व्यक्तिवृत्त

आवेगनेर उभिएका विमल निभा

उनका पछिल्ला कविता वैचारिक रूपले झन् तिख्खर र परिस्कृत देखिए पनि कतिपय भने भट्टामा राम्ररी नपाकेका इँटाजस्ता लाग्छन्, जसलाई पूर्ण रूपले पकाएर निकालिएको भए धेरै जाती हुने निष्कर्ष निकाल्नु अन्यथा नहोला।

आवेगनेर उभिएका विमल निभा

कवि विमल निभाको दुई विधामा अतिशय स्नेह रह्यो- कविता र व्यंग्य। कविता लेखून् वा व्यंग्य, शब्दमा भने अत्यन्तै मितव्ययी। शब्दका अपव्ययीहरू उनीसँग होसियार हुनै पर्छ। शब्दबाटै गर्छन् उनी यथार्थको सम्यक् अन्वेषण पनि। चार कविताकृति र तीन व्यंग्य-सँगालो त्यसकै दह्रो दसी हुन्।

झन्डै साढे पाँच दशकयता लेखन-कर्ममा निरन्तर छन्, निभा। लेखनको जग कविताबाटै बसालेका समकालीन नारायण ढकाल र राजव (जनार्दन पुडासैनी) ले समयान्तरमा आख्यानको धुरी ठडयाए। निभा भने ‘प्रथम प्रेम’ बसेको कविताकै गोहोलाई पछ्याउँदै छन्, आजपर्यन्त। स्वीकारोक्तिको भाषा बोल्छन्, “म इमानदारितापूर्वक कुनै कर्ममा लागेँ भने त्यो कविता लेखनमै लागेँ।”

‘डेगेन्द्र राजवंशीको आत्महत्या’- उनको पछिल्लो काव्यकृति। पाठकीय मत/प्रतिक्रिया बटुल्नै व्यस्त छन्, अहिले। २०४० को वर्षान्तमा ‘आगोनेर उभिएको मानिस’ सँगै प्रकाशनको जस्केलो खोलेका निभाका ‘एउटा बाहुला नभएको बुसर्ट’ र ‘जोकरको बन्दुक’ पनि निस्किए। लेखन-यात्राको साढे पाँच दशक र कृति प्रकाशनको करिब चार दशकको अवधिमा उनको लेखनमा मौजुद वैचारिक तिक्खरतामा घुरमैलोपन आएको पटक्कै देखिँदैन। तर शैली र शिल्पको आधारशिविरमा टहलिएर मूल्यांकन गर्ने हो भने तीसको दशकका कवितामा पाइने चखिलोपन पछिल्ला कविताहरूमा बिलिनो हुँदै गएको हो कि ? पूर्ववर्ती चमक हराउँदै गएको हो कि ? हुन्छ, यस्तैयस्तै प्रतीत।

कविता-लेखनमा चखिलोपन मेटिँदै गएको स्वीकार्छन्, उनी। यस्तो हुनुमा नेपाली राजनीति, मूलतः वामपन्थी नेतृत्वमा देखापरेको तीव्र विचलन, मूल्यहरूको बढ्दो ह्रास, अतिशय सत्तालिप्सा, चारित्रिक पतनको पराकाष्टा र वर्गीय धरातलबाट च्युत हुँदै गएका दृश्यावलीहरूलाई दोषी ठान्छन्। कुरा नचपाई भन्छन्, “मेरो कविता लेखन खस्किएकोभन्दा पनि देशको वामपन्थी राजनीति नै खस्किएको छ अहिले। जुन आवेगमय समयमा मैले आगोनेर उभिएको मानिस लेखेँ, अहिले त्यस्तो आवेगको वातावरण छैन। अहिले आवेग होइन, मोहभंगको वातावरण छ।”

“साहित्य राजनीतिक र सामाजिक आन्दोलनसँगसँगै हिँडिरहेको हुन्छ। भूमिगतकालमा राजनीति जुन आवेगको साथ अगाडि बढिरहेको थियो, मेरा कविताहरू त्यसकै पछिपछि लागे। अहिलेका वामपन्थी नेताहरू प्रचण्ड, केपी ओली, माधव नेपालको हालत देख्दा उनीहरूलाई केन्द्रमा राखेर म हिजोकै जस्तो प्रखर कविता कसरी लेख्न सक्छु र ? मेरो कविताको आवेगको हत्या गर्ने यिनै नेताहरू हुन्।”

निभामा तीव्र रोष छ। नेतृत्वमा देखिएको वैचारिक स्खलनको प्रभाव आफ्ना कविताहरूमा समेत परेको उनको अभिव्यक्ति छ, “हामीले जुन आन्दोलनको उभार लिएर हिँडेका थियौं, त्यो उभारको नेतृत्वले हत्या गरे। त्यसको प्रतिच्छायाँ हाम्रो लेखनमा पनि पर्‍यो।”

पूर्ववर्ती कविता राजनीतिको रापले सेकिए पनि पछिल्लामा भने सामाजिकताले स्थान पाएको निभाको स्वमूल्यांकन छ। पछिल्लो पटक लेखिएको ‘सोनचिरैया’ र ‘भोक’ जस्ता कवितामा आम मान्छेको संवेदन स्वरलहरी तरंगित छन्। मधेसका नारी र निर्धन तप्काका जनताले बेहोर्नुपरेको पीडाको कथा छन्। ‘ह्वाइट हाउस’ र ‘पेन्टागन बादशाह’ मा युद्धविरोधी स्वरको सघनता छ। ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ र ‘अनि’ जस्ता कवितामा नेपाली कम्युनिस्ट राजनीतिको यस्ता बिम्ब टाँगिएका छन्, जसमा मोहनचन्द्र अधिकारी र डेगेन्द्र राजवंशीहरूका त्याग र निष्ठा शनैःशनैः हिमपातले पुरिएका वृक्षहरूजस्तै हुँदै गए, पूरै सौन्दर्यहीन। राजवंशीको हत्यालाई उनी ‘आवेगको हत्या’ ठान्छन् र भन्छन्, “त्यो क्रुर हत्या हो।”

यद्यपि, उनका पछिल्ला कविता वैचारिक रूपले झन् तिख्खर र परिस्कृत देखिए पनि कतिपय भने भट्टामा राम्ररी नपाकेका इँटाजस्ता लाग्छन्, जसलाई पूर्ण रूपले पकाएर निकालिएको भए धेरै जाती हुने निष्कर्ष निकाल्नु अन्यथा नहोला। सौन्दर्यबोधका दृष्टिले भने नवीन रचना छन्।

वीरगञ्जका डोबहरू

सीमावर्ती सहर वीरगञ्ज। निभाले बाल्यकाल त्यहीं बिताए, अक्षरारम्भ गरे र चढे ज्ञानार्जनका खुट्किलाहरूसमेत। जन्मचाहिँ नेपालगञ्जमा भयो, २००९ सालमा। जागिरे बुबा गोपीकृष्ण श्रेष्ठको जहाँ-जहाँ सरुवा हुन्थ्यो, त्यही-त्यही पुगे, सपरिवार नै। भन्छन्, “म जन्मिएँ नेपालगञ्जमा। घर थियो वीरगञ्जमा र पढ्न चाहिँ मैले बुटवल, विराटनगर र भद्रपुरमा पनि पढेँ।”

दाजु नन्दकृष्ण श्रेष्ठको जासुसी उपन्यास पढ्ने लत थियो। अक्षर चिन्न थालेपछि घरमै उपलब्ध तिनै किताबहरू पढेर उनले पठन-रुचि बढाए। स्कुलमा भने तिलस्मी कथाका किताबहरू पढे। हरेक शुक्रवार नेपालीका शिक्षकले कविता, गीत र चुट्किला पढ्न लगाउँथे। जासुसी र तिलस्मी कथा-उपन्यासमा मग्न रहेकै बेला उनले पढ्ने अवसर पाए- प्रेमचन्द, शरदचन्द, बंकिमचन्द बन्धोपाध्यायका गहन साहित्य। ‘प्रेमचन्दहरू’ का सुरस रचना-संसारमा डुब्न थालेपछि साहित्य भनेको हल्काफुल्का मात्र होइन, गहन विषयवस्तुका पनि हुँदारहेछन् भन्ने बोध हुँदै गयो उनलाई।

भारतमा निर्वासित जीवन बिताइरहेका थिए, पुष्पलालले त्यो बेला। सीमावर्ती सहर रक्सौलमा आएर वीरगञ्जका युवाहरूलाई संगठित तुल्याउँथे उनले। निभाका मित्रहरू महेन्द्रलाल जोशी, महेन्द्रबहादुर अमात्य, आमोद अधिकारीलगायत रक्सौलबाट पुष्पलालसँग वैचारिक खुराक बोकेर आउँथे। तिनै साथीहरूबाट उनले प्रगतिशील साहित्यबारे बुझ्न पाए र उनको प्रारम्भिक कवितामा नै प्रगतिशीलताको सुगन्ध पोतियो। बीसको आखिरी दशकतिर झापा आन्दोलनको समर्थक बनेपछि त उनको लेखनले वैचारिक धरालतलाई पनि सघन स्पर्श गर्न थाल्यो।

वीरगञ्जमा बस्दा उनले तीन वटा भाषा सिक्न पाए- हिन्दी, भोजपुरी र मारवाडी। नेपाली भाषामा दख्खल त पछि मात्रै भयो। उनी भन्छन्, “मेरो बढी भाषिक दख्खल त भोजपुरीमा छ।”

२०२४ सालमै वीरगञ्जको स्थानीय पत्रिकामा कविता छापिइसकेको थियो, उनको। त्यसको दुई वर्षपछि त राष्ट्रिय स्तरको ‘रूपरेखा’ मै छापियो, एउटा लामो कविता- ‘एउटा मजदुर आफ्नो इतिहासको तीन अध्याय लेख्छ’। त्यसअघि विराटनगरस्थित महेन्द्र मोरङ कलेजमा आईए पढ्दाताका ‘पञ्चामृत’ मा उनको एउटा कविता छापिइसकेको थियो। ‘रूपरेखा’मा छापिएको कविता उनले विराटनगरबाटै पठाएका थिए। तात्कालिक सम्पादक उत्तम कुँवरको नजरमा प्रकाशनयोग्य ठहरिएपछि प्रकाशनमा भएन कुनै विलम्ब। भन्छन्, “मैले कवितासँगै सम्पादकलाई चिठी पनि लेखेको थिएँ। त्यो चिठीमा नयाँ पिँढीलाई स्थान दिनुपर्छ भनेर अत्यन्तै भावुक ढंगले लेखेको थिएँ।”

‘रूपरेखा’मा उनका कविता निरन्तरै छापिन थाले। नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा अंकितै छ- रूपरेखा युग। ‘शारदा युग’, ‘प्रगति युग’ भनिएजस्तै। पछिल्लो समय उत्तम कुँवर र बालमुकुन्ददेव पाण्डेबिच टसल बढेपछि ‘रूपरेखा’ बन्द भयो। तर बन्द नहोउन्जेल निभाका कविताहरू छापिइ नै रहे।

बुटपालिस र सडक कविताबाट टाढै

२०३१ सालमा विद्रोही भाव बोकेका युवा सर्जकहरूले नयाँसडक, पीपलबोटनेर जुत्तामा बुटपालिस गरेर तात्कालिक व्यवस्थाप्रति रोष प्रकट गरे। बुटपालिस चम्काउन सक्रिय थिए- शैलेन्द्र साकार, किशोर नेपाल, नारायण ढकाल, कविताराम श्रेष्ठ, सन्तोष भट्टराई, भाउपन्थी, ध्रुव सापकोटालगायत युवासर्जकहरू। निभा भने अलग रहे।

बुटपालिसलाई उनी ‘अराजकहरूको लहडबाजी’ ठान्छन्। उनको प्रतिक्रिया ‘समीक्षा’ साप्ताहिकमा छापिएको पनि थियो, त्यतिबेला। भन्छन्, “त्यो विद्रोह थियो होला तर त्यस्तो विद्रोहप्रति मेरो कुनै लगाव रहेन। सुसंगठित र वैचारिक रूपले नै आन्दोलन गर्नुपर्छ भन्ने मेरो मान्यता थियो।”

उनी भन्छन्, “मैले बुटपालिसको समर्थन गरिनँ। किनभने त्यो फेसनको रूपमा आएको थियो। त्यो कुनै वैचारिक र संगठित आन्दोलन थिएन। त्यो आन्दोलनले बुटपालिस गर्ने वर्गलाई होच्याइएको जस्तो लाग्यो मलाई। हुन पनि एकदिन बुटपालिस गरे, अर्को दिनदेखि सेलाएर गयो। त्यो हिप्पीको प्रभावमा परेर गरिएको थियो। म भने वैचारिक रूपले वामपन्थी आन्दोलनसँग जोडिएको हुँदा त्यस्ता उच्छृंखल क्रियाकलापप्रति आकर्षित भइनँ।”

बुटपालिसलाई उनी ‘अराजकहरूको लहडबाजी’ ठान्छन्। उनको प्रतिक्रिया ‘समीक्षा’ साप्ताहिकमा छापिएको पनि थियो, त्यतिबेला। भन्छन्, “त्यो विद्रोह थियो होला तर त्यस्तो विद्रोहप्रति मेरो कुनै लगाव रहेन। सुसंगठित र वैचारिक रूपले नै आन्दोलन गर्नुपर्छ भन्ने मेरो मान्यता थियो।”

भन्न त भवानी घिमिरेले ‘सडक कविता आन्दोलनमा विमल निभा पनि सामेल थिए’ भने। तर निभा भने २०३६ सालको सडक कविता आन्दोलनमा न सामेल भए, न त समर्थक नै। भन्छन्, “त्यो बेला भावनात्मक रूपले म नेकपा (माले) प्रति नजिक थिएँ। मालेले जनमतसंग्रहको विरोध गरेको थियो र म त्यस्ता आन्दोलनमा सामेल भइनँ। सडक कविता पनि बुटपालिसजस्तै थियो।”

२०४६ र २०६२/०६३ को जनआन्दोलनमा भने उनी सक्रिय रहे। २०४६ चैत ३ गते युद्धप्रसाद मिश्र, पारिजातसँगै उनी पनि त्रिचन्द्र कलेजनिर मुखमा कालोपट्टी बाँधेर व्यवस्थाविरुद्ध उभिए। हरेकजसो आन्दोलनमा उपस्थिति पनि जनाए, सशरीर। ती दिन सम्झिन्छन्, “आन्दोलनमा हिँडेका म र हरिगोविन्द लुइँटेलजीलाई ताकेर प्रहरीले लाठी सोझ्याएको थियो। धन्न, लाठी लाग्नबाट जोगियौं। नभए ठहरै हुन्थ्यौं हामी।”

निभाको रचना-संस्कारको निर्माण पनि आन्दोलनकै दौरानमा भयो। दुवै जनआन्दोलनले उनको काव्य-क्षितिजलाई फराकिलो तुल्याउन भूमिका खेल्यो। आन्दोलनअघि र पछि उनले दमदार कविता लेखे। २०४६ लगत्तै लेखे- ‘पाटन’। जनआन्दोलनको बेला जुर्मुराएको पाटनका नागरिकप्रति लक्षित गर्दै लेखे-

‘पाटनबासीहरू हो
तिमीहरूको जीवनलाई गैरकानुनी
घोषित गरिन्छ।’

२०६२/०६३ को जनआन्दोलनपछि पनि लेखे- ‘काठमाडौंलाई घेर।’ भन्छन्, “मेरा अधिकांश कविता राजनीतिक आन्दोलनसँगै आबद्ध छन्। मैले सिधै नारा लेखिनँ, त्यसको कलात्मकतालाई जोगाएर र संरचनालाई कायम राख्दै लेखेँ।”

शान्तदासको त्यो प्रेरणा

कुनै शंकै छैन, उनी विद्रोही चेतका कवि। उनको लेखनमा वैचारिकता टड्कारै देखिन्छ र उत्तिकै व्यंग्यचेत पनि। व्यंग्यचेतको कुरा उठाउँदा त, राजनीति र सामाजिक तप्कामा तैरिएर रहेका विसंगति, अनाचार, दुराचार, नैतिक पतनप्रति निरन्तर वक्रता तेर्स्याइरहे। तर वैचारिकताको बोझले थिचिएका भने छैनन् उनी। उनमा वैचारिक तीक्ष्णता र व्यंग्यचेत २०४० सालमा प्रकाशित प्रथम काव्यकृति ‘आगोनेर उभिएको मानिस’ देखि पछिल्ला कविताहरूमा प्रस्टै देखिन्छन्।

‘आगोनेर उभिएको मानिस’ का कविताहरूमा विद्रोही चेतनाको ध्वनि यति घनीभूत थियो, जसलाई आज पनि सम्झिने पंक्ति छन्। तात्कालिक समयमा व्यवस्थाविरुद्धका कविता लेख्नु र प्रकाशन गर्नु दुःसाध्य कर्म मानिन्थ्यो। तर, प्रगतिशील सर्जक शान्तदास मानन्धरले एकदिन उनलाई उक्साए, “ए, विमल एउटा किताब निकाल्नु पर्‍यो अब।”

झोछेंमा थियो, शान्तदासको प्रभात प्रिन्टिङ प्रेस। नारायण ढकालको चयनमा परेका तीस वटा कविताको प्रकाशक राखियो- ”लहर’’ त्रैमासिकलाई। समेटिए, २०३५ देखि ०४० सम्म लेखिएका कविताहरू।

छापिन त १२ सय प्रति छापियो। वितरणको व्यवस्था भने नाजुक। एकदिन भोटाहिटीस्थित निरञ्जनगोविन्द वैद्यको पुस्तक पसलमा कवितासंग्रह बेचिदिन आग्रह गर्न जाँदा उनले नमीठो अनुभव सँगाल्नु पर्‍यो। केही मानिसका बिचमा वैद्यकी पत्नीले आपत्ति जनाउँदै भनिन्, “यति महँगो दाम राख्ने ? कसले किन्छ ? प्रगतिशील किताब भन्ने र महँगो दाम राख्ने ?” किताबको मूल्य थियो- मात्र १० रूपियाँ। निभा भन्छन्, “मलाई नराम्ररी हप्काएपछि म त एकछिन रनभुल्लमा परेँ। मजस्तो नवप्रतिभालाई हतोत्साहित हुने गरी नै हप्काइएको थियो।” ३८ वर्षपछि निस्किएको उनको ‘डेगेन्द्र राजवंशीको आत्महत्या’को दाम भने ४ सय ४५ राखिएको छ।

“शुरुमा वितरणमा समस्या देखिए पनि बिस्तारै किताब बिक्री हुन थाल्यो। चर्चामा पनि आउन थाल्यो। मेरा कवितासंग्रहमध्ये सबभन्दा धेरै चर्चा पाएको र अहिलेसम्म पनि चर्चामा रहेको त्यही संग्रह नै हो”, भन्छन् निभा। संग्रहका ३० मध्ये ‘कुखुरी काँ’ आफूलाई मनपर्ने कविता मान्छन्-

‘कुखुरी काँ
बासी भात खाँ
खोइ मेरो बासी भात
गोदामले खायो
खोइ गोदाम
साहुले लुकायो
खोइ साहु
राहूकहाँ गयो
खोइ राहू
अँध्यारोमा पस्यो
खोइ अँध्यारो
कविले देख्यो
खोइ कवि
कविता लेख्न बस्यो
खोइ कविता
सकियो।’

लेखनारम्भदेखि अरू मुलुकका कविहरूको प्रभाव आफूमा परेको सिधै स्वीकार्छन्, उनी। पाब्लो नेरुदा, बर्तोल्त बेरख्त, नाजिम हिक्मत, सर्वेश्वरदयाल सक्सेना, धूमिलको प्रभाव रहेको ठान्छन्, “मेरा शुरुका कवितामा ब्रेख्तको प्रभाव थियो, पछिल्ला कवितामा धूमिलको प्रभाव रह्यो।”

अग्रज नेपाली कविहरूमा बालकृष्ण सम, गोपालप्रसाद रिमाल, भूपि शेरचनको पनि प्रभाव परेको मान्छन्। भन्छन्, “प्रगतिशील कविताको ‘ट्रेडसेटर’ नै थिए, भूपि। पछिल्लो समय उनी राजावादी भए, त्यो बेग्लै कुरा हो।”

तर देवकोटाको भने कहिल्यै प्रभाव परेन उनलाई। आरम्भिक लेखन प्रभावमुक्त नभए पनि पछि भने आफ्नै शैली विकास गरेको उनको ठम्याइ छ।

जन्मियो तीन गुट

समकालीन नारायण ढकाल र राजवसँग तीसको दशकमै गाँसिएको सम्बन्ध कायमै छ, आजपर्यन्त। काठमाडौंको पूर्वी भेग मुलपानीका बासिन्दा नारायण, पूर्वी भेग डाँछीका राजव र पूरै पश्चिमी भेग डल्लुका निभा त्यो बेला कविता मात्रै लेख्थे। तर नारायण र राजव भने पछिल्लो समय कथा-उपन्यासतिर ढल्किए र नेपाली साहित्यमा समृद्ध आख्यानकारको चिनारीसमेत बनाए। निभा भने कविताकर्ममै लीन भइरहे।

निभा सम्झिन्छन्, “हामी तीन जनाको समूहलाई अरूले गुट भन्थे।” २०२६ सालपछि काठमाडौं आएसँगै नारायण र राजवसँग दोस्ती बढ्यो उनको। त्यसअघि वीरगञ्जमा बस्दा भने उनलाई बुबाले एउटा पसल खोलिदिनुभएको थियो। चलाउनै सकेनन् त्यो पसल। पसल डुबेपछि उनले बुबासँग भने, “म त्रिचन्द्र कलेजमा पढ्न जान्छु अब।”

त्रिचन्द्रमा पढ्न थालेपछि वीरगञ्जकै साथी माधव सिलवालले एकदिन भने, ‘म तिम्लाई एकजना कविसँग भेटाइदिन्छु।’ सिलवालले भेटाइदिएका कवि थिए, उनै नारायण ढकाल। राजव, नारायणको घनिष्ट साथी। नारायणमार्फत उनको राजवसँग पनि चिनजान भयो र तीनै जनाबीच सम्बन्ध प्रगाढ बन्दै गयो। सबैका विचार एउटै, रुचिका क्षेत्र पनि एउटै। सम्बन्ध गहिरिन बेरै लागेन। नारायण भने पार्टीमै संगठित भए र पछिल्लो समय सांसदसमेत बने। उनी र राजव भने संगठित नभए पनि वाम विचारलाई नै पछ्याइरहे।

शुरुमा कविता लेखे पनि पछि भने नारायण गद्यतिर मोडिए। अचेल कविता पनि लेख्छन्, फाट्टफुट्ट। राजवले पनि कविता लेख्न छाडेका छैनन्। उनी भन्छन्, “राजवको कविता लेखनलाई गद्यले छोप्यो। उनको कवितामा व्याप्त सामाजिक चेत निकै गहन छ।”

समकालीन दुई मित्रहरू गद्यतिर मोडिए पनि उनी भने कवितामै तल्लीन रहे। किन त ? भन्छन्, “मेरो लगाव कवितामै रह्यो। पछिल्लो समय अखबारमा व्यंग्य लेख्न थालेपछि बल्ल गद्यतिर मेरो पाइला सोझिएको हो। वास्तवमा गद्यतिर मेरो कुनै झुकाव थिएन।” उनको व्यंग्य लेखन पनि खुबै जम्यो। ‘चौथो कालम’बाट शुरु भएको यात्रा ‘देब्रे कुना’ हुँदै अघि बढ्यो। भन्छन्, “मेरो व्यंग्य दृष्टिको पछिल्लो पेजमा छापिन्थ्यो। पाठकहरूले पत्रिका किन्दा त्यही पछिल्लो पेजदेखि पल्टाउन थाल्थे।”

‘तीन जनाको गुट’ ले प्रगतिशील साहित्यलाई टेको दिने केही सार्थक कर्म पनि गर्‍यो। प्रतिबद्ध त्रैमासिक ‘लहर’ त्यसकै प्रतिफल हो। शुरुमा ‘लहर’ निकाल्दा तीन जना सामेल थिए। पछिल्लो समय भने अग्निशिखा, शार्दुल भट्टराई, वासुदेव अधिकारी, लिखत पाण्डे, अच्युत फुयाल (आभास) को टिमले निकाल्न थाल्यो।

पहिला पिपलबोटनेर सबैसँग भेट हुन्थ्यो। त्यो बेला एउटा रेस्टुराँ थियो- इन्दिरा। त्यो रेस्टुराँमा कविहरू उत्तम कुँवर, हरिभक्त कटुवाल, द्वारिका श्रेष्ठ, उपेन्द्र श्रेष्ठलगायत आउँथे। उनीहरूसँग निभाको सम्बन्ध सामान्य मात्रै रह्यो। उनी भन्छन्, “म शुरुदेखि नै मार्क्सवादी चेतले निर्देशित भएको हुँदा पारिजात दिदीसँग चाहिँ घनिष्ट सम्बन्ध थियो।”

कोरोना-कहरअघि नारायण ढकाल र पछिल्लो पुस्ताका पुरुषोत्तम सुवेदी, अविनाश श्रेष्ठ, शार्दुल भट्टराई, श्यामल, नारायण तिवारीलगायत कविसँग उनको संकटा जाने गल्लीको चिया पसलमा हरेक शुक्रवार जमघट हुन्थ्यो। नयाँ पुस्ताका विनोदविक्रम केसी, अभय श्रेष्ठ र केशव सिलवाल पनि आउँथे। राजव त अमेरिकाबासी भइसकेका हुँदा पछिल्लो समय भेट हुने अवस्थै रहेन।

पहिला पिपलबोटनेर सबैसँग भेट हुन्थ्यो। त्यो बेला एउटा रेस्टुराँ थियो- इन्दिरा। त्यो रेस्टुराँमा कविहरू उत्तम कुँवर, हरिभक्त कटुवाल, द्वारिका श्रेष्ठ, उपेन्द्र श्रेष्ठलगायत आउँथे। उनीहरूसँग निभाको सम्बन्ध सामान्य मात्रै रह्यो। उनी भन्छन्, “म शुरुदेखि नै मार्क्सवादी चेतले निर्देशित भएको हुँदा पारिजात दिदीसँग चाहिँ घनिष्ट सम्बन्ध थियो।”

उनको लेखकीय धरातललाई उन्नत तुल्याउन पारिजातको भूमिका पनि कम महत्वपूर्ण रहेन। भन्छन्, “त्यो बेला पारिजात दिदी वामपन्थी चेतनामा बिस्तारै आबद्ध हुँदै जान लाग्नुभएको थियो। उहाँले शुरुशुरुका अन्तर्वार्तामा म राम्रो कवि भएको भन्दै मेरो नाम लिनुभएको म अझै सम्झिन्छु।”

२०२६ सालमा ‘रूपरेखा’ मा ‘एउटा मजदुर आफ्नो इतिहासको तीन अध्याय लेख्छ’ कविता छापिँदा निभा वीरगञ्जमा थिए। एकदिन उनको हातमा एउटा चिठी पर्‍यो। लेखेकी थिइन्, पारिजातले। सम्झिन्छन्, “हवाईपत्रमा लेखिएको त्यो चिठीमा मेरो कविताको उहाँले खूबै प्रशंसा गर्नुभएको थियो। मैले त्यो चिठी जतनसाथ राखेको भए ऐतिहासिक दस्तावेज बन्ने रहेछ। तर कता हरायो, हरायो।”

देवकोटाप्रति फरक हेराइ

वीरगञ्जको स्कुले जीवनमा उनले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई लक्षित गरेर लेखेका थिए, ‘म हुँ देवकोटा, म हुँ देवकोटा, पानी खान्छु एक लोटा।’

देवकोटाको लेखन संसार नपहिल्याउँदै उनले ठट्यौली शैलीमा लेखेका थिए, यस्तो कविता। २०७७ मा फेरि लेखे उनले देवकोटामाथि अर्को कविता- ‘देवकोटाको घर’। जुन कवितामा उनले महाकवि देवकोटाप्रति आलोचन दृष्टि पोखेका छन्। ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ जस्ता शक्तिशाली पंक्ति लेख्ने देवकोटाको परिवारमा व्याप्त जातीय विभेदको रङ यी पंक्तिहरूमा पाइन्छन्,

‘म देवकोटाभक्त भएकोले
राजधानी काठमाडौंको
मैतिदेवीस्थित सो
साहित्यिक घरमा जान
अति इच्छुक रहेको छु
र, मेरो सबैभन्दा
उत्कट अभिलाषा के हो भने
म त्यो कोठा हेर्न चाहन्छु
जहाँ महाकवि देवकोटालाई
भेट गरी कमला सांकृत्यायन
बाहिरिएपछि अछुत ठानिएर
शुद्धाशुद्धी नै गर्नु परेको
थियो अशुद्ध कोठा।’

देवकोटामाथिको काव्यिक दृष्टिकोण प्रकाशनमा आएपछि उनलाई देवकोटाभक्तहरूले प्रहार पनि गरे। भन्छन्, “यो कविता प्रकाशित भएपछि मलाई उनीहरूले ‘ट्रोल’ गरे। कवितालाई निबन्धजस्तो बनाएर यस्तो पनि कविता हुन्छ भन्दै मेरो खिल्ली उडाए।”

आफ्नै दृष्टिमा निभा

“मेरो जिन्दगी नै काव्ययात्रामा बित्यो”, सत्तरीमा टेकेका निभाले आफ्नो लेखन यात्राका आरोहअवरोहतिर नियाल्दै भने, “आफ्नो लेखनबारे आफैले मूल्यांकन गर्न निकै कठिन हुँदोरहेछ। तर म यत्ति भन्छु- मैले राम्रो लेख्न भरपूर प्रयास गरेँ।”

‘डेगेन्द्र राजवंशीको आत्महत्या’को प्रतिक्रिया सुन्नमै व्यस्त अचेल उनी लामा कविता लेख्ने सोचको सँघारमा उभिएका छन्। तर फेला पार्न सकिरहेका छैनन्, उम्दा थिम। भन्छन्, “लामो कविता लेख्न मन लागिरहेको छ, तर लामो कविता लेख्दा त्यो आख्यानमूलक हुनुपर्छ।”

अरू स्रष्टाका नजरमा

तीसको दशकदेखि नै लेखन सहकर्मी रहेका कथा एवं उपन्यास-सर्जक नारायण ढकाल निभाको नेपाली काव्य-संसारमा बेजोडको हस्तक्षेप रहेको ठान्छन्। ढकाल भन्छन्, “उनी आफैमा सामथ्र्यवान् कवि हुन्। म उनलाई अहिलेको पुस्ताको प्रखर जनवादी कविको रूपमा लिन्छु।”

निभाको पूर्ववर्ती काव्यलेखन र अहिलेको तुलना गर्दै ढकाल भन्छन्, “जुन बेला उनले आगोनेर उभिएको मानिस लेखे, त्यो स्वप्निल कालखण्ड थियो। अहिले भने सपना भत्किएको समयमा छौं हामी। आन्दोलनका नायकहरू खलनायकका रूपमा देखा परेका छन्। एकजना जनवादी कविका लागि जनताको आन्दोलन विसर्जन हुनु दुःखद् पक्ष हो।’’ तर काव्य लेखनमा निरन्तरता र निष्ठा देख्दा निभाले आफूलाई नवीकरण गरिरहेजस्तो लाग्छ ढकाललाई। भन्छन्, ”उनका पछिल्ला कवितामा समूल रूपले नेपाली कम्युनिष्ट आन्दोलनको अन्त्य भएको विम्ब देखिन्छन्।”

निभाको लेखनलाई लामो समयदेखि पहिल्याउँदै आएका कवि/नाटककार शार्दूल भट्टराईको मूल्यांकन भने यस्तो छ, “गोपालप्रसाद रिमाल आधुनिक नेपाली गद्य कविताका आरम्भकर्तामात्र थिएनन्, एउटा ‘ट्रेण्ड सेटर’ नै थिए। उनले आरम्भ गरेको गद्य कविताको त्यो यात्रामा भूपी शेरचन अर्को ‘ट्रेण्ड सेटर’ बन्न पुगे। नेपाली कवितामा रिमाल र भूपीकै परम्पराका अर्का ”ट्रेण्ड सेटर’’ हुन् विमल निभा। यस अर्थमा उनी समकालीन नेपाली कविताका नायक नै हुन्।”

भट्टराई भन्छन्, “प्रगतिवादी कविता र व्यङ्ग्य निबन्धमा उनको योगदान महत्वपूर्ण छ। जीवन र लेखन दुवैमा मार्क्सवादप्रतिको उनको प्रतिबद्धता उदाहरणीय मात्र छैन, प्रशंसनीय पनि छ। उनको नवीनतम कविता सङ्ग्रहले पनि उनको जीवन र लेखनप्रतिको त्यस प्रतिबद्धतालाई पुनर्पुष्टि गरेको छ।”


Comment

One thought on “आवेगनेर उभिएका विमल निभा

  1. “मेरो कविताको आवेगको हत्या गर्ने यिनै नेताहरू हुन् “- विमल दाइकाे याे भनाइ अत्यन्तै मर्मस्पर्शी लाग्याे । अन्तरवार्ताकाे सार नै याे भनाइ हाे भन्ने लाग्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved