आप्रवासन दिवस

आप्रवासीका संघर्ष देखाउने यी पाँच फिल्म, हेर्नुहोस् युट्युबमा

द ल्यान्ड बिटविन (२०१४) ले उत्तरी मोरक्कोका पहाडहरूमा बस्ने अफ्रिकी आप्रवासीको कथा बोल्छ। उनीहरूको सपना मेलिला नाघेर स्पेन जानु हो, तर यहाँ ठूलो संख्यामा सैनिकहरू तैनाथ छन्।

आप्रवासीका संघर्ष देखाउने यी पाँच फिल्म, हेर्नुहोस् युट्युबमा

आज १८ डिसेम्बर, अन्तर्राष्ट्रिय आप्रवासन दिवस। संयुक्त राष्ट्रसंघका अनुसार २०२० मा झन्डै २८ करोड १० लाख मानिसहरूले बसाईं-सराई गरें, अर्थात् विश्वको कुल जनसंख्याको ३ दशमलव ६ प्रतिशत हिस्सा एक ठाउँबाट अर्कोमा सर्‍यो।

दैवी विपद्, आर्थिक चुनौती, अति गरिबी, द्वन्द्वलगायतका कारणले मानिसहरू एक ठाउँबाट विस्थापित भएर अर्को ठाउँमा पुग्छन्। यस वर्ष अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट ठूलो संख्यामा मानिसहरू अन्यत्र बसाईं सरे। काबुलस्थित विमानस्थल तथा ताजिकिस्तान, ईरान, उज्वेकिस्तानलगायत देशका सीमामा मानिसहरूको भीड थियो। देश छाड्ने अर्को बाटो नदेखेपछि प्लेनको चक्का चढेर समेत भाग्‍न तयार भएका एक व्यक्ति जलेर खरानी भएको कहालीलाग्दो समाचार पनि सामाजिक सञ्‍जालमा भाइरल भयो।

राम्रो जीवनको खोजीमा हिँडेका केहीको जीवन सफल पनि हुन्छ होला, तर सबै सफल नहुने भएकाले नै  ‘विदेशिनु रहर होइन बाध्तता हो’ भन्‍ने गरिन्छ। सफल भएकाहरूले पनि ठूलो जोखिम सामना गरेका हुन्छन्। आप्रवासनबारे केन्द्रीत रहेर धेरै फिल्मले आप्रवासीहरूले सामना गर्ने चुनौतीलाई देखाएका छन्। आज हामी त्यस्ता ५ फिल्मको चर्चा गर्दछौं।

द ल्यान्ड बिटविन (२०१४)

यो फिल्मले उत्तरी मोरक्कोका पहाडहरूमा बस्ने अफ्रिकी आप्रवासीको कथा बोल्छ। उनीहरूको सपना मेलिला नाघेर स्पेन जानु हो, तर यहाँ ठूलो संख्यामा सैनिकहरू बसेका हुन्छन्। अन्योलमा परेका यी आप्रवासीहरूको दैनिक जीवनलाई फिल्मले सजीव रुपमा प्रस्तुत गरेको छ।

स्पेन र मोरक्को दुबै देशका सरकारी अधिकारीहरूले उनीहरूमाथि गर्ने दुव्यर्हार पनि देखाइएको छ। किन र कसरी मानिसहरू सबै किसिमका जोखिम मोलेर पनि युरोप छिर्न चाहन्छन् भन्ने यस फिल्मले देखाउँछ। राम्रो जीवनको आशामा उनीहरू आफ्नै जीवन, आफ्नो देश, आफ्नो परिवार र साथीभाई त्याग्न तयार छन्। यो फिल्मलाई डेभिड फिडेलेले निर्देशन गरेका हुन्।

जर्नी (२०१५)

२०१५ मा प्रदर्शनमा आएको यो फिल्मले मध्यपूर्व, मध्य एशियाली र दक्षिण एशियाली देशबाट अवैध रुपमा अस्ट्रेलिया छिर्न खोज्नेहरूको कथा बोल्छ। ईराक, सिरिया, अफगानिस्तान, पाकिस्तानलगायत देश छाडेर हिंड्न चाहनेहरूले बोल्ने भाषा र प्रतिनिधित्व गर्ने समाज फरक छ। तर, कारण साझा हुन्छ : वैदेशिक हस्तक्षेपले निम्त्याएको द्वन्द्व। विदेश जान चाहनेहरूलाई तस्करहरूले बारम्बार लुट्छन्।

पैसा र भए भरको ऊर्जा लगाएर समूद्री बाटो हुँदै अस्ट्रेलिया छिर्न चाहनेहरूको नियति अन्त्यमा के हुन्छ ? यस विषयलाई निर्देशक मोहम्मद गोर्बान्कारिमीले निकै कलात्मक रुपमा प्रस्तुत गरेकी छिन्। तेहरानमा जन्मिएकी यी निर्देशक यस फिल्ममा आफैं मुख्य भूमिकामा छिन्।

 

जर्नी अफ होप (१९९०)

जाभियर कोलर निर्देशित यो फिल्म १९९० मा प्रदर्शनमा आएको थियो। यस फिल्मले अवैध रूपमा स्विचरल्यान्ड छिर्न खोज्ने टर्किस परिवारको कथा बोल्छ। जबकी, स्विचरल्यान्डलाई यो परिवारले केवल पोस्टकार्डमा मात्र देखेको हुन्छ।

यो फिल्मले ओस्कारमा सर्वोत्कृष्ट विदेशी फिल्मको अवार्ड जितेको थियो। स्विचरल्यान्ड, टर्की र बेलायतका कम्पनीहरूले मिलेर यो फिल्मको निर्माण गरेका हुन्।

धोविघाट (२०१०)

यो फिल्म विश्वकै दोस्रो ठूलो जनसंख्या भएको देश भारतको सपनाको नगरी भनिने ‘मुम्बई शहर’को कथा हो। यसमा आन्तरिक आप्रवासन र त्यसका चुनौतीहरूलाई देखाइएको छ। मुम्बई शहरलाई पृष्ठभूमीमा राखेर त्यहाँका भुँइमान्छेहरूको संघर्ष देखाइएको छ।

चित्रकारको भूमिकामा रहेका सुपरस्टार आमिर खान सधैं घोत्लिरन्छन्,‘‘ खान र बस्‍नका लागि सानो ठाउँ मिल्‍ने आशामा अन्यत्रबाट यहाँ आएका मजदूरहरूले ठूला-ठूला भवन बनाइरहेका छन्।  तर, के उनीहरूको सपनामा यो शहरले न्याय गर्न सक्ला ?’’ सन् २०१० मा प्रदर्शनमा आएको यस फिल्मलाई किरण रावले निर्देशन गरेकी थिइन्। यो फिल्मलाई राव र अभिनेता आमिर (रावका पूर्वपति) ले संयुक्त रुपमा निर्माण गरेका हुन्।

यसमा प्रतिक बब्बर, मोनिक डोग्रा, कृति मल्होत्रा र स्वंयम् आमिर मुख्य भूमिकामा छन्।

https://youtu.be/rQtQ2buspfU

द न्यु ल्यान्ड (१९७२)

सन् १९७१ मा प्रदर्शनमा आएको स्विडिस फिल्म ‘द इमिग्रेन्ट्स’ को सिक्वेल हो, ‘द न्यु ल्यान्ड’। यो फिल्म १९७२ मा रिलिज भएको थियो। यसलाई जान ट्रेइलले निर्देशन गरेका हुन्। यो फिल्मले १९ औं शताब्दीको मध्यमा स्विडेनबाट अमेरिकाको मिन्नेसोता पुगेको गरिब आप्रवासी परिवारले नयाँ भूमीमा गर्नुपरेको संघर्षको कथा बोल्छ। जबकी, ‘द इमिग्रेन्ट्स’ले अमेरिका पुग्नका लागि गरिएको संघर्ष देखाएको थियो। इम्मिगेन्ट्सले ४४ औं एकेडेमी अवार्डमा विदेशी भाषाको सर्वोत्कृष्ट फिल्मको अवार्ड जितेको थियो। ‘द न्यु ल्यान्ड’ ४५ औं एकेडेमी अवार्डमा यही विधामा मनोनयनमा पर्‍यो। भिल्हेल्म मोबर्गले शृंखलावद्ध रुपमा लेखेका चार उपन्यासमा यी दुबै फिल्म आधारित छन्। द इमिग्रेन्ट्सले १९४९ मा प्रकाशित ‘द इमिग्रेन्ट्स’ र १९५२ मा प्रकाशित ‘अन्टु द गुड ल्यान्ड’ लाई सिनेमामा उतारेको थियो। ‘द न्यु ल्यान्ड’ पछिल्ला दुई उपन्यास द सेट्लर्स (१९५६) र द लास्ट लेटर होम (१९५९) मा आधारित छ। फिल्म हेर्न यहाँ क्लिक गर्नुहोस्

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved