कांग्रेस १४ औँ महाधिवेशन

नेतृत्वका लागि निर्णायक ‘सिटौला-समीकरण’

महाधिवेशन जित्नका लागि रणनीति बनाएका देउवा सिटौलालाई आफ्नो पक्षमा राखिराख्ने कार्यनीतिअनुसार अघि बढे। सिटौलाले पनि इतर पक्षमा अरुभन्दा आफ्नो बढी नेता कार्यकर्ता प्रतिनिधिमा ल्याउन देउवा क्याम्पबाट सहज हुने देखे, जसले दुवैको सहकार्यको बाटो खोल्यो।

नेतृत्वका लागि निर्णायक ‘सिटौला-समीकरण’

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुरु हुन तीन दिन मात्र बाँकी छ। केन्द्रीय नेताहरु आ-आफनो गुुटगत हिसाबकिताबमा व्यस्त छन्। वडादेखि प्रदेश अधिवेशनको नतिजाको समीक्षाले कांग्रेसमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष निर्णयक देखिएको छ।

सिटौला आफैं नेतृत्वमा पुुग्ने हैसियत नभए पनि उनको समर्थन पाए सभापतिमा शेरबहादुर देउवा सहजै दोस्रोपटक निर्वाचित हुने सम्भावना बढेर गएको कांग्रेसका जानकारहरु बताउँछन्। “प्रदेश अधिवेशनमा बागमतीमा देखिएको नतिजा यही नै हो’’, कांग्रेसका एक केन्द्रीय नेता भन्छन्, “वडा तहदेखि नै देउवा-सिटौला पक्ष मिलेको देखियो।’’

बागमती प्रदेशमा देउवा पक्षका ईन्द्र बानियाँले सिटौला पक्षको समर्थनमा प्रदेश सभापति जिते। उता, प्रदेश एकमा सिटौला पक्षका उद्धव थापा देउवा पक्षको समर्थनमा प्रदेश सभापति बने। प्रदेश अधिवेशनअघि पनि देउवा-सिटौला समीकरण मैदानमै देखिएको थियो। काठमाडौंमा नेता प्रकाशमान सिंह र गगन थापा वडादेखि जिल्ला तहसम्म समीकरण बनाएर उत्रेपछि देउवा र सिटौलाले पनि समीकरण बनाएका थिए।

यसरी अधिवेशनमा तल्लो तहदेखि देउवासँगै हिँडिरहेका पूर्वमहामन्त्री सिटौलाले शुुुक्रबारदेखि हुन लागेको केन्द्रीय महाधिवेशनमा सभापति देउवालाई समर्थन गरे उनले पहिलो चरणमै जित्ने अनुमान गर्न थालिएको छ। तर, यस्तो सम्भावना इतर पक्षले साझा उम्मेदवार तय गर्ने कि नगर्नेमा भर पर्ने देखिन्छ।

सोमबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा इतर पक्षका नेताहरुले आन्तरिक छलफल गरे पनि ठोस निष्कर्ष निकाल्न सकेका छैनन्। मंगलबार दिउँसो पनि नेताहरु छलफलमा बस्दैछन्। युवा नेता गगन थापासहितले साझा उम्मेदवार तय गर्न दुई दिने अल्टिमेटम दिएका छन्। तर चार आकांक्षीबीच साझा व्यक्ति छान्न यो समूहमा सहज देखिएको छैन।

यस्तो परिस्थितिमा शुक्रबारदेखि काठमाडौंमा शुुरु हुन लागेको १४ औँ महाधिवेशनमा १३ औँमा जस्तै पूर्वमहामन्त्री सिटौला पक्ष फेरि एकपटक निर्णायक देखिने निश्चित जस्तै छ। सोही अनुमानका कारण नै देउवाले वडा तहबाटै सिटौलालाई विश्वासमा राखेको देखिने जानकारहरु बताउँछन्।

१३ औँ महाधिवेशनमा पहिलो चरणमा सभापतिका उम्मेदवार बनेका शेरबहादुर देउवा, रामचन्द्र पौडेल र सिटौला मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा सिटौलाले देउवालाई समर्थन गरेका थिए। सिटौलाको समर्थनमा पौडेललाई हराउँदै देउवा कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए।

तर तीनै तहको निर्वाचनमा कांग्रेस नराम्ररी पराजित भएपछि सिटौला देउवाविरुद्धको अभियानमा लामो समयसम्म देखिए। त्यसबेला स्वयं सिटौलाले सार्वजनिक रुपमा देउवाबाट कांग्रेस अगाडि बढ्न नसक्ने दाबी गरेका थिए। तर महाधिवेशन तयारीमा जसै कांग्रेस अघि बढ्यो, सिटौला पुनः देउवाकै साथमा देखिन थाले।

हुन त इतर पक्षले सभापतिको लागि साझा उम्मेदवार तय गर्ने सन्दर्भमा केही समयअघि छलफल गर्दा त्यसमा सिटौला पनि सहभागी देखिएका थिए। तर अधिवेशनको कार्यतालिका कार्यान्वयन शुरु भएसँगै उनी इतर पक्षसँग टाढा हुँदै गए। जानकारहरु यसमा देउवाको रणनीति र सिटौलाको स्वार्थ दुवैले काम गरेको बताउँछन्।

महाधिवेशन जित्नका लागि रणनीति बनाएका देउवा सिटौलालाई आफ्नो पक्षमा राखिराख्ने कार्यनीतिअनुसार अघि बढे। सिटौलाले पनि इतर पक्षमा अरुभन्दा आफ्नो बढी नेता कार्यकर्ता प्रतिनिधिमा ल्याउन देउवा क्याम्पबाट सहज हुने देखे, जसले दुवैको सहकार्यको बाटो खोल्यो।

केही समयअघि देउवा निकट सहमहामन्त्रीसहित केही नेताहरुले सिटौलासँग महाधिवेशनको बारेमा लामो छलफल गरेका थिए। त्यही छलफलपश्चात् जिल्लादेखि प्रदेश अधिवेशनसम्म देखिएको देउवा-सिटौला मिलाप सम्भव भएको बताइन्छ।

के अब केन्द्रमा पनि देउवा-सिटौला सहकार्य यसरी नै अघि बढ्छ त ? अहिले कांग्रेसवृत्तमा सबैभन्दा बढी जिज्ञाषाको प्रश्न हो यो। तर, विभिन्न टिकाटिप्पणीका बीच सिटौला आफैं र उनको समूहमा रहेका नेता भने अहिलेसम्म यसबारेमा मौन देखिएका छन्।

केही संकेत भने सहकार्यकै दिएको छ यो समूहले। इतर पक्षभन्दा केन्द्रीय पदाधिकारीमा देउवातिरै बाट बढी फाइदा हुने भएकाले त्यतैतिर जाने सम्भावनालाई पूर्णरुपमा नकार्ने अवस्था नरहेको सिटौला पक्षकै एक नेताले नाम नखुलाउने शर्तमा बताए।

यद्यपि, इतर पक्षबाट साझा सभापतिको उम्मेदवारी तय भए सिटौला समूहले पुनः आन्तरिक छलफल गरेर नयाँ रणनीति पनि बनाउन सक्छ। सिटौला निकट स्रोत भन्छ, “त्यस्तो अवस्थामा सिटौला पुनः आफै सभापतिको उम्मेदवार बन्न सक्छन्।”

तर इतर पक्षबाट एकभन्दा बढी उम्मेदवार भएको खण्डमा देउवा जित्ने सम्भावनाका कारण सिटौला आफै सभापतिको उम्मेदवारी नदिएर सिधै देउवालाई समर्थन गर्न सक्छन्।

आफ्नै प्यानल बनाउने अथवा अरुलाई सर्मथन गर्ने भन्ने निर्णय महाधिवेशनको पूर्वसन्ध्यामा गर्ने सिटौला पक्षीय नेता तथा वर्तमान सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरीले बताए। चौधरी भन्छन्, “अहिले बाहिर चर्चामा रहेका सबै कुरा अनुमान नै हुन्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved