महोत्तरीमा माओवादी केन्द्रको वडा र पालिका सम्मेलन नै अन्योलमा

महोत्तरीमा पालिकाको अधिवेशनमा विवाद उत्पन्न भएपछि समाधानका लागि माओवादीका शीर्ष नेताहरू नै अहिले पालिकाको उद्घाटन र बन्दसत्रमा सहभागी बनेका छन्। पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अहिले महोत्तरीमै छन्।

महोत्तरीमा माओवादी केन्द्रको वडा र पालिका सम्मेलन नै अन्योलमा

जनकपुरधाम। नेकपा माओवादी केन्द्रको आन्तरिक विवादका कारण महोत्तरीको बर्दिबास नगरपालिकाको अधिवेशन स्थगितभएको छ। अन्य विभिन्न पालिकाहरुको अधिवेशन पनि अन्योलमा परेको छ।

बर्दिबास नगरपालिकामा १७ मंसीरमा हुने भनिएको अधिवेशन आकांक्षीहरूको विवादका कारण २० गतेसम्म हुने स्थिति नदेखिएपछि हाललाई स्थगित गरिएको माओवादी महोत्तरी जिल्ला इन्चार्ज राजु खड्काले बताए।

बर्दिबास नगरपालिकाको स्थगित बन्दसत्र २२ मंसीरका लागि निर्धारण गरिएको छ। सकेसम्म सर्वसम्मत गर्ने नत्र निर्वाचन प्रक्रियामा गएर भए पनि २२ मंसीरमा बर्दिबासको अधिवेशन सम्पन्न गर्ने माओवादी केन्द्रको तयारी रहेको खड्काले जनाए।

महोत्तरीमा पालिकाको अधिवेशनमा विवाद उत्पन्न भएपछि समाधानका लागि माओवादीका शीर्ष नेताहरू नै अहिले पालिकाको उद्घाटन र बन्दसत्रमा सहभागी बनेका छन्। पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अहिले महोत्तरीमै छन्।

माओवादी केन्द्र महोत्तरीको वडा तथा नगर सम्मेलनमा आकांक्षीहरू धेरै भएपछि विवाद चर्किएको बताइएको छ। उम्मेदवारहरूको आ–आफ्ना दाबी र अडानका कारण सम्मेलन नै अन्योलमा परेको हो।

माओवादी केन्द्र महोत्तरीका अनुसार १३७ वडामध्ये १३० वडामा सम्मेलन सकिएको छ भने बाँकी सात वडामा विवाद कायम नै छ। केही पालिकाहरूमा विवाद कै कारण सम्मेलनको बन्दसत्र स्थगित भएका छन्।

जिल्लाका १५ पालिकामध्ये अहिलेसम्म सोनमा, पीपरा, सम्सी, महोत्तरी, रामगोपालपुर, भंगाहा, गौशला, जलेश्वर गरी ८ पालिकामा सफलतापुर्वक सम्मेलन सम्पन्न भएको माओवादी केन्द्रले दाबी गरे पनि आन्तरिक कलह उत्कर्षमा छ।

रागोपालपुर नगरपालिका र भंगाहा नगरपालिकामा असहमतिका बीच पदाधिकारी मनोनित गरेको स्थानीय नेताहरुको आरोप छ। माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्का र सांसद गिरिराजमणि पाखरेल पक्ष गरी दुई वटा प्यानल बनेपछि अधिवेशनमा विवाद उत्पन्न भएको हो।

दुवै नेता आ–आफ्नै उम्मेदवार चयन गर्न लागिपरेका छन्। खड्का र पोखरेलबीच देखिएको अडानले सर्वसम्मत हुन भने निक्कै अप्ठ्यारो बनिरहेको एक नेताले बताए।

यता, कतिपय वडाका सम्मेलन अझै निश्चित हुन सकेको छैन। वडा सम्मेलन अन्योलमा पर्दा पुसमा हुने भनिएको माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा प्रतिनिधि छान्नसमेत अफ्ठ्यारो स्थिति सिर्जना भइरहेको छ।

माओवादी केन्द्रको नगरपालिकाका लागि ६५ सदस्य र गाउँपालिकाका लागि ५५ सदस्य चयन गर्नुपर्ने प्रावधान छ। तर, सम्मेलन भइसकेका कतिपय पालिकामा विवाद कै कारण कतिपय पदहरू रिक्त नै छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved