बेइजिङ डायरी

नेपाली कम्युनिष्ट नेतालाई माओको नामै थाहा छैन

नेपाली कम्युनिष्टले जस्तो चिनियाँले व्यक्ति पूजा गर्दैनन्। चीनमा नेताहरूको जन्मोत्सव अथवा जयन्ती मनाइँदैन। घरघरमा माओका मूर्तिहरू सजाएको पनि देखिदैन।

नेपाली कम्युनिष्ट नेतालाई माओको नामै थाहा छैन

यही ११ पुस (२६ डिसेम्बर) आइतबार नयाँ चीनका संस्थापक नेता माओको १२८ औँ जयन्ती हो। चीनमा माओ जयन्ती खासै मनाइँदैन। बेइजिङको केन्द्र भागस्थित थिआनमन क्षेत्रको माओ स्मारक भवनमा भने यो दिन हजारौँको घुइँचो लाग्छ।

माओ स्मारक भवनमा माओको शव राखिएको छ। ९ सेप्टेम्बर १९७६  मा दिवङ्गत भएका माओलाई उक्त भवनमा संरक्षण गरेर राखिएको ४५ वर्ष भयो। यो भवन सोमबार बाहेक हरेक दिन बिहान सर्वसाधारणका लागि खुल्ने गर्छ। माओप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि पहेँलो फूल लिएका चिनियाँ तथा विदेशी नागरिक पङ्तिवद्ध भएर लस्करै माओ स्मारक भवनमा प्रवेश गर्छन्। माओको जन्म दिन ९ सेप्टेम्बर र देहान्त भएको २६ डिसेम्बरमा भने बिहान र अपराह्न गरी दुईपटक खुल्छ।

नेपालका कम्युनिष्ट नेता तथा कार्यकर्ताहरू चीन भ्रमणमा आउँदा माओ स्मारक भवन पुगेर माओको शव हेर्ने उत्कट अभिलाषा राख्छन्। माओ स्मारक भवन नेपाली कम्युनिष्टका लागि ‘मक्कामदिना’का रूपमा पनि चर्चित छ। विश्वका सबैजसो कम्युनिष्टहरूले माओलाई आदर्श मान्छन्। नेपाली कम्युनिष्टहरूले पनि आदर्श विचार बोकेका नेतालाई हेर्ने इच्छा प्राथमिकतामा राख्छन् बरु उनीहरू विश्वप्रख्यात ग्रेटवाल नगए पनि हुने विचार व्यक्त गर्छन्।

त्यसो त नेपालमा वि. सं. २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना हुँदादेखि नै माओ लोकप्रिय हुन थालेका हुन्। पछि २०३५ साल ११ पुसमा माओ जयन्तीकै अवसर पारेर नेकपा माले स्थापना भयो। त्यही माले २०४७ सालमा एमाले भएको हो र अहिले नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीका रूपमा स्थापित छ।

माओ जयन्तीकै दिन पार्टी स्थापना गर्दा स्थापना दिवससँगै माओ जयन्ती पनि मनाइने हुनाले माओलाई सम्झिने एउटा सन्दर्भका रूपमा लिइएको हो। हिजोआज एमालेले माओ जयन्ती अथवा आफ्नो स्थापना दिवस मनाएको खासै सुनिदैन।

माओको देहान्त भएको दुई वर्षपछि स्थापित माले काँचुली फेर्दै एउटा उदारवादी संसदीय पार्टीमा रूपान्तरण भएसँगै उसले माओलाई बिर्सिएको छ। बरु २०५२ सालमा स्थापित तत्कालीन नेकपा माओवादी (हालको नेकपा माओवादी केन्द्र)ले शुरु गरेको शसस्त्र युद्धले नेपालमा माओलाई थप प्रचारित गर्‍यो। यद्यपि व्यक्ति हत्या र कतिपय विचलनका कारणले माओवादी बद्नाम पनि भयो। नेपालमा भएका हत्या हिंसाका कार्यले अन्तर्राष्ट्रिय जगतमा पनि माओको बदनाम भएको भनेर चिनियाँ नेताले असन्तुष्टि पनि व्यक्त गरे। नेपालका माओवादी नेताहरू यसलाई युद्धका दुष्परिणाम र मकै पिस्दा घुन पनि पिसिएको भनेर पन्छिने गर्छन्।

आफ्ना महान् नेताको वद्नाम गरिएको भनेर नेपालमा चलेको दश वर्षे द्वन्द्वको समयमा चिनियाँ सरकारी संचार माध्यमहरूले ‘माओवादी’ भन्नुको सट्टा ‘विद्रोही’ शब्द प्रयोग गर्थे। नेपालमा शान्ति प्रक्रिया शुरु भएपछि मात्र चिनियाँ संचार माध्यमले औपचारिक रूपमा ‘माओवादी’ शब्द प्रयोगमा ल्याएका हुन्।

दश वर्ष युद्धपछि शान्ति प्रक्रियासँगै नेपालमा माओवादी पार्टीहरू फुट्ने क्रम तीव्र गतिमा अगाडि बढ्यो। एक दशक अगाडिसम्म माओवादी पुच्छर जोड्ने नेपाली कम्युनिष्ट घटकको संख्या एक दर्जन हाराहारी पुगेको थियो। चीनबाहिर सबैभन्दा धेरै माओवादी भएको मुलुकका रूपमा नेपाल रहेको कुरा चिनियाँ माइक्रोब्लगमा भेटिन्थ्यो कुनैबेला।

नेपाली कम्युनिष्टहरूका लागि माओले गरेका ‘लङमार्च’ कथा अधिक प्रिय थिए। व्यवहारमा नअँगालेपनि माओले अगाडि सारेका अनुशासनका ‘आठ सिद्धान्त’ नेपाली कम्युनिष्टहरूका लागि सर्वप्रिय थिए। माओको रातो किताबलाई नेपालीमा अनुवाद गर्ने काम पञ्चायती व्यवस्थादेखि नै भएको थियो।

द्वन्द्वपछिको शान्तिकालमा माओको तस्वीर अंकित टोपी अथवा टिसर्ट लगाएर, घरमा माओको रचनाहरू संकलित किताब देखिने गरी र्‍याकमा राखेर आफूलाई ‘असली बाजेको पेडा’ जसरी लालकम्युनिष्ट प्रमाणित गर्ने काममा ठूलै प्रतिस्पर्धा हुन थाल्यो। त्यसमाथि कुनै कम्युनिष्ट नेता चीन भ्रमणमा आएको छ भने माओका सानातिना मूर्ति, चित्र अंकित प्लेट अथवा लकेटलाई लगेर सजाउने काम गर्न थाले।

नेपाली कम्युनिष्टले जस्तो चिनियाँले व्यक्ति पूजा गर्दैनन्। चीनमा नेताहरूको जन्मोत्सव अथवा जयन्ती मनाइँदैन। घरघरमा माओका मूर्तिहरू सजाएको पनि देखिदैन। बरु हरेक कुरालाई अर्थतन्त्रसँग जोड्ने चिनियाँ बुद्धिले माओलाई लकेट, मूर्ति, प्लेट, टिर्सट, टोपी, कलम, तास लगायतमा अंकित गरेर पर्यटकलाई बेचेर राम्रै आम्दानी गरिरहेको छ।

चीनमा माओ लोकप्रिय हुनुका पछाडि दुईवटा कारण छन्। उनले जापानी अतिक्रमण र पश्चिमा उपनिवेशका विरुद्धमा लामो युद्ध लडेर चीनलाई मुक्त गराए। सन् १९१२ मा गणतन्त्र बनेको चीन सन् १९४९ सम्म विदेशी कठपुतलीका रूपमा रहेको थियो। सरकार बनाउने र गिराउने काम विदेशी इसारामा हुन्थ्यो। कुन बन्दरगाहमा कति कर लगाउने भन्ने निर्णय पनि विदेशीले नै गर्दथ्ये। विदेशीको थिचोमिचो र अपमानबाट चीनलाई मुक्त गराएकोमा  कम्युनिष्ट मात्र होइन सबै सर्वसाधारण चिनियाँले माओलाई उच्च सम्मान गर्दछन्।

माओलाई नयाँ पुस्ताका चिनियाँले उच्च सम्मान गर्नुको अर्को कारण एक युआनभन्दा माथिको चिनियाँ मुद्रामा माओको फोटो अंकित भएकाले हो। साक्षरदेखि निरक्षरसम्म सबैका हातमा पैसा पुग्ने भएकाले माओलाई सबैले चिन्छन् र उच्च सम्मान पनि गर्छन्।

सन् १९६६ देखि १९७६ सम्म चलेको सांस्कृतिक क्रान्तिले माओलाई बदनाम गरेको थियो। माओलाई गुमराहमा राखेर चण्डाल चौकडीको अतिवाद भएकाले माओलाई सांस्कृतिक क्रान्तिका लागि उति दोषी मानिँदैन। सांस्कृतिक क्रान्तिताका असाध्य पीडा भोगेका चीनका वर्तमान राष्ट्रपति सी चिनफिङले पनि आफ्ना मन्तव्यमा माओलाई उच्च सम्मान गर्दै उनका उद्गारहरू व्यक्त गर्ने गरेका छन्।

नयाँ चीनका राष्ट्रपितका रूपमा रहेका माओ जयन्तीकै दिन पार्टी स्थापना गर्ने, माओको नाम जोडेर पार्टी खोल्ने, माओको सच्चा अनुयायी भन्दै प्रतिस्पर्धा गर्ने, माओका कोटेसन घोक्ने, माओलाई आदर्श मान्ने तिनै नेपाली नेताहरूले माओको नामलाई सधैँ गलत उच्चारण गरिरहेका छन्। उच्चारण मात्र होइन माओको नाम पनि गलत लेख्ने काम गर्दछन्। नेपालका कम्युनिष्ट अथवा गैर कम्युनिष्ट सबैले माओको पूरा नाम गलत लेख्छन्। तर उनीहरूलाई आफूहरूले गलत लेखेको अथवा उच्चारण गरेको कुराको कुनै हेक्का छैन।

त्यसो त नेपालीहरूले धेरैजसो चिनियाँ नेताको नाम र चीनका ठाउँहरूको समेत गलत प्रयोग गर्छन्। यसो हुनुको पछाडि चिनियाँ उच्चारण विधि थाहा नभएर हो। चिनियाँ भाषाका बारेमा ज्ञान नभए पनि चिनियाँ उच्चारण विधि थाहा पाउन आवश्यक छ। चिनियाँ उच्चारण विधि थाहा नपाउँदा एकजना भारतीय टेलिभिजन समाचार वाचकले जस्तो जागिर गुमाउनु पर्ने पनि हुन सक्छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ भारत भ्रमणमा गएको समयामा टेलिभिजनमा समाचार वाचन गर्दा एघारौँ जिनपिङ भनेर समाचार वाचकले पढिदिए। चिनियाँ राष्ट्रपतिको नाम अंग्रेजीमा ‘एक्सआई’ (Xi) लेखिएको थियो। Xi को उच्चारण चिनियाँ सी हुन्छ। समाचार बाचकले रोमनमा ‘XI’ अर्थात् एघार लेखिएको होला भन्ठानेर एघारौँ जिनपिङ भनिन्। चिनियाँ राष्ट्रपतिको नाम उच्चारण गर्दा अर्को पनि गल्ती भएको थियो। चिनफिङ भन्नुपर्नेमा जिनपिङ भनिएको थियो। अहिले पनि विदेशी संचारमाध्यमले जिनपिङ नै भन्छन् र कतिपय नेपाली संचार माध्यम (सबै होइन)ले पनि यस्तै गल्ती दोहोर्‍याइरहेका छन्।

चिनियाँ व्यक्ति तथा ठाउँका नामलाई नेपालीमा कसरी शुद्ध लेख्ने भन्ने बारेमा कुनै अर्को लेखमा चर्चा गरौंला। आजको लेखमा चाहिँ माओको नामलाई नेपालीमा कसरी गलत लेख्ने काम भइरहेको छ भन्ने बारेमा थोरै चर्चा गरौँ।

चिनियाँ भाषाका शब्दलाई रोमनमा जे लेखिन्छ त्यो अनुसार उच्चारण गरिँदैन। चिनियाँहरूको उच्चारण विधि फरक छ जसलाई फिनयिन भनिन्छ।

फिनयिन भनेको चिनियाँ अक्षरलाई उच्चारण अनुसार रोमनमा गरिने परिणत हो। यसलाई यसरी बुझ्न सकिन्छ नेपालीमा ‘केए’ क ‘केएचए’ ख भने जस्तै चिनियाँ अक्षरलाई उच्चारण अनुसार रोमनमा ढाल्ने काम नै फिनयिन हो। फिनयिनका आविष्कारक चौ यौक्वाङलाई हुन्। १११ वर्षको बाँचेका चौको सन् २०१७ मा मृत्यु भयो।

चिनियाँ अक्षरको संख्या हजारौँ छ। चिनियाँ भाषामै उच्चतम् स्तर पार गरेका चिनियाँले पनि सबै चिनियाँ अक्षर खुट्याउन सक्दैनन्। चौले नेतृत्व गरेको समूहलाई फिनयिन निर्माण गर्न सन् १९५५ देखि तीन वर्ष लागेको थियो। नाथे २६ वटा अक्षर बनाउनलाई तीन वर्ष भन्दै त्यतिबेला मानिसहरू उनको कामलाई लिएर हाँस्ने गरेको कुरा चौले बीसीसीसँगको अन्तर्वार्तामा बताएका छन्। हजारौँ चिनियाँ अक्षर त्यो पनि एउटै अक्षरको चार फरक उच्चारण अनुसार रोमनमा रूपान्तरण गर्ने काम गर्नु तीन वर्ष पनि कम समय भएको अहिले चिनियाँहरूले महशुस गरेका छन्।

चीनको पहिलो राष्ट्रिय जनकंग्रेसको पाँचौँ अधिवेशनले सन् १९५८ फेब्रुअरी ११ मा फिनयिनलाई चीनमा मान्यता दिने निर्णय गरेको थियो।

चिनियाँ अक्षर पढ्न र लेख्न कठिन भएकै कारणले फिनयिनको आविष्कार हुनुभन्दा अगाडिसम्म चीनको साक्षरतादर १५ प्रतिशतभन्दा कम थियो। अहिले चिनियाँ साक्षरतादर ८५ प्रतिशतभन्दा बढी छ। फिनयिनको आविष्कारले नै चीनले यो सफलता प्राप्त गरेको हो। त्यतिमात्र होइन कम्प्युटर टाइपिङ र मोबाइल फोनमा पनि फिनयिनकै कारण चिनियाँ अक्षर अटाउन सम्भव भएको छ।

फिनयिनको आविष्कार हुनु अगाडि अर्थात् सन् १९५८ अगाडिसम्म विदेशीले विशेष गरी पश्चिमा संचारमाध्यमले माओको पूरा नाम Mao Tse-tung लेख्थे जसलाई नेपाली उच्चारणमा माओत्सेतुङ भन्न थालियो। उक्त समयमा नेपालमा चिनियाँ भाषा जानेका व्यक्ति थिएनन्। माओका रचनाहरू पहिले चिनियाँबाट अंग्रेजीमा अनुवाद भएका सामग्रीलाई नेपालीमा अनुवाद गर्दा नेपाली जनजिब्रोमा माओत्सेतुङ भन्न थालिएको हो।

फिनयिन शुरु भएपछि विदेशीले Mao Tse-tung लाई सच्चाएर Mao Zedong बनाए। Mao Zedong को नेपाल उच्चारण माओ जेदोङ हुन्छ तर फिनयिनमा यसको उच्चारण माओ चतोङ हो। चिनियाँ भाषामा ‘जेड’ अक्षरको उच्चारण ‘च’ हुन्छ भने ‘डी’ अक्षरको उच्चारण ‘त’। अनि कुनै अक्षरको पछाडि ‘इ’ आयो भने फिनयिनमा ‘ए’ नभएर ‘अ’ हुन्छ।

उल्लिखित व्याख्याबाट के स्पष्ट हुन्छ भने नयाँ चीनका संस्थापक नेताको नाम माओत्सेतुङ नभएर माओ चतुङ हो। माओत्सेतुङ त पश्चिमा दुनियाँले बिगारेको नाम हो। अर्काले नाम बिगार्दा कस्तो महसुस हुन्छ भन्ने कुरा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई ‘निप्पुल’ भनेको हामीले बिर्सिएका छैनौं। अर्काको नाम बिगार्नु भनेको अपमान गर्नु पनि हो।

चीन बुझ्नलाई चिनियाँ सूचनालाई नै आधार मान्नुको सट्टा हामी पश्चिमा सूचना स्रोतमाथि निर्भर छौं। पश्चिमाले माओको नाम सच्याएर सही नाम प्रयोग गरे पनि हामी चाहिँ उही गलत नाम घोकिरहेका छौँ। नेपालमा माओका असली अनुयायी बताउने राजनीतिक दलहरूमा तीव्र प्रतिस्पर्धा त छ तर उनीहरू नै माओको नामलाई बिगारेर उच्चारण गरिरहेका छन्। नेपाली कम्युनिष्ट नेताहरू आफ्नै आदर्श नेताको नामलाई कहिलेसम्म गलत प्रयोग गरिरहने?


Comment

2 thoughts on “नेपाली कम्युनिष्ट नेतालाई माओको नामै थाहा छैन

  1. घर घरमा नेताको फोटो भन्दा देसको झण्डा राख्नु पर्छ ताकि सबैले सानै उमेर देखि आफ्नो राष्ट्र र राष्ट्रियतालाइ सम्मान गर्न सिकुन l

    चिनिया भाषाको राम्रो जानकारी र छोटो इतिहासको लागि धन्यबाद l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved