प्रिय पात्र

मैले गोगेलाई पढेँ जस्तो लाग्दैन, ऊसँगै गल्लीगल्ली चाहारेँ जस्तो लाग्छ

लैनसिंहलाई सधैं संघर्ष गरिराख्न मनु बाङ्देलको प्रेरणा थियो। तर पाउल कहिल्यै किन थाकेनन् ? उनलाई प्रेरणा दिने को थियो ? उनीसँग भेट हुँदो हो त म सोध्थेँ, “तपाईंलाई सधैं संघर्षका लागि केले प्रेरणा दियो ? किन थाक्नुभएन त्यति असफलताका बीच पनि ?”

मैले गोगेलाई पढेँ जस्तो लाग्दैन, ऊसँगै गल्लीगल्ली चाहारेँ जस्तो लाग्छ

मैले जीवनमा थुप्रै पात्रसँग अपनत्व महशुस गरे पनि सबैभन्दा मन पर्ने पात्रको स्मरण गर्नुपर्दा दिमागमा आउने पहिलो नाम हो- युजिन हेनरी पाउल गोगे। समरसेट मौघमको उपन्यास ‘द मुन एण्ड सिक्सपेन्स’ यही पात्रको जीवनमा आधारित छ।

करीब चालीस वर्ष पहिले यो उपन्यास पढेको थिएँ। त्यो समय भर्खरको किशोरवयको थियो। मैले कहिल्यै यूरोप देखेको थिइनँ, लेखकको क्षमता होला यो कि उक्त उपन्यास पढ्दा मैले यूरोपका गल्ली गल्लीमा घुमिरहेको अनुभूति गरेको थिएँ। इटलीदेखि अन्य शहरसम्म म त्यो पात्रसँगसँगै हिँडेको हुँ जस्तो लाग्छ मलाई आज पनि, किताब पढेको थिएँ जस्तो लाग्दैन।

गोगे उत्तर प्रभाववादकालीन कलाकार थिए। १९ औँ सताब्दीका पेरिसको मध्यमवर्गीय परिवारमा जन्मिएका गोगेको जीवनचक्र लेखकले अत्यन्तै मिठासपूर्ण ढंगले पस्किएका छन्। पेरिस, पेरु, टाहिटी, थाहिटी लगायतका ठाउँमा भड्किँदै हिँडेका उनी एक सामान्य पात्र हुन्। सामान्य कलाकार, जोसँग असफलताका चाङ छन्।

विदेशतिर कलाकारमाथि लेख्ने प्रचलन छ। समरसेटले यो उपन्यास लेखेको समयमा यूरोपमा गरीब र दुःख पाएका पात्रहरूको बारेमा लेख्ने चलन थियो। कि त आर्मीको बारेमा लेखिन्थ्यो। समरसेटको यो उपन्यास अगाडि यसरी कलाकारलाई पात्र बनाएर लेखिएको उपन्यास मैले भेटेको छैन।

उनको यो उपन्यासपछि यूरोपमा मात्र होइन विश्वभर नै उनीबाट धेरै लेखकहरू प्रभावित भए। कलाकारमाथि पनि लेख्ने चलन व्यापक बढ्यो। नेपालमा पनि लैनसिंङ वाङ्देलले पनि रेम्ब्रान्टमाथि लेखे। शुरुआती दिनमा इन्द्रबहादुर राई पनि समरसेटबाट प्रभावित भएको पाइन्छ।

पाउल पृथक पात्र भएका कारण पनि होला मलाई एकदमै मन परेको पात्र हो। त्यसले मलाई एकदमै प्रभाव पारेको थियो। नेपाली कथाभन्दा धेरै पृथक लाग्यो मैले पढ्दा। धेरैपछि निलम कार्कीले योगमाया लेखिन्, नत्र नेपालमा त्यसरी पात्रमाथि त्यति लेखिन्थेन, अझैं पनि खासै लेखिएको छैन। होइन भने राम्रो उपन्यास बन्न सक्ने पात्र नेपालमा पनि कति धेरै छन्। हुन त यूरोपमा समरसेटलाई मूलधारका लेखकले लामो समयसम्म लेखक मानेनन्, तथापि, उनको यो कृति उत्कृष्ट कृति हो।

त्यो पात्र कथामा पनि यति जीवन्त थियो कि, पढिरहँदा त्यो पात्र सँगसँगै म यूरोपका गल्लीहरूमा हिँडिरहेको थिएँ। सँगसँगै बसेर खाइरहेको थिएँ। उसले पेन्टिङ बनाउँदा म छेउमै बसेर आनन्द लिइरहेको थिएँ। साधारण पात्र भए पनि उसले गरेको संघर्षबाट म एकदमै प्रभावित भएँ।

एउटा असफल कलाकार कसरी विस्तारै सफलताको सिँढी चढ्दै गयो, यो थाह पाएँ र असफल हुनु नराम्रो होइन, सफल हुनुपर्ने कुरामा पनि सफल नभइदिन सकिन्छ भन्ने मैले त्यतिबेलै बुझेँ। आफू पनि केही बन्नसक्छु भन्ने आत्मविश्वास बढ्यो। कलाकारै बन्छु भन्ने त लागेन तर कुनै क्षेत्रमा केही त गर्छुँ भन्ने आँट दिएको थियो मलाई त्यो पात्रले। त्यसैकारण होला जीवनमा कति ठक्कर खाइयो होला मैले तिनलाई सामान्य रुपमा लिन सिकेँ।

साहित्यमा धेरै रुचि भएकाले जीवनमा धेरै भेट त लेखक र संगीतकारहरूसँगै भयो। कलाकारहरूसँग त्यति नजिकको सम्बन्ध भएन। तर ती कलाकारहरू, सोही पाउलले गरेकै संघर्ष गरिरहेको भने थाह पाउन मुश्किल भएन। नेपालमा अधिकांश लेखक, कलाकार, संगीतकारहरू सबै पाउलकै अवस्थाबाट गुज्रिएका छन्। अलिकति अभिजात वर्गलाई केही सहज भयो होला, तर अधिकांशको अवस्था उही हो।

आर्थिक रुपमा सफल भएर कलामा निखार आउने होइन। आर्थिक पक्षले कलालाई सहयोग गर्ने त होइन। कलालाई सशक्त बनाउन पनि त संघर्ष छ। त्यसैले हरेक व्यक्ति त्यो अवस्थाबाट गुज्रिएको पाएको छु मैले। नेपालमा पाउलसँग अझ अलि बढी नजिकको पात्र कोही हुनसक्छ भने त्यो लैनसिंह हो जस्तो मलाई लाग्छ। उनको ‘मुलुकबाहिर म’ संस्मरणात्मक पुस्तकमा पाउलकै अवस्था प्रतीत भएको पाउँछु म।

फ्रान्सका गल्लीहरूमा लैनसिंहले पनि संघर्षका गोडा उसैगरी चाले जस्तो लाग्छ। ठाउँ, सपना र स्थिति उस्तै लागेर पनि होला, लैनसिंह उनको अलि बढी नै नजिक छन्। करीब करीब पाउलले नै पाएको दुःख उनले पनि पाए, जुन उनको ‘मुलुकबाहिर म’ पुस्तकबाट थाह पाउन सकिन्छ।

तर लैनसिंहलाई संघर्ष गरिराख्न प्रेरणा दिने मान्छे थिइन्, उनकी श्रीमती मनु बाङ्देल। उनकै प्रेरणाले लैनसिंहलाई संघर्षका लागि प्रेरणा दिइरह्यो।

तर पाउल कहिल्यै किन थाकेनन् ? किन जतिपटक खस्दा पनि उठिरहे ? उनलाई प्रेरणा दिने मान्छे को थियो ? यसै हिँड्दाहिँड्दै यस्तो सोच मनमा आइरहन्छ। उनीसँग भेट हुँदो हो त म पहिलो प्रश्न यही सोध्थेँ उनलाई, “तपाईंलाई सधैं संघर्षका लागि केले प्रेरणा दियो ? किन थाक्नुभएन त्यति असफलताका बीच पनि ?”

प्रस्तुति: काशीराम बजगाई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved