नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले गिरावट

नेपालभ्युज

नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले गिरावट

काठमाडौं। साताको अन्तिम तथा पुस महीनाको पहिलो कारोबारको दिन शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ।

पछिल्लो तीन सातादेखि शेयर बजारमा ठूलो उतारचढाव बढ्दै गएको छ। मंगलबार नेप्से १३७ दशमलव १८ अंकले बढेर परिसूचक २ हजार ४१८ दशमलव ८५ बिन्दुमा पुगेको थियो। तर, बुधबार ४ दशमलव २३ अंकले घटेको नेप्से परिसूचक बिहीबार भने ३७ दशमलव ८७ अंकले घटेर २ हजार ३७६ दशमलव ७४ बिन्दुमा झरेको छ।

बुधबार ४ दशमलव २३ अंकले घटेर २ हजार ४१४ दशमलव ६२ बिन्दुमा ओर्लिएको थियो। ठूला लगानीकर्ताको मापन गर्ने सेन्सेटिभ इण्डेक्स ५ दशमलव ८८ अंकले घटेर ४५३ दशमलव ५३ अंकमा झरेको छ। त्यस्तै, फ्लोट इण्डेक्स २ दशमलव ४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ९९ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका २२४ कम्पनीको ५३ लाख ७९ हजार कित्ता शेयर २ अर्ब ३० करोड १७ लाख ५१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबार साढे ४ अर्बको शेयर कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको बाहेक सबै उपसमूह राताम्मे देखिएको छ। जसमध्ये विकास बैंक ३.६६ प्रतिशत, जलविद्युत ३.०१ प्रतिशत, व्यापार, वित्त, निर्जीवन बीमा, अन्य, जीवन बीमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ।

नेप्से परिसूचकमा गिरावट आए पनि आज नेपाल बङ्गलादेश बैंकको शेयर ९ दशमलव ९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, स्वाभिमान लघुवित्तको शेयरमूल्य ५ दशमलव ३५ प्रतिशत , माउन्टेन इनर्जी र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। मैलुङ्ग खोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो र हिमालयन पावर पार्टनर कम्पनीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा प्रभु बैंकको सबैभन्दा बढी ९ करोड ४३ लाख १९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै दोस्रोमा नेपाल बंगलादेश बैंकको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved