बालाकोट र जम्मु-कास्मिर मुद्दा, जसले रावतलाई शक्तिशाली बनायो

भारतीय सेनाको प्रमुखबाट अवकाश पाएकै दिन ३१ डिसेम्बर २०१९ मा उनी सिडिएस प्रमुख नियुक्त भएका थिए। २०१९ फेब्रुअरीमा पाकिस्तानको बालाकोटमा भारतीय सेनाले हवाई हमला गर्दा रावतको भूमिका महत्वपूर्ण थियो।

बालाकोट र जम्मु-कास्मिर मुद्दा, जसले रावतलाई शक्तिशाली बनायो

काठमाडौँ । भारतीय सुरक्षा प्रमुख (सिडिएस) विपिन रावत हेलिकप्टर दुर्घटनामा परेका छन्। दुर्घटनामा ११ जनाको मृत्यु भएको पुष्टि भएपनि रावत र उनकी पत्‍नी मघुलिकाको अवस्थाबारे केही सार्वजनिक गरिएको छैन। भारतीय सञ्‍चारमाध्यमहरुले रावतलाई वेलिंगटनस्थित सैनिक अस्पताल लगिएको र उनको अवस्था गम्भिर रहेको जनाएका छन्।

यसबारे भारतीय रक्षामन्त्री राजनाथ सिंहले आजै संसद्लाई जानकारी गराउने कार्यक्रम थियो। तर, घटनाको बिस्तृत विवरण नआएको भन्दै उनको सम्बोधनलाई बिहीबारका लागि सारिएको छ। भारतीय सेनाको एमआई-17 भी 5 हेलिकप्टरमा रावत दम्पतिसँगै १४ जना सवार थिए। रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुर्घटनाका विषयमा जानकारी दिइसकेका छन्। सिंहले दिल्लीस्थित रावतको घरमा पुगेर रक्षामन्त्री उनकी कान्छी छोरीलाई समेत भेटेका छन्।

रावतका दुई सन्तान छन्। जेठी छोरीको विवाह भइसकेको छ भने कान्छी छोरी दिल्लीमै कानून व्यवसायीका रुपमा सक्रिय छिन्। हेलिकोप्टर चढेर तमिल्नाडु सैन्य स्टाफ कलेजमा आयोजित कार्यक्रममा  सहभागी हुन पुगेका रावत लेक्चर दिएर फर्किने क्रममा दुर्घटनामा परेको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। मंगलबार उटीमा सेनालाई लेक्चर दिएर बुधबार बिहान तमिल्नाडु आइपुगेका रावत बिहीबार देहरादुन जाने कार्यक्रम तय थियो।

मौसम खराब हुँदा रावत सवार हेलिकप्टर दुर्घटना भएको आशंका गरिएको छ। भिभिआईपी सवार विमानले अधिक इन्धन लिएर उड्ने हुँदा दुर्घटनापछि ठूलो आगलागि समेत भएको छ।

मोदीसँगको निकट सम्बन्ध

दुर्घटनामा परेका रावत र प्रधानमन्त्री मोदीबीचको सम्बन्ध सुमधुर मानिन्छ । मोदीले प्रमुख सुरक्षा अधिकारी (सिडिएस) नामको नयाँ शक्तिशाली पद सिर्जना गरेर रावतलाई नियुक्त गर्न समेत यस सम्बन्धले भूमिका खेलेको चर्चा चल्ने गर्छ।

स्थल सेना, जल सेना र हवाई सेनालाई संयोजित गर्ने उद्देश्यले सिडिएस पद सिर्जना गरिएको हो। भारतीय सेनाको बर्दी लगाउनेमध्ये सिडिएस रावत सबैभन्दा माथिल्लो वरियताका अधिकारी हुन्। उनले रक्षा मन्‍‍‍त्रालयको सैन्य सल्लाहकार र सैन्य मामिला विभागको प्रमुखको भूमिका समेत निर्वाह गर्छन्।

भारतीय सेना प्रमुखबाट अवकाश पाएकै दिन ३१ डिसेम्बर २०१९ मा उनी यस पदमा नियुक्त भएका थिए।  फेब्रुअरी २०१९  पाकिस्तानको बालाकोटमा भारतीय सेनाले हवाई हमला गर्दा रावत सेनाका प्रमुख थिए। त्यतिबेला एयरफोर्समा जनरल वीरेन्द्र सिंह धनाेआ प्रमुख थिए। तर, आक्रमणको रणनीति तय गर्न रावतकै भूमिका महत्वपूर्ण थियो।

जम्मू–कास्मिरस्थित पुलवामा जिल्लामा भएको आक्रमणमा ४० भन्दा धेरै भारतीय अर्धसैनिकको मृत्यु भएपछि भारतले जवाफी हमला गरेको थियो। यस घटनाको आक्रमणको जिम्मा जैस इ मोहम्मद संगठनले लिएको थियो। भारतले जैसको ट्रेनिङ क्याम्पस्थल भन्दै बालाकोटमा एकतर्फी हमला गर‍्‍‍यो।

पाकिस्तानसँग अनुमति नलिई उसैको भूमिमा गरिएको यो हमला सुरक्षा दृष्टीकोणले जति महत्वपूर्ण थियो, राजनीतिक रुपमा पनि त्यति नै महत्वपूर्ण साबित भयो। यसपछि भारतमा चलेको राष्ट्रवादको लहरले लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीलाई बहुमत दिलाउन भूमिका खेल्यो, नरेन्द्र मोदी दोस्रोपटक प्रधानमन्त्री चुनिए।

दोस्रो कार्यकालमा मोदी र रावतको उनको सम्बन्ध अझै विशेष बन्‍न पुग्यो। जम्मु–कास्मिरलाई भारतको संविधानले दिएको विशेष राज्यको दर्जा अगस्ट २०१९ मा मोदी सरकारले खारेज गरिदिएको थियो। यतिबेला जम्मु–कास्मिरबाट टुक्र्याएर लद्दाखलाई अलग राज्य बनाइयो। अनि, जम्मु–कास्मिरलाई भारतको केन्द्र शासित प्रदेशमा रुपान्तरण गरियो। यस कार्यमा रावतको ठूलो सहयोग रहेको मानिन्छ।

सिडिएस प्रमुख बन्‍‍नुअघि ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म रावतले भारतको २६ औं स्थल सेना प्रमुखको भूमिका निर्वाह गरेका थिए। तर, यसको २९ वर्षअघि नै रावत चर्चामा आइसकेका थिए।

१९८७ मा सुमदोरोङचु उपत्यकामा चीनसँग भएको झडपको नेतृत्व फिल्ड अफिसरका रुपमा रावतले गरेका थिए। १९६२ को चीन–भारत युद्धको घाउ सेलाउन नपाउँदै यस्तो समस्या देखिएको थियो। यस घटनापछि भारतीय प्रधानमन्त्रीलाई बेइजिङ बोलाएर सीमाको तनाव कम गर्न चीनले पहल थालेको थियो।

एमआई १७ भी ५

सोभियत प्रविधिबाट निर्मित यो हेलिकोप्टर भारतीय सेनाले प्रयोग गर्ने अत्याधुनिक प्रकारको हेलिकप्टर हो। यस प्रकारको हेलिकप्टर जस्तो सुकै मौसम र भूगोलमा पनि चलाउन सकिने खालको हुन्छ।

यसलाई दिन, रात र जटिल मौसममा पनि सञ्चालन गर्न सकिन्छ। यस हेलिकप्टरलाई भारतीय सेनाले सामान ढुवानीदेखि सैनिक सवारीसम्म प्रयोग गर्छ। उद्धारका लागि समेत यस प्रकारको हेलिकप्टरलाई भारतभर प्रयोग गर्ने गरिन्छ।

दुर्घटना भएको यो हेलिकप्टर भारतले ब्राजिलसँग खरिद गरेको थियो। यो हेलिकप्टरले बढीमा १३ हजार किलो सामान बोक्ने क्षमता राख्छ, त्यस्तै २५० किलोमिटर प्रति घण्टा यात्रा गर्नसक्छ।

पछिल्लोपटक भारतले एमआई–१७ सिरिजको नयाँ हेलिकप्टर २०१८ मा रसियाबाट खरिद गरेको थियो। यस्ता हेलिकप्टरलाई भारतीय सेनाको यात्राको प्रमुख साधन मानिन्छ।

भारतका उच्चपदस्थ व्यक्तिको सवारीका लागि पनि एमआई हेलिकप्टर प्रयोग हुनेगर्छ। प्रधानमन्त्री समेत यस प्रकारको हेलिकप्टरमा सवार हुन्छन्।

(एजेन्सीको सहयोगमा)


Comment

One thought on “बालाकोट र जम्मु-कास्मिर मुद्दा, जसले रावतलाई शक्तिशाली बनायो

  1. दुखद खबर, घाइतेहरुलाई सिघ्र स्वस्थलाभको कामना र मृतकजनलाइ हार्दिक समबेदना साथै मृतकका परिवारजनमा समबेदना l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved