कांग्रेसको १४ औँ महाधिवेशन

महामन्त्रीमा उदाए दुई युवा

नेपालभ्युज

महामन्त्रीमा उदाए दुई युवा

काठमाडौं । शुरुआती अवस्थाबाटै अग्रता लिइरहेका गगन थापाले सर्वाधिक मतसहित नेपाली कांग्रेस कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा विजयी भएका छन्।

कूल खसेको ४६८२ मत खस्दा थापाले सर्वाधिक बढी ३ हजार २३ मत ल्याएका छन्। यो भनेको कूल ६५ प्रतिशत मत हो। शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका थापाले जित्ने सबैले अनुमान गरेका थिए। आफ्नो प्यानलले सभापति पदमा हार बेहोरे पनि थापालाई अधिकांश प्रतिनिधिहरूले रुचाए।

यस्तै महामन्त्रीमा अर्का उम्मेदवार विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। शुरुआतदेखि नै अन्य चार उम्मेदवारालई तल पार्दै उनले दोस्रो बढी मत ल्याएर महामन्त्री बने। उनले १९८४ मत ल्याउन सफल भए।

नेपाली कांग्रेसका प्रवक्ता रहेका शर्मा पनि युवापुस्तामाझ निकै लोकप्रिय र शालीन नेताको रूपमा चिनिन्छन्। प्रतिनिधिसभा निर्वाचनमा हार बेहोरे पनि उनी पार्टीपंक्तिमा चर्चित छन्।

महाधिवेशनमा उम्मेदवारी दिँदा प्रकाशमान सिंह समूहमा रहेका उनी  सभापति शेरबहादुर देउवासित निकट भएर काम गर्दै आएका थिए । देउवाले उनलाई सह–महामन्त्रीमा सीमित गर्न खोजेपछि शर्माले प्रकाशमान सिंह समूह रोजेका थिए ।

देउवा प्यानलका डा प्रकाशशरण महत भने महामन्त्रीको दौडमा पछि परेका छन् । विश्वप्रकासलाई पछ्याउदै गएपनि अन्तिम गणना पुग्दा उनी पराजित भएका छन् ।  देउवाका सबैभन्दा नजिकका मानिएका उनी थापा र शर्माको छायामा परे। त्यस्तै देउवासँग समीकरण बनाएपछि कृष्णप्रसाद सिटौलाले महामन्त्रीमा प्रदीप पौडेललाई उम्मेदवार बनाएका थिए। तर उनले पनि महामन्त्री जित्न सकेनन्।

त्यसैगरी तेस्रो भएका महतले १५५० मत पाए। प्रदीप पौडेलले १४०९ मत ल्याउँदा डा मीनेन्द्र रिजालले ८०९ मत पाए। विमलेन्द्र निधि प्यानलबाट महामन्त्री उठेका डा राजाराम कार्कीले भने एक सय मत कटाए। उनले जम्मा १०७ मत पाए।

गगन थापाको राजनीतिक यात्रा

थापाको जन्म २०३३ सालमा काठमाडौँको प्रसूति गृहमा भएको हो। उनका मातापिता महेन्द्र कुमार थापा र रामेश्वरी थापा हुन्। उनका हजुरबुवा सोलुखुम्बु जिल्लाको खाल्पा गाउँका धनी मुखिया भीमराज थापा हुन्।

गगनको बाल्यकालका केही समय सिन्धुपाल्चोक जिल्लामा बितेको थियो। उनका पिता महेन्द्र नेपाल विद्युत् प्राधिकरणमा इन्जिनियर थिए।  गगनले सिर्द्धार्थ वनस्थली हाइस्कुलमा पढेका थिए। त्यहाँ पढुञ्जेल उनको इच्छा डाक्टर र इन्जिनियर बन्ने नै थियो।

२०४६ सालको जनआन्दोलनमा कलिलो उमेरमै गगन थापा राजनीतिमा सक्रिय भए। त्यतिबेला उनी कक्षा ९ मा पढ्थे।

दोस्रो सविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापतिको प्रभावशाली भूमिका निर्वाह गरेका थापा नेपाली कांग्रेसभित्र युवा धारलाई सम्बोधन गर्ने नेताका रूपमा चिनिन्छन्।

समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर जिम्मेवारी सम्हालेका थिए। राजाको सक्रिय शासनका बेला र पार्टी गणतन्त्रको पक्षमा जान आनाकानी गरिरहेका बेला उनले गणतन्त्रको मुद्दा प्रखर रूपमा उठाएका थिए। त्यस दौरान हिरासतमा परेका थापा नेपाली काग्रेसका चर्चित नेता अर्जुननरसिंह केसीका छोरीज्वाइँ हुन्। उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनले २०७० सालमा पनि सोही क्षेत्रबाट निर्वाचन जितेका थिए। थापा नेकपा माओवादी (केन्द्र) पुष्पकमल दाहाल दोस्रो प्रधानमन्त्री भएका बेला स्वास्थ्य जनसंख्यामन्त्री भएका थिए।

विश्वप्रकाश शर्माको राजनीतिक यात्रा

नेपाली कांग्रेसका अर्का नेता शर्मा नेपाली युवाको प्रतिनिधित्व गर्ने चर्चित अनुहार हुन्। कांग्रेस पार्टीभित्र तथा बाहिर पनि उत्तिकै लोकप्रिय शर्मा पार्टी प्रवक्ताको जिम्मेवारीमा छन्। सभापति शेरबहादुर देउवा निकट मानिने उनी मृदुभाषी र सरल जीवनयापन गर्ने छवि बनाएका नेतामा गनिन्छन्।

संसदीय राजनीतिमा भने कमजोर मानिएका शर्मा प्रतिनिधिसभामा भने लगातार दुई पटक पराजित भए। २०७० सालको चुनावमा उनी नेकपा एमालेका नेता रविन कोइरालासँग र २०७४ सालमा माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए। पार्टीको १३ औं महाधिवेशनमा शर्मा केन्द्रीय सदस्य पदमा निर्वाचित भएका थिए। निर्वाचनमा पराजित हुँदा पनि प्रतिद्वन्द्वीलाई मित्रतापूर्ण व्यवहार गरेको भन्दै शर्माको चौतर्फी प्रशंसा भएको थियो।

कांग्रेसका महाधिवेशन प्रतिनिधि शर्मा २०३७ सालमा झापामा विद्यालय पढ्दादेखि नै राजनीतिमा लागेका नेता हुन्। शर्मा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ पूर्वसभापति हुन्। ६ पुस २०२७ मा झापाको शान्तिनगरमा जन्मिएका शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशासत्रमा स्नातकोत्तर गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved