लम्बियो माओवादीको सुदूरपश्चिम प्रदेश सम्मेलन, अध्यक्षमा सात जनाको दाबी

माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले सकेसम्म सहमतिमै जोड दिने र सहमति नभएको अवस्थामा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरिने बताइसकेका छन्।

नेपालभ्युज

लम्बियो माओवादीको सुदूरपश्चिम प्रदेश सम्मेलन, अध्यक्षमा सात जनाको दाबी

धनगढी। नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी चयन प्रक्रिया लम्बिएको छ। नयाँ नेतृत्वका लागि सहमति हुन नसकेपछि प्रदेश कमिटी चयन प्रकृया लम्बिएको हो।

यसअघि, शनिबार र आइतबार गरेर दुई दिनका लागि प्रदेश सम्मेलन तोकिएको थियो। तर, अहिले प्रतिनिधि सम्मेलनस्थलमा जम्मा भइसकेका भए पनि अपराह्नसम्म बन्द सत्र शुरु भइसकेको छैन। सहमति जुटाउन नेताहरुले छलफल तीव्र पारेका छन्।\

अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसकेको माओवादी स्रोतले जनाएको छ। माओवादीको प्रदेश अध्यक्षका लागि सातजनाले दाबी गरेका छन्।

माओवादीको वर्तमान प्रदेश अध्यक्ष एवं केन्द्रीय सदस्य शरद सिंह भण्डारी, प्रदेशका सहइन्चार्ज एवं केन्द्रीय सदस्यद्वय वीरमान चौधरी, नेपबहादुर चौधरी, केन्द्रीय सदस्य एवं बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवरले अध्यक्षमा दाबी गरेका छन्।

यस्तै, माओवादी सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत रहेका राष्ट्रियसभा सदस्य हरि चौधरी ‘उत्सव’, प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी र प्रदेश कमिटी सदस्य हरि ज्ञवालीले पनि अध्यक्षमा दाबी गरेका माओवादीका एक नेताले बताए।

अहिलेका अध्यक्ष भण्डारी र राष्ट्रिय सभा सदस्य चौधरीमध्ये एकजना प्रदेश अध्यक्ष हुने सम्भावना रहेको ती नेताको दाबी छ।

माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले सकेसम्म सहमतिमै जोड दिने र सहमति नभएको अवस्थामा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरिने बताइसकेका छन्।

अधिवेशनले नौ जना पदाधिकारीसहित २२३ सदस्यीय प्रदेश कमिटी गठन गर्ने इन्चार्ज भट्टले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved