कांग्रेस १४ औँ महाधिवेशन

प्रदेशस्तरीय चुनावको सन्देश : देउवा पराजित गर्न इतर समूहको साझा उम्मेदवार हुनैपर्छ

“प्रदेश अधिवेशनभन्दा पहिला पनि हामीले सबै मिलेर यो पटक सर्वसम्मत गरौँ भनेकै हो”, देउवा पक्षका सहमहामन्त्री प्रकाशशरण महतले भने, “देउवालाई नेतृत्वमा दोहोर्‍याउने हाम्रो बटमलाइन हो। यसमा तयार नभएपछि सर्वसम्मतको सम्भावना रहँदैन।”

प्रदेशस्तरीय चुनावको सन्देश : देउवा पराजित गर्न इतर समूहको साझा उम्मेदवार हुनैपर्छ

काठमाडौं। नेपाली कांग्रेसलाई १४ औँ महाधिवेशनको चटारोले छोपेको छ। प्रदेश २ बाहेक बाँकी ६ प्रदेशमा निर्वाचनबाट प्रादेशिक नेतृत्व चुनेपछि कांग्रेसजन केन्द्रीय महाधिवेशनमा एकोहोरिएका छन्। अनौपचारिक हिसाबले सभापति, महामन्त्रीका प्रत्यासीले आ-आफ्नै ढंगले नामहरु घोषणा गरे पनि पदाधिकारीका उम्मेदवारहरुको प्रष्ट चित्र आइसकेको छैन ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुन: नेतृत्वमा आउन चाहेको कुरा लुकेको छैन। उनले पनि आफूबाहेक आफ्नो प्यानल सार्वजनिक गर्न सकेका छैनन्। सभापतिका अरु आकांक्षी रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला आदिले पनि अनौपचारिक रुचि मात्रै देखाएका छन्।

संस्थापन र इतर दुवै पक्षबाट प्रष्ट प्यानल सहितको उम्मेदवार भएको घोषणा आउन सकेको छैन। धेरैको आकर्षणको केन्द्र बनेका गगन थापाले महामन्त्रीको उम्मेदवारी घोषणा गरेपनि उनी कुन प्यानलबाट प्रतिस्पर्धा गर्दैछन्, प्रष्ट छैन। विश्वप्रकाश, प्रदीप पौडेल लगायतका अरु आकांक्षीहरुको पनि अवस्था उही छ।

यो पृष्ठभूमिमा प्रादेशिक स्तरको चुनावले यी आकांक्षीहरुलाई आफ्नो शक्ति र हैसियत थाहा पाउने अवसर दिएको छ । कांग्रेसभित्र प्रादेशिक स्तरीय चुनाव केन्द्रीय महाधिवशेनका लागि महत्वपूर्ण सन्देशका रुपमा रहेका अथ्र्याउन लागिएको छ । चुनाव हुन नसकेको प्रदेश दुई मा देउवा र निधिवीच टक्कर भइरहेको बुझिन्छ भने चुनाव भएका प्रदेशहरुमा देउवा पक्ष हावी भएको देखिएको छ ।

जस्तो- कर्णाली प्रदेश र सुदूरपश्चिममा देउवा पक्षीय उम्मेदवार ललितजंग शाही र बीरबहादुर बलायरले सभापतिमा जितेका छन्। बागमती प्रदेशमा पनि दोस्रो चरणको चुनावमा देउवा समूहकै इन्द्र बानियाँले सभापतिमा जिते। प्रदेश १ मा कृष्ण सिटौला पक्षका उद्धव थापाले गुरु घिमिरेलाई झिनो मतले पराजित गरे। लुम्बिनी र गण्डकीमा भने पौडेल पक्षीय नेताहरु क्रमशः अमरसिंह पुनः र शुक्रराज शर्माले जितेका छन्। प्रादेशिक तहका चुनावका अरु पदाधिकारी र सदस्यहरुको नतिजा आउने क्रममा छ। कतै मतगणना जारी छ त कतै आइसकेको छ।

सबैलाई चासो छ, कांग्रेसको आगामी नेतृत्व कस्तो होला? देउवा दोहोरिएलान् कि नयाँ अनुहार आउला? यसप्रश्नको जवाफ खोज्न वडादेखि प्रदेशसम्मको निर्वाचनले दिएको सन्देशहरु पर्गेल्नुपर्ने हुन्छ। कांग्रेस स्रोत भन्छ- महाधिवशेन प्रतिनिधि निर्वाचनमा देउवाको वर्चश्व छ । चुनिएका मध्ये कम्तीमा ४२ प्रतिशत प्रतिनिधि देउवा पक्षीय भएको अनुमान छ। बाँकी पौडल खेमा, निधि, प्रकाशमान, शेखर आदिमा बाँडिएका छन्।

प्रदेशको चुनावले पनि देउवाको अवस्था सुदृढ भएकै सन्देश दियो। यो अवस्थामा नयाँ अनुहार दोहोरिन देउवाबाहेकका सबै पौडेल, निधि, सिंह, कोइराला आदि एकै ठाउँमा आउनुपर्ने देखिन्छ। १३ औँ महाधिवशेनमा दोस्रो चरणमा जितेका देउवाले यसपटक पनि विजय प्राप्त गर्न दोस्रो चरणमै जानुपर्ने देखिन्छ। कदाचित उनले सिटौला समूहलाई व्यवस्थापन गर्न सके पहिलो चरणमै जित्न सक्ने अनुमान पनि कांग्रेसवृत्तमा हुने गरेको छ।

कांग्रेस नेता अर्जुन नरसिंह केसी भन्छन्, “नेतृत्व परिवर्तन जरुरी छ । त्यसका लागि देउवाबाहेक सबै एक ठाउँमा आउनुको विकल्प छैन। शुरुदेखि नै यो प्रयासमा छौं। गृहकार्य पनि भइरहेको छ। देउवा इतर एउटा सहमित बन्छ, जो नेतृत्व परिवर्तनका लागि निर्णायक हुन्छ।”

गण्डकी प्रदेशमा भएको चुनावले त्यही सन्देश दियो । केसीले दाबी गरे पनि देउवा इतर समूहबाट सभापति र महामन्त्रीमा साझा उम्मेदवार बन्न सक्ने अवस्था देखिँदैन । बरु देउवा पक्षले शुरुदेखि नै सिटौला समूहसँग तालमेल गरेर बढेको देखिन्छ। काठमाडौंको स्थानीय निर्वाचनदेखि नै देउवा-सिटौला गठबन्धन बनेको देखिन्छ, जुन देउवालाइ बागमती प्रदेशमा आफ्नो नेतृत्व ल्याउन काम लागेको छ भने प्रदेश एकमा जिल्ला तहसम्म बलियो देखिएको कोइराला पक्षलाई माथ लगाउनसम्म काम गरेको छ ।

देउवा पक्षका सहमहामन्त्री प्रकाशशरण महत आफूहरु पार्टी भित्र सबैसँग सहकार्य गर्न तयार रहेको बताउँछन्। “प्रदेश अधिवेशनभन्दा पहिला पनि हामीले सबै मिलेर यो पटक सर्वसम्मत गरौँ भनेकै हो”, उनले भने, “देउवालाई नेतृत्वमा दोहोर्‍याउने हाम्रो बटमलाइन हो। यसमा तयार नभएपछि सर्वसम्मतको सम्भावना रहँदैन।”

६ प्रदेशमा कसको कति मत ?

प्रदेश १: सभापतिमा पुर्वमहामन्त्री सिटौला पक्षका उद्वव थापा विजयी भए । उनलाई देउवा पक्षको सहयोग थियो । पौडेल-कोइराला पक्षका गुरुराज घिमिरेलाई उनले दुई मतले हराए । थापाले ८४४ मत पाउँदा घिमिरेले ८४२ मत ल्याएका हुन ।

बागमती प्रदेशः देउवा पक्षका इन्द्र बानिया विजयी भए । बानियाँले १०८५ मत ल्याए भने उनका प्रत्यासी जगदिश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरे । उनी देउवा इतर पक्षका सभापति थिए । बानियाँले १५८ मतान्तरले केसीलाई सभापतिमा पराजित गरेका हुन् । शनिबार भएको निर्वाचनमा तीनै जना उम्मेदवारले प्रद५० प्रतिशत बढी मत ल्याउन नसकेपछि आइतबार पुन निर्वाचन भयो । पहिलो चरणको निर्वाचनमा तेस्रो भएका भिनसेनदास प्रधानले दोस्रो चरणमा बानियालाई समर्थन गरेका थिए।

गण्डकी प्रदेशः सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । शर्मा पौडेल पक्षका हुन् । उनले सभापति पदमा ८४ मतअन्तरले प्रदेशको नेतृत्व हातमा पारेका हुन्। कुल ११४६ मत खसेकोमा उनले ६१२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी देउवा पक्षका अर्जुनप्रसाद जोशीले ५२८ मत ल्याए ।

लुम्बिनी प्रदेशः पौडेल पक्षका अमरसिंह पुन प्रदेश पार्टी सभापतिमा निर्वाचित भएका छन् । पुनले सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार शाहलाई ८५ मतले हराएका हुन् । सभापतिमा निर्वाचित पुनले ८५२ मत पाउँदा शाहले ७६७ मत ल्याएका हुन ।

कर्णाली प्रदेश: देउवा पक्षका उम्मेदावर ललितजंग शाही सभापतिमा विजयी भएका छन् । शाही ४२२ मत ल्याएर सभापितमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीले ३१७ मत ल्याएका हुन् । सभापतिका अर्का उम्मेदवार मोतिराम बमले भने सात मत मात्रै ल्याए ।

सुदूरपश्चिम प्रदेश: देउवा पक्षका वीरबहादुर बलायर सभापतिमा विजयी भएका छन् । प्रदेशमा कुल खसेको मत १००३ मध्ये बलायरले ६८८ मत ल्याउँदा प्रतिस्पर्धी नारायणदत्त मिश्रले २८० मत्र मात्र ल्याए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved