर्ष पहिलेको बेलायतको हो। विसं. २०५० सालमा म तालिमको सिलसिलामा बेलायतको डरहममा गएको थिएँ। मेरो साथमा जयविष्णु नेपाली पनि थिए।

हामीलाई संयुक्त अधिराज्यको नेपाल प्रहरी प्रोजेक्टअन्तर्गत घटनास्थल अनुसन्धान तालिमका लागि बेलायत पठाइएको थियो। तालिमको अवधि तीन महिनाको थियो।

तालिमको बेला सप्ताहन्तमा छुट्टी हुन्थ्यो। छुट्टीमा हामी बेलायती साथीहरूसँग विभिन्न ठाउँमा घुम्न जान्थ्यौं। कतै घुम्न नगएको बेला हामी हामी डरहम काउन्टी पुलिसको हेडक्वाटर्सको होस्टेलमा बस्थ्यौं।

अर्को हप्ता परीक्षा आएकोले हामी एक सप्ताहन्त कतै घुम्न नगई होस्टेलमा बस्यौं। शनिबारको बिहानपख म र साथी होस्टेलबाट बाहिर निस्क्यौं। हामी नजिकैको बजारतिर लाग्यौं। रातभर हिउँ परेकोले जाडो थियो। हामी क्याफेको मेचमा बसेर तात्तातो कफी खान चाहन्थ्यौं। क्याफे नजिकै पत्रिका पसल थियो। मेरा आँखा चाङ मिलाएर राखेका पत्रिकामा ठोक्किए। म पत्रिकाको किरो। मेरो साथी क्याफेभित्र पस्यो तर म आजको पत्रिका लिएर आउँछु भन्दै पत्रिका पसलतिर लागें।

पत्रिका किनेर फर्किँदै थिएँ, अगाडि बुढाबुढीको लाम देखें। यति बिहानै सिरक ओढेर बस्नुपर्ने बुढाबुढीहरू किन लाम लागेका होलान् भनेर मनमा जिज्ञासा राख्दै म त्यहाँ गएँ। त्यहाँ एउटा अफिस थियो। मैले अफिसको भित्तामा टाँगेका सूचना र पोष्टहरू हेरें। त्यहाँ विचित्रको सूचना थियो। सूचनामा लेखिएको थियो, ‘आफू जिउँदो छँदै आफ्नो चिहानका लागि रकम जम्मा गर्नुस् र मृत्युपछिको तनाबबाट मुक्त हुनुस्।’

पछि बुझ्दा थाहा भयो कि, ती बुढाबुढीहरू आफ्नो मृत्युपछि सकभर प्रसिद्ध चर्चको नजिकै, त्यो सम्भव भएन भने कुनै चर्चको भूभागम, त्यो पनि भएन भने कुनै मुर्दा गाड्ने ठाउँमा भए पनि आफ्नो लास धार्मिक रीतिरिवाज पूरा गरी गाडिदिनका लागि प्रत्येक महिना च्यारिटीमा रकम जम्मा गर्दा रहेछन्।

यो कुरा थाहा पाएपछि मेरो दिमागमा हलचल भयो। यहाँ त एउटा जीवित मान्छेलाई आफ्नो वर्तमान जीवनको मात्र नभएर मृत्युपछिको आफ्नो लासको बारेमा पनि चिन्तित बन्नुपर्ने रहेछ। कति एकाकी जीवन हो यो ? मृत्युपश्चात् आफ्नो लासलाई गाडिदिने मान्छे पनि नभेटिने रहेछ यहाँ।

यो कुरा थाहा पाएपछि मेरो दिमागमा हलचल भयो। यहाँ त एउटा जीवित मान्छेलाई आफ्नो वर्तमान जीवनको मात्र नभएर मृत्युपछिको आफ्नो लासको बारेमा पनि चिन्तित बन्नुपर्ने रहेछ। कति एकाकी जीवन हो यो ? मृत्युपश्चात् आफ्नो लासलाई गाडिदिने मान्छे पनि नभेटिने रहेछ यहाँ। आफू बाँचेकै बेला आफू मरेपछिको लासको पनि ठेगान लगाइहाल्नुपर्ने। उफ्, कति स्वार्थी समाज हो यो ? केही दिनसम्म यही विषयमा मेरो दिमाग घुमिरह्यो। अन्ततः यस थिममा मेरो दिमागमा एउटा कथा फुरेपछि मेरो मन शान्त भयो। यो कथा ‘अफ्रिकन अमिगो’ कथासंग्रहमा सङ्गृहित छ।)

चर्चवरिपरि चिहानैचिहान थिए, मानौं त्यो ठाउँ चिहानहरूको बस्ती थियो। त्यो चिहानघारी देखाउँदै जेम्सले मलाई भनेको थियो, “मृत्युपछि म यही चिहानहरूको बस्तीमा समाधिस्थ हुन चाहन्छु। यो मेरो अन्तिम सपना हो।”

त्यसपछि जेम्सका आँखा लोलाएका थिए- चिहान भएको उक्त ठाउँमा एकोहोरो हेर्दै ऊ भावुक भइरहेको थियो। योर्कसायर शहरको बीचमा हजारौं वर्षपहिले निर्मित चर्चअगाडिको सम्म फाँटमा क्रस गाडिएका थुप्रै चिहानहरू थिए र ती चिहानहरूबीच अलिकति ठाउँ खाली थियो। जेम्सका आँखा त्यही खाली ठाउँ हेर्दै भावुक भइरहेका थिए।

“हेर्दाहेर्दै यो ठाउँ चिहानहरूले भरिँदै छ। अब त केवल चार-पाँच वटा चिहानहरूका लागि मात्र ठाउँ होला। मैले समयमै आफ्नो चिहानका लागि दिनुपर्ने पूरा रकम तिर्न सकिनँ भने यस ठाउँमा मेरो होइन, अर्कैको चिहान बन्नेछ।” जेम्सको अनुहार एकदम गम्भीर थियो। उसको गम्भीर अनुहारमा चिहान बनाउने दृढता दृष्टिगोचर भइरहेको थियो।

“तपाईंलाई यस ठाउँमै चिहान बनाउने आवश्यकता किन पर्‍यो जेम्स ? योभन्दा राम्रा अन्य ठाउँहरू पनि त छन् नि !” मैले जेम्सका कुराप्रति आश्चर्य व्यक्त गर्दै सोधेको थिएँ।

“छन्, धेरै छन्।” उसले पहिलेकै भावुक मुद्रामा जवाफ दिएको थियो, “तर योजति पवित्र ठाउँ यस शहरमा अन्यत्र कतै छैन। यो त्यो ठाउँ हो, जहाँ जिससको पावन उपस्थिति छ। यो चर्च युरोपका पवित्र चर्चहरूमध्ये एक हो। मृत्युपश्चात् पवित्र चर्चनजिकै समाधिस्थ हुन पाउनु भनेको हाम्रा लागि ठूलो पुण्यप्राप्ति हो। यो पुण्यप्राप्तिको आकांक्षा प्रत्येक क्रिस्तानमा बराबर हुन्छ, तर जसले आफ्नो चिहानका लागि तिर्नुपर्ने रकम मृत्युअगावै चर्चको ट्रस्टमा दाखिला गर्छ, त्यसले मात्र चिहानका लागि आवश्यक जमिन प्राप्त गर्न सक्नेछ।” जेम्सको मुहारमा भावुकता कायमै थियो।

मैले उसको भनाइबाट ऊ किन यस ठाउँमा चिहान बनाउन चाहन्छ भन्ने कुरा बुझेको थिएँ। प्रायः खैरो बारबरको कोट र बेलायती ह्याट लगाइरहने जेम्सलाई म कहिलेकाहीँ घरको झ्यालबाट चर्चतिर चियाइरहेको भेट्टाउँथें। चर्चनजिकै रहेको उसको घरको पश्चिमपट्टिको झ्याल चिहानहरूतर्फ खुल्थ्यो। त्यही झ्यालबाट ऊ प्रायः चिहानहरू हेर्ने गर्थ्यो र आफ्नो चिहानका सपनाहरू देख्ने गर्थ्यो।

उसको घरसँगै जोडिएको थियो म बस्ने घर पनि। ती दुवै घरका ढोका पूर्वपट्टि खुल्थे। म बस्ने घरको पश्चिमपट्टि पनि दुइटा झ्याल थिए। त्यहाँबाट कहिलेकाहीँ बाहिर चियाउँदा म जेम्सलाई आफ्नो घरको झ्यालमा निहुरेर चर्चतिर हेरिरहेको भेट्टाउँथें। हामीबीच प्रायः कुराकानी हुन्थ्यो र कुराकानीको मूल विषय नै चिहान हुने गथ्र्यो। उसका हरेक कुराहरूमा चिहानकै योजनाहरू हुन्थे।

ती योजनाहरू प्रायः परिवर्तित भइरहन्थे। परिवर्तनको मूल कारण रकम हुन्थ्यो, जुन रकम जोहो गर्न उसलाई हम्मे परेको थियो। म भने उसका विचारहरू सुनेर आश्चर्यमा डुबिरहन्थें। जीवित शरीरभन्दा उसलाई आफ्नो मृत शरीरको माया थियो। जिउँदो छँदा जति दुःख पाए पनि ऊ मृत्युपश्चात् आफ्नो आत्माले शान्ति प्राप्त गरोस् भन्ने चाहन्थ्यो र यसै चाहनालाई मूर्त रूप दिने प्रयासमा लागिरहेको थियो ऊ।

करिब साठी-पैंसट्ठी वर्षको जेम्स झट्ट हेर्दा बुढो जस्तो देखिँदैनथ्यो। खैरो बारबरको कोट र खैरो बेलायती ह्याटभित्र उसको चाउरिएको शरीर सधैं छोपिने गर्थ्यो। बाहिर देखिने सेता दाह्रीले सुशोभित गोरो अनुहार र हृष्टपुष्ट शरीरबाट उसको उमेर र बुढो शरीरको आकलन गर्न सकिँदैन्थ्यो।

कलात्मक शैलीमा ढुङ्गाले चिनेको एकतले घरमा ऊ एक्लो थियो, यद्यपि उसका चार पत्नीहरूबाट जन्मेका पाँच सन्तानहरू जीवितै थिए।
“यस घरमा म एक्लो छु।

मसँग परिवारलाई आवश्यक पर्ने सम्पूर्ण भौतिक सुविधाहरू छन् तर यी सुविधाको उपभोग गर्ने मेरो परिवारको एक सदस्य पनि अहिले मेरो साथमा छैन,” उसले एक दिन भावुक हुँदै मलाई भनेको थियो, “एउटी पत्नीको क्यान्सरले मृत्यु भयो। दुइटीले मलाई छोडेर अर्कैसँग विवाह गरे भने एउटीलाई मैले पारपाचुके गरें। मरेकीबाट सन्तान जन्मेनन्। मलाई छाडेर गएका दुई पूर्वपत्नीहरूबाट दुई-दुई छोराहरू छन् भने मैले पारपाचुके गरेकी पत्नीबाट एउटी छोरी छ। दश वर्ष भयो, तिनीहरू कहाँ के गरिरहेका छन्, मलाई थाहा छैन। पहिलापहिला स्वास्नी नभए पनि छोराछोरीहरू ‘बाबा’ भनी बेलाबखत भेट गर्न आइरहन्थे। त्यतिबेला मसँग धेरै पैसा थियो र म तिनीहरूका हरेक माग पूरा गर्न तत्पर रहन्थें तर जब मेरो दुर्भाग्यले मलाई पछ्याउन थाल्यो, तब मेरो खल्ती रित्तिँदै गयो र तिनीहरू मबाट टाढिँदै गए। अब त भेट भए पनि एकअर्कालाई चिन्न मुस्किल होला जस्तो लाग्छ। म अब जीवनको त्यस छेउमा पुगिसकेको छु, जहाँबाट पछाडितिर हेर्दा पश्चात्तापको गहिरो गल्छीसिवाय केही देखिँदैन। मलाई अतीतको आफ्नो पारिवारिक जीवन पनि सपना जस्तो लाग्छ। म एक्लो छु, एक्लै यस संसारमा आएको थिएँ र एक्लै नै यस संसारबाट बिदा हुनेछु भन्ने कुरा मात्र सत्य जस्तो लाग्छ।”

बुढो जेम्सका आँखा रसाएका थिए। ऊ झन् भावुक भएको थियो। सेता दाह्रीले छोपिएको उसको अनुहार व्यथित देखिन्थ्यो। अति भावुक अवस्थामा बूढो देखिने जेम्स यथार्थमा फुर्तिलो थियो। ऊ बिहानै उठ्थ्यो, शिरमा बेलायती ह्याट र शरीरमा बारबरको कोट भिरेर घरबाहिर निस्कन्थ्यो र सरासर चर्चमा पुग्थ्यो। चर्चमा सायद ऊ आफ्नो चिहानका लागि प्रार्थना गर्थ्यो। प्रार्थनापश्चात् ऊ सीधा बेकरी सपमा जान्थ्यो र त्यहाँबाट एक पोका दूध, केक र अन्डाको प्याकेट बोकेर घर फर्कन्थ्यो। ऊ फर्कंदा म पनि आफू बसेको घरअगाडिको चौरमा हिँडडुल गर्न थालिसकेको हुन्थें।

“गुड मर्निङ जेम्स !”

“मर्निङ। आर यु अल राइट ?” ऊ मेरो अभिवादन फर्काउँदै आफ्ना सेता दाँत देखाएर मुस्कुराउँथ्यो र नास्ताका लागि निम्तो दिन्थ्यो। कहिलेकाहीँ म उसको ब्रेकफास्टमा सहभागी भइदिन्थें। ब्रेकफास्ट खाएर बिहान ८ बजेतिर ऊ आफ्नो पुरानो फोर्ड कारमा चढेर काममा निस्कन्थ्यो र एकैचोटि साँझ ७ बजेतिर घर फर्कन्थ्यो। मलाई उसको आगमनको संकेत दिने उसको घरभित्रको ट्युबलाइटको प्रकाश हुन्थ्यो, जसलाई देखेर म ऊ आएको-नआएको थाहा पाउँथें।

उसको बिहान भर्खरै उदाएको सूर्यझैं ताजा र मनोहारी प्रफुल्लताबाट शुरु हुन्थ्यो भने रात, रातझैं उदास, निराश र हताश हुन्थ्यो। मैले कहिल्यै उसलाई रातमा बिहानझैं खुशी र प्रफुल्ल देखिनँ। ऊ सधैं जब बाहिरबाट फर्कन्थ्यो, एकदम थकित र चिन्तित मुद्रामा हुन्थ्यो। साँझपख आफूलाई कसैले डिस्टर्ब गरेको ऊ मन पराउँदैनथ्यो र यही थाहा पाएरै बेलुका म कहिल्यै उसको घरमा गएको थिइनँ।

राति अबेरसम्म पनि उसको बेडरुमको बत्ती निभ्दैनथ्यो। कहिले ऊ घरभित्रै जोडले कराइरहेको सुनिन्थ्यो भने कहिले उसको घरमा सन्नाटा व्याप्त हुन्थ्यो, जसले म आफैलाई डर लागेर आउँथ्यो। म बुढालाई केही भयो कि भन्ने शंका-उपशंका गर्न थाल्थें। अर्को दिन बिहानै चर्चबाट प्रार्थना गरेर फर्किरहेको जेम्ससँग घरको मूल गेटमै जम्काभेट भएपछि म सन्तोषको सास फेर्थें।

“यो मेरो आफ्नै घर होइन,” एक दिन ब्रेकफास्ट खाइरहेका बेला उसले मलाई आश्चर्यमा पार्दै भनेको थियो। “यो घर तबसम्म मेरो हुँदैन, जबसम्म म यस घरबापत तिर्नुपर्ने पूरा रकम चुक्ता गर्दिनँ। हालसम्म यो घर नगरपालिकाको हो।” मेरा आँखातिर छड्के नजर लाउँदै उसले फेरि भनेको थियो, “यस घरका लागि मैले प्रत्येक महिना दुई सय पाउण्ड जम्मा गर्नुपर्छ। सायद एक वर्षपछि यो घर मेरो हुन सक्छ।”

“के अझसम्म पनि तपाईंले आफ्नो कमाइले घर निर्माण गर्न सक्नुभएन त ?” अनुहार र जिउडाल हेर्दा सम्पन्न परिवारझैं देखिने जेम्सको जीवनबारे मेरो जिज्ञासा थियो।

ऊ पाउरोटीमा चक्कुले नौनी दलिरहेको थियो। त्यही हातले चक्कु सोझ्याएर डाइनिङ हलको भित्तामा टाँगेको ठूलो पेन्टिङतर्फ देखाउँदै उसले भन्यो, “यस पेन्टिङमा देखिने त्यो आलीशान महल मेरो थियो, जहाँ मैले आफ्नो जीवनका अविस्मरणीय क्षणहरू सँगालेको थिएँ र जीवनपर्यन्त म त्यो घर छोड्न चाहन्नथें।”

ऊ केहीबेर रोकियो, लामो श्वास फेर्‍यो र फेरि भन्न थाल्यो, “तर मैले त्यो प्यारो घरलाई यति धेरै माया गरेर पनि छाड्नुपर्‍यो। स्वास्नीहरूको आधुनिक फर्मायस, तिनीहरूसँग भएका पारपाचुके, बालबच्चाको लालनपालनका लागि तिर्नुपर्ने रकमले गर्दा म ऋणमा यति डुबिसकेको थिएँ कि बाध्य भएर मैले आफ्नो पसिनाले सिर्जेको त्यो घर बेच्नुपर्‍यो। तर जसका लागि मैले त्यो घर बेच्नुपर्‍यो, आज तिनैले मलाई छाडेर गए। अब म एक्लो छु। संसारमा केवल एक्लो।” यसबेला जेम्स बालकजस्तो देखिएको थियो। उसका बालसुलभ कोमलता झल्कने आँखाहरूमा आँशु टलपलाएका थिए।

“म कति एक्लो छु भने मरेपछि मेरो लास जमिनमा गाडिदिने आफन्तसमेत मसँग छैनन्। म मृत्युपश्चात् बेवारिस लास भएर अस्पतालको लासघरमा दुर्गन्ध फैलाएर सड्न चाहन्नँ। त्यसैले म प्रत्येक महिना आफ्नो पारिश्रमिकको केही हिस्सा चर्चअगाडि चिहानहरू रहेको ठाउँमा आफ्नो चिहानका लागि एक टुक्रा जमिन प्राप्त गर्न चर्चको ट्रस्टमा रकम जम्मा गर्ने गर्छु। म मरेपछि उक्त ट्रस्टले धार्मिक विधिअनुसार मेरो दाहसंस्कार गर्नेछ र मेरो लास उक्त ठाउँमा समाधिस्थ गरिदिनेछ।”

“तर यस्तै हो भने चर्चमा चिहानका लागि आफ्नो ठाउँ सुरक्षित गर्न अझै मलाई दश वर्ष लाग्नेछ। यस अवधिबीच म मरें भने ?” जेम्सले बेसरी टाउको हल्लायो र आफ्नो स्थानबाट जुरूक्क उठेर बेडरूमभित्र गयो।

जेम्सले लामो उच्छ्वास छाडेको थियो। उसका आँखामा अघिको बालसुलभ कोमलता हराएर दृढता र कठोरताका भावहरू देखिन थालेका थिए। “तर यस्तै हो भने चर्चमा चिहानका लागि आफ्नो ठाउँ सुरक्षित गर्न अझै मलाई दश वर्ष लाग्नेछ। यस अवधिबीच म मरें भने ?” जेम्सले बेसरी टाउको हल्लायो र आफ्नो स्थानबाट जुरूक्क उठेर बेडरूमभित्र गयो।

फर्कंदा उसले हातमा कुनै वस्तु लिएर आएको थियो। मेरो अगाडि फिँजाउँदै भन्यो, “ल हेर ! यी चार जना बूढाहरूको तस्बिर। बिचरा, चिहानको रकम जम्मा गर्नुभन्दा अगावै मर्नुपर्‍यो र यिनीहरूको लास सार्वजनिक उद्यानमा लगेर गाड्नुपर्‍यो। म पनि यिनीहरूझैं मरें भने ?” जेम्स घरभित्र ओहोरदोहोर गर्न थाल्यो। ऊ केही सोच्दै भुइँतिर ताकिरहेको थियो। उसको त्यो अनौठो भाव-भङ्गिमाबाट म आश्चर्यचकित हुनुका साथै डराइरहेको पनि थिएँ र आफूले आफैलाई ढाडस दिने प्रयत्न पनि गरिरहेको थिएँ। म ती चार जना अभागी बूढाहरूका तस्बिरबाट आफ्ना आँखा हटाउन सकिरहेको थिइनँ।

त्यस दिन पनि जेम्स ब्रेकफास्ट खाइसकेपछि आफ्नो फोर्ड कारमा बाहिर गएको थियो तर रात परिसकेपछि पनि घर फर्किसकेको थिएन। म घरीघरी उसको बेडरूमको बत्ती बल्यो कि बलेन भनेर हेर्थें तर राति बाह्र बजेसम्म पनि ऊ घर फर्केको थिएन। मलाई त्यस रात उसको घरमा गएर उसको हालखबर सोध्न मन लागेको थियो। आज मैले पत्रिकामा एउटा विज्ञापन देखेको थिएँ, जुन चिहानसँग सम्बद्ध थियो।

योर्कसायरमा बस्दै आएको एक परिवार आफ्नो घर बेचेर लन्डनतिर जाँदै थियो र त्यस परिवारको सबैभन्दा बूढो सदस्य आफूले चर्चअगाडि चौरमा चिहानका लागि किनेको जमिन सस्तो मूल्यमा बेच्न चाहन्थ्यो। जेम्सलाई उक्त विज्ञापनबारे अवगत गराउन चाहन्थें म तर अफसोस ! मध्यरातसम्म पनि जेम्सको बेडरूममा अन्धकार व्याप्त थियो।

भोलिपल्ट सधैंझैं आफू बसेको घरअगाडिको सडकमा बिहानको ताजा हावामा श्वास फेर्न म यताउति गरिरहेको थिएँ। मेरा आँखा चर्चबाट आउने बाटातिर तन्केका थिए, किनकि सधैं त्यही समयमा जेम्स चर्चबाट प्रार्थना गरेर फर्कन्थ्यो र घरअगाडिको मूलगेटमा हामी दुवैको जम्काभेट हुने गथ्र्यो।

हिजो मध्यरातसम्म पनि जेम्स घरमा फर्केको थिएन र सम्भवतः ऊ बिहान तीन-चार बजेतिर फर्केको हुन सक्थ्यो। म सकेसम्म चाँडो जेम्सलाई चिहानको विज्ञापनबारे सुनाउन चाहन्थें। म चर्चबाट आउने प्रत्येक मान्छेलाई टाढैबाटै नियाल्दै बेलायती क्याप र बारबर कोट लगाएको जेम्सको प्रतीक्षा गरिरहेको थिएँ।

एकाएक योर्कसायर काउन्टी पुलिसको गाडी सायरन बजाउँदै जेम्सको घरअगाडि आएर रोकियो। प्रहरीको गाडीबाट चार जना प्रहरीसहित बारबर कोट र बेलायती ह्याट लगाएको जेम्स पनि उत्रेको थियो। प्रहरीहरूले उसका दुवै पाखुरा अँठ्याइरहेका थिए र उसका दुवै हात कम्मरपछाडि हतकडीमा जकडिएका थिए। म आश्चर्यचकित भएर हतकडीमा जकडिएको जेम्सलाई हेरिरहेको थिएँ। उसको अनुहार सपाट थियो, अनुहारमा देखिने जीवन्त भावहरू आफै चिहान बनिसकेका थिए। उसले एक पटक आफ्ना झुकेका परेलाहरू उठाएर मलाई हेरेको थियो। उसका आँखाका भावहरूले मेरा आँखाद्वारा अभिव्यक्त सवालहरूको जवाफ दिएझैं लागेको थियो मलाई।

जेम्सको घर खानतलासीपछि प्रहरीको भ्यान फर्केर गएको थियो। त्यसबेलासम्म जेम्सको घरअगाडि वरपरका छिमेकीहरू पनि जम्मा भइसकेका थिए तर जेम्स पक्राउ पर्नु र उसको घर खानतलासी हुनुको कारण कसैलाई थाहा थिएन, न त मलाई नै थाहा थियो। म हतप्रभ, किङ्कर्तव्यविमूढ भएर आफैं चिहान बन्न पुगिरहेको जेम्सको घरलाई नियालिरहेको थिएँ।

अर्को दिनका दैनिक समाचारपत्रहरूको प्रमुख आकर्षण नै जेम्स थियो। दैनिक पत्रिकाको मुखपृष्ठमै हतकडीमा जकडिएको जेम्सको फोटो छापिएको थियो र समाचारको प्रमुख शीर्षकमा लेखिएको थियो, “आफ्नो चिहानका लागि जघन्य हत्या।” उक्त शीर्षकमुनि पत्रिकाले टिप्पणी गर्दै लेखेको थियो, “ऊ चर्चनिर चिहानहरू रहेको ठाउँमा आफ्नो चिहान बनाउन चाहन्थ्यो र त्यसका लागि उसले तिर्नुपर्ने पूरा रकम तिर्न सकेको थिएन।

उसलाई सधैं यस डरले सताउँथ्यो कि ती पाँच जना बूढाहरू जो आफ्नो चिहानका लागि उसले झैं चर्चको ट्रस्टमा रकम दाखिला गरिरहेका थिए, ती बूढाहरूले उसले भन्दा पहिले नै चिहानको पूरा रकम चुक्ता गरे भने उसका लागि चिहान पाउनु असम्भव हुन जानेछ। उसले पटकपटक गरी ती पाँच जना बूढाहरूको हत्या गरेको थियो, जो चिहानको पूरा रकम चुक्ता गर्ने क्रममा पुग्नै लागेका थिए। तर पाँचौं पटकको हत्यामा ऊ प्रहरीबाट उम्कन सकेन र समातियो।”

पत्रिकामा जेम्सको फोटोसँगै ती पाँच जना बूढाहरूको फोटो पनि छापिएको थियो। मैले आश्चर्यचकित हुँदै ती पाँच जना बूढाहरूको फोटो हेरेको थिएँ। त्यसमध्ये चार जना बूढाहरू ती थिए, जसका फोटाहरू जेम्सले मलाई ऊ पक्राउ पर्नुभन्दा अघिल्लो दिन आफ्नो घरमा देखाएको थियो।

कला : रमेश श्रेष्ठ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved