जलवायु परिवर्तनले बढ्दैछ आङ खस्ने समस्या (भिडिओ सहित)

मुहान सुक्दै गएपछि दैनिक दुई, तीन घण्टाको बाटो पानी ओसार्नुपर्दा सिन्धुपाल्चोकका ग्रामीण भेगका महिलामा आङ खस्ने समस्या बढ्दै गइरहेछ।

जलवायु परिवर्तनले बढ्दैछ आङ खस्ने समस्या (भिडिओ सहित)

सिन्धुपाल्चोक। सधैँझैं उनी पानी लिन मूलधारातिर गइन्। घण्टौं लाम लागेपछि बल्ल उनको पालो आयो। २० लिटर र ५ लिटरका जर्किनमा पानी भरेर डोकोमा हालिन्। डोको बोकेर उठ्न लाग्दा तल्लो पेट नमज्जासँग दुख्यो। शरीरबाट केही झरेझैं लाग्यो। थचक्क भुईँमा बसिन्। झनै अफ्ठेरो भयो। तल्लो पेट सुम्सुमाइन्। कुनै डल्लोजस्तै निस्किएको थियो।

ओहो कतै बच्चा त गएन ! उनी झनै अत्तालिइन्।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१२ की २९ वर्षे अनिता श्रेष्ठले १० वर्ष अघिको घटना सम्झिइन्, “मेरो बाबु पेटमा आएको पाँच महीना भएको थियो। पानी बोकेर उठ्दा तल्लो पेट दुख्ने, बस्न पनि अफ्ठेरो भएपछि डर लाग्यो।”

पहिलो गर्भ खेर पो गयो कि भन्ने पीरले उनलाई सताउन थाल्यो। तुरुन्तै घरमा आएर पतिलाई समस्या बताइन्। पतिले अस्पताल लगे।

जाँच गरेपछि डाक्टरले अनितालाई भने- “तपाईंको त आङ पो खसेको रहेछ।”

डाक्टरको कुरा सुनेर दुवै पतिपत्नी चकित परे।

“अनि बच्चालाई त केही भएन ?”, अनिताका पतिले डाक्टरलाई सोधे।

शुरुआती चरण भएकोले आङ खसे पनि बच्चालाई असर नगरेको डाक्टरले सुनाए। तर धेरै काम गरेमा झन् धेरै सर्न सक्ने र पछि रिङ राख्ने वा अप्रेशन नै गर्नुपर्ने डाक्टरले सुनाए।

माइती गाउँमा पानीको समस्या थिएन। यहाँ त पानीको निहुँमा झगडा नै हुन्छ। आधारातसम्म कुरेर पानी थाप्नुपर्छ। कहिले त रातको १२ बज्छ। पानीको अनिकाल भएपछि यस्तै हो।” – अनिता श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका-१२। 

“भारी बोकेर, धेरै गह्रुंगो काम गरेर आङ खसेको रे। डाक्टरले काम धेरै नगर्नु आराम गर्नु भन्नुभएको थियो,” अनिता भन्छिन्, “के गर्नु बिहानभरि पानी ओसार्नुपर्छ। धारामा पानी आएदेखि सुकुन्जेलसम्म बोकेको बोक्यै गर्नुपर्छ। गाइवस्तुलाई खुवाउन, कपडा धुन, शौचालय जान, खाना पकाउन, घर लिप्न पानी टन्नै लाग्छ। गर्भवती हुँदा वस्तुभाउ धेरै भएपछि पानी धेरै ओसार्नपर्‍यो। पानी धेरै ओसारेर यस्तो समस्या आइपरेको हो।”

आफूलाई नपर्दासम्म आङ खस्नेबारे उनलाई केही थाहा थिएन। उनको माइती काभ्रे पनौती। त्यहाँ पानीको लागि दुःख गर्नुपरेको थिएन। भेडाबाख्रालाई जंगलमा चराउँथे, घाँस पनि काट्नुपर्दैनथ्यो। १२ वर्षअघि साँगाचोकमा बिहे गरी आएपछि भने बिहान-बेलुका नै पानी बोक्नुपर्‍यो।

“छोरीमान्छेको जात जे पर्छ त्यही गर्नुपर्ने रहेछ। भाग्यको खेल नै यस्तै रहेछ,” उनी भन्छिन्, “माइती गाउँमा पानीको समस्या थिएन। यहाँ त पानीको निहुँमा झगडा नै हुन्छ। आधारातसम्म कुरेर पानी थाप्नुपर्छ। कहिले त रातको १२ बज्छ। पानीको अनिकाल भएपछि यस्तै हो।”

उनले पानी लिन जाने धारालाई गाउँलेहरू मूलधारा भन्छन्। तर त्यसको मूल भने त्यहाँ नभएर अलि परको लप्सीखोला हो। खोलाको पानी पाइपबाट ल्याएर गाउँलेले धारा बनाएका छन्। घर नजिकै भए पनि गाउँभरिका सबै त्यसैमा निर्भर भएकाले पालो पाउनै गाह्रो हुन्छ। घण्टौं उभिनुपर्छ। त्यहीँ पनि हिउँदमा पानी कम हुन्छ। पानी भर्ने काम त अघोषित रूपमा महिलालाई नै छुट्याइएको छ। गाउँका महिलाहरू राति पनि पानीको लाम बसेका हुन्छन्। बिहे गरेर आएको वर्ष नै राति साढे एघार बजे पानी बोकेर घरमा आएको सम्झिन्छिन् अनिता।

“पहिले भन्दा अहिले पानीको धारा नै सानो आउँछ,” उनी भन्छिन्, “भगवानले नै पानी नदिएसी कसको के लाग्छ?”

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-१२ साँगाचोकमा पानीको लाम बसिरहेका महिला।

हरेक दिन घण्टौं पानी बोकेकैले आङ खस्ने समस्या भोग्न बाध्य अनिता एक्ली होइनन्।

सिन्धुपाल्चोककै बलेफी गाउँपालिका-३ फुल्पिङकोटकी ३६ वर्षे रश्मिला भण्डारीको पनि १० वर्षअघि सुत्केरी अवस्थामा पानी बोक्ने क्रममा आङ खसेको हो।

“गर्भवती भएको बेला पनि पानी बोकियो। सुत्केरी भएको दुई हप्तादेखि नै छोरा काँधमा राखेर डोकामा गाग्री राखेर पानी ओसार्नपर्‍यो,” उनी भन्छिन्, “धेरै काम गर्न नहुने बेला मरीमरी काम गर्नुपर्‍यो। अनि आङ खस्यो।”

रश्मिलाको वडामा झण्डै पाँच सय परिवार छन्। तर सबैका लागि एउटा मात्रै कुवा छ। त्यही कुवाको पानी खस्नेगरी बनाइएको धाराबाट पानी ल्याउँछन् उनीहरू। धारासम्म पुग्न रश्मिलाले एक घण्टा ओर्लनुपर्छ। पानी बोकर फर्किँदा त्यही बाटो डेढ घण्टाको उकालो भइदिन्छ।

पानी नपाएको दिन नखाइ बसेका छौँ। नसकेको बेलामा पानी सापटी गरेर पनि ल्यायौँ। बाटो छेउमा घर छ, हिउँदको बेला खानेपानी माग्न आउँछन् भनेर लुकेर पनि बस्यौँ।” -रश्मिला भण्डारी, बलेफी गाउँपालिका-३ फुल्पिङकोट

१९ वर्षमा जलबिरेबाट फुल्पिङकोटमा बिहे गरेर उनी आउँदा त्यो कुवामा बाह्रै महीना पानी भरिएको हुन्थ्यो। तर १०/१५ वर्ष यता भने पानी सुक्दै गएको अनुभव छ उनको। उनका अनुसार अचेल आठ, नौ महीनामात्रै कुवामा पानी जम्मा हुन्छ। पाँच वर्षदेखि त त्यो पनि घटेर पाँच महीनामात्रै पानी जम्मा हुन थालेको छ। फलस्वरूप, हिउँदमा पानी थाप्न दुई घण्टा हिँडेर अर्को वडामा जानुपर्छ।

“पहिले धारामा जानेबित्तिकै पानी ल्याउन पाउँथेँ, सँधै पानी जम्थ्यो, तर अहिले त कात्तिक महीनापछि पानी नै जम्न छाड्छ,” रश्मिला भन्छिन्, “घरबाट पँधेरा पुग्न आधा घण्टा लाग्छ। तर त्यो सुकेपछि अहिले २/३ घण्टा हिँडेर टाढाको मुहानबाट पानी ल्याउनुपर्छ। त्यहाँ पनि लाइन बस्नुपर्छ। पालो आए त हो नि। बिहानभरि पानी ल्याएर, खाना पकाएर बच्चालाई स्कुल पठाउन भ्याउँदैन। समयमा सुत्न पाउँदैन। त्यस्तो समस्या नि झेलेर बसेका छौँ।”

हिउँदको बेलामा झन् धेरै पानी बोक्नुपर्छ उनले। पति भएका बेला त उनले सघाउँछन् नभए एक्लै बोक्नुपर्छ। बोक्न नसकेको दिनमा पानी नै नखाई पनि बसेकी छन् रे।

“पानी नपाएको दिन नखाइ बसेका छौँ। नसकेको बेलामा पानी सापटी गरेर पनि ल्यायौँ,” उनी भन्छिन्, “बाटो छेउमा घर छ, हिउँदको बेला खानेपानी माग्न आउँछन् भनेर लुकेर पनि बस्यौँ।”

सिन्धुपाल्चोक झोमुथाङमा रातीपख पानी बोकेर फर्किँदै स्थानीय महिला।

उस्तै समस्यामा छिन्, इन्द्रावती गाउँपालिका-८ ज्यामिरेमाने मिलनचोककी अधवैंशे उमेरकी गंगादेवी तामाङ पनि। पानी बोक्दाबोक्दै उनको पनि आङ खसेको छ। तर उनले त उपचार पनि गराएकी छैनन्।

“जीउ झम्झमाउँछ, सिस्नुले पोलेजस्तै पोल्छ,” उनी दुःख सुनाउँछिन्, “हिँड्न हुन्न। खाटमा ओल्टोकोल्टो फेर्न पनि गाह्रो हुन्छ।”

झण्डै १० वर्षदेखि गाउँमा खानेपानीको समस्या बढ्दै गएपछि राती एक बजेदेखि पानी बोकेर ल्याउनुपरेको उनी बताउँछिन्। वर्षायाममा त पानीको खासै समस्या हुन्न। बलेनीको पानी खाएर उनीहरू प्यास मेट्छन्। तर हिउँद लागेपछि दुःखको दिन शुरु हुन थाल्छ।

“हाम्रो घरबाट कुवामा पुग्न एक घण्टा जति लाग्छ, एक गाग्रो पानी ल्याउँदा जीउ दुखेर सहन सकिँदैन,” उनी भन्छिन्, “पानी धेरै चाहिन्छ भनेर गाइ नै पाल्न छोडिदियौँ।”

बलेफी गाउँपालिका-३ फुल्पिङकोटकी ४१ वर्षे सुजना नेपालीको पनि केही वर्षअघि आङ खसेको छ। अहिले पनि उनी एक घण्टा हिँडेर दिनको १० गाग्री जति पानी ल्याउँछिन्।

हाम्रो घरबाट कुवामा पुग्न एक घण्टा जति लाग्छ, एक गाग्रो पानी ल्याउँदा जीउ दुखेर सहन सकिँदैन। पानी धेरै चाहिन्छ भनेर गाइ नै पाल्न छोडिदियौँ।” -गंगादेवी तामाङ, इन्द्रावती गाउँपालिका-८ ज्यामिरेमाने मिलनचोक

“दुःख नै पानीको हो हामीलाई,” उनी भन्छिन्, “एक गाग्री पानी लिएर बिहान तीन बजे गएर राति ६ बजे पनि आएको छु। घरमा समस्या भयो कि भएन आफै बुझ्नुस् ! अहिले बर्खामा त बलेनीको पानी खाइन्छ। घरमा धारा आएको छ। तर माघ फागुनतिर व्यवसाय गरेर खान पनि पानीले गर्दा पाउँदैनौँ। पानी नभएपछि साग पनि हुँदैन। पानी किनेर खानुपर्ने अवस्था छ।”

फुल्पिङकोटकै ५९ वर्षीया देवी थापाको पनि आङ खसेको छ। पानी बोकेकैले आङ खसेको उनी बताउँछिन्। उनका अनुसार पहिले कुवामा पानी ढिलाढिलासम्म बस्थ्यो, तर अहिले चाँडै सुक्ने गरेको छ।

“अहिले मूलधारामा दुई दिन चर्को घाम लाग्यो भने पानी सुक्छ,” उनी भन्छिन्, “बर्खामा त म पनि बलेनीको पानी खान्छु। हिउँदमा त गाह्रो हुन्छ।”

४० वर्षे सरला भण्डारीको पनि तीन वर्षअघि आङ खसेको छ। उनी भन्छिन्, “उमेरमा पानी धेरै बोकियो, त्यतिबेला गाह्रो भएन, उमेर ढल्केर आएपछि घाँसको भारी, गाग्राको पानी बोकेर उठ्दा आङ झर्ने भयो।”

भारी बोकेरै खस्छ आङ

सिन्धुपाल्चोकको ग्रामीण क्षेत्रमा अझै पनि घरायसी काम महिलाकै जिम्मामा छ। गाउँका अधिकांश पुरुष रोजगारीको सिलसिलामा शहर पसेका छन् त कोही विदशिएका छन्। गाउँमै भएका केही पुरुष पनि घर बाहिरको मात्रै काम गर्छन्। घाँसपात, खानेपानी, खेतबारी सबै महिलाको जिम्मामा छ।

पछिल्लो समय पानीको अभाव बढ्दै गएपछि त्यसको असर सोझै महिलाको स्वास्थ्यमा पर्न गएको जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकका प्रमुख डा. दुर्गादत्त चापागाईं बताउँछन्।

पानीको कमीले महिलाहरूको सरसफाइमा कमी आउँछ। एक त पानीको अभाव, अर्कोतिर छुट्टै बाथरुम पनि हुन्न। सार्वजनिक ठाउँ, पँधेरामा नुहाउँदा कम पानीले पुरै शरीर सफा गर्न पाउँदैनन्। यौनाङ्ग वरिपरि राम्रोसँग सरसफाइ नहुँदा संक्रमण भइरहने गर्छ। धेरै पटक संक्रमण भएर पाठेघर खस्ने समस्या आएको पाइन्छ।” -डा. दुर्गादत्त चापागाईं, प्रमुख,जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक।

उनका अनुसार पहिले महिलाले घाँसपात बोक्नुपर्थ्यो, खेतीपाती गर्नुपर्थ्यो। अहिले त्यसमा पानीको समस्या पनि थपिएको छ। नजिक भएका मूल सुक्दै गएपछि, गर्भवती, सुत्केरी महिलाहरूले पानी थाप्न टाढा जानुपर्छ। आराम गर्न समय पाउँदैनन्। पानीको भाँडा बोकेर घण्टौँ हिँड्दा आङ खस्ने समस्या शुरु भएको उनी बताउँछन्।

उनी भन्छन्, “पानीको कमीले महिलाहरूको सरसफाइमा कमी आउँछ। एक त पानीको अभाव, अर्कोतिर छुट्टै बाथरुम पनि हुन्न। सार्वजनिक ठाउँ, पँधेरामा नुहाउँदा कम पानीले पुरै शरीर सफा गर्न पाउँदैनन्। यौनाङ्ग वरिपरि राम्रोसँग सरसफाइ नहुँदा संक्रमण भइरहने गर्छ। धेरै पटक संक्रमण भएर पाठेघर खस्ने समस्या आएको पाइन्छ।”

स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. ज्योति अग्रवालका अनुसार गर्भाशयलाई बाँधेर राख्ने नशाहरू कमजोर भएर त्यससँग जोडिएका अंगहरू बिस्तारै तल खस्दै जानु नै आङ खस्नु हो। जसले गर्दा महिलाको शरीरमा रहनुपर्ने निश्चित ठाँउ छाडेर पाठेघर योनिबाट बाहिर निस्कन्छ। कतिपय अवस्थामा पाठेघरबाहिर निस्कँदैन, तर भित्रै आफ्नो ठाउँ छाडेर पाठेघर तल खस्छ वा सर्छ।

कम उमेरमा विवाह हुँदा, सुत्केरी अवस्थामा बढी शारीरिक श्रम गर्दा, छोटो जन्मान्तरमा बच्चा जन्माउँदा, बच्चा जन्मिसकेपछि चाँडै साल झर्न बल प्रयोग गर्दा, गर्भवती तथा सुत्केरी अवस्थामा राम्रो स्याहार नहुँदा आङ खस्ने समस्या देखिन्छ। पाठेघर सरेपछि ढाड, कम्मर, तल्लो पेट बढी दुख्छ, कसैलाई वेला-वेलामा पिसाब लागेको अनुभव हुन्छ भने, कसैलाई सेतो पानी बग्ने समस्या देखिन्छ।

गर्भवती भएको बेला र सुत्केरी भएको ६ महीनासम्म आराम नै गर्नुपर्छ। तर ग्रामीण भेगका महिलाले आराम भन्दा धेरै काम गर्नुपर्छ। त्यसैले चाँडै आङ खस्छ।” -डा. ज्योति अग्रवाल, स्त्री तथा प्रसुतिरोग विशेषज्ञ।

ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलामा यो समस्या बढी देखिने अग्रवाल बताउँछिन्।

“ग्रामीणभेगका महिलाहरू यसलाई रोग नभई बच्चा जन्मेपछि देखिने साधारण समस्याका रूपमा लिने गरेका छन्। तर त्यस्तो होइन,” उनी भन्छिन्, “गर्भवती भएको बेला र सुत्केरी भएको ६ महीनासम्म आराम नै गर्नुपर्छ। तर ग्रामीण भेगका महिलाले आराम भन्दा धेरै काम गर्नुपर्छ। त्यसैले चाँडै आङ खस्छ।”

चिकित्सा सेवा महाशाखाका अनुसार २०६५ सम्ममा विभिन्न जिल्लाहरूमा सञ्चालन गरिएका स्वास्थ्य शिविरमा आएका महिलामध्ये पहाडी जिल्लाका ७० प्रतिशत महिला पाठेघर खस्ने समस्याबाट पीडित हुने गरेका थिए।

जलवायु परिर्वतनका कारण वर्खामा पानी आउने धारा हिउँदमा सुक्ने गरेका छन्।

जलवायु परिवर्तनको असर

किन यसरी पानीका मुहान सुक्दैछन् त ? साढे दुई दशकदेखि जलवायु परिवर्तनका विषयमा अध्ययन, अनुसन्धान र लेखन गर्दै आएका जलस्रोतविद् अजय दीक्षितका अनुसार यसका चार कारण छन्। तीमध्ये पहिलो हो, पानी पर्ने चरित्रमा परिवर्तन आउनु।

दीक्षितका अनुसार पहाडको भित्रिभागमा पानी संग्रह हुने चार तह हुन्छन्। सबैभन्दा तल जलभण्डार हुन्छ। त्यसमाथिका तह जेठ, असार र साउनको बर्सात्ले भरिन्छन्। बर्षा कम हुँदै गएपछि हिउँदमा पानीको सतह घट्दै जान्छ। सबैभन्दा तल रहेको तहबाट भने वर्षको अन्तिमसम्मै पानी आइरहन्छ। १०/१२ वर्षदेखि पानी पर्ने चरित्रमा परिवर्तन भएका कारण सतहबाट नजिकै रहेका पानीका तहहरू भरिन नपाएको दीक्षित बताउँछन्।

“पहिले झमझम पानी पर्थ्यो। जमिन भिज्थ्यो। भिजेको जमिनबाट केही पानी जमिनभित्र पस्थ्यो। अहिले झम झम पानी पर्दैन, दुई तीन घण्टा पानी पर्छ, त्यसपछि पर्दैन,” उनी भन्छन्, “यसरी पानी पर्दा पानी जमिनमा छिर्न पाउँदैन, जसले जलभण्डार भरिँदै भरिँदैन। जलभण्डार नभरिएपछि कहाँबाट पानी आउँछ ?”

नभन्दै एक अध्ययनले चौतारामा पानी पर्ने दर ह्वात्तै घटेको देखाएको छ। पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रेम चन्दले गरेको अनुसन्धानले तीन सय वर्षअघि चौतारामा प्रति मिनेटमा १.०४ मिलिमिटर पानी पर्थ्यो भने पछिल्लो १० वर्षमा यो दर घटेर ०.७४ मिलिमिटर प्रतिमिनेट पुगेको देखाएको छ (Jha, 2006, pp. 86-94)।

केन्द्रीय तथ्यांक विभागको तथ्यांकले पनि सिन्धुपाल्चोकमा पानी पर्ने दर घट्दै गरेको देखाउँछ। चौतारामा रहेको स्टेशनको मापन अनुसार सन् २०१३ मा वर्षभरि दुई हजार एक सय ७३ मिलिमिटर पानी परेको थियो। तर सन् २०१६ मा भने जम्मा दुई हजार तीन मिलिमिटर र सन् २०१७ मा एक हजार पाँच सय ७२ मिलिमिटर पानी परेको थियो (Central Bureau of Statistics,2019, p. 14) ।

पहिले झमझम पानी पर्थ्यो। जमिन भिज्थ्यो। भिजेको जमिनबाट केही पानी जमिनभित्र पस्थ्यो। अहिले झम झम पानी पर्दैन, दुई तीन घण्टा पानी पर्छ, त्यसपछि पर्दैन,” उनी भन्छन्, “यसरी पानी पर्दा पानी जमिनमा छिर्न पाउँदैन, जसले जलभण्डार भरिँदै भरिँदैन। जलभण्डार नभरिएपछि कहाँबाट पानी आउँछ ?” – अजय दीक्षित, जलस्रोतविद्।

यसरी बर्षात्‌को दर घट्दै जाँदा अर्कोतर्फ भने तापक्रम बढ्दै गएको छ। ‘नेपालको पर्यावरणीय तथ्यांकहरू २०१९’का अनुसार सन् २०१६ मा सिन्धुपाल्चोक चौताराको न्यूनतम तापक्रम १३ दशमलव ९ डिग्री सेल्सियस थियो भने अधिकतम २४ दशमलव ६ डिग्री सेल्सियस। यहाँको औसत तापक्रम १९ दशमलव ३ डिग्री सेल्सियस थियो। तर २०१७ मा आइपुग्दा चौताराको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री थियो भने अधिकतम तापक्रम २५ दशमलव ४ डिग्री सेल्सियस। साथै औसत तापक्रम पनि बढेर १९ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो (Central Bureau of Statistics,2019, p.14)।

यसरी बर्षात्‌को चरित्र परिवर्तन हुनु र तापक्रम बढ्नुको मुख्य कारण हो, विश्व तापमान वृद्धि।

विभिन्न वैज्ञानिक अनुसन्धानहरूले पृथ्वीको औसत तापमान हरेक दशकमा ०.०८ प्रतिशतले बढ्ने गरेकोमा पछिल्लो ४० वर्षदेखि ०.१८ डिग्री सेल्सियसले बढ्ने गरेको छ। फलस्वरूप, सन् १९४०मा शुन्य डिग्री सेल्सियस आसपास रहेको पृथ्वीको औसत तापक्रम सन् २०२० सम्म आइपुग्दा एक डिग्री सेल्सियस पुगेको छ। यो तापमान वृद्धिको अत्यधि असर पर्वतीय देशहरूमा परिरहेको छ।

‘(पृथ्वीको औसत तापमान वृद्धिले) हाल दिन र रात दुवै पहिलेको तुलनामा ताता भइरहेका छन् अर्थात् चिसा दिन र रातको संख्या कम हुँदै गएको पाइन्छ। साथै तापक्रम बढ्ने, छिटपुट हिमपात र हिमनदीहरू अत्याधिक मात्रामा पग्लनाले पहाडी भेगमा खानेपानी तथा सिचाइको अभाव हुन थालेको छ (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, २०७५, पृष्ठ १-२)।

बढ्दो तापक्रम र पानी पर्ने चरित्रमा परिवर्तन आएका कारण बिस्तारै पानीका स्रोत सुक्दै गइरहेछ।

जलस्रोतविद् दीक्षितका अनुसार पानीको स्रोतमा कमी आउनुका अरू कारण हुन्- जथाभावी सडक विस्तार, भूकम्प र डढेलो।

“गाउँगाउँमा यातायातको सुविधा पुर्‍याउन अध्ययन नगरी बाटो खनिदिएको छ”, उनी भन्छन्, “त्यस्तै सिन्धुपाल्चोकमा भुकम्पपछि जमिन हल्लिएको कारण मूल यता उता परेको छ। कतिपय ठाउँमा बस्ती बढेको छ। कतिपय खेतीयोग्य ठाउँमा घरमा परिवर्तन गरेको छ। कतिपय ठाउँमा मानिस नभएर वन जंगल बढेको छ। माटो पहिलेको भन्दा सुख्खा भएको छ। तापक्रममाथि गएको हुनाले जमिन सुख्खा भएको छ। गतवर्षमात्रै हामीले डढेलो भोग्यौँ।”

पानीको सकस सुनाउँदै सिन्धुपाल्चोक बलेफी फुल्पिङकोटका महिला।

गाउँ नै पीडित

पानीको अभावका कारण आङ खस्ने समस्याबाट बलेफी गाउँपालिकाको फुल्पिङकोटको गाउँभरिकै महिला आङ खस्ने समस्याबाट पीडित भएको त्यहाँस्थित स्वास्थ्य संस्थाकी स्वंयसेविका मैयाँ थापा बताउँछिन्।

बलेफी गाउँपालिकाको फुल्पिङकोटमा भएको पानीको समस्याका कारण गाउँ नै आङ खस्ने समस्याबाट पीडित बनेको फुल्पिङकोट स्वास्थ्य संस्थाकी स्वयंसेविका मैयाँ थापा बताउँछिन्।

“पानीकै दुःख छ यहाँ। पानी नबोकी सुख छैन। बढी पानी बोक्नुपर्ने, दुई तीनवटा गाग्री, बोतल, यता उता हालेपछि एक भारी हुन्छ,” उनी भन्छिन्, “महीनावारी भएका बेला, गर्भवती, सुत्केरी महिला कमजोर हुन्छन्। कमजोर भइरहेको बेलामा पानी बोक्दा धेरै महिलालाई पाठेघरको समस्या देखिएको छ। फुल्पिङकोटमा पाठेघरको समस्या नभएको महिला त धेरै कम हुनुहुन्छ।”

मैयाँ आफैँ पनि आङ खस्ने समस्याबाट पीडित छिन्। उनले रिङ पेसरी राखेकी छन्। मैयाँका दुई छोरीहरू छन्। उनीहरू पनि उसैगरी पानी बोक्छन्। मैयाँ भन्छिन्, “तिनीहरूले नबोकेर पाइयो ? हामीलाई त समस्या भयो तर उनीहरूलाई नहोस् भनेर ठूलो गाग्रीमा बोक्न लाउँदैनौँ। सानो भाँडामा त बोक्न परिहाल्यो नि।”

“एक वर्षअघि केही दिन बिराएर दुई जना सुत्केरी आएका थिए। सुत्केरी हुन आउँदा स्वास्थ्य चौकीको ट्याङ्की रित्तै थियो। हात धुन, सरसफाइ गर्न पानी भएन। दुई जनालाई जेनतेन चलायौँ। तर तेस्रो सुत्केरी आउँदा पानी नभएर जलबिरे नै पठाउनुपर्‍यो। हिउँद लागेपछि सुत्केरी आउँदा पनि डर हुन्छ।” -मैयाँ थापा, स्वंयसेविका, बलेफी-३

त्यसो त गाउँमै पानी ल्याउने प्रयास नभएको होइन। तीन वर्षअघि विभिन्न संघसंस्थाले उनको गाउँमा पानी ल्याउने व्यवस्था पनि गरिदिए। बलेफीको वडा नं ७ को खोलाबाट पाइप बिछ्याएर पानी ल्याइएको छ। हिमनदी नभएकाले हिउँदमा त्यो खोला सुक्छ र पानी आउँदैन।

पानीको समस्या कतिसम्म पर्छ भने, हिउँदमा सुत्केरी व्यथा लागेका महिलालाई फुल्पिङकोट स्वास्थ्य चौकीले अन्तै पठाउनुपर्छ।

“एक वर्षअघि केही दिन बिराएर दुई जना सुत्केरी आएका थिए। सुत्केरी हुन आउँदा स्वास्थ्य चौकीको ट्याङ्की रित्तै थियो। हात धुन, सरसफाइ गर्न पानी भएन। दुई जनालाई जेनतेन चलायौँ। तर तेस्रो सुत्केरी आउँदा पानी नभएर जलबिरे नै पठाउनुपर्‍यो,” स्वंयसेविका मैयाँ थापा भन्छन्, “हिउँद लागेपछि सुत्केरी आउँदा पनि डर हुन्छ।”

पानीको अभावले मानवीय सम्बन्धहरू पनि कमजोर भएका छन्। घर आउने पाहुनालाई जति पनि खाना दिनसक्ने तर पानी माग्दा अनकनाउनुपर्ने अवस्था आइलागेको मैयाँ सुनाउँछिन्। एक दशक अघिसम्म माघ फागुनसम्म पानी रसाउने धारामा अहिले त कात्तिक मंसीर लागेपछि सुक्न थालेको छ। त्यसैले धारा अगाडि उनीहरूले कुवा खनेका छन्। राति धाराबाट खसेको पानी जम्मा हुने गरी। तर त्यो पानीले आवश्यकता पूरा गर्दैन।

“त्यहाँ जो पहिले जान्छ, उसले संग्लो पानी खायो। त्यसपछिकाले पाएन। लेदो उप्काएर ल्याउथ्यौँ हामी। त्यही तराएर आएको पानी हामीले खायौँ। गाइवस्तुलाई दिने भनेको त कहाँ कहाँ,” उनी भन्छिन्, “पानी एक थोप्पो हुन्न। खाना दिन सक्ने, पानी माग्दा दिन नसक्ने अवस्था आउँछ। बिहान २ बजे उठेर एक डेढ घण्टा हिँडेर तीनधारे, ब्याङ्चे भन्ने ठाउँको एउटा धाराबाट पानी ल्याउछौँ। अनि बाटोमा हिँड्नेले पानी माग्नुहुन्छ भनेर हामी लुकेर पनि बस्छौँ। अहिले त पहिलेको भन्दा पनि झन् समस्या हुँदै आएको छ।”

अस्थायी समाधान बनेको खोलाको पानी प्रदुषित छ। जसले गर्दा यहाँका बासिन्दालाई झाडापखाला, आउँ, टाइफाइड हुने गरेको छ।

उनी भन्छिन्, “पानी सफा छैन भनेर भन्नुभएको थियो। तर नभए पनि खान त परिहाल्यो। पानी फोहोर छ भनेर हरेक घरमा फिल्टर भन्दाभन्दै जसरी भए पनि प्रत्येक घरमा फिल्टर ल्याउनुभएको छ।”

पन्ध्र सय परिवार अभावमा

२०६८ को जनगणना अनुसार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-३ फुल्पिङकोटमा पाँच सय २१ घरधुरी छन्। त्यस्तै इन्द्रावती गाउँपालिका-८ ज्यामिरेमानेमा तीन सय ६१ घरधुरी छन् भने चौतारा साँगाचोकगढी-१२ साँगाचोकमा ६ सय ४२ घरधुरी रहेका छन्। अर्थात् एक हजार पाँच सय २४ परिवारका तीन हजार दुई सय १७ पुरुष र तीन हजार ६ सय ६० महिला पानीको अभावमा छन्। ती सबैलाई पानी पुर्‍याउने मुख्य जिम्मेवारी त महिलाकै हो।

२०६८ को जनगणना अनुसार बलेफी गाउँपालिकामा ९१.३३ प्रतिशत पाइपबाट, ६.५९ प्रतिशतले मूलधाराबाट, ०.२७ प्रतिशतले नदी खोलाबाट र ०.२० प्रतिशतले ट्युबेल, हातेपम्प ढाकिएको इनार वा कुवाको पानी प्रयोग गर्छन्।  २९ परिवारको खानेपानीको स्रोत खुलेको थिएन।

त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकामा ८८.९३ प्रतिशतले पाइपबाट, ६.४९ प्रतिशतले मूलधाराबाट, ०.०६ प्रतिशतले नदी खोलाबाट र २.१५ प्रतिशतले ट्युबेल, हातेपम्प ढाकिएको इनार वा कुवाको पानी प्रयोग गर्छन्। यहाँ पनि १११ परिवारले प्रयोग गर्ने खानेपानीको स्रोत खुलेको छैन।

साथै इन्द्रावती गाउँपालिकामा ७९.९७ प्रतिशतले पाइपबाट, १२.१० प्रतिशतले मूलधाराबाट, ०.७७ प्रतिशतले नदी खोलाबाट र १.२४ प्रतिशतले ट्युबेल, हातेपम्प ढाकिएको इनार वा कुवाको पानी प्रयोग गर्छन्। यहाँका ३८ परिवारको पानीको स्रोत खुलेको छैन। (तथ्यांक कार्यालय काभ्रेपलाञ्चोक, २०७५, पृष्ठ ३२-३३)र

अधुरो तथ्यांक

परिवार कल्याण महाशाखाका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा नेपालमा २९ हजार आठ सय ९७ जनामा आङ खस्ने समस्या देखिएको थियो। तीमध्ये दुई सय ६७ जनाको पाठेघरको अप्रेशन भएको थियो। त्यस्तै २०७६/०७७मा नेपालमा १७ हजार ६ सय ४२ जनाको आङ खसेको तथ्यांक छ। तीमध्ये दुई सय ७६ जनाको अप्रेशन भएको थियो। त्यस्तै २०७७/०७८को फागुन महीनासम्म नौ हजार सात सय जनाको आङ खसेको छ भने एक सय ३३ जनाको अप्रेशन भइसकेको छ।

सन् २०१६ मा महाशाखाले गरेको एक अध्ययनले नेपालमा वर्षेनी ६.४ प्रतिशत महिलाको आङ खस्छ। अर्थात् हरेक १०० जना महिलामध्ये कम्तिमा ६ जनाको आङ खसेको हुन्छ।

महाशाखासँग वर्षेनी सिन्धुपाल्चोकमा हरेक वर्ष कति जना महिलाको आङ खस्छ भन्ने तथ्यांक पनि छैन। न कुनै स्थानीय तहसँग छ, न त सिन्धुपाल्चोकको जिल्ला स्वास्थ्य कार्यालयसँग नै। त्यसैले महाशाखाको तथ्यांक अपुरो भएको स्वंय स्विकार्छ। स्थानीय तहले तथ्यांक नपठाएकाले यकिन संख्या थाहा नभएको परिवार कल्याण महाशाखाकी प्रमुख कविता अर्यालको तर्क छ।

“स्थानीय निकायहरू, स्वतन्त्र संस्थाले शिविर चलाउँछन्, तर तथ्यांक हामीलाई पठाउन जरुरी ठान्दैनन्, जसले गर्दा यकिन तथ्यांक आउन सकेको छैन,” उनी भन्छिन्, “डाटा नभएर लाटा हुने अवस्था आएको छ।”

संघीयता लागु हुनुअघिका तथ्यांक भने महाशाखाका कर्मचारी फेरबदल भएको कारण नभएको महाशाखाका एक अधिकारी बताए। उनी भन्छन्, “हाम्रा कर्मचारी फेरिइरहन्छन्, त्यसैले तथ्यांक सहि ठाउँमा हुन्न।”

१३ कात्तिक २०७५ मा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१२ स्थित साँगाचोकमा स्तन तथा पाठेघरको मुखको निःशुल्क स्वास्थ्य परीक्षण शिविर भएको थियो। नगरपालिकाले थाहा फाउण्डेशनसँग समन्वय गरी शिविर चलाएको थियो। शिविरमा तीन सय महिलाको स्वास्थ्य परीक्षण गरेकोमा एक सय ८० जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएकोमा एक सय ५० जनामा संक्रमण देखिएको थियो। परीक्षणबाट पाठेघरको मुखमा मासु पलाएका सात जना, आङ खसेको ६ जना र पाठेघरको मुख र ग्रन्थीको क्यान्सर दुई जनामा फेला परेको थियो।

यो त एउटा ठाउँमा सञ्चालन भएको, एउटा शिविरबाट पत्ता लागेको आँकडा हो। तर यसपछि कुनै शिविर सञ्चालन भएको छैन। साथै यहाँका कति महिलाको आङ खसेको छ र कुन कारणले खसेको जानकारी नभएको साँगाचोकका स्वास्थ्य विभागप्रमुख शिव पुरीले जानकारी दिए। त्यस्तै बलेफी र इन्द्रावतीसँग पनि आङ खसेका महिलाहरूको तथ्यांक छैन। बलेफी गाउँपालिकाका स्वास्थ्य विभाग प्रमुख सुरेश शाहका अनुसार गाउँपालिकाले त अहिलेसम्म शिविर पनि राखेको छैन।

इन्द्रावती गाउँपालिकाका स्वास्थ्य विभाग प्रमुख परशुराम श्रेष्ठका अनुसार वर्षेनी परिवार नियोजन, खोप, पोषणसम्बन्धी शिविर चल्छ। तर महिलाको आङ खस्ने सम्बन्धमा कुनै शिविर गर्न बजेट नै आउँदैन।

परिवार कल्याण महाशाखाले भने हरेक वर्ष महिलाको आङ खस्ने समस्या परीक्षण, उपचार गर्नको लागि स्थानीय निकाय, अस्पताललाई पैसा पठाउने गरेको छ।

‘पाठेघर खस्ने समस्याको रोकथाम र शल्यक्रिया सम्बन्धी कार्यविधि निर्देशिका २०६५’ समेत बनेको छ। सोही अनुसार प्रजनन उमेर समूहका अधिकांश महिलालाई पाठेघर खस्ने समस्याको रोकथाम र शल्यक्रियासम्बन्धी सेवा प्रदान गर्नुपर्ने आवश्यकता महसूस गरी नेपाल सरकार तथा जनसंख्या मन्त्रालयले निर्देशिका २०६५ जारी गरेको थियो। त्यस अनुसार सिन्धुपाल्चोक हिमाली जिल्लामा पर्छ। जसको अनुसूची ८ का अनुसार यस निर्देशिकाबमोजिम सेवा प्रदान गरेबापत सम्बन्धित सरकारी वा अन्य स्वास्थ्य संस्थालाई प्रति सेवाग्राही हिमाली क्षेत्रको लागि १० हजार रुपैयाँ नबढ्ने गरी एकमुष्ट रकम उपलब्ध गराइनेछ। रकम प्राप्त गरेबापत उसले सम्बन्धित सेवाग्राहीको उपचार रोकथाम, शल्यक्रिया, भर्ना भएको बखतको शैया र खाना समेत व्यहोर्नुपर्नेछ।

निर्देशिकाको परिच्छेद २ सेवासुविधा सम्बन्धी व्यवस्थाको दफा ६ को उपदफा १ अनुसार पाठेघर खस्ने समस्याको रोकथाम तथा शल्यक्रियाको लागि सम्बन्धित स्वास्थ्य संस्थालाई मन्त्रालयले आवश्यक रकम उपलब्ध गराउने व्यवस्था छ। उपदफा २ मा रकम उपलब्ध गराउँदा वार्षिक वा अर्धवार्षिक खर्चको हिसाब गरी एकमुष्ट रकम उपलब्ध गराउनेछ।

जसअनुसार महाशाखाले हरेक वर्ष नेपालभरिका सात सय ५३ वटा स्थानीय निकायलाई ५० हजार रूपैयाँका दरले पैसा पठाउने गरेको महाशाखाका एक अधिकारीले बताए। त्यस्तै उनका अनुसार प्रत्येक वर्ष प्रत्येक स्वास्थ्य कार्यालयलाई दुई लाख र आङ खसेको अप्रेशन गर्ने अस्पताललाई कम्तीमा एक लाख रुपैयाँ दिने गरेको छ।

स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. ज्योति अग्रवालका अनुसार महिला स्वास्थ्यको संवेदनशील विषयमा तथ्यांक नराख्नु कमजोरी हो। मन्त्रालयबाट जाने पैसाबाट शिविर भयो कि भएन भनेर फलोअप नहुँदा र तथ्यांक नराखिने भएकोले महिलाको स्वास्थ्यका विषयमा बनाइने योजनाहरूमा फरक पर्न जाने उनले बताइन्। उनी भन्छिन्, “बिरामीलाई पनि शिविर, अस्पतालमा पुर्‍याउन प्रेरणा दिनुपर्छ। र शिविरको पनि तथ्यांक राख्नुपर्छ। यसले भविश्यमा बन्ने योजनामा ठूलो भूमिका खेल्छ।”

सबै तस्वीरः सुनिता साखकर्मी

(याे सामग्री ब्रिटिश काउन्सिलको ‘जलवायु परिवर्तनमा महिला पत्रकार अनुदान’को सहयोगमा तयार पारिएको हो।)

सन्दर्भ सूची

तथ्यांक कार्यालय काभ्रेपलाञ्चोक। २०७५। जिल्ला वस्तुगत विवरण सिन्धुपाल्चोक २०७५। काभ्रेपलाञ्चोकः तथ्यांक कार्यालय।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय। २०७५। जलवायु परिवर्तन स्वास्थ्य अनुकूलन रणनीति तथा कार्ययोजना (वि.सं.२०७२-२०७७)। काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय।

Central Bureau of Statistics.2019. ENVIRONMENT STATISTICS OF NEPAL 2019.Kathmandu: Government of Nepal, National Planning Commission.

Jha, Prem Chandra. 2006. Estimation of hourly rainfall design intensity from 24-hour maximum rainfall in the context of Nepal. Journal of Hydrology and Meterology. Vol 3.No. 1. March 2006. Kathmandu: SOHAM, Nepal.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved