अर्को पाटो

‘मलाई मौरी पाल्न मन लाग्छ’

मात्र ४५ दिन बाँच्छन्, मौरी। तर थोरै बाँचे पनि कति स्वादिलो, मीठो र स्वास्थ्यबर्द्धक मह दिएर जान्छन्। व्यावसायिक रूपमा नभई सोखले मौरी पालनमा चुर्लुम्म डुबेका डा. बरालको मौरी-मोह साँच्चै नै अद्वितीय लाग्छ।

नेपालभ्युज

‘मलाई मौरी पाल्न मन लाग्छ’
सबै तस्वीर : गोपेन राई

प्रेम-प्रणयदेखि गम्भीर भावभूमिका गीत लेख्ने गीतकार। डा. कृष्णहरि बरालको चिनारी यही नै हो।

डा. बरालको नाम सुन्ने बित्तिकै दिमागमा आइहाल्छ- प्रसिद्ध गीत, गजलकार, समालोचक, नेपालीका प्राध्यापक। २०३३ सालमा पाण्डव सुनुवार र सुरेश श्रेष्ठको स्वरमा सजिएको गीत ‘म भक्त हुँ यो देशको…’ रेकर्डिङ भएसँगै नेपाली सांगीतिक आकाशमा गीतकारको परिचय बनाएका डा. बरालद्वारा शब्दबद्ध करिब एक हजारजति गीत रेकर्ड भए, साढे चार दशकको अवधिमा। यो क्रम अझै जारी छ।

यी गीतहरू नसुन्ने को होलान् र ? बाधा परुँन जति नै, यी हल्लाहरू हुन् तिमीले सुनेका, के भुल भयो प्रिया, रिसाइदेऊ न बिन्ती, यहाँ देशको छ चिन्ता, मर्ने कसैलाई रहर हुँदैन…। उनको झन्डै सयजति गीत सदाबहार छन्। गीत लेखनबाहेक गजल, समालोचना र पाठ्यपुस्तक लेखनमा पनि उनको दख्खल छ।

सबैले उम्दा गीतकारको रूपमा चिन्ने डा. बरालको लुकेको अर्को शिल्प/पाटो पनि छ। जो अहिलेसम्म सतहमा आएको छैन। त्यो हो- मौरी पालन।

बल्खुको कुमारी क्लबको सडक हुँदै पुगिने उनको घरमा अचेल पनि ५-७ घार मौरी बस्छन्। मौरी पालनप्रति उनको मोह जन्मथलो सिन्धुलीको हत्पते डाँडादेखि नै प्रारम्भ भएको हो। भन्छन्, ‘त्यतिबेला म ४-५ कक्षामा पढ्थेँ। मेरा काका जीवनाथ बराललाई मौरी पाल्ने असाध्यै सोख थियो। उहाँले रुमालमा छोपेर मौरी ल्याउनु हुन्थ्यो र घरको खोपामा राख्नु हुन्थ्यो।’

उनको अनुभव छ, कुनै मौरी-समूहलाई आफू बसिरहेको घरको घार मन परेन भने वा समूह विभाजित भयो भने उपयुक्त बासस्थान (घार) खोज्दै हिँड्दा रहेछन्। मौरीहरूलाई समातेर घार देखाइदियो भने उनीहरू त्यही घारमा बस्दा रहेछन्। यो कुरा थाहा पाएका काकाले मौरी समातेर आफ्नो घरको खोपामा ल्याउँथे, जसमा उनको सहयोगी भूमिका रहन्थ्यो।

काकाकै उत्प्रेरणाले उनी मौरी पालनतिर ढल्किए। भन्छन्, ‘एक वर्षको दशैंमा मैले टीका लगाउँदा एक रूपियाँ पाएको थिएँ। त्यो पैसाले मैले गाउँकै एकजनासँग काठको घार किनेँ र मौरी पाल्न थालेँ।’ हिउँद लागेपछि उनको गाउँमा असाध्यै तोरी फुल्थ्यो र मौरीहरू घार खोज्दै आउँथे। त्यही मौका छोपेर उनले आफैले किनेको घारमा मौरी पाल्न थाले।

बीसको दशकमा कमलाखुँज इलाकामा औलो निर्मुल भएपछि डा. बराल हत्पते डाँडाबाट कमलाखुँजको बसनियामा झरे। त्यहाँ पनि उनले मौरी पाल्न थाले। गाउँमा माध्यमिक तहको पढाइ हुने विद्यालय नभएको हुँदा कक्षा ८ देखि पढ्न जनकपुर झरे, उनी। जनकपुरमा जुन घरमा बस्थे, त्यहाँ पनि काठको बाकस किनेर मौरी पाल्न थाले।

२०३६ सालमा उनी काठमाडौंको ल्याब्रोटरी स्कुलमा आबद्ध भए, होस्टल-शिक्षकको रूपमा। सो स्कुलमा बस्दा पनि उनको मौरी-प्रेम उत्तिकै प्रगाढ भइरह्यो। त्यहाँ पनि ३-४ वटा घार ल्याएर मौरी पाले। २०४३ तिर कीर्तिपुरमा डेरा जीवन बिताए। डेरामा बस्दा पनि घरको छतमा मौरी पाले।

२५ वर्षअघि उनले कुमारी क्लवभन्दा केही माथि आफ्नै बासस्थान उभ्याए। आफ्नै घर बनेपछि त झनै आनन्द। उनलाई मौरी पाल्न झनै सुविधा भयो। घरमै ५-७ घार मौरी पाल्न थाले, जुन अहिलेसम्म कायम छ।

मौरी पालनको मोहसँगसँगै उनमा चिन्ता पनि व्याप्त छ। भन्छन्, ‘पछिल्लो समय काठमाडौंका तोरी बारीहरू मासिँदै गए। अचेल काठमाडौंमा पालिने मौरीका घारहरूमा त्यति मह लाग्दैन।’ मह नलागे पनि के भो र ? भन्छन्, ‘महभन्दा पनि मलाई मौरीहरूको गतिविधि असाध्यै मन पर्छ।’

बितेको ६ दशकदेखि मौरीको मनोविज्ञान बुझ्दै आएका डा. बराल मौरीसम्बन्धी जनविश्वासलाई पनि बुझ्छन्। भनिन्छ, ‘मौरी बसेको घर लक्षिनको हुन्छ।’ उनको बुझाइ छ, ‘मैले के थाहा पाएँ भने मौरीहरू नयाँ घारमा बस्न नरुचाउँदा रहेछन्। गर्मीमा नतात्ने र जाडोमा न्यानो हुने घार नै उनीहरूले खोज्दा रहेछन्। अझ पहिला जुन घारमा मौरी बसेका छन्, त्यही घारमा बस्न चाहँदा रहेछन् र घार मन परेन अर्कै घार खोज्न हिँड्दा रहेछन्।’

मौरीको स्वभावै हुन्छ, घुमन्ते। भन्छन्, ‘कुन मौसममा कहाँ फूल फुल्छ, तिनीहरू त्यहीं जान्छन्। तिनीहरूलाई कुन मौसममा कहाँ कुन फूल फुल्छ भन्ने प्रष्ट थाहा हुन्छ।’ अझ, उनीहरूको भाषा-संवाद त बेजोडकै हुन्छन्। कुन घरमा घार छ भन्ने कुरा तिनीहरूले नृत्यको माध्यमद्वारा एक-अर्कालाई जानकारी गराउने गर्छन्।

मौरीको संसारमा शक्तिशाली भूमिका हुन्छ, रानीको। तर रानीले आफ्नो इच्छा र चाहनाअनुरूप ‘रानी’ बन्न पाउँदिनन्/सक्दिनन्। रानी त ‘कामदार समूह’ को इच्छा र निर्णयअनुसार मात्र बन्दछिन्। एउटा घारमा एउटा मात्रै रानी हुन्छिन् र उनीसित एक प्रकारको विशेष गन्ध हुन्छ। विडम्बना पनि छ। डा. बराल भन्छन्, ‘कुनै समूह (घार) बाट रानीलाई झिकिदियो भने वा रानी हराइन् भने अरू मौरी रानी खोज्न भौंतारिन्छन् र तिनीहरू भौंतारिँदै-भौंतारिँदै मासिन्छन् पनि।’ तर रानी मरिन् भने नयाँ रानी खोज्ने एउटा तरिका पनि रहेछ। डा. बराल भन्छन्, ‘रानी मरिन् भने भर्खर जन्मिएका बच्चाहरूबाट अर्को रानी बनाउन सकिँदो रहेछ। तर रानी नै भइनन् भने गुँड नै मासिन्छ।’

मौरीको स्वभावै हुन्छ, घुमन्ते। भन्छन्, ‘कुन मौसममा कहाँ फूल फुल्छ, तिनीहरू त्यहीं जान्छन्। तिनीहरूलाई कुन मौसममा कहाँ कुन फूल फुल्छ भन्ने प्रष्ट थाहा हुन्छ।’ अझ, उनीहरूको भाषा-संवाद त बेजोडकै हुन्छन्। कुन घरमा घार छ भन्ने कुरा तिनीहरूले नृत्यको माध्यमद्वारा एक-अर्कालाई जानकारी गराउने गर्छन्।

मौरीसँग खेल्दै आएका डा. बराल अचेल भने मौरीका कुनै-कुनै प्रजाति लोप हुँदै गएकोमा चिन्तित छन्, बढी नै। भन्छन्, ‘पहिला-पहिला गाउँतिर कठेउरी मौरी हुन्थ्यो, जुन ससाना काठका झिक्राहरूमा पाइन्थ्यो। तर अचेल त्यो मौरी मासिइसक्यो।’ घारे मौरी पनि हुन्थ्यो, जसको टोकाइ अत्यन्तै घातक हुन्थ्यो। त्यो मौरी पनि अचेल पाइन छाडेका छन्। घरमौरी मात्र अहिले अस्तित्वमा रहेका छन्।

मौरीको संसार किन उजाड हुँदैछ त ? त्यसमा डा. बराल केही कारण देख्छन्, ‘पहिलो त विषादीको अत्यधिक प्रयोग नै हो। अचेल तोरी बारीका साथै अरू फूलहरूमा मान्छेहरूले विषादी छर्छन्, त्यसकारण पनि मौरीहरू विषादीको प्रभावले मर्दै गएका छन्। अर्को, मौरीहरू बिहान सखारै फूलको रस संकलन गर्न उड्छन्। बिहान उड्दा बिजुली बत्तीमा गएर उनीहरू ठोक्किन्छन् र मर्छन्। अर्को, मीठाइ पसलहरूमा मौरी झुम्मिन्छन् र उड्दा पसलको सिसामा ठोक्किएर मर्छन्। कहिलेकाहीं घारभित्रै संक्रमण फैलिँदा पनि मौरीहरू मर्छन्।’

मात्र ४५ दिन बाँच्छन्, मौरी। तर थोरै बाँचे पनि कति स्वादिलो, मीठो र स्वास्थ्यबर्द्धक मह दिएर जान्छन्। व्यावसायिक रूपमा नभई सोखले मौरी पालनमा चुर्लुम्म डुबेका डा. बरालको मौरी-मोह साँच्चै नै अद्वितीय लाग्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved