गगन थापाले गरे महामन्त्रीमा औपचारिक उम्मेदवारी घोषणा

‘‘म महामन्त्री हुन्छु,हुन्न, थाहा छैन, तर यही पार्टीभित्र बसेर योगदान पुर्‍याउनका लागि मैले महामन्त्री पदमा उम्मेदवारी दिएको हुँ।’’

नेपालभ्युज

काठमाडौँ। नेपाली कांग्रेसको नेता गगन थापाले कांग्रेसको पुनर्जागरण र रूपान्तरणको अवधारणासहित १४औँ महाधिवेशनमा महामन्त्री पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम नै राखेर थापाले अवधारणासहित उम्मेदवारी सार्वजनिक गरेका हुन्।

‘‘समुन्नत नेपालः सम्मानित नेपाली’को हाम्रो संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन कांग्रेसको पुनर्जागरण र रूपान्तरणका लागि मेरो अवधारणासहित महामन्त्रीमा चुनाव लड्दैछु’’ उनले भने ‘‘यो अधिवेशनबाट कांग्रेसले अबको चुनाव किन जित्नुपर्छ भन्ने प्रश्नको जवाफ आम–जनतालाई दिनुपर्छ।’’

कांग्रेसको महामन्त्री कुर्सीमा बस्ने मात्र नभई पार्टीको राजनीतिक लाइन प्रस्तावित गर्ने जिम्मेवारी रहेको उनले बताए। पार्टीले चुनाव जित्छ मात्रै भन्यौ भने सबैमा पदको आकांक्षा बढ्ने भन्दै नयाँ सपना र संकल्प र कार्यक्रम ल्याउनुपर्ने थापाले जोड दिए।

शुक्रबारदेखि शुुरु हुने नेपाली कांग्रेसको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिँदै थापाले कांग्रेस चुहिएको प्वाल टाल्ने पार्टी रहेको बताए। कांग्रेस नेताहरुले पटकपटक निर्वासन, जेल, यातना भोगेको उल्लेख गर्दै एउटा विचार बोकेको आधारमा सत्ताले यातना दिने प्रचलन नेपालमा रहेको बताए।

नेपालमा कांग्रेसको राजनीति गर्नेहरुले ‘म’को बारेमा होइन, ‘हामी’को बारेमा सोचेको उल्लेख नेता थापाले गरे। उनले भने– ‘‘म महामन्त्री हुन्छु,हुन्न, थाहा छैन, तर यही पार्टीभित्र बसेर योगदान पुर्‍याउनका लागि मैले महामन्त्री पदमा उम्मेदवारी दिएको हुँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved