मिर्चैयाका मेयरलाई पक्राउ गर्न माग गर्दै जसपाको प्रदर्शन

नेपालभ्युज

मिर्चैयाका मेयरलाई पक्राउ गर्न माग गर्दै जसपाको प्रदर्शन

जनकपुरधाम। सिरहाको मिर्चैयाका मेयर श्रवण यादवलाई पक्राउ गर्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा) ले आन्दोलन शुरु गरेको छ।

मेयर यादवविरुद्ध ज्यान मार्ने मुद्दामा पक्राउ पुर्जी जारी भएपनि प्रशासनले पक्राउ नगरेपछि आइतबार जसपाका सयौं नेता कार्यकर्ताले मिर्चैया बजारमा प्रदर्शन गरेका हुन्।

उनीहरूले बजारको विभिन्न भागमा परिक्रमापश्चात् इलाका प्रहरी कार्यालय मिर्चैया घेराउसमेत गरेका छन्।

‘भ्रष्ट मेयर मुर्दावाद’, ‘मेयर यादवको सम्पत्ति छानबिन गर’, ‘अपराधी मेयर यादवलाई पक्राउ गर’ जस्ता नारा जसपाका नेता कार्यकर्ताले लगाएका थिए।

उच्च सरकारी वकिलको कार्यालय राजविराजले मेयर यादवमाथि ज्यान मार्ने मुद्दा चलाउन भने पनि प्रहरीले पक्राउ गर्न चासो नदेखाएका कारण आन्दोलन गर्नुपरेको जसपा नेता अजय साहले बताए।

उनले मेयर यादवले व्यापक भ्रष्टाचार गरेकाले सम्पत्ति छानबिन गर्नुपर्ने मागसमेत गरे। उनले भने, “मेयर यादवको सम्पत्ति छानबिन र ज्यान मार्ने मुद्दामा पक्राउ नगरे जसपा चरणबद्ध आन्दोलन गर्छौं।”

कोरोना महामारीका कारण समस्यामा परेका दलित विपन्नलाई राहत वितरण गर्ने क्रममा मिर्चैयामा दोहोरो झडप भएको थियो।

झडपमा घाइते आमोद भनिने विजय कुमार यादवले मेयर यादवमाथि मुद्दा दर्ता गराएका थिए। तर सरकारी वकिलको कार्यालय सिरहाले मुद्दा दर्ता नगर्ने निर्णय गरेको थियो। पछि उच्च सरकारी वकिलको कार्यालय राजविराजले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश जारी गरेको छ।

उच्च सरकारी वकिल कार्यालय राजविराजको आदेशअनुसार मेयर यादवलाई हाजिर हुन पत्र पठाउने र हाजिर नभए पक्राउ गर्न इलाका प्रहरी कार्यालयलाई जिल्ला सरकारी वकिलको कार्यालय सिरहाले ८ मंसीरमै पत्राचार गरेको थियो। तर प्रहरीले हालसम्म मेयरलाई पक्राउ गर्न चासो देखाएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved