युवा छँदा

सर आइज्याक न्यूटन

भनिन्छ कि, रसायनविद्का लागि प्रकृति हरेक प्रक्रियाका साथ जीवन्त रहन्छ, हृदय अर्थात् Matter निष्क्रिय नभएर सक्रिय हुन्छ, निष्प्राण नभएर जीवनले भरिएको हुन्छ।

नेपालभ्युज

सर आइज्याक न्यूटन

युवा अर्थात् जीवनको उर्वर कालखण्ड। युवावस्था जीवनको ऊर्जावान, उन्मुक्त र नवोन्मेष काल पनि हो। संसारका अधिकांश महान् वैज्ञानिक, साहित्यकार, कलाकार, दार्शनिक, राजनीतिज्ञलगायतले युवाकालमा नै आफ्नो सशक्त पहिचान बनाएका थिए- सैद्धान्तिक खोज, अनुसन्धान एवं लेखन क्षेत्रमा।

महान् वैज्ञानिकहरू सर आइज्याक न्यूटन, ग्यालिलियो ग्यालिली र अल्बर्ट आइन्स्टाइनले युवाकालमै वैज्ञानिक खोज र अनुसन्धानको डोब खनिसकेका थिए। कार्लमार्क्स, फ्रेडरिख एंगेल्सले युवाकालमै राजनीतिक सिद्धान्त प्रतिपादन गरेका थिए।

वैज्ञानिकहरू हाइजेनबर्गले २४ वर्ष, आइन्स्टाइन र डिराकले २६ वर्ष, पाउलीले २५ वर्ष, नील्स बोहरले २८ वर्षमै प्रसिद्धि कमाइसकेका थिए। युवाकालमा महान् वैज्ञानिकहरूले जुन नयाँ खोज र अनुसन्धान गरेर नयाँ-नयाँ सिद्धान्त प्रतिपादन गरे, आज विज्ञानको क्षेत्रमा भएका सम्पूर्ण वैज्ञानिक प्रगतिको आधार त्यसैलाई मान्नु पर्छ।

गुरुत्वाकर्षण सर्वव्याप्त रहेको र ब्रम्हाण्डमा रहेका सम्पूर्ण पिण्ड एक-अर्कासँग गुरुत्वाकर्षण बलले आकर्षित गर्दछ भन्ने सिद्धान्त प्रतिपादन गरेका न्यूटनको युवाकाल वैज्ञानिक जिज्ञासाहरूले भरिएको मात्र थिएन, वैज्ञानिक खोज र अनुसन्धानको दिशामा उनी क्रियाशील पनि रहे।

युवाकालमै सफलता पाउने वैज्ञानिक थिए- सर आइज्याक न्यूटन पनि। उनी २७ वर्षकै उमेरमा ल्युकेशियन प्रोफेसर बनिसकेका थिए। सोह्रौं शताब्दीका महान् भौतिकशास्त्री न्यूटनले गहन अध्ययन, शोध-कार्य र प्रयोगद्वारा गतिको नियम प्रतिपादन गरे, जुन उनको युवाकालकै देन थियो। उनका गतिका तीन नियम थिए-

१. पहिलो नियम- प्रत्येक वस्तु आफ्नो स्थितिमा तबसम्म रहन्छ, जबसम्म त्यसमाथि कुनै बाहिरी दबाब (बल) लगाइँदैन। अथवा, यदि कुनै वस्तु गतिशील छ भने त्यो गतिशील नै रहन्छ र स्थिर छ भने स्थिर नै। जबसम्म त्यसमाथि कुनै बाह्य बल लगाइँदैन। यसलाई जडत्वको नियम Law Of Inertia) भनिन्छ।

२. दोस्रो नियम- कुनै वस्तुको गतिमा परिवर्तन त्यसमा लगाइने बलको समानुपाति हुन्छ र लगाइएको बलको दिशामा हुन्छ।

३. तेस्रो नियम- प्रत्येक क्रियाको त्यसको बराबर एवं विपरीत प्रतिक्रिया हुन्छ।

गुरुत्वाकर्षण सर्वव्याप्त रहेको र ब्रम्हाण्डमा रहेका सम्पूर्ण पिण्ड एक-अर्कासँग गुरुत्वाकर्षण बलले आकर्षित गर्दछ भन्ने सिद्धान्त प्रतिपादन गरेका न्यूटनको युवाकाल वैज्ञानिक जिज्ञासाहरूले भरिएको मात्र थिएन, वैज्ञानिक खोज र अनुसन्धानको दिशामा उनी क्रियाशील पनि रहे।

वास्तवमा, न्यूटनको भौतिकशास्त्र प्रकृतिमा मौजुद सबै निर्जीव वस्तुको गतिमा लागु हुने केही सरल नियममा आधारित थियो। न्यूटनको नियमको दायरामा पृथ्वीमा रहेका हरेक वस्तुदेखि ब्रम्हाण्डको कुनाकुनासम्मै रहेका पिण्डसम्म आउँथे। त्यो पृथ्वीमा खसेको भकुन्डोको गति होस् वा पृथ्वीको चारैतिर घुमिरहेका चन्द्रमाको गति, टाढाको आकाशको ग्रह एवं ताराको गति होस् वा दूरबिनबाट देखिने मन्दाकिनी एवं निहारिकाको गति, यी सबै न्यूटनी भौतिकशास्त्रको केही नियमद्वारा थाहा पाइन्थ्यो।

आफू वरपरका कुनै पनि वस्तुदेखि ब्रम्हाण्डको जुन कुनै कुनामा रहेका ताराजस्ता कुनै पनि बृहत् पिण्डको गतिको जानकारी हामी केही नियमद्वारा पाउन सक्छौं। यति मात्र होइन, आगामी समयमा त्यसको गति कस्तो हुन्छ र कहाँ रहन्छ ? यिनै नियमहरूलाई पछ्याएर उन्नाइसौं शताब्दीमा सौर्य मण्डलका केही ग्रहको खोजीसमेत गरिएको थियो। आज वैज्ञानिकहरूले विभिन्न खालका उपग्रह वा अन्तरिक्ष यान पठाएर हामीलाई जुन खबर दिइरहन्छन्, यी सबै विकासलाई न्यूटनको भौतिकशास्त्रको देन मान्नु पर्छ।

न्यूटनले दुइटा प्रिज्मको सहयोग लिएर एउटा प्रयोग सावित गरेर पनि देखाए- प्रकाश विभिन्न प्रकारबाट अपवर्तित हुने किरणबाट मिलेर बनेको छ र रंग प्रकाशको मूलभूत गुण हो, उसको कुनै रूपान्तरण हुँदैन। सेतो प्रकाश रङहरूमा असमान मिश्रण हो र नीलो रङको अपवर्तन रातो रङभन्दा धेरै हुन्छ।

सन् १६४२ मा बेलायतको लिंकोसायरमा जन्मिएका न्यूटनको प्रतिभाको प्रस्फुटन सन् १६६९ देखि शुरु भएको थियो। सन् १६६७ मा क्याम्ब्रिज विश्वविद्यालयमा फेलोसिप पाएपछि उच्च अध्ययनको क्रमलाई अघि बढाएका उनले आफ्नो गणितीय प्रयोगलाई सदैव जारी राखे।

उनले क्युविक इक्वेसन्स, त्रिआयामिक गोलोको सूची तयार पारे, जुन द्विआयामिक अण्डाकृति तथा हाइपरबोला (Hyperbola) भन्दा धेरै भिन्न र कठिन थियो।

लन्डनका गणित-प्रशिक्षक तथा रोयल सोसाइटीका सदस्य निकोलस मरकेटरले एउटा पुस्तक लेखेका थिए, ‘लागेरिथ्मोटेक्निका’। जसमा अनन्त श्रेणीद्वारा लागेरिथ्मको गणनाको विधि उल्लेख थियो। तर जब त्यो किताब न्यूटनको हातमा पर्‍यो, उनले थाहा पाए- त्यो त उनले क्याम्ब्रिजमा स्नातक गरेको बेला लेखेको किताब पो हो त।

सन् १६६९ मा ब्यारो (एउटा अंग्रेजी उपाधि) ले न्यूटनको गणितीय उपलब्धिलाई बाहिर ल्याउन चाहे। ब्यारोले लन्डनको कोलिन्सलाई एउटा पत्र लेख्दै भने, ‘न्यूटनले मलाई केही कागजपत्र दिएका छन्, जसमा हाइपरबोलाको आयामसम्बन्धी गणना विधि छ। यसबाट समीकरण पनि हल गर्न सकिन्छ।’

कोलिन्सले सबै गणितीज्ञहरूलाई पत्र लेखे। रोयल सोसाइटीका अध्यक्ष ब्रोकरलाई पनि कोलिन्सले न्यूटनको कार्य देखाए। त्यही बेला न्यूटनले प्रस्ताव राख्दै भने कि- ‘आफ्नो पाण्डुलिपिको मूल प्रति आफूलाई नै फिर्ता दिइयोस्।’

ब्यारोले आफ्नो शोधपत्र तयार पार्दा न्यूटनको सहयोग लिएका थिए। उनको शोधपत्र ‘अप्टिक्स’ सँग सम्बन्धित थियो। १६६९ मा ब्यारोको सम्पूर्ण कार्य प्रकाशित भयो। उनले न्यूटनप्रति आभारी प्रकट गर्दै लेखे, ‘ठुला विद्वान् एवं साधु पुरुष एक व्यक्तिले मेरो काम दोस्रो पटक देखे र त्यसमा सुधार गरिदिएर मलाई ठुलो मद्दत गरे।’ त्यसपछि भने ब्यारोले आफ्नो पदबाट राजीनामा दिए र त्यो पद न्यूटनलाई दिए।

त्यतिबेला न्यूटन २७ वर्षका युवा थिए, जो ल्युकेशियन प्रोफेसर बने। गणितको ल्युकेशियन पदलाई क्याम्ब्रिज विश्वविद्यालयको प्राध्यापक पद मानिन्छ।

३० वर्षको उमेर पुग्दानपुग्दै न्यूटनको कपाल सेतै फुलिसकेको थियो। दुब्ला-पातला, ठूलो नाक र गिब्बनजस्ता आँखा उनको शारीरिक पहिचान थियो। उनी आफ्नो अध्ययन-कक्षमा कैयौं दिनसम्म मैनबत्तीको प्रकाशमा बसेर काम गर्दथे। खाने-पिउनेजस्ता कार्यमा उनको चासो जाँदैनथ्यो। उनी शान्त र एकान्तप्रिय थिए। प्रायःजसो उनी जुत्ता र मोजा ठीक रूपले लगाउँदा पनि लगाउँदैनथे।

तत्कालीन समयमा प्लेगजस्ता महामारीको सर्वत्र डर थियो। प्राणघातक रोगबाट टाढै रहन उनले आफैद्वारा औषधि तयार पारेका थिए। तारपिनको तेल, गुलाफको पानी, जैतुनको तेल र मैनबत्ती मिलाएर उनले औषधि बनाएका थिए र त्यसैको सेवन गर्दथे। जसको कारण उनी ‘नर्भस ब्रेकडाउन’ को सिकार हुन पुगे। यिनै कारण युवाकालमै उनी वृद्धजस्ता देखिन्थे।

न्यूटनको समयमा रसायनशास्त्र चरमोत्कर्षमा थियो। तात्कालिक रसायनविद्हरूले आफ्नो ज्ञान र शोधलाई गोप्य राख्न चाहन्थे र आफ्नो लेखलाई वर्ण-विन्यास गरेर कुट भाषामा लेख्थे, ताकि आफूले लेखेका कुरा कसैले पढ्न नसकून्। न्यूटनले पनि त्यही गरेका थिए।

भनिन्छ कि, रसायनविद्का लागि प्रकृति हरेक प्रक्रियाका साथ जीवन्त रहन्छ, हृदय अर्थात् Matter निष्क्रिय नभएर सक्रिय हुन्छ, निष्प्राण नभएर जीवनले भरिएको हुन्छ।

हुन पनि, न्यूटन आफ्नो ज्ञान र प्रयोगको आधारमा एक अनुभवी रसायनविद् पनि थिए। यो कुराको रहस्य त्यस्ता कागजपत्रबाट थाहा भयो, जुन न्यूटनको जीवनपर्यन्त गोप्य नै रह्यो र उनको मृत्युपछि मात्र फेला पर्‍यो।

युवावस्थामै महान् गणितीज्ञ र रसायनविद्को परिचय बनाएका न्यूटन ८४ वर्षसम्म बाँचे। उनको मृत्युमा अलेक्जेन्डर पोपले भनेका थिए, ‘प्रकृति एवं प्रकृतिको नियम अन्धकारमुनि दबिएको थियो। ईश्वरले भन्नुभयो- अब न्यूटनको आविर्भाव भयो, जसका कारण अब सर्वत्र प्रकाश छाउँछ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved