कांग्रेसको १४ औँ महाधिवेशन

महामन्त्रीमा तीन युवा, कसको सम्भावना कति ?

महामन्त्रीमा युवा आउने सम्भावना धेरै देखिन्छ । किनकि, विश्वप्रकाश शर्मा, गगन थापा र प्रदीप पौडेलले पार्टीका वरिष्ठ नेताहरूको प्यानलमै रहेर महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन्। यी युवाहरूसँगै ६० कटेका दुई नेता प्रकाशशरण महत र मीनेन्द्र रिजाल पनि महामन्त्रीको दौडमा छन्।

महामन्त्रीमा तीन युवा, कसको सम्भावना कति ?

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा ७५ वर्षका शेरबहादुर देउवा र ७१ वर्षका डा.शेखर कोइरालासँगै ६५ वर्षीय विमलेन्द्र निधि र प्रकाशमान सिंहको उम्मेदवारी परेको छ।

हुन तः सभापतिको दौडमा ५२ वर्षका कल्याण गुरुङ र ४० वर्षका युवराज न्यौपाने पनि छन्। गुरुङ विद्यार्थीकालदेखि नै संगठनमा सक्रिय र जुझारु नेता हुन्। तर, प्रभावशाली नेताहरूको समर्थन नभएकाले यी युवाहरूले उम्मेदवारीलाई सुदृढ ठानिएको छैन।

बरु, महामन्त्रीमा भने युवा आउने सम्भावना धेरै देखिन्छ । किनकि, विश्वप्रकाश शर्मा, गगन थापा र प्रदीप पौडेलले पार्टीका वरिष्ठ नेताहरूको प्यानलमै रहेर महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन्। यी युवाहरूसँगै ६० कटेका दुई नेता प्रकाशशरण महत र मीनेन्द्र रिजाल पनि महामन्त्रीको दौडमा छन्।

१४ औं महाधिवेशनले दुई महामन्त्री चयन गर्नेछ। त्यसमध्ये ६० कटेका रिजालसँगै युवा नेता थापाले शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका छन्। त्यस्तै, देउवा प्यानलबाट ६० कटेका महत र युवा नेता पौडेल उम्मेदवार छन्। शर्मा भने प्रकाशमानसिंहको प्यानलबाट महामन्त्रीको एक्लो उम्मेदवार छन्।

कसको सम्भावना कस्तो ?

राष्ट्रिय राजनीतिमा शर्मा र थापाको दाँजोमा पौडेलको चर्चा कम हुन्छ। तर, पार्टीभित्र उनको पकड बलियै देखिन्छ। किनकि, उनी देउवा समूहबाट महामन्त्रीको उम्मेदवार छन्। तर, समिकरण सहज भएपनि यही निर्णायक भने होइन। यसको उदाहरण कांग्रेसको पछिल्लो महाधिवेशन नै हो।

जहाँ, सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपनि महामन्त्रीमा फरक प्यानलका डा.शशांक कोइराला निर्वाचित भए। त्यहीकारण, उम्मेदवारको लोकप्रियताले पनि अर्थ राख्छ। थापा १२ औं महाधिवेशनमा केन्द्रीय सदस्यतर्फ सर्वाधिक धेरै मत ल्याउनेको सूचीमा दोस्रो स्थानमा थिए भने पौडेलले १३ औं महाधिवेशनमा सर्वाधिक मत ल्याउनेको सूचीमा पाँचौ स्थानमा थिए।

यसपटक देउवालाई सिटौलाको साथ मिलेपनि विमलेन्द्र निधिको साथ छैन। निधि आफैं सभापतिका उम्मेदवार छन्। यद्यपि, देउवालाई ठूलो चुनौती कोइराला र सिंह पक्षबाटै हुने आकलन गरिएको छ। अघिल्लो महाधिवेशनमा सिंह र कोइराला दुवैले रामचन्द्र पौडेललाई सभापतिमा सहयोग गरेका थिए।

तर, यसपटक उनीहरू दुवैजना उम्मेदवार छन्। त्यसैले, अघिल्लो महाधिवेशनमा रामचन्द्र पौडेललाई भोट हाल्ने प्रतिनिधिहरूको मत यसपटक बाँडिने सम्भावना छ । त्यसको प्रभाव महामन्त्री पदमा पनि देखिनसक्छ। प्रदेश अधिवेशनलाई मूल्यांकन गर्ने हो भने देउवा पक्ष अन्यको तुलनामा सबल देखिन्छ।

देउवा सभापतिको बलियो दाबेदार हुँदै गर्दा उनकै समूहबाट महामन्त्रीमा प्रतिस्पर्धा गर्ने प्रदीप पौडेल र डा. प्रकाशरण महतलाई पनि केही सहज हुनु स्वाभाविक हो। यसको अर्थ कोइराला समूहबाट महामन्त्रीको दाबेदार रहेका डा. मीनेन्द्र रिजाल र गगन थापा तथा प्रकाशमान प्यानलबाट महामन्त्री रहेका विश्वप्रकाश शर्माको चुनौती कमजोर रहन्छ भन्ने पक्कै होइन।

युवामाझ थापा, शर्मा र पौडेलले बनाएको छविकै कारण पाका नेताहरूले आफ्नो प्यानलबाट उनीहरूलाई उम्मेदवार बनाएका हुन्।

गगन थापा

४ साउन २०३३ सालमा काठमाडौंमा जन्मिएका गगन थापा २०७३ सालमा स्वास्थ्यमन्त्री भएका थिए। १३ औँ महाधिवेशनमा पनि थापा महामन्त्री पदको प्रतिस्पर्धी थिए, त्यतिबेला कृष्णप्रसाद सिटौला प्यानलबाट उम्मेदवारी दिएका थापा शशांक कोइरालासँग पराजित भएका थिए।

त्यसपछि मनोनित केन्द्रीय सदस्यका रूपमा उनी पार्टीमा सक्रिय रहे। उनी २०६४ सालमा समानुपातिकबाट संविधानसभा सदस्य बनेका थिए। दोस्रो संविधानसभामा उनले काठमाडौं-४ बाट प्रत्यक्ष निर्वाचित भए। गत प्रतिनिधिसभा निर्वाचनमा उनले नेकपा एमालेका डा राजन भट्टराईलाई काठमाडौं-४ मा पराजित गरे।

थापाको राजनीति यात्रा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट शुरु भएको थियो। उनी २०५७ सालमा विश्वप्रकाश शर्मा अध्यक्ष हुँदा नेविसंघको उपाध्यक्ष थिए। त्यस्तै, २०५९ मा गुरु घिमिरेको अध्यक्षतामा रहेको कार्यसमितिमा महामन्त्री थिए। पूर्वराजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन शुरु गरेपछि थापाको राजनीतिक सक्रियता र चर्चा चुलिएको थियो।

विश्वप्रकाश शर्मा

कांग्रेसको प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका शर्माको जन्म ६ पुस २०२७ मा झापामा भएको थियो। उनी विद्यार्थीकालदेखि नै नेतृत्वमा स्थापित भएका हुन्। २०४७ सालमा उनी नेविसंघ झापाका अध्यक्ष थिए। २०४८ सालमा नेविसंघ केन्द्रीय सदस्यमा निर्वाचित भएका शर्मा २०५३ सालमा महामन्त्री र २०५७ मा नेविसंघको केन्द्रीय सभापति निर्वाचित भएका थिए।

२०७२ मा पार्टीको केन्द्रीय सदस्य बनेका शर्मा हालसम्म कुनै सरकारी लाभको पदमा बसेका छैनन्। २०७० मा दोस्रो संविधानसभाको निर्वाचनमा झापाबाट प्रतिस्पर्धा गरेका उनी नेकपा एमालेको रविन कोइरालासँग पराजित भएका थिए। त्यस्तै, २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भए। शर्मा पार्टीभित्र बौद्धिक नेताका रूपमा चिनिन्छन्।

प्रदीप पौडेल

तनहुँका पौडेलको राजनीति पनि नेवि संघबाटै शुरु भएको थियो। ०५३ सालमा नेविसंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका पौडेलले ०५९-०६४ सम्म उपाध्यक्षको जिम्मेवारी सम्हाले। ०६४ मा उनी यस संगठनको अध्यक्ष चुनिए। ०७१ सालमा पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएका पौडेल १३ औं महाधिवेशनमा राम्रो मत ल्याएर यही पदमा दोहोरिए।

गत महाधिवेशनमा रामचन्द्र पौडेल प्यानलबाट प्रतिस्पर्धा गरेका उनी २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा तनुहँ-२ बाट पराजित भएका थिए। पछिल्लोपटक भने उनी कृष्णप्रसाद सिटौला समूहमा थिए। सिटौला समूहले सभापतिमा देउवालाई समर्थन गर्ने निर्णय गरेपछि देउवाले पौडेललाई आफ्नो समूहबाट महामन्त्रीमा अघि सारेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved