नेतृत्वको रस्साकस्सी

देउवालाई चुनौती बन्न सक्छ दोस्रो चरण, गगनको पल्ला भारी

उल्लिखित परिदृश्य नियाल्दा सभापतिमा देउवाकै निरन्तरता हुने देखिन्छ भने महामन्त्रीमा युवा पुस्ताको आगमन। यद्यपि सभापतिका लागि दोस्रो राउन्ड चुनाव भयो भने त्यो सम्भावना उल्टिन पनि सक्छ।

देउवालाई चुनौती बन्न सक्छ दोस्रो चरण, गगनको पल्ला भारी

नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी पार्टी नेपाली कांग्रेसले सही मानेमा लोकतान्त्रिक पद्दति अपनाउन सकेको भए सायद यतिखेर बन्दसत्रमा गगन थापाले अघि सारेको सामाजिक लोकतन्त्रको अवधारणामाथि गरमागरम बहस भइरहेको हुने थियो। लोकतान्त्रिक संस्कार व्यवहारमै आत्मसात गर्न सकेको भए यो पार्टीमा अरू गगन थापाहरू पनि नयाँ विमर्शका लागि प्रयत्न गरिरहेको देखिन्थे। विडम्बना !  गगनले अघि सारेको विचारमाथि घोत्लिने फुर्सद समेत छैन, कांग्रेसीजनलाई।

पदप्राप्तिको आकांक्षा र अभ्यासमा एकोहोरिएका कांग्रेसीहरू चुनावी अंकगणितमा केन्द्रित भइसकेका छन्। गुट अदल-बदल हुँदा चुनावी नतिजामा पर्नसक्ने लाभहानीको हिसाब-किताब कांग्रेसका नयाँ-पुराना शिविरहरूमा हुन थालेको छ। कांग्रेसको आगामी नेतृत्वमा को ? यी हिसाब-किताबहरूको केन्द्रीय चासो यही हो। यो विश्लेषण यही चासोमै केन्द्रित रहनेछ।

अनुहार बदल्ने अवसर

कांग्रेसले वैचारिक बहस नीति महाधिवेशनमा गर्ने भनेर ‘विचार शुन्य’ को आरोप लगाउने आलोचकलाई थमथमाएको छ। त्यस हिसाबले यो महाधिवेशन विशुद्ध नेतृत्व परिवर्तन गर्नेमै केन्द्रित रहनेछ। एक सभापति, दुई उप-सभापति, दुई महामन्त्री, आठ सह-महामन्त्रीसहित एक सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि सोमबार निर्वाचन हुनेछ। त्यसका लागि शनिवार पाँच सय ८४ आकांक्षाीले उम्मेदवारी दर्ता गराएका छन्। पाका, युवा, नयाँ, पुराना सबैखाले आकांक्षी देखिएका छन्। तथापि कांग्रेसका महाधिवशेन प्रतिनिधिलाई यसपटक पुरानो नेतृत्व विस्थापित गरेर नयाँ अनुहार बदल्ने अभूतपूर्व अवसर प्राप्त छ।

के त्यो अवसर तिनले उपयोग गर्लान् ? अथवा शेरबहादुर देउवाको पुनः दोहोरिने आकांक्षा पुरा होला ? शेखर कोइराला, प्रकाशमान सिंह अथवा विमलेन्द्र निधिको अवस्था के होला ? गगन थापा, विश्वप्रकास शर्मा र प्रदीप पौडेल मध्ये महामन्त्रीको दौडबाट को बाहिरिएला ? मीनेन्द्र रिजाल वा प्रकाशशरण महतले बाजी मार्ने त होइनन् ? उपसभापति लगायत सदस्यहरूमा कस्ता अनुहार आउलान् ? सर्वाधिक चासोका प्रश्न यिनै हुन्।

पहिलो प्रश्नबाटै कुरा शुरु गरौं। के देउवा दोहोरिएलान् ?

देउवाः धेरै अवसर, थोरै चुनौती

देउवा भाग्यमा विश्वास राख्छन्। जे गर्दा पनि ग्रहदशा हेरेर मात्रै बढ्छन्। ज्योतिषले उनलाई सात पटक प्रधानमन्त्री हुने जोग छ भनिदिएका छन्। उनको मनमस्तिष्कमा त्यही गडेको छ। त्यसैले उनलाई क्षमतामा भन्दा बढि भाग्यमा विश्वास लाग्छ। दोस्रो कार्यकालका लागि सभापतिमा प्रतिस्पर्धा गर्दैगर्दा के उनलाई भाग्योदय चिठ्ठा पर्ला ?

सम्भवतः उनैले जित्लान्। त्यसका बलिया ६आधार छन्।

एक, तल्लो तहदेखि नै महाधिवेशनमा निर्वाचित भएका आएका झण्डै ४२ देखि ४५ प्रतिशत कार्यकर्ता उनको पक्षमा भएको कुरा स्वयं प्रतिद्वन्द्वी नेताहरू समेत स्वीकार्छन्। विभिन्न ‘क्लस्टर र ब्लक’हरूको सुरक्षित भोट उनीसँग भएको विश्वास गरिन्छ।

दुई, सानै भए पनि गुट चलाएका कृष्णप्रसाद सिटौला उनीतिरै उभिएका छन्। उनीसँग पनि अन्दाजी दुई, तीन सय महाधिवेशन प्रतिनिधिको मत भएको अनुमान कांग्रेसवृत्तमै छ।

तीन, देउवा यतिबेला प्रधानमन्त्री पनि हुन्। शक्तिको प्रयोग/दुरुपयोग जानेका यी नेता जित्नकै लागि साम, दाम, दण्ड, भेदको नीति अख्तियार गर्नेहरूकै कोटीमा पर्छन्। महाधिवेशन प्रतिनिधि छनौटदेखि नै ‘दाम’ प्रयोग गर्दै आएका यी नेता केन्द्रको चुनाव जित्न पनि पछि हट्नै छैनन्।

चार, निकटका नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, बालकृष्ण खाँड, रमेश लेखक आदि पदाधिकारीको उम्मेदवारमा नपरे पनि देउवासँगै देखिएका छन्। निधिको विश्वास गुमाए पनि देउवाले बाँकी गुटलाई मनाएर राख्न सकेको देखिन्छ। गृहमन्त्री खाँडले आफ्नो समूह सभापति जिताउन केन्द्रित भएको बताइसकेका छन्।

पाँच, संस्थापन इतरले साझा उम्मेदवार तय गर्न सकेन। रिङबाट स्वेच्छाले बाहिरिएका रामचन्द्र पौडेलको मन भाँचिएको छ।प्रकाशमान सिंह र शेखर कोइरालाले उनको ‘वेट’ लाई एक्लै चुनौती दिने अवस्था देखिएको छैन। निराश भएर घरमा एक्लै बसेका पौडेललाई मनाउन देउवा आइतबार विहानै बोहोराटार पुगेका छन्। पौडेल शेखर वा सिंहका लागि सक्रिय रुपमा मत माग्न नलागुन् भन्ने उनको मनसाय हुनसक्छ। जसले देउवालाई रणनीतिक लाभ पुर्‍याउन सक्छ।

, देउवासँग विद्रोह गरेका निधिको ‘ग्राउण्ड’ बलियो नभएको महाधिवेशन प्रतिनिधि छनौट र प्रदेश, जिल्ला अधिवेशनका क्रममा देखियो। निधिसँग देउवा परास्त गर्ने आधार देखिएको छैन।

जीतका यी ६ आधार काफी छन् त ? के देउवाले पहिलो चरणमै ५१ प्रतिशत मत पुर्‍याउलान् ? नपुर्‍याए भने के हुन्छ ? दोस्रो चरणमा को सँग प्रतिस्पर्धा हुन्छ ? दोस्रो चरणमा जाँदा के देउवा विरुद्ध सबै एक ठाउँमा आउलान् ?

देउवासँग प्रतिकूलता भन्दा अनुकुलता धेरै छ। उनको नेतृत्वमा दोहोरिने आकांक्षामा त्यतिबेला ठेस लाग्नसक्छ, जुनबेला उनी एक्लैले ५१ प्रतिशत मत पुर्‍याउन सक्ने छैनन्।

अब देउवाका प्रतिकूलताको चर्चा गरौं।

एक, देउवा बारम्बार परीक्षण भइसकेका नेता हुन्। पाँचपटक प्रधानमन्त्री भएका देउवाको निधारमा ‘अयोग्य र असफल’ नेताको दाग छ। आशा जगाउन सक्ने नेताको श्रेणीमा यी पर्दैनन्।

दुई, कांग्रेसमा तलैदेखि नयाँ पुस्ता चुनिएर आएको छ। वैचारिक विमर्शमा उदासिन देखिए पनि यो पुस्ता अनुहार बदल्ने अठोट लिएर आएको विश्वास गरिन्छ।

तीन, सिटौलाको साथमा वैतर्णी तर्न खोजेको देउवाले पहिलो चरणमा ५१ प्रतिशत पुर्‍याउने कम सम्भावना छ। दोस्रो चरणमा चुनाव गएको अवस्थामा निधि, प्रकाशमान र शेखर जो दोस्रो स्थानमा आए पनि देउवाविरुद्ध एक ठाउँमा आउनेछन्। त्यो अवस्था देउवाका लागि प्रतिकूल हुनसक्छ।

चार, देउवाले आफू निकटका नेताहरू खाँड, साउद, कार्की, लेखक आदिको व्यवस्थापन गरेको देखिए पनि निर्वाचनका बखतसम्म उनीहरूको भूमिका के हुन्छ, संशयमै छ। लामो सहकार्य गरेका यी नेताले भूमिका नपाएका कारण देउवासँग असन्तुष्ट छन् तर देखाउन सकेका छैनन्। देउवाविरुद्ध खुलेर विद्रोह नगरे पनि यिनको भूमिका देउवा हारजितका लागि महत्त्वपूर्ण कडी बन्नसक्छ।

सरसर्ती हेर्दा, देउवासँग प्रतिकूलता भन्दा अनुकुलता धेरै छ। उनको नेतृत्वमा दोहोरिने आकांक्षामा त्यतिबेला ठेस लाग्नसक्छ, जुनबेला उनी एक्लैले ५१ प्रतिशत मत पुर्‍याउन सक्ने छैनन्। चुनाव दोस्रो चरणमा जाने अवस्था आएमा देउवाका लागि प्रतिकूल हुन सक्छ। प्रकाशमान, शेखर वा निधि जो दोस्रो स्थानमा आए पनि सबै देउवाविरुद्ध उभिने अवस्था बन्ने सम्भावना अधिक छ। तर, अहिले देउवाको मुख्य ‘स्ट्रेन्थ’ यही हो, नेतृत्व परिवर्तन गर्न खोज्ने तीनै जना आपसमा विभाजित छन्। यी तीनैजना नेतामध्ये कोही एक साझा उम्मेदवार भएको भए अथवा रामचन्द्र पौडेललाई स्वीकारेको भए चुनावी परिदृश्य बेग्लै हुनसक्थ्यो। देउवाले त्यो अवस्थामा जितका लागि थप नयाँ ‘तिकडम’ रच्नु पर्ने बाध्यता आइलाग्न सक्थ्यो। केही प्रतिकूलताका बावजुद इतर शिविरमा भएको विभाजनले उनलाई निश्चिन्त बनाएको छ।

सिंह, कोइराला, निधिः दोस्रो हुन प्रतिस्पर्धा

प्रकाशमान सिंह, शेखर कोइराला र विमिलेन्द्र निधि यी तीनै जनासँग देउवालाई पहिलो चरणमै ‘रिङ आउट’ गर्ने आधार र आत्मविश्वास छैन। देउवालाई ५१ प्रतिशत मत पुर्‍याउन रोक्नु र दोस्रो स्थानमा आउनु यी तिनै नेताको मुख्य रणनीति हो। सिंहले मनोनयन लगत्तै भने पनि- ‘दोस्रो चरणमा प्यानल सहित जित्छु।’

उनी दोस्रो चरण पुगिहाले भने त्यो बेला उनलाई निधि र कोइराला दुवैको साथ चाहिन्छ। काठमाडौंको राजनीतिमा सधै प्रभावी रहेका सिंहको मुख्य ‘स्ट्रेन्थ’ कांग्रेसभित्रको नेवार समुदायको मत हो। त्यसबाहेक उनी सर्वमान्य नेता गणेशमान सिंहका छोरा हुन्। उनीसँग पिताको राजनीतिक त्याग, संघर्ष र समर्पणको विरासत छ। तर, उनले कांग्रेसको मुल नेताले दिन सक्ने राजनीतिक दृष्टिकोण दिन सकेको देखिँदैन। ‘गणेशमानको परिवारले मात्रै त्याग गर्नुपर्ने ?’ उनको उम्मेदवारीको सबैभन्दा ठूला आधार यही असन्तुष्टी र प्रश्नमा लुकेको छ।

त्यसो त पारिवारिक विरासतको आड निधि र कोइराला दुवैले लिएका छन्। तथापि कोइरालासँग त्यो आधार कम छ। उनी बीपीका सहोदर छोरा होइनन। कोइराला परिवारभित्रका एक सदस्य मात्रै हुन्। १३औं महाधिवेशनमा बीपी पुत्र शशांक उठ्दा जुन पारिवारिक लिगेसी देखिएको थियो, शेखरले त्यो पाएका छैनन्। बीपीको सहोदर छोरो हुनु र भाइभतिजो पर्नुको फरक शेखरलाई नै थाहा होला।

पारिवारिक विरासतको आड निधि र कोइराला दुवैले लिएका छन्। तथापि कोइरालासँग त्यो आधार कम छ।

उनको अर्काे प्रतिकूलता हो, उनलाई कांग्रेसमा ‘जुनियर’ ठानिन्छ। राजनीतिक सुझबुझमा अरू भन्दा माथि र उमेर पाको भए पनि सक्रिय राजनीतिमा पछि लागेकाले पुराना पुस्ताको उनीप्रतिको स्वीकारोक्ति कम छ। त्यसका बावजुद एक/डेढ वर्षदेखि महाधिवेशनको नेतृत्वको दौडमा लागेका कोइराला तीन मध्ये केही अगाडि भएको बताइन्छ। प्रदेश १ को अधिवेशन परिणामले उनलाई केही धक्का दिएकै हो यद्यपि सभापतिको चुनाव दोस्रो चरणमा गएमा देउवाका लागि उनै कोइराला चुनौती हुनसक्छन्।

पिताको विरासतमै नेतृत्वमा पुग्न चाहेका अर्का सभापतिका उम्मेदवार हुन्, निधि। विमलेन्द्र महेन्द्रनारायण निधिका छोरा हुन्। बीपी कोइरालाका समकक्षी नेता महेन्द्रनारायण कांग्रेसका महामन्त्री थिए। गान्धीवादी नेताको उपमा पाएका महेन्द्रनारायण निधि महामन्त्रीसम्म त भए तर सभापतिको मुल नेतृत्वमा पुगेनन्।

मधेश पृष्ठभूमिको नेता किन सभापति नबन्ने ? भन्ने प्रश्न अघि सारेर निधि नेतृत्वको दौडमा छन्। तर, उनलाई आफ्नै गृहप्रदेश २ को पुरापुर सहयोग छैन। महाधिवशेन प्रतिनिधि छनौट र प्रदेश स्तरीय अधिवेशनका क्रममा उनको पकड कमजोर भएको देखियो। जुन तयारी र तामझाम साथ निधि सम्पर्क कार्यालय खोलेर देउवाविरुद्ध उत्रिएका थिए, त्यही स्तरको प्रभाव नतिजामा पार्ने देखिदैन। त्यो बुझेरै सायद उनले अन्तिम समयमा रामचन्द्र पौडेललाई सर्वसम्मत बनाउने प्रस्ताव पनि सारेका थिए। देउवा गुटमा लामो समय रहेका निधिले असन्तुष्ट खाँड, कार्की, साउद, लेखक आदिलाई आफूतिर तान्न नसक्नुले पनि उनको प्रभाव कमजोर रहेको देखियो।

सभापतिका अरू प्रत्यासी कल्याण गुरुङ र युवराज न्यौपाने प्रतिस्पर्धाका रिङमा छैनन्। गुरुङले धेरै अघि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले युवा पुस्ता मुल नेतृत्व आउनुपर्छ भन्न सांकेतिक सन्देश त देलान् तर चुनावी परिणाममा उनको उम्मेदवारीले खासै अर्थ राख्ने देखिँदैन।

बरु रोचक त महामन्त्रीको निर्वाचन हुने देखिन्छ, जहाँ गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल भिड्दै छन्। दुई जना डाक्टर प्रकाशशरण महत र मीनेन्द्र रिजाल पनि महामन्त्रीको दौडमा छन्।

महामन्त्रीका यी पाँच उम्मेदवारको अनुकूलता र प्रतिकूलता पनि पर्गेलौ।

शुरु गगन थापाबाटै गरौं।

गगन: कांग्रेसको तुरुपको एक्का

गगन थापा कांग्रेसका एकजना प्रखर र लोकप्रिय नेता हुन्। राजनीतिमा उनको उपस्थिति र शैली अरू भन्दा बेग्लै छ। महामन्त्री मनोनयनका दिन खचाखच भरिएको प्रज्ञा भवन हलमा उनी जसरी प्रस्तुत भए, खासमा उनले त्यही दिन महामन्त्री जितिसके। कांग्रेस वृत्तभित्र भन्ने गरिन्छ, गगनको ‘क्रेज’ पार्टी इतर मात्रै हो, भित्र छैन। तर महामन्त्रीको उम्मेदवारी घोषणाका दिन उनको कुरा सुन्न उपस्थित कांग्रेस कार्यकर्ताको भीडले भनिसक्यो, उनको ‘क्रेज’ पार्टीभित्र पनि बढिरहेको छ। वैचारिक विमर्शको खडेरी परिरहेका बेला उनले जसरी आफ्नो विचार अघि सारे, त्यो कांग्रेसमा नयाँ अभ्यासको थालनी थियो।

सदनदेखि सडकसम्म कांग्रेसको अस्तित्व जिवित राख्ने नेता कोही छ भने, त्यो गगन नै हो। निर्वाचनबाट पराजित भएर सदनमा कमजोर प्रतिपक्षका रुपमा रहँदा त्यहाँ देउवा देखिएनन्, सुनिएनन् तर केपी ओलीसँग गगन जुहारी खेलिरहेका हुन्थे। अहिले पनि राष्ट्रिय राजनीतिमा उनी ओलीसँग वैचारिक प्रतिवाद गरिरहेका छन्। उनले अघि सारेको सामाजिक लोकतन्त्रको अवधारणा कांग्रेस नेता कार्यकर्ताले पढेका छैनन्, ओलीले पढेर आलोचना गर्न भ्याइसके। जसको प्रतिवाद गगनले पनि गरिसकेका छन्।

गगन ‘निर्विकल्प नेता’ भन्ने आग्रह होइन। उनका पछि कमी कमजोरी छन्। उनी आलोचनामुक्त हुन सक्दैनन्। यद्यपि उनी पूर्ण परीक्षण नभइसकेका नेता हुन्। उनले पूर्णरुपमा परीक्षण हुन पाउनुपर्छ।

यो सन्दर्भले देखाउँछ, गगनको नेतृत्व विकासका लागि महामन्त्री पद उनलाई जति आवश्यक छ, उसलाई पनि उनको त्यत्तिकै आवश्यकता छ। भोलि चुनावमा जनमत बटुल्न ‘मास’लाई अपिल गर्ने नेता कांग्रेसमा कोही छ भने, त्यो गगन नै हो। कांग्रेसका लागि गगन तुरुपको एक्का सावित हुन सक्छन्।

यो भनिरहँदा गगन ‘निर्विकल्प नेता’ भन्ने आग्रह होइन। उनका पछि कमी कमजोरी छन्। उनी आलोचनामुक्त हुनसक्दैनन्। यद्यपि उनी पूर्ण परीक्षण नभइसकेका नेता हुन्। उनले पूर्णरुपमा परीक्षण हुन पाउनुपर्छ। आज दृश्यमा देखिएका युवा-पाका नेतामध्ये गगनको सक्रियता र सोच अरू भन्दा पृथक् छ। कोरोना महामारीका बेला होस् अथवा ओली संविधान मिचेर लोकतन्त्रमाथि धावा बोल्दा गगन ती सबै ठाउँमा देखिन्थे, सुनिन्थे। नेतृत्वमा पुगेपछिका दिनमा गगनको सफलता-असफलता मापन हुनेछ र त्यसैका आधारमा उनी समर्थन र आलोचनाका भागीदार बन्लान् तर आजको मितिमा उनका गतिविधि, सोच र सक्रियता कांग्रेसका लागि आवश्यक कडी बनिदिएको छ।

यतिखेर गगन चौतर्फी अनुकूलतामा छन्, शिवाय एक। समकक्षीहरूलाई उछिनेर उनी लोकप्रिय नेता भएका छन्। उनीभन्दा दुई चार भोटो फटाएका ‘दाई कांग्रेस’ ले नेता मान्नुपर्ने अवस्था आएको छ। र, यो अवस्था टार्न एउटा प्रवृत्ति र जमातले भरमग्दुर प्रयास गर्नेछ। १३ औं महाधिवेशनमा पनि यसैगरी महामन्त्रीको प्रत्यासी भइरहँदा गगन यही प्रवृत्तिको शिकार भएका थिए। हिजो भन्दा आज ‘दाई कांग्रेस’ हरूमा उनको नेतृत्वप्रतिको स्वीकारोक्ति केही बढेको छ तर पुरै स्वीकार्न सकेका छैनन्। जो महामन्त्रीको चुनावमा उनको मुख्य प्रतिकूलता हो। अन्यथा उनी गुटको भोटमा सीमित हुनेछैनन्।

विश्वप्रकाश र प्रदीपः कसले बाजी मार्ला ?

चर्चा र लोकप्रियताको हिसाबले महामन्त्रीका अर्का प्रत्यासी विश्वप्रकाश शर्मा र प्रदीप पौडेल पनि गगनकै बाटोमा छन्। शिष्ट र बौद्धिक नेताको छवि बनाएका शर्मा र युवापंक्तिमा लोकप्रिय पौडेल महामन्त्री भएको हेर्न चाहने ठूलो पंक्ति कांग्रेस भित्र र बाहिर छ। खासमा जब-जब कांग्रेसमा पुस्तान्तरणको कुरा आउँछ, गगन, विश्वप्रकास र प्रदीपहरू नै ‘आइकन’ बन्दै आएका छन्।

तर दुर्भाग्य के छ भने, यी तीनै जना नेता फरक फरक गुट समातेर चुनावी प्रतिस्पर्धामा छन्। तीन मध्ये एकको पराजय निश्चित छ। विश्वप्रकाश प्रकाशमान सिंह प्यानलमा पुगेका छन्। उनी शेरबहादुर देउवा समूहमा आबद्ध रहँदै आएका नेता हुन्। देउवाले उनलाई सह-महामन्त्रीमा सीमित गर्न खोजेपछि उनी गुट छोडेर बाहिरिएका हुन्। सिंह प्यानलकै आडमा मात्रै महामन्त्री जित्ने आधार शर्मासँग छैन। तर, उनी लोकप्रिय नेता हुन्। गगन र विश्वप्रकाश दुवै महामन्त्री आउनुपर्छ भन्ने चाहना राख्ने जमात उनको पछाडि छ। त्यस हिसाबले यो महामन्त्रीको चुनाव उनको लोकप्रियताको परीक्षा पनि हो।

सम्भावनालाई पर्गेल्दापर्गेल्दै एउटा भने निश्चित छ- महामन्त्री पदमा आउने नयाँ अनुहारले नै नेपाली कांग्रेस अबको नेपाली राजनीतिमा कहाँ र कसरी उभिन्छ भन्ने निर्धारण गर्नेछ।

प्रदीपको हकमा पनि अवस्था उस्तै नै हो। देउवा-सिटौला समीकरणले महामन्त्रीको उम्मेदवार बनेका पौडेलको यतिबेलाको ठूलो ‘स्ट्रेन्थ’ देउवा प्यानल हो। देउवा प्यानलले उनलाई ‘आफ्नै मानेर’ मत दिएको अवस्थामा उनी बलिया प्रतिस्पर्धी हुन्। देउवा गुटले अपनाए पनि गुटका मतदाताले त्यसरी नै अपनाउने परिवेश बन्छ/बन्दैन, पौडेलको चुनौती यही हो।

ओझेलमा महत र रिजाल

देउवा प्यानलका डा. प्रकाशशरण महत र कोइराला प्यानलका डा. मीनेन्द्र रिजाल पनि महामन्त्रीको दौडमा कमजोर प्रतिद्वन्द्वी होइनन्। यद्यपि नेतृत्वमा युवा हस्तान्तरणको बहस चर्किएका कारण यी पात्र केही ओझेलमा परेका हुन्। कुनै बेला महत र रिजाल दुवै देउवासँग नजिक नेता हुन्। अहिले देउवा निकटस्थ महत मात्रै हुन्। देउवा प्यानलको महाधिवेशन प्रनिनिधिमा वर्चश्व हुनु नै महतको मुख्य अनुकूलता हो। रिजाल भने बौद्धिक राजनीतिक व्यक्तित्वको परिचय भएका नेता हुन्। कांग्रेस प्रतिपक्षमा रहेका बेला संसदमा जनस्तरमा महसुस हुनेगरी कुरा राख्न सक्ने रिजाल अहिले सरकारमा पनि छन्।

उल्लिखित परिदृश्य नियाल्दा सभापतिमा देउवाकै निरन्तरता हुने देखिन्छ भने महामन्त्रीमा युवा पुस्ताको आगमन। यद्यपि सभापतिका लागि दोस्रो राउन्ड चुनाव भयो भने त्यो सम्भावना उल्टिन पनि सक्छ। सम्भावनालाई पर्गेल्दापर्गेल्दै एउटा भने निश्चित छ- महामन्त्री पदमा आउने नयाँ अनुहारले नै नेपाली कांग्रेस अबको नेपाली राजनीतिमा कहाँ र कसरी उभिन्छ भन्ने निर्धारण गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved