‘कांग्रेसको व्यावहारिक रूपान्तरणका लागि देउवाविरुद्ध सबै एक ठाउँमा आउनुको विकल्प छैन’

कोइरालालाई सिंह र निधिको मत अनिवार्य

मौन बसेका रामचन्द्र पौडेल र शशांक कोइरालाहरु खुलेर शेखरका पक्षमा मैदानमा उत्रिएको अवस्थामा देउवाको विस्थापन सम्भव देखिन्छ। विश्लेषक आचार्य भन्छन्, “कांग्रेसलाई व्यवहारमै रुपान्तरण गर्ने हो भने कोइरालाको पक्षमा सबै एक ठाउँमा आउनुको विकल्प छैन।”

नेपालभ्युज

‘कांग्रेसको व्यावहारिक रूपान्तरणका लागि देउवाविरुद्ध सबै एक ठाउँमा आउनुको विकल्प छैन’
पुरन्जन आचार्य, राजनीतिक विश्लेषक

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अति रोमाञ्चक मोडमा पुगेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो चरणकै निर्वाचनबाट ५१ प्रतिशत मत ल्याएर सभापतिमा दोहोरिने आकांक्षामा ठेस लागेको छ। उनले पहिलो चरणमा २ हजार २५८ मत प्राप्त गरेका छन्। २ हजार ३४० मत पुर्‍याउन सकेको भए देउवा पहिलो चरणमै निर्वाचित हुन्थे।

सोमबार भएको निर्वाचनमा ४ हजार ६७९ मत खसेको थियो। देउवालाई पछ्याउदै अघि बढेका शेखर कोइरालाले १ हजार ७२९ मत प्राप्त गरेका छन् भने प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले क्रमश: ३७१, २४९ र २० मत पाएका छन्। ८८ मतले पहिलो चरणमै जित सुनिश्चित गर्न नसकेका देउवाका लागि अब दोस्रो चरण झन् चुनौतीपूर्ण हुने देखिएको छ।

अधिकांश विश्लेषक र कांग्रेस नेता कार्यकर्ता वृत्तमा अपेक्षा गरिए जस्तै निर्वाचन दोस्रो चरणमा पुगेको छ। दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ। र, यो प्रतिस्पर्धामा सिंह र निधि समूह निर्णायक हुने देखिन्छ।

दुवै पक्ष दोस्रो चरणमा बाजी मार्न व्यस्त भइसकेका छन्। दुवैको नजर सिंह र निधि समूहतिर छ। देउवा निकट नेता तथा गठबन्धन सरकारका गृहमन्त्री बालकृष्ण खाँड सिंहलाई भेट्न चाक्सिबारी पुगिसकेका छन्। यता कोइराला समूहले पनि निधि, सिंह र गुरुङ समूहलाई भेटेर परामर्श थालिसकेको छ।

“शेखर कोइरालाले प्रकाशमान, विमलेन्द्र र कल्याणसँग कुरा गर्नु भएको छ। छिटै सबैजनाले उहाँलाई समर्थन गरेको विज्ञप्ति आउँछ। त्यसको अभ्यासमा हामी जुटेका छौ”, कोइराला निकटका कांग्रेस नेता एवं राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, “यो चुनाव परिणामले नेतृत्व परिवर्तन र नयाँ अनुहार खोजेको जबर्जस्त सन्देश दिएको छ। अब दोस्रो चरणमा त्यो सन्देशलाई थप प्रमाणित गर्न सबै लाग्नु आवश्यक देखिएको छ।”

संस्थापन इतर पक्षमा साझा उम्मेदवारको चर्चा निर्वाचन अघि देखिकै हो। विश्लेषकहरुले प्रक्षेपण गरेकै हुन्, संस्थापन इतर साझा उम्मेदवार नहुदा देउवालाई परास्त गर्न कठिन हुनेछ। देउवाले पनि निधि फ्याक्टर व्यवस्थापन गर्न नसक्दा पहिलो चरणमै जित्न सक्ने सम्भावना गुमाएका छन्।

दोस्रो चरणमा देउवाले आफूलाई पहिलो चरणमा प्राप्त मत जोगाउन सके भने उनलाई विजय हुने थोरै मत भए पुग्ने देखिन्छ भने संस्थापन इतरले जित्नका लागि देउवाबाहेकका सबै उम्मेदवार एक ठाउँमा आउनुपर्ने अवस्था छ। कतिसम्म भने, मौन बसेका रामचन्द्र पौडेल र शशांक कोइरालाहरु खुलेर शेखरका पक्षमा मैदानमा उत्रिएको अवस्थामा देउवाको विस्थापन सम्भव देखिन्छ। विश्लेषक आचार्य भन्छन्, “कांग्रेसलाई व्यवहारमै रुपान्तरण गर्ने हो भने कोइरालाको पक्षमा सबै एक ठाउँमा आउनुको विकल्प छैन।”

निर्वाचन मतपरिणाम अघि सिंह र निधिले दोस्रो चरणमा देउवाविरुद्ध जो प्रतिद्वन्द्वी हुन्छ, सघाउने बताएका थिए। नीधिले त खुलेरै शेखर कोइरालालाई सघाउने बताएका थिए। तर, चुनावी परिणामपछि उनले प्रकाशमान सिंहसँग सल्लाह गरेर निर्णय लिने बताएका छन्।

सिंहले यो निर्वाचनमा नेतृत्व परिवर्तनलाई आफ्नो मुख्य मुद्दा बनाएका छन्। अब हेर्नुछ, दोस्रो चरणको निर्वाचनमा यी दुई नेताको भूमिका के हुन्छ, त्यसैले कांग्रेसको भावी नेतृत्वको कार्यभार देउवाले फेरि पाउँछन् कि कोइराला उदाउँछन् ? प्रतिक्षाको विषय भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved