सिने-संवाद

‘भुटानी शरणार्थीसम्बन्धी सिनेमा बनाउने धोको छ’ (अन्तर्वार्ता)

‘भुटानी शरणार्थीसम्बन्धी सिनेमा बनाउने धोको छ’ (अन्तर्वार्ता)

केही नेपाली सिने क्षेत्रको विकासको कुरा, केही आफ्नै सिर्जनात्मक पाटोको कुरा र केही चलचित्र विकास बोर्डको भूमिकाको कुरा। छ दशकयता नेपाली सिने क्षेत्रमा भिज्दै आएका वरिष्ठ सिनेमा निर्देशक यादव खरेलसँग यिनै विषयमा कुरा हुँदा उनी सिने-क्षेत्रबाट पृथक् देखिँदैनन् अझै।

आउँदो फागुनदेखि ८० वर्षमा टेक्न लागेका खरेलले तीन वटा कार्य गरेरै देखाए- २०२८ सालमा शाही नेपाली चलचित्र संस्थानको महाप्रबन्धक हुँदा नेपाली सिनेमाको आधारभूत जग बसाल्ने कार्य, चलचित्र विकास बोर्डको संस्थापक अध्यक्ष हुँदा नीति निर्माण गर्ने कार्य र राष्ट्रिय चलचित्र नीति निर्माणको नेतृत्वकर्ता।

नौ वटा सिनेमा निर्देशन गरेका खरेललाई नेपालकै पहिलो बायोपिक ‘आदिकवि भानुभक्त’, पहिलो हास्यप्रधान सिनेमा ‘लोभीपापी’ निर्देशन गर्ने श्रेय त जान्छ नै, यसबाहेक सामाजिक सरोकार जोडिएका ‘चेलीबेटी’, ‘आँधीबेरी’, ऐतिहासिक कथावस्तुका ‘प्रेमपिण्ड’ बनाउने निर्देशकका रूपमा पनि नेपाली सिने जगत्मा उनी चिनिन्छन्। अचेल पनि सिने-चिन्तनमा सक्रिय खरेलसँग विवश वस्तीले गरेको संवाद :

नेपाली सिने क्षेत्रमा बितेको छ दशकदेखि प्रत्यक्षतः सम्बद्ध रहँदै आउनुभएको छ। बितेको यो अवधिमा नेपाली सिने क्षेत्रको आरोह-अवरोहलाई कसरी हेर्नुभएको छ ?

नेपाली सिने क्षेत्रको आरोह-अवरोहलाई नियाल्दा हामीले दुइटा पक्षलाई हेर्नुपर्ने हुन्छ। एउटा, नीतिगत पक्ष र अर्को सिर्जनात्मक पक्ष। यो अवधिमा केकस्ता नीति-निर्माण बने र त्यसको कार्यान्वयनतिर कतिको ध्यान दिइयो भन्ने वैचारिक पक्ष एकातिर छ भने अर्कोतिर सिर्जनात्मक पक्षलाई केलाउनुपर्ने हुन्छ। निश्चय नै, कुनै चिजको विकासको लागि संस्थागत विकास र प्रबद्र्धन हुन जरुरी हुन्छ। संस्थागत विकास सँगसँगै सिर्जनाको कुरा अर्थात् चलचित्र निर्माणको कुरा पनि जोडिएर आउँछन्।

चलचित्र निर्माणका पनि केही पक्ष छन्। हामीले चलचित्र भन्नेबित्तिकै कथानक चलचित्रबारे बुझ्छौं, जुन व्यापारिक हिसाबका हुन्छन्। चलचित्रको दायरा भने निकै फराकिलो छ। जस्तै, वृत्तचित्र, सर्टमुभी, विज्ञापन-चलचित्र पनि चलचित्र विधामा नै समेटिन्छन्।

पहिला-पहिला चलचित्रलाई ‘डब’ गर्ने गरिन्थ्यो। एउटा भाषामा निर्माण भएको चलचित्रलाई डबिङ गरिन्थ्यो, आवाज परिवर्तन गरिन्थ्यो। तात्कालिक समयमा सेल्युलाइडमा काम गर्दा त्यसको प्रविधि र कामगराइ एक किसिमको थियो। त्यो निकै गाह्रो काम थियो। अहिले भने नयाँ प्रविधिको विकासका कारण हरेकले आफैले खिच्न सक्ने सुविधा उपलब्ध भएका छन्।

निश्चय नै, नेपाली सिने क्षेत्रमा आयामिक परिवर्तन भएका छन्। संस्थागत परिवर्तन भएपछि, माध्यममा परिवर्तन भएपछि र माध्यम परिवर्तनका कारण व्यापारको नयाँ आयाम खुलेपछि यस्ता परिवर्तनहरू आउनु स्वाभाविकै हो। टेक्नोलोजीको कुरा गर्ने हो भने शुरुमा सेल्युलाइडको चलन थियो। नेपाली सिने निर्माणको प्रारम्भिक चरणमा सबै काम पहिला कलकत्ता र पछि बम्बईमा गएर गर्नुपर्थ्यो। नेपालमा त सुटिङको लागि लोकेशन मात्र प्रयोग गरिन्थ्यो। अहिले यी सबैमा परिवर्तन आएका छन्।

भनेपछि यो अवधिमा सिनेमाको शास्त्रीय व्याकरणमा पनि धेरै फेरबदल आयो ?

हो, धेरै नै फेरबदल आयो। परिवर्तन हुनुमा मानिसको सोचमा आएको परिवर्तनको पनि भूमिका छ। अहिले प्रविधि हरेकको हात-हातमा पुगेको छ। पहिला जोकोहीले सिनेमा बनाउने कुरा सोच्न नै सक्दैनथे। अब भने कम खर्चमा जोकोहीले बनाउनसक्ने अवस्था छ र जताततै प्रदर्शन गर्न सकिने अवस्था पनि छ। सिनेमा निर्माणको प्रजातान्त्रीकीकरण यसरी भइदियो कि, त्यसमा अनुभव गर्ने र नयाँ विचारलाई प्रयोग गर्ने सहुलियत नयाँ पुस्ताले पाए।

यसरी एक हिसाबले सिने क्षेत्र उन्नत भएको देखिन्छ। तर, हानीकर कुरा के भइदियो भने, सिनेमासम्बन्धी गहन अध्ययन गरेर त्यही क्षेत्रमा समर्पित हुने मानिसहरू कम हुँदै गए। सिनेमासम्बन्धी अध्ययनै नगरी सिनेमा बनाउन थालेपछि गतिला चिजहरू नआउने अवस्था सिर्जना हुँदै गएको छ।

म अचेल हलमा गएर सिनेमा हेर्दिनँ, घरमै हेर्छु। जति हेर्छु, ती सिनेमाहरू त्यति प्रभावकारी लाग्दैन र नयाँ चिज पाएँजस्तो पनि लाग्दैन। प्रविधिले नयाँ क्षितिज खुलाइदियो। अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रतिस्पर्धा वा अन्य प्रयोजनका लागि पठाउने अवसर पनि खुलेको छ। तर बौद्धिक तप्काको संलग्नता भने घट्दै गएको छ।

अब नेपाली सिनेमाको विकासक्रमतिर जाऔं। हामीकहाँ कहिलेदेखि सिनेमा निर्माणको व्यवस्थित शुरुवात भयो ?

नेपाली सिनेमाको इतिहासलाई पल्टाउँदा, नेपाली मूलका हिरासिंह खत्री बम्बई फिल्म उद्योगमा काम गर्थे। राजा महेन्द्र बम्बई घुम्न जाँदा उहाँले नेपालमा सिनेमा निर्माणको काम थालनी गर्ने हेतुले खत्रीलाई लिएर आउनु भयो। नेपाल आएपछि खत्रीले ‘आमा’, ‘हिजो आज भोलि’ र ‘परिवर्तन’जस्ता सिनेमा बनाए। यी सिनेमाहरू सञ्चार मन्त्रालयअन्तर्गतको सूचना शाखाले बनाएको थियो।

त्यही समय सञ्चार नीति पनि बन्यो। सो नीतिले हाम्रो आफ्नै फिल्म उद्योग हुनुपर्छ भन्ने परिकल्पना गर्‍यो। त्यही परिकल्पनाअनुरूप २०२८ सालमा शाही नेपाल चलचित्र संस्थान स्थापना भयो। संस्थानको कार्यकारी-अध्यक्ष र महाप्रबन्धकको जिम्मेवारी मैले पाएँ। संस्थानलाई सरकारले अत्यन्तै ठुलो महत्व दिएको थियो। संस्थानको बोर्ड सदस्यमा बालकृष्ण सम, माधवप्रसाद घिमिरे, श्रीधर खनालजस्ता प्रबुद्ध व्यक्तिहरूसमेत हुनुहुन्थ्यो।

संस्थान गठन भएपछि सिनेमाको आधारभूत संरचना निर्माणको काम हुन थाल्यो। त्यसअघि नेपालमा सिनेमा सुटिङ हुँदा बम्बईका प्राविधिकहरू आएर खिच्थे। तर हामीले आफ्नै प्राविधिकहरू उत्पादन हुनुपर्छ भनेर पुना फिल्म इन्स्टिच्युटमा नेपालीहरूलाई तालिमका लागि पठाउन थाल्यौं। त्यसपछि बालाजुमा जग्गा लिएर ल्याबरोटरी स्थापना भयो। दुःखद कुरा के छ भने, पछिल्लो समय भने बालाजुको ल्याबरोटरीलाई समाप्त नै पारे, बेचेर खाए।

पछिल्लो समय चलचित्र विकास बोर्ड गठन भयो र संस्थापक अध्यक्षको जिम्मेवारी मैले पाएँ। बोर्डले चलचित्रसम्बन्धी नयाँ नीति बनायो। पछि सरकारले नै ‘राष्ट्रिय चलचित्र नीति’ बनायो। त्यो नीति मेरै अध्यक्षतामा बनेको थियो।

प्रारम्भिक समयमा नेपाली सिनेमा क्षेत्रको विकास र उत्थानका निम्ति राज्यको लगानी रहेको देखिन्छ। पछिल्लो समयचाहिँ राज्यको भूमिका कस्तो रह्यो ?

चलचित्र विकासको शुरुवाती चरणमा राज्यले नै लगानी गरेको थियो। पहिला-पहिला हामीकहाँ हिन्दी चलचित्रको दबदबा थियो। हामीले सिनेमा निर्माण गरे पनि हलहरूले हाम्रा चलचित्रलाई तत्कालै प्रदर्शन गर्दैनथे। किनभने, हिन्दी चलचित्र प्रदर्शन गर्दा हलहरूले फाइदा उठाउन पाउँथे। हिन्दी चलचित्र चलाउँदा हलले कर चोरी गर्नेदेखि अनेक कार्य गर्थ्यो।

त्यतिबेला भारतको अभिरुचि भने नेपालमा ‘सांस्कृतिक वर्चस्ववाद’ लाद्नेमा थियो। भारतीय मोडेलका नायकहरूलाई स्थापित गर्ने र भाषिक प्रभाव विस्तार गर्नेमा भारतको चासो देखिन्थ्यो। त्यतिबेला हाम्रा नीति-निर्माताहरूले पनि त्यतातिर ध्यानै दिएनन्।

अन्याय त कतिसम्म थियो भने, हिन्दी चलचित्र नेपालमा ल्याउँदा कुनै सेन्सर गर्नु पर्दैनथ्यो। वीरगञ्जमा आएको भोलिपल्ट नै सेन्सर बोर्डले स्वीकृत दिएर नेपाली हलहरूमा प्रदर्शन हुन्थ्यो। तर हामीले निर्माण गरेका नेपाली सिनेमाहरू भारतमा प्रदर्शन गर्नुपर्‍यो भने अंग्रेजी भाषामा रूपान्तरण गरेर बम्बईमा सेन्सरका लागि पठाउनु पथ्र्यो। यसरी सेन्सरका लागि बम्बई पठाइएको एउटा सिनेमालाई एक महिनाभन्दा बढी समय लगाइदिन्थ्यो।

नेपाली सिने क्षेत्रमा हिन्दीको बढ्दो प्रभावका साथै सांस्कृतिक वर्चस्ववादलाई रोक्नका लागि राज्यबाट कुनै पहल भएन, त्यतिबेला ?

बीसको दशकको मध्यतिर म सिनेमासम्बन्धी अध्ययन गर्न बेलायत गएँ। बेलायतमा रहँदा मैले राजा महेन्द्रको अन्तरवार्ता बीबीसी नेपाली सेवामा लिने मौका पाएको थिएँ। त्यतिबेला राजा महेन्द्रले सोध्नुभएको थियो, ‘तिमी बेलायतमा के गर्छौ ?’ मैले भनेको थिएँ, ‘सरकार, म लन्डन युनिभर्सिटीमा फिल्मसम्बन्धी अध्ययन गरिरहेको छु।’

त्यसपछि राजा महेन्द्रले भन्नुभयो, ‘हामीकहाँ हिन्दी फिल्मको प्रभाव बढेको छ। हामी त्यो प्रभावबाट मुक्त हुनुपर्छ। तिमी नेपाल आएपछि मलाई भेट।’ राजा महेन्द्रको पनि भारतको सांस्कृतिक प्रभुत्ववादबाट हामी मुक्त हुनुपर्छ र आफ्नै फिल्म उद्योग स्थापना गर्नुुपर्छ भन्ने चाहना र सपना थियो। तर राजा महेन्द्रको त्यही बेला देहावसान भयो र त्यो काम अघि बढ्न सकेन। पछि शाही नेपाली चलचित्र संस्थान स्थापना भएपछि केही हदसम्म त्यो दिशातिर काम हुन थालेको हो।

पछिल्ला दशकहरूमा निर्माण भएका सिनेमाहरू मौलिक एवं नवीन कथावस्तुमा बनेका छन् र व्यावसायिक रूपले सफल पनि देखिएका छन्। तपाईंले जुन बेला सिनेमा निर्देशन गर्न थाल्नुभयो, त्यतिबेला मौलिक कथावस्तुलाई कत्तिको पछ्याइने गरिन्थ्यो ?

मलाई सम्झना छ, मैले चलचित्र संस्थानको नेतृत्व गर्न थालेको बेला निर्देशक प्रकाश थापा बम्बईमा सानोतिनो भूमिका खेलेर बसिरहेका थिए। बम्बई गएको बेला मैले प्रकाशलाई ‘नेपालमा पनि सिनेमा बनाउनुपर्छ, आऊ’ भनेर बोलाएँ। उनी नेपाल आए र केही राम्रा सिनेमा पनि बनाए।

पहिला-पहिला सिनेमा एउटा बनिबनाउ ढाँचालाई पछ्याएर निर्माण गर्ने गरिन्थ्यो। केही द्वन्द्वका दृश्य र पाँच-छ वटा गीत राखेर बनाइन्थ्यो। तर सिनेमाको जग त त्यसको पटकथा हो। त्यही पटकथालाई नै निर्देशकले सिर्जनात्मक हिसाबले सिनेमामा उतार्ने हो। निश्चय नै, हिरासिंह खत्रीले सिनेमा बनाउँदा राजसंस्था वा तत्कालीन व्यवस्थाको प्रचार गर्ने उद्देश्य जोडिएको थियो।

पछि भने हामीकहाँ हिन्दी सिनेमाको कपी गर्ने प्रवृत्ति बढ्न थाल्यो। तात्कालिक समयमा नेपालमा हिन्दी सिनेमाकै बजार जमेको हुँदा हिन्दी सिनेमा टाइपकै सिनेमा बनाउँदा चल्छ भन्ने मानसिकता हाबी थियो। भाषा मात्रै नेपाली हुन्थ्यो। पछि भने नेपालीपन झल्किने सिनेमाहरू बन्न थाले।

तपाईंद्वारा निर्देशित सिनेमाहरूमा सामाजिक सरोकारका विषयहरू उठाइएका छन्। तपाईंचाहिँ हिन्दी सिनेमा कपी गर्ने प्रवृत्तिबाट कसरी मुक्त हुन सक्नुभयो ?

जुन समय मैले सिनेमा निर्देशन गर्न थालेँ, त्यो बेला एउटा सोच बनाएँ- म समाजप्रति उत्तरदायी रहेर सिनेमा बनाउँछु, पैसाका लागि त व्यापार-व्यवसाय गरे भइहाल्यो। सिनेमाको माध्यमबाट सिर्जनात्मक र प्रयोगात्मक काम गरौं भन्ने मेरो उद्देश्य थियो। विषयवस्तु छनोट गर्दाखेरि मैले ‘चेलीबेटी’ जस्तो सामाजिक सरोकारका विषय उठाएँ।

त्यो बेला बर्सेनि ७ हजार नेपाली चेलीहरू बेचिन्थे। त्यो विषयलाई मैले फिल्मांकन गरेँ। ‘आँधीबेरी’ मा जातीय विभेद मेटिनुपर्छ भन्ने कुरा उठाएँ। त्यो सिनेमामा ब्राह्मण केटा र दलित केटीबीचको प्रेम-प्रसंगलाई उठाएँ।

ऐतिहासिक पृष्ठभूमिको सिनेमा बनाउनुपर्छ भन्ने लागेर ‘प्रेमपिण्ड’ बनाएँ। आदिकवि भानुभक्त आचार्यको जीवनको समग्र पाटोलाई उजिल्याउने हेतुले ‘आदिकवि भानुभक्त’ बनाएँ।

तपाईंले निर्देशन गर्नुभएको ‘आदिकवि भानुभक्त’ निर्माण हुनुअघि हामीकहाँ बायोपिक निर्माण भएको थिएन। बायोपिक बनाउने सोचचाहिँ कसरी आयो ?

‘आदिकवि भानुभक्त’ निर्माणताका मेरो निकै मिहिनेत पर्‍यो। मैले धेरै नै अध्ययन-अन्वेषण गरेर त्यो सिनेमा निर्माण गरेँ, जसमा भानु विकास समितिको पनि ठूलो सहयोग रह्यो। त्यो क्षेत्रका धेरै विद्वान्हरूलाई समेटेर मैले सिनेमा बनाएँ। त्यसअघि बायोपिक बनेकै थिएन, हामीकहाँ। कथानक सिनेमाको हिसाबले त्यो नै नेपालको पहिलो बायोपिक हो। त्यो सिनेमाको पटकथाको पुस्तक निकाल्ने तयारी गर्दैछु अहिले।

मैले धार्मिक विषयवस्तुको ‘श्रीस्वस्थानी’ पनि बनाएँ। मिथलोजीमा आधारित सिनेमा हामीकहाँ बनिरहेको थिएन। हामी हिन्दू धर्मावलम्बी भएको हुँदा भारत र नेपालका भगवान्हरू एउटै छन्।

मैले नेपाली परिवेशको कथावस्तु भएको नयाँ चिज खोज्दै जाँदा ‘श्रीस्वस्थानी’ पाएँ। पूर्वाद्र्धमा भने भगवान्सम्बन्धी अरु कथासँग मिल्दोजुल्दो भए पनि त्यसको उत्तराद्र्धको कथावस्तु नेपाली भूमिको मात्रै छ।

मैले हास्यप्रधान ‘लोभिपापी’ बनाएँ। मैले ‘लोभिपापी’ बनाउनुअघिका नेपाली सिनेमाहरूमा एकजना पात्रलाई हँसाउनका लागि उभ्याइन्थ्यो र उसलाई ‘जोकर’ भन्ने गरिन्थ्यो। तर, पूरै हास्यप्रधान सिनेमा भने बनिरहेको थिएन, त्यो बेलासम्म। गुरूप्रसाद मैनालीको कथामा आधारित ‘नासो’ पनि बनाएँ।

मैले ऐतिहासिक, सामाजिक, धार्मिक विषयदेखि बायोपिक र हास्यप्रधानसमेत गरी नौ वटा सिनेमा निर्देशन गरेँ। मैले नयाँ-नयाँ चिजहरू आओस् भनी विविध कथावस्तुमा आधारित सिनेमाहरू बनाएँ।

पछिल्लो समय हास्यप्रधान सिनेमाहरू धेरै बने तर बायोपिकहरू त्यति बनेनन्। किन होला ?

बायोपिक निर्माणमा धेरै जोखिम छ। किनभने, बायोपिक कसैको जीवनीमा आधारित हुन्छ र जीवनीचाहिँ अध्ययन र अनुसन्धानमा आधारित हुनुपर्छ। मैले ‘आदिकवि भानुभक्त’ बनाउँदा पनि कमल दीक्षित, डा. वासुदेव त्रिपाठी, वैरागी काइँलासँग कैयौं पटक बसेर छलफल गरेको थिएँ।

बायोपिक बनाउँदा गम्भीरता अपनाइनु पर्छ। एकपटक मलाई बुद्धसम्बन्धी सिनेमा निर्देशन गर्ने प्रस्ताव आएको थियो। तर, बुद्धमाथि सिनेमा बनाउँदा धेरै अध्ययन-अनुसन्धान गर्नुपर्ने भएको हुँदा त्यो काम अघि बढ्न सकेन।

मैले ‘प्रेमपिण्ड’ बनाएपछि एकदिन डायमनशमशेर राणा मकहाँ आउनुभएको थियो र भन्नुभयो, ‘मेरो सेतो बाघमाथि पनि सिनेमा बनाउन पाए हुन्थ्यो, मलाई यो उपन्यासमाथि सिनेमा बनाउने इच्छा छ।’

मैले उहाँको प्रस्तावमा आँटै गर्न सकिनँ। ‘सेतो बाघ’ मा राणाकाललाई पुनःउत्पादन गरिएको छ। ‘प्रेमपिण्ड’ बनाउँदा मैले शीतल निवासमा ‘गैरी खेतको शिरै हान्यो…’ गीत सुटिङ गरेको थिएँ। सिंहदरबारमा पनि सुटिङ गरेको थिएँ। तर, ‘सेतो बाघ’ बनाउँदा भने धेरै ठाउँमा सुटिङ गर्नुपर्थ्यो र त्यो धेरै नै खर्चिलो हुन्थ्यो।

मैले उहाँलाई भनेँ, ‘यो सिनेमा बनाउँदा धेरै खर्च लाग्छ। म लगानी गर्न सक्दिनँ। यदि तपाईंले कुनै लगानीकर्ता खोजिदिनु हुन्छ भने म निर्देशन गर्न तयार छु। सेतो बाघको आयाम निकै फरक र फराकिलो भएको हुँदा प्रेमपिण्डभन्दा धेरै फरक हुन्छ।’

विविध कथावस्तुका सिनेमाहरू निर्देशन गर्नुभयो। तपाईंको अन्तरमनमा कुनै विषयवस्तुका सिनेमा बनाउन पाए हुन्थ्यो भन्ने लागेको थियो वा छ अझै ?

थियो। भुटानले नेपालीभाषी जनतामाथि जुन दमन गर्‍यो र उनीहरूलाई जसरी शरणार्थी बनाउन बाध्य पारियो, त्यो विषयमा सिनेमा बनाउन पाए हुन्थ्यो भन्ने मलाई लागेको थियो। किनभने भुटानको कदम अन्यायपूर्ण कार्य थियो। भारतले पनि नेपालीभाषी भुटानीहरूलाई नेपालतिरै पठाइदियो। अहिले पनि भुटानी शरणार्थीहरूले दुःख खेपिरहेका छन्। यो घटनामा आधारभूत मानवअधिकारको हनन भएको थियो। यी सबै भारतको पृष्ठपोषणमा भुटान सरकारले गरेको थियो।

मकहाँ भुटानी शरणार्थी-नेता टेकनाथ रिजालजी आइरहनु हुन्थ्यो। उहाँले एउटा किताब पनि लेख्नुभएको छ। त्यो किताबमा उहाँले नेपालीभाषी भुटानीहरूमाथि कसरी अत्याचार गरिएको थियो भन्ने कुरा मिहिन रूपले लेख्नुभएको छ। मलाई यो विषयमा सिनेमा बनाउने इच्छा थियो। तर मैले लगानी गर्नसक्ने अवस्थामा थिएन र रिजालजीले त झन् गर्नसक्ने अवस्थै रहेन।

यो इच्छा अझै मरिसकेको त छैन होला नि ?

अब त उमेरको कारण पनि कम सम्भावना देख्छु। किनभने, आगामी फागुनदेखि म ८० वर्षमा टेक्दैछु। यो उमेरमा कुनै पनि दायित्व लिँदा त्यसलाई पूरा गर्नुपर्छ। तर अहिले पनि एकदमै चुस्त व्यवस्थापन भयो भने (व्यवस्थापन हेर्नु नपर्ने गरी) म निर्देशन गर्न भने तयार छु। चुस्त व्यवस्थापन भयो भने अझै पनि फिल्म निर्देशन गर्न सक्छु कि जस्तो आत्मविश्वास छ।

८५ कटिसकेका हिन्दी सिने-निर्देशक श्याम बेनेगल अझै पनि सिने क्षेत्रमै जोडिइरहेका छन्…।

श्याम बेनेगलले पछिल्ला चरणमा सिनेमा बनाइरहेका छैनन् जस्तो लाग्छ। तर हाम्रो मस्तिष्क चलायमान होउन्जेलसम्म मानिस बुढो हुँदैन। जाँगर र उत्साहका हिसाबले अहिले पनि निर्देशन गर्न नसकिएला भन्ने लाग्दैन। तर पहिलाजस्तो सबै कुराको जिम्मा लिएर गर्न सक्ने अवस्था भने अहिले छैन।

भनेपछि भुटानी शरणार्थी समस्यामा आधारित सिनेमा बनाउने इच्छा तपाईंभित्र अझै गढेरै बसेको छ, हैन त ?

राजनीतिक कुरा एउटा होला, मुलुकले गर्ने कुरा एउटा भयो। तर त्यो त इतिहास बन्ने कुरा हो नि।

यति गम्भीर विषयमा हाम्रा सिनेकर्मीहरूको किन दृष्टि पर्न सकेन ?

यस्ता विषयका सिनेमा बनाउँदा कुनै आर्थिक लाभ हुँदैन। तर हाम्रा सिनेकर्मीहरूले यो विषयमा ध्यान दिनुपर्नेचाहिँ थियो। हामीकहाँ जुन चिज चल्छन्, त्यसलाई नै पछ्याउने प्रवृत्ति रहेको हुँदा यस्ता विषयतिर ध्यान जान नसकेको जस्तो लाग्छ।

पहिला एउटा ढर्रामा निर्मित सिनेमा चल्यो भने त्यही थिम र प्रवृत्तिलाई पछ्याउने चलन थियो नि, हैन र ?

यस्तो प्रवृत्ति सिनेमामा मात्र होइन, व्यापारमा पनि त्यही हुन्छ। मानौं, बजारमा कुनै चिजको अधिक बिक्री हुन थाल्यो भने अरूले त्यही चिज नै उत्पादन गर्न थाल्छन्। कुनै वस्तुको उपभोक्ता-बजार छ भने त्यही चिज नै उत्पादन गरिन्छ। सिनेमा पनि त्यस्तै हो।

सिनेमा चल्नु वा नचल्नुमा दर्शकको चेतनास्तर र भूमिकाचाहिँ कति महत्त्वपूर्ण र निर्णायक हुन्छन् ?

धेरै नै। किनभने, यो सबै दर्शकको स्वादमा निर्भर रहने कुरा हो। दर्शकहरू मनोरञ्जन लिन हलमा जान्छन्। दर्शकहरूले चल्तीका चिज नै खोज्छन्। बजारले जे माग्छ, त्यही नै दिने हो। अर्थशास्त्रमा एउटा सिद्धान्छ छ- मागले आपूर्ति पैदा गर्छ। सिनेमा पनि यो सिद्धान्तभन्दा पृथक छैन।

अब तपाईंको सिनेयात्राको कुरा गरौं। २०२१ सालमा चलचित्र ‘माइतीघर’ मा सानो भूमिका निर्वाह गर्दा तपाईंमा कस्तो भाव उत्पन्न भएको थियो- नर्भसनेस वा एक्साइटेट ?

‘माइतीघर’ मा सानो भूमिका निर्वाह गर्ने बेलासम्म मैले रेडियो नेपालमा थुप्रै कार्यक्रम चलाइसकेको थिएँ र रङ्गमञ्चमा पनि उत्रिइसकेको थिएँ। मैले नाटक ‘मुकुन्द-इन्दिरा’ मा पनि सानो भूमिका खेलिसकेको थिएँ। राजाको जहाँ-जहाँ भ्रमण हुन्थ्यो, त्यसको प्रत्यक्ष वर्णन (लाइभ) हरूमा पनि मैले काम गरिसकेको थिएँ। यी सबै कारणले गर्दा ममा आत्मविश्वास थियो। तर, पर्दामा हेर्दा आफूले गरेको अभिनय कस्तो हुन्थ्यो भन्ने जिज्ञासा चाहिँ रहेको थियो।

पछिल्ला समय निर्माण भएका सिनेमाहरू कुन-कुन हेर्नुभयो र युवा पुस्ताका निर्देशकहरूप्रति कतिको आशावादी हुनुहुन्छ ?

पछिल्लो समय बनेका ‘छक्कापञ्जा’, ‘कबड्डी, कबड्डी’ जस्ता सिनेमाहरू हेरेँ मैले। यी सिनेमाहरू दर्शकले रुचाएसँगै शृंखलाबद्ध रूपमा पनि निर्माण भए। ‘कालो पोथी’ पनि हेरेँ।

समयको प्रवाहसँगै प्रविधिमा व्यापक परिवर्तन आएको छ। मान्छेको रुचि, बुझाइ र अध्ययनमा पनि फेरबदल आएको छ। यो नदीको बहावजस्तै हो। नयाँ पुस्ताका निर्देशकहरू हुन् वा पुरानो पुस्ताका, प्रतिबद्धता र निरन्तरता हुनु महत्त्वपूर्ण पक्ष हो। एउटा निर्देशकले राम्रो सिनेमा बनाए र त्यो चल्यो भने उसले अर्को नयाँ सिनेमा बनाउनेतिर लगनशीलता देखाउँछ।

राम्रो बनाउँदै र परिमार्जन गर्दै पनि जान्छ। तर अहिले नेपाली सिनेमाका लागि संक्रमणकालीन अवस्था छ। सम्भावना भएका नयाँ पुस्ताका निर्देशकहरूका निम्ति अनुकूल वातावरण छैन। तर वातावरण सङ्लिँदै गएपछि र निरन्तरता दिँदै जाँदा भने नयाँ पुस्ताले धेरै गर्न सक्ने देखेको छु।

के गर्दा अहिलेको संक्रमणबाट उम्किन सकिएला ?

चलचित्र विकास बोर्डले अहिलेको संक्रमणकालीन अवस्थालाई हटाउन पहल गर्नु आवश्यक ठान्छु म। तर विडम्बना के छ भने राजनीतिक विकृति र भ्रष्टाचारले गर्दा सबै कुरा बिग्रिएका छन्। बोर्डमा कोही नियुक्त भएका छन् भने कि त राजनीतिक दलको दबाबमा भएका छन् कि त पैसाको बलमा भएका छन्। सिधै भन्नुपर्दा राजनीतिक दलका कार्यकर्ताहरू भर्ना गर्ने थलो बन्न पुगेको छ, बोर्ड। योग्यहरूलाई महत्व दिन छाडिएको छ। नेतृत्वमा गलत मानिस पुग्दा सबै बिग्रिन्छन् भन्ने उदाहरण बोर्ड बन्न पुगेको छ।

संक्रमणकाललाई चिर्न बोर्डको भूमिका रहेन, हैन त ?

हो, म बोर्डको कुनै भूमिका देख्दिनँ। हामीकहाँ त कस्तो प्रवृत्ति देखियो भने कुनै गलत मानिसको जमिन बेच्नु छ भने त्यो ठाउँमा स्टुडियो बनाउन पहल हुन थाल्यो। बालाजुको २६ रोपनी जग्गा स्टुडियो बनाउन पर्याप्त हुँदाहुँदै दोलखामा स्टुडियो बनाउन पहल गरियो। सुटिङ गर्नका लागि कुनै मानिस खर्च गरेर दोलखासम्म पुग्लान् त ? सिने क्षेत्रको विकासका लागि भनिएका यस्ता विकृतिहरू हटाइनु जरुरी छ।

तस्वीर सौजन्य : मोहितमर्दन थापा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved