बिचौलियामार्फत सेवाग्राहीसँग घुस लिएको वैदेशिक रोजगारका नासुमाथि आरोप

सेवाग्राहीबाट असुलेर नासुलाई रकम बुझाउँथे बिचौलिया

नेपालभ्युज

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंका नायब सुब्बा (नासु) दुर्गा प्रसाद पोखरेलसँगै एक जना बिचौलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप-पत्र दायर गरेको छ।

वैदेशिक रोजगारको सिलसिलामा श्रम स्वीकृति बनाउन आएका सेवाग्राहीलाई काममा आलटाल गरी अनलाइन फर्म भर्ने बिचौलियासँग जानुपर्ने बाध्यता सिर्जना गरी घूस मागेको नासु दुर्गाप्रसाद पोखरेलमाथि अख्तियारको आरोप छ। उनीसँगै कार्यालयमा बिचौलियाको काम गर्दै आएका खेमप्रसाद काफ्लेविरुद्ध पनि अख्तियारले आरोप पत्र दायर गरेको हो। सेवाग्राहीबाट घुस लिसकेको अवस्थामा अख्तियारले गत १७ कात्तिकमा नियन्त्रणमा लिएको थियो।

कार्यालयमा श्रम स्वीकृति लिन आएका सेवाग्राहीलाई दुःख दिएर हैरानी पारेको र घुस दिन बाध्य पारेका सेवाग्राहीको सूचनाका आधारमा उनीहरूलाई अख्तियारले समातेको हो। नासु पोखरेलले बिचौलिया काफ्लेमार्फत सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

नासुलाई रकम बुझाएका थिए बिचौलियाले

उक्त आरके फोटोकपी सञ्चालकद्वय खेम प्रसाद काफ्ले र राजेश पोखरेलले श्रम स्वीकृतिको काम नभई फर्केर उनको फोटोकपी पसलमा आएका सेवाग्राहीलाई बिमा तथा श्रम स्वीकृतिको अनलाइन फाराम भरी श्रम स्वीकृति छिटो छरितो उपलब्ध गराइदिने भनी घुस रकम असुलेका अख्तियारको आरोपमा जनाइएको छ।

वैदेशिक रोजगार कार्यालय ताहाचलमा राम्रो लिंक छ भनी काफ्ले र राजेश पोखरेलले सेवाग्राहीसँग २१ हजार २ सय ९२ रुपैयाँ घुस मागेर नासु पोखरेललाई बुझाएका पनि अख्तियारको आरोप पत्रमा उल्लेख छ।

उनीहरूउपर बिगो १३ हजार २९२ रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज (सोमबार) विशेष अदालत काठमाडौंमा अख्तियारले आरोपपत्र दायर गरेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved