घाटाको राजनीतिमा विमलेन्द्र निधि !

घाटाको राजनीतिमा विमलेन्द्र निधि !

काठमाडौं। “म त्यत्तिकै सभापतिको उम्मेदवार बनेको हुँ र? अब देउवालाई बिदा गरौं भनेर लागि रहेको छु।”

सोमबार साँझ कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि पहिलो चरणको निर्वाचन चलिरहेको थियो। पत्रकारहरूले महाधिवेशन व्यवस्थापनबारे प्रश्न गरेपछि बिमलेन्द्र निधिले बताएका थिए।

निधि विगत एक वर्षदेखि नै देउवाविरुद्ध मोर्चाबन्दीमा सार्वजनिकरूपमै लागेका थिए। सबैभन्दा अगाडि सभापतिमा उम्मेदवारी दिने घोषणा गरी काठमाडौंमा सम्पर्क कार्यालय खोलेका थिए उनले। यो पटक जसरी पनि देउवालाई बिदा गर्ने आफ्नो लक्ष्य भएको रटान उनले लगाउँदै आएका थिए।

उनले महाधिवेशनको दोस्रो दिन भृकुटीमण्डपमा पत्रकारहरूसँग कुरा गर्दै दोस्रो चरणमा आफूहरू देउवाविरुद्ध मोर्चाबन्दीमा जाने बताएका थिए।

निधिले यसो भनेको १२ घण्टा पनि नबित्दै मंगलबार बिहानै उनले दोस्रो चरणमा देउवालाई समर्थन गर्दै उनी नै सभापति बन्नुपर्छ भनेर विज्ञप्ति निकाले।

उसो त निधिले महाधिवेशन प्रतिनिधिहरू नै परिर्वतनको पक्षमा नदेखिएकाले आफूले देउवालाई समर्थन गर्ने निर्णय गरेको दाबी गरेका छन्।

लामो समयदेखि देउवाका दाहिने देखिएका निधिको सम्बन्ध दुई वर्षयता चिसिएको थियो। त्यसमाथि देउवाविरुद्धै उम्मेदवारी दिएपछि उनीहरूबीचको सहकार्य टुटेको अनुमान गरिएको थियो। तर उनले पुनः देउवालाई नै समर्थन गरेपछि उनीबारे विभिन्न टिकाटिप्पणी शुरु भएका छन्।

कतिपयले निधि कमजोर देखिएपछि पुनः देउवासँगै नजिक हुन चाहेको टिप्पणी गरेका छन् भने केहीलेो दाबी प्रदेश नं २ मा आफ्नो बर्चस्व कायम रहने गरी नेतृत्वसँग सौदाबाजी गरेको टिकाटिप्पणी गर्न थालेका छन्। आन्तरिक शक्ति सन्तुलनको जस्तोसुकै अभ्यास भए पनि जानकारहरू भने निधि निरन्तर घाटाको राजनीतिमा अघि बढिरहेको टिप्पणी गर्छन्।

“उहाँको कार्यशैली र राजनीतिबीच तालमेल देखिन्न” विश्लेषक चन्द्रकिशोर भन्छन्, “उहाँमा व्यापक सुधारको खाँचो देखिन्छ, अन्यथा अहिले जस्तै उहाँले पटक पटक निशर्त सर्मपण गरिरहनुपर्ने देखिन्छ।”

देउवासँग विद्रोह गरेका निधिले सभापतिका लागि भएको निर्वाचनको पहिलो चरणमा २ सय ४९ मत ल्याएका थिए। जबकी प्रदेश दुईमा मात्रै ८ सयभन्दा बढी मत छ।

निधि निकटस्थहरूका अनुसार देउवासँग अलग भएपछि उनलाई आफ्नै प्रदेशमा देउवा पक्षका नेताहरूले घेराबन्दीमा पारेका थिए। जसकारण महाधिवेशन प्रतिनिधि छनोटमा नै निधिको प्रभूत्व आफ्नै जिल्लामा पनि खस्किएको थियो। प्रदेश दुुईमा देउवाको तर्फबाट रमेश रिजाल, आनन्द ढुङ्गाना र महेन्द्र यादवले निधिलाई काउन्टर दिएका थिए।

“उहाँ किन सभापतिको उम्मेदवार बन्नुभयो र किन दोस्रो चरणमा समर्थन गर्नुभयो भन्ने हामीलाई अहिलेसम्म थाहा छैन” देउवानिकट केन्द्रिय सदस्य ढुङ्गाना भन्छन्, “तर उहाँले निशर्त समर्थन गरेको हो, कुनै सौदा वा सम्झौता भएको हामीलाई थाहा छैन। ”

निधिले केन्द्रमा समर्थन गरेर प्रदेश दुुईको सभापति आफ्नो पक्षमा पार्ने अनुमान धेरैको छ। प्रदेश दुुईको अधिवेशन आउँदो ४ पुसभित्र गर्नेगरि कांग्रेसले तयारी गरिरहेको ढुङ्गानाले बताए। प्रदेश दुुईमा निधिको तर्फबाट प्रदेश दुईका मन्त्री तथा संसदीय दलका नेता रामसरोज यादवले सभापतिमा दाबी गरेका छन् भने देउवाको तर्फबाट रौतहटका कृष्ण यादवको पनि दाबी छ।

देउवा निकटस्थ स्रोतअनुसार प्रदेश दुुईको सभापति निधिलाई कुनै पनि हालतमा दिनु हुन्न भन्ने मत बलियो छ। यस्तो अवस्थामा निधिले देउवालाई गरेको समर्थनको गाँठो पनि फुक्दै जाला। तर देउवाको कोर टिममा निधिलाई नसघाउने बलियो रणनीति महाधिवेशन अघिदेखि नै छ।

अलग्गिएर निधिले देउवाविरुद्ध दिएका अभिव्यक्ति र क्रियाकलापले गर्दा पनि निधिलाई नसघाउने गरी योजना बनेको नेताहरूको दाबी छ। जुन कायमै रहेको दाबी उनीहरूको छ।

यसअघि देउवाको साथमा रहेर निधिले प्रदेश दुुईमा आफूनिकट नेताहरूलाई जिल्ला सभापतिमा चयन गर्न सफल भएका थिए। जिल्ल्ला सभापतिहरूलाई प्रयोग गरेर निधिले देउवा पक्षका स्थानीय नेता कार्यकर्ताहरूको क्रियाशील सदस्यता नै नवीकरण नगर्ने रणनीति लिएका थिए थिए। जसकारण प्रदेश दुईको क्रियाशील सदस्यता विवाद लामो समय सम्म सुल्झिन सकेको थिएन।

देउवा पक्ष पेलेर अगाडि बढेपछि मात्रै क्रियाशिल सदस्यताको विवाद मिलेको थियो। जसकारण प्रदेश दुईमा आफू बलियो हुन निधिले देउवाको समर्थन गरेको टिप्पणी स्वीकार्न उनी निकट नेता नै तयार छैनन्। भन्छन्, “ देउवाको कोर टिममा निधिलाई नसघाउने गरी बलियो रणनीती महाधिवेशन अघिदेखिकै भएकाले निधिले चाहे पनि अबका दिनमा सहकार्य गर्न थप अप्ठ्यारो पर्न सक्छ, यसैले पनि निधि अहिले घाटाको सौदाबाजीमा देखिएको प्रष्ट हुन्छ।”


Comment

One thought on “घाटाको राजनीतिमा विमलेन्द्र निधि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved