महिला हिंसाविरुद्धको गीति चलचित्रमा देखिँदै राजेश हमाल

नेपालभ्युज

महिला हिंसाविरुद्धको गीति चलचित्रमा देखिँदै राजेश हमाल

काठमाडौं। चलचित्रमार्फत सामाजिक न्याय र आम मानिसको हक अधिकारको लागि आवाज उठाएर सर्वसाधारणको ढुकढुकीमा बसेका महानायक राजेश हमालसोही मुद्दामा गीतिचलचित्रमार्फत देखिने भएका छन्।

महानायक हमालको मूल विद्रोही भूमिकामा माधव न्यौपानेको गीत तथा कथामा बनेको ‘कठै म त कठै’ बोलको गीति चलचित्र छायांकन सम्पन्न भएको छ। काभ्रेको कुशादेवीमा छायांकन गरिएको गीत महिला हिंसाको बीभत्स रूप बलात्कारविरुद्ध निर्माण भएको छ। सति प्रथामाथि बनेको चलचित्र झोलाका निर्देशक यादव भट्टराईले निर्देशन गरेको गीति चलचित्रमा खुमन अधिकारी, देवी घर्ती र शान्तिश्री परियारले स्वर दिएका छन् भने मूल भूमिकामा महानायक राजेश हमालसँगै कलाकारहरू सुनिशा बजगाई, उमेश खड्का, लक्ष्मी गिरी र सरिता गिरी रहेका छन्।

विज्ञान प्रविधिको विकाससँगै मानिस यो चेतनासम्म आइपुग्दा पनि महिलामाथि हेर्ने पितृसत्तात्मक दृश्टिकोण आजका दिनसम्म पनि नबदलिएर महिलामाथि हुने नमिठो अत्याचारविरुद्ध गीत निर्माण भएको निर्देशक यादव कुमार भट्टराईले बताए।

राज्य व्यवस्था, प्रशासन र राजनीतिक चलखेलका कारण अपराधीहरू संरक्षित गर्ने र पीडितले न्याय नपाउने कारण पीडित कसरी बिद्रोही भएर निस्किन्छ र त्यसले समाजमा कस्तो प्रभाव पार्छ भन्ने गीतमा देखाइएको निर्देशक भट्टराईले बताए।

‘‘बलात्कार जस्तो जघन्य अपराधमा पनि अनुसन्धानमा लापरवाहीका कारण समाजलाई कसरी गाँजेको छ।अपराधी खुलेआमा हिँड्दा पीडितको मानसिक अवस्थाका कारण जुन विद्रोह जन्माउँछ। त्यो विद्रोहले स्वभाविक रूपमा प्रस्तुत हुन्छ भन्ने गीतमा देखाइएको छ,’’ उनले भने, ‘‘पीडितले न्याय नपाउँदा ऊ आफै न्यायका लागि बिद्रोह गर्छ, त्यो अवस्थाको सिर्जना राज्यले नै गरेकाले त्यसबाट निस्किने नतिजाको जिम्मेवारी लिनुपर्छ भन्ने उद्देश्यले सामाजिक चेतनाका रूपमा यो गीत निर्माण भएको छ।’’

महानायक हमालले सामाजिक अन्यायविरुद्ध फरक किसिमको गीतिचलचित्रमा काम गरेकाले यसले राम्रो सन्देश दिने बताए। ‘‘सामाजिक न्यायका लागि यो गीति चलचित्रले सकारात्मक सन्देश दिन्छ भनेरै यसमा काम गरेको हुँ,’’ उनले भने।
गीत २० देखि २५ मिनेटसम्म लामो हुने र पुसभित्र रिलिज गर्ने तयारी गरिएको निर्माण समूहले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved