लिकु लैजाने पूर्णिमा यःमरी पुन्ही

नेवार समुदायका छोरी विवाह गरी पठाएको पहिलोवर्ष सबैले लिकु लैजाने चलन छ। नेपालभाषामा लि को अर्थ फिर्ता हो भने कु को अर्थ खर्पनमा राखिएको भारी हो।

लिकु लैजाने पूर्णिमा यःमरी पुन्ही

भक्तपुर। आज यःमरी पुन्ही। मंसीर शुक्लपूर्णिमाको दिन नेवार समुदायमा यःमरी (चामलको पिठोमा खुवा वा चाकु राखेर उमाली बनाउने रोटी) खाने चलन भएकाले यो पूर्णिमाको नाम यस्तो राखिएको हो।

यःमरी पूर्णिमाको भोलिपल्ट भक्तपुर बागेश्वरीकी ६७ वर्षीय नानीमैयाँ श्रेष्ठ लिकु लिएर छोरी संगीताकहाँ जाँदैछिन्। यही असारमा बिहे उनकी छोरीको बिहे काभ्रेको उग्रचण्डी नाला करुणामाईमा भएको थियो। त्यहीँ उनी यःमरी लिएर जाँदैछिन्। त्यसैलाई ‘लिकु लैजाने’ भनिन्छ।

“छोरीको बिहे गरेको पहिलो वर्ष यःमरी पूर्णिमाको दिनदेखि चार दिनभित्र यःमरी पकाएर छोरीको घरमा लैजानुपर्छ”, उनी भन्छिन्, “हाम्रो चलन यस्तै छ। म पनि भोलि छोरीको घरमा जाँदैछु।”

लिकु लैजाँदा छोरीको घरमा विभिन्न आकृतिका यःमरी लैजानुपर्ने नानीमैयाँ बताउँछिन्।

नानीमैयाँ मात्रै होइन, नेवार समुदायका छोरी विवाह गरी पठाएको पहिलोवर्ष सबैले लिकु लैजाने चलन छ। नेपाल भाषामा ‘लि’ को अर्थ फिर्ता हो भने ‘कु’ को अर्थ खर्पनमा राखिएको भारी हो।

नेवार समुदायमा लिकु लैजाने चलन लिच्छवीकालदेखि नै शुरु भएको संस्कृतिविद् ओम धौभडेल बताउँछन्। उनका अनुसार मंसीर शुक्लपूर्णिमाका दिनमा माइती पक्षले विवाह गरी पठाएको छोरीको घरमा पहिलो वर्ष लिकु लैजाने चलन छ। तर यो चलन नेवार समुदायको पनि किसान वर्गमा मात्रै प्रचलित छ।

“नेवार समुदायमा छोरीको घरको माइती पक्षले केही पनि सित्तैमा खानु हुँदैन भन्ने विश्वासका साथ भाइटीकामा दाजुभाइकहाँ आउँदा छोरीले जति खानेकुरा ल्याएको छ, त्यसको दोब्बर खानेकुरा राखेर यसदिन माइतीपक्षले छोरीको घरमा लैजानुपर्ने चलन छ,” उनी भन्छन्, “विभिन्न पशुपन्छी, देवीदेउताका आकृतिका यःमरी बनाएर ठूलो खालको सिन्कामा यःमरीलाई उनेर, खर्पनमा सजाएर लैजाने चलन छ।”

यसरी छोरीको घरबाट ल्याएको खानेकुरा परिवारका सदस्यले मात्रै नभई आफन्तलाई समेत बोलाएर खुवाउने चलन नेवार समुदायमा रहेको उनले सुनाए।

संस्कृतिविद् धौभडेलका अनुसार छोरीको बिहे गर्दा बोलाइएका नजिकका आफन्तलाई पुटु ग्वेँ अर्थात् कपडाको सानो थैलीमा सुपारी राखेर दिने चलन छ। सोही पुटु ग्वेँ दिएका मामा, फुपूलगायत नजिकका आफन्तलाई बोलाएर माइतीपक्षबाट लगेको यःमरी दुलाहा पक्षको आफन्तलाई खुवाउने गरिन्छ। कारणवशः आफन्त उपस्थित हुन नसकेमा उनको घरमै यःमरी पुर्‍याइन्छ। पछिल्लो समय यो संस्कारमा तडकभडक भित्रिएको धौभडेलको गुनासो छ।

“हिजोका दिनमा किसानका परिवारले आफुले सक्ने जतिमात्रै खानेकुरा ल्याउथे, तर अहिले यो संस्कृति प्रतिस्पर्धात्मक भएको छ,” उनी भन्छन्, “यो साधारण संस्कृति अहिले आफन्तलाई देखाउनको लागि धेरै धेरै सामान लिएर जाने गरी प्रतिस्पर्धात्मक संस्कृतिमा परिवर्तन भएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved