राजीनामा दिँदै रिजालले भने : बीपीले कल्पना गरेजस्तो कांग्रेस कलकल बगिरहोस्

गगन र विश्वप्रकाशप्रति संकेत गर्दै भने : मैलेभन्दा राम्रोसँग जिम्मेवारी निभाउने मान्छे आए

राजीनामा दिँदै रिजालले भने : बीपीले कल्पना गरेजस्तो कांग्रेस कलकल बगिरहोस्
फाइल तस्वीर

काठमाडौं।  रक्षामन्त्री डा मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नयाँ केन्द्रीय समितिलाई बीपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर बढ्न सुझाव दिएका छन्।

पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनःनिर्वााचित भएका र उनका लागि महत्वपूर्ण अवसर रहेको रिजालको भनाइ थियो। डा रिजालले बीपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर कलकल बगिरहोस् भनी शुभकामना दिए। बग्रेल्ती चुनौती र अद्भूत अवसरलाई सदुपयोग गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको पनि उनले बताए।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य रिजालले आज सिंहदरबारमा पत्रकार सम्मेलनर्फत महाधिवेशनमा निकै ठूलो मतान्तरले हारिसकेपछि अनेक बहाना खोजेर पदमा रहिरहनु उचित नहुने निष्कर्षका साथ रक्षामन्त्रीबाट राजीनामा दिएको बताए। प्रधानमन्त्री देउवालाई राजीनामापत्र बुझाएर उनले मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए।

“नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त सङ्कुचित भएको कुरालाई हृदयङ्गम गर्दा रक्षामन्त्री पदमा रहिरहनु नैतिक रूपमा उपयुक्त नहुने भएकाले राजीनामा दिएको छु”, डा रिजालले प्रधानमन्त्री देउवासमक्ष बुझाएको रानीनामा-पत्रमा उल्लेख छ।

“अहिलेको यो समयमा जबरजस्ती राजनीतिमा बसिरहनु उचित हुँदैन, यो यात्रामा परिणामको गाम्भीर्यलाई ग्रहण नगरी आफूले आफैँलाई झुटो बोलेर सान्त्वना दिनु उचित हुन्न”, पत्रकार सम्मेलनमा डा रिजालले भने, “आफ्नो ठाउँबाट बोल्न र राजनीतिक पुँजी बचाएर राख्न पनि राजीनामा दिएको हुँ।”

डा रिजाल १८ वर्षदेखि पार्टीको केन्द्रीय कार्यसमितिमा छन्। महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्माप्रति संकेत गर्दै उनले भने, “राजनीतिमा नहुने निर्णय गरेँ भने पनि मैलेभन्दा राम्रो जिम्मेवारी निभाउने गरी मानिस परेको महसूस भएको छ।”

उनले महाधिवेशनले निर्वाचित गरेको नेतृत्वले आफूलाई कांग्रेसको सदस्यका रूपमा जसरी उपयोग गर्न चाहन्छ, त्यो उचित लाग्यो भने त्यही किसिमले अगाडि बढ्ने नत्र आफ्नो बाटो आफैँ रोज्दै जाने पनि बताए। २०२५ सालदेखि नै बीपी कोइरालालाई आदर्श मान्दै आएको भन्दै उनले आउने दिनमा राजनीतिमा रहे पनि र नरहे पनि काम गर्दा त्यो ऊर्जामा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाए।

अहिले नै आगामी दिनमा कसरी जाने भनेर निर्णयमा भने पुगिनसकेको उनले बताए। पाँच जना निर्वाचित हुँदा ८० वर्ष पुग्दै गरेका, ४० वर्ष भर्खर नाघेका र बीचका नेताको समीश्रणको टिम बनेको उनको भनाइ थियो। बढी युवाको अनुहार आएका, त्यसले सबै कांग्रेस र पाका नेतालाई एउटा सन्देश दिएको पनि उनले बताए।

“त्यसलाई सदाशयताका साथ लिन सके बीपीको पार्टीलाई ऊर्जावान् बनाउन सकिन्छ”, उनको भनाइ थियो। अढाई महिना रक्षा मन्त्रालयको बसाइ स्मरणयोग्य रहेको पनि उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved