विप्लव नेकपाले नेपालस्थित एमसीसीको कार्यालय घेराउ गर्‍यो

नेपालभ्युज

विप्लव नेकपाले नेपालस्थित एमसीसीको कार्यालय घेराउ गर्‍यो

काठमाडौं। नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरूले एमसीसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका छन्।

सोमबार एमसीए नेपालको कार्यालय दरबारमार्गमा नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी) सहित विभिन्न राजनीतिक दलहरूले कार्यालय घेराउ गरेका हुन्।

घेराउपछि आयोजित कोणसभामा नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेर्स्‍याइएको तरबार भएको बताए।  एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने उनले चेतावनी दिए। नेता गजुरेलले एमसीसी विरोधमा भोलि (मंगलबार) संसद् भवन घेराउ गर्ने घोषणा पनि गरे।

कार्यक्रममा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले नेपालका लागि एमसीसी खतरनाक भएकोले खोरज हुनुपर्ने बताए। भारतमा बजार बिस्तार र चीनलाई भाँड्न अमेरिकाले नेपालमा एमसीसी ल्याएको उनले आरोपसमेत लगाए। एमसीसी पास भए नेपाली सेना, पुलिस, कर्मचारीहरू एक अमेरिकी अधिकारीको इसारामा चल्नुपर्ने बाध्यता सिर्जना हुने उनले दाबी गरे। नेता बास्तोलाले अमेरिकाको गुलाम भएर नबस्न जनता सडकमा उर्लिनुपर्ने बेला भएको पनि बताए।

नेता बास्तोलाले नेपाली जनतालाई कंगाल बनाउन, नेपाललाई लुट्न एमसीसी आइरहेकोले यसलाई खारेज गर्नुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved