कांग्रेस महाधिवेशन

कांग्रेसमा परिवारवाद बीपीबाटै शुरू भएको हो

उनलाई आफूपछि आफ्नो परिवारमा पार्टीको नेतृत्व आउँछ, आउँदैन भन्ने चिन्ता थियो। यो हिसाबले हेर्दा पार्टीभित्रको परिवारवादको चिन्तन बीपीबाटै शुरु भएको हो भन्न सकिन्छ।

कांग्रेसमा परिवारवाद बीपीबाटै शुरू भएको हो

बीपीका समकालिन नेतामा उनलाई चुनौती दिनसक्ने कोही थिएन। नीतिगत हिसाबमा अन्य नेताले आफूलाई लागेको कुरा बताए पनि बीपीको कुरा काट्न कसैले सक्दैन थियो। बीपी भारत निर्वासनबाट फर्किदासम्म पनि उनको विचार सर्वमान्य अवस्थामा थियो। नीतिगत छलफल त हुन्थ्यो । नेताहरूले आफ्नो असन्तुष्टि व्यक्त पनि गर्थे तर पार्टीका लागि जे उपयुक्त हुन्छ त्यसैमा सहमत हुन्थे ।   पार्टीलाई बलियो बनाउने विषयमा सबै नेताको एकमत हुन्थ्यो।

२००७ सालपछि २०१५ सालसम्म नेपाली कांग्रेस धेरै समय सत्तामा नबसे पनि नेपालको राजनीति नेपाली कांग्रेसकै वरिपरी नै केन्द्रित थियो।  टंकप्रसाद आचार्यले चलाएका विचारधारादेखि लिएर अन्य राजनीतिक व्यक्तिको विचारधारामा पनि नेपाली कांग्रेस र त्यसका नेता बीपीको प्रभाव देखिन्छ।

२०१५ देखि २०१७ सालसम्म कांग्रेस सत्तामै थियो। त्यस क्रममा पनि बीपी इतरका विचार नेपाली राजनीतिमा नआएको होइन। कैयौँ विषयमा बीपीकै विचारलाई संसद् र बाहिर चुनौती दिइएको पाइन्छ।

वैचारिक हिसाबमा चुनौती नै आए पनि बीपीले सबैलाई आफ्नो विचारमा सहमत गराउन सक्ने हैसियत राख्थे। यसको एउटा उदाहरण छ– त्यतिबेला भरत शमशेर प्रमुख प्रतिपक्ष दलका नेता थिए । बीपीको आलोचना उनले खुबै गर्थे यद्यपि, धेरै विषयमा उनको विचारसँग सहमति राख्थे।

प्रमुख प्रतिपक्ष दलका नेता भरत शमशेरले देशमा संसदीय व्यवस्थाका विरुद्धमा राजा महेन्द्रले जुन प्रकारको व्यवहार देखाए त्यो अवस्थामा बीपीको मार्ग अनुसरण गर्ने अवस्था थियो। शमशेरले राजाले यदी संसदीय व्यवस्था भंग गरे भने म तपाईको समर्थनमा उभिन्छु भनेर बीपीलाई भनेका थिए।

बीपीका विचार देश र जनताका लागि भएकै कारण उनीसँग असहमति राख्नुपर्ने कारण उनको आलोचकहरूलाई हुँदैनथियो। त्यसकारण पनि उनले भनेका कुरा काट्न कसैले प्रयास गर्दैन थिए।

२०१७ सालको पञ्चायती व्यवस्थापछि जेल परेका बीपी २०२५ सालसम्म जेलमा रहे। त्यस समयमा कांग्रेसको नेतृत्व सुवर्ण शमशेरले गरे। शमशेरले सशस्त्र क्रान्तिको घोषणा गरे जसमा कांग्रेसभित्र ठूलो विवाद थिएन। यसले कांग्रेस भनेको नेतृत्वलाई सम्मान गर्ने पार्टी हो भन्ने छाप परेको थियो। शमशेरको निर्णयलाई भारत निर्वासनमा बसेका कांग्रेसका अन्य नेताले पनि स्वीकार गरेको देखिन्छ। त्यही निर्णयलाई स्वीकार गरेकै कारण कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति भएको हो।

सन् १९६२ मा भारत र चीनबीच भएको युद्धपछि कांग्रेस नेतृत्वको सशस्त्र विद्रोह समाप्त भयो। त्यो समयपछि भने कांग्रेसभित्र एक प्रकारको विवादको अवस्था सिर्जना भएको देखिन्छ। शमशेर राजासँग मेलमिलाप गरेर नै देशमा परिवर्तनलाई संस्थागत गर्नुपर्छ भन्ने सोचाईमा पुगेका थिए। सरोजप्रसाद कोइराला, गिरिजा प्रसाद कोइला लगायतका नेता सशस्त्र आन्दोलनको पक्षमा थिए। क्रान्तिका समयमा देश बाहिर नगएर देशभित्रै बस्नुपर्छ भन्ने विचार पनि पार्टीमा थियो। त्यसको नेतृत्व कृष्णप्रसाद भट्टराईले गरेका थिए। भट्टराई जेल बस्न तयार भए तर देश छोडेर बाहिर गएनन्। देशमा राजनीतिक परिवर्तन गर्न देश बाहिर बसेर हुँदैन भन्ने भट्टराईको मत थियो। त्यही कारण निर्वासनमा गएका महेन्द्र नारायण निधि पनि देश फर्किएका थिए।

पञ्चायत कालमा कांग्रेसभित्र मूलतः तीन समुह देखापरेका थिए।

१. सशस्त्र आन्दोलनको पक्ष

२. सशस्त्र आन्दोलन गर्नु हुँदैन भन्ने पक्ष

३. देशभित्रै बसेर राजासँग संर्घष गर्नुपर्छ भन्ने पक्ष

तीनै किसिमको विचारमा बीपीको असहमति थिएन। त्यस समयमा बीपी जेलमा थिए। बीपीले आफू जेलमा भएको समयमा पार्टीको निर्णय गर्ने अधिकार सुवर्ण शमशेरसँग भएकाले उनले जे भन्छन् त्यही हुन्छ भन्थे।

२०२५ सालमा बीपी जेलबाट बाहिर आउँदा सुवर्ण शम्शेरको नेतृत्वमा नै पार्टी भए पनि बीपीको व्यक्तित्वका कारण उनलाई नै सबैले मूल नेतृत्व मानेको पाइन्छ। बीपीले अभिव्यक्त गरेका विचारले देशको राजनीतिमा प्रभाव पाथ्र्यो नै। बीपीको विचारको विरोध गर्नसक्ने अवस्था न सुवर्ण शमशेरसँग थियो न अन्य कुनै नेतामा।

जेलबाट बाहिर आएपछि बीपी राजासँग सशस्त्र हिसाबमा भिड्नुपर्छ भन्ने लाइनमा थिए। आफ्नो विचारसँग सहमत नहुने व्यक्तिको उनले विरोध नगरे पनि उनको आफ्नो निजी विचार भने सशस्त्र आन्दोलन गर्नुपर्छ भन्ने थियो। त्यही कारण बीपी नेपाल छाडेर भारत निर्वासनमा गए।  प्रत्यक्ष संलग्नता नदेखिए पनि उनी भारतमा रहँदा योजनाबद्ध हिसाबमा नेपालमा हवाई जहाजको अपहरण भयो।

सशस्त्र आन्दोलनबाट नै राजालाई घुँडा टेकाउनुपर्छ भन्ने विचारका बीपी हुँदा सुवर्ण शमशेर भने मेलमिलापको पक्षमा थिए। पार्टीमा दुई पक्षको आआफ्नै विचार रहे पनि त्यसले बीपी र सुवर्णबीचको सम्बन्धमा खासै नकारात्मक प्रभाव पारेन।

पार्टी सञ्चालनका लागि सुवर्णले आर्थिक सहयोग गरे पनि  नीति निर्माणमा उनले एकलौटी गर्न सक्ने अवस्था थिएन। एक त चाहनाको कुरा थियो भने अर्को बीपीको व्यक्तित्वले पनि काम गरेको थियो । अर्कोतर्फ सुवर्ण शमशेर बीपीलाई चुनौती दिएर अघि बढ्न सक्ने अवस्थामा थिएनन्। मैले नेतृत्व गर्छु भन्ने चाहना सुवर्णले कहिल्यै राखेनन्। २०१५ को आम निर्वाचनपछि राजा महेन्द्रले सुवर्णलाई प्रधानमन्त्री बनाउने चाहना राखेका थिए। त्यसमा उनी त्यसमा अग्रसर भएनन्। सत्तामा जाने चाहना र महत्वाकांक्षा जति बीपीमा देखिन्छ त्यति सुवर्णमा थिएन भन्ने प्रशस्तै आधार छन्।

२०१४ सालबाट शुरु भएको आम निर्वाचनमा गणेशमान सिंह र  सुवर्ण शमशेर एकअर्का विरुद्धमा उठ्ने भए। गणेशमानलाई आफ्नो कुरा मनाउन नसकिने थाहा पाएका बीपीले उनी विरुद्ध आफ्ना कार्यकर्ता लगाएर उनलाई हराउने काम गरे। दुई वर्षपछि सुवर्ण शमशेरको विरुद्धमा बीपीले गिरिजा लगायतका व्यक्तिलाई लगाएर उनलाई राजीनामा गर्न लगाए।

अहिलेको राजनीतिमा सत्तामा आउन जुन प्रकारको तिकडम हुन्छ त्यस समयमा बीपीले गरेका थिए। बीपीको व्यक्तित्वका कारण त्यसलाई अन्यले विवादको विषय बनाएनन् त्यो फरक पक्ष हो।

बीपी सम्पूर्ण हिसाबमा सक्षम व्यक्ति भने होइनन्। उनका पनि केही कमजोरी छन्। भावी नेतृत्व स्थापित गर्न नसकेकोमा बीपीको आलोचना हुने गरेको छ। उनलाई आफूपछि आफ्नो परिवारमा पार्टीको नेतृत्व आउँछ, आउँदैन भन्ने चिन्ता थियो। यो हिसाबले हेर्दा पार्टीभित्रको परिवारवादको चिन्तन बीपीबाटै शुरु भएको हो भन्न सकिन्छ।

बीपीले आफ्नो जीवनको अन्तिम क्षणमा चार नेतालाई पार्टीको नेतृत्व सुम्पिए। गणेशमान, कृष्णप्रसाद, गिरिजा र सिके प्रसाईलाई कांग्रेसको नेतृत्व जिम्मा दिए पनि वैचारिक व्यक्ति प्रसाईलाई अघि बढाइएन। तीन व्यक्ति नेतृत्वमा स्थापित हुँदा प्रसाईलाई छुटाइयो। नेपाली कांग्रेसका नेताहरूलाई विचार होइन समुह चाहिएका कारण प्रसाई नेतृत्व तहबाट छुटेका थिए, यसमा तीनै जना नेता उत्तिकै दोषी छन्।

बीपीलाई नेपाली कांग्रेसको विचारक भने पनि उनका केही कमजोरी छन्। नेपाली परिप्रेक्ष्यमा बीपी समाजवादको प्रमुख वकालत गर्ने व्यक्ति हुन्। नेपाली साहित्यमा पनि योगदान दिएका उनले नेपाललाई कस्तो प्रकारको समाजवाद आवश्यक छ त्यसको व्याख्या गर्ने काम भने गरेनन। समाजवादका विषयमा थप एक पुस्तक लेखिदिएका हुन्थे भने आज पार्टी समाजवादका विषयमा रनभुल्ल पर्नुपर्ने अवस्था आउँदैन थियो होला। यस विषयमा केही लेख र भाषण रहे पनि त्यो समाजवादको व्याख्याका लागि पर्याप्त छैनन्। यो उनको राजनीतिकसँगै साहित्यिक पक्षको कमजोरी हो।

२०४६ सालअघिको सन्दर्भमा कांग्रेसकै विचारमा देश सञ्चालन भए पनि त्यसपछिको अवस्थामा भने कम्युनिष्ट पार्टीको योगदानलाई हामीले छुटाउनु हुँदैन। दरबार आफै पनि २०४६ सालअघि कांग्रेसले निश्चित विषयमा के भन्छ भन्ने कुराको प्रतिक्षामा हुन्थ्यो। प्रजातन्त्र स्थापनापश्चात भने त्यो अवस्था रहेन।

बीपीको मात्रै होइन उनीपछिका कोइराला परिवारको पनि नेपाली कांग्रेसको राजनीतिमा ठूलो प्रभाव देखिन्छ। गिरिजा र पछि सुशील कोइरालासम्म त्यो देखिए पनि पछिल्लो समय कोइराला परिवारको पार्टीमा प्रभाव कम हुँदै गएको छ। मेरो परिवारको यो पार्टीमा योगदान छ भनेर मात्रै पार्टीमा स्थापित हुनसक्ने अवस्था अहिले छैन।

शेखर, शशांक र सुजताको पार्टीमा जति भूमिका छ एउटा सामान्य कार्यकर्ताको पनि कांग्रेस पार्टीमा त्यतिकै भूमिका छ। पार्टीभित्र रहेका कैयौँ योग्य व्यक्ति पाखा लाग्दै गर्दा पारिवारिक विरासतकै कारण उनीहरू अघि बढ्न पाउने अवस्था आउनुहुँदैन। पार्टीभित्रै संघर्ष गरेर स्थापित हुने विषय छुट्टै भयो तर परिवारकै सदस्यको सहायताले स्थापित हुन खोज्दा त्यसले पार्टीलाई कमजोर बनाउँछ।

पारिवारिक विरासतकै आधारमा पार्टीको राजनीतिमा प्रवेश पाउने काम अहिले पनि भएको छ। केही नेताका छोराहरू महाधिवेशन प्रतिनिधिमा चुनिएका छन्। राजनीति गर्न पाइन्छ तर, पारिवारिक विरासतलाई आधार बनाएर राजनीतिक हैसियत बढाउने काम गलत हुन्छ।

दोस्रो जनआन्दोलनपछि कांग्रेसको राजनीतिलाई दुर्भाग्यपूर्ण भन्न सकिन्छ। यथार्थमा नेपाली कांग्रेसले आफ्नो नीति नै परिवर्तन गर्‍यो त भन्न सकिँदैन यद्यपि, पार्टीले अपनाउनुपर्ने राजनीतिक एजेण्डा भने अरूले बोकेको देखिन्छ। आज नेपाली कांग्रेस जुन बाटोमा हिड्नु पथ्र्यो त्यो बाटोमा हिँडेको देखिँदैन। निर्वाचनमा कम्युनिष्ट पार्टीको कार्यकर्तालाई भोट हाल्न भन्ने देखि अनेक प्रकारका विचलन पार्टीभित्र देखियो। एकाध सन्र्दभमा हाम्रो पार्टीको उम्मेद्वारलाई होइन अन्य पार्टीको उम्मेद्वारलाई भोट हाल्न भन्नेसम्मको काम भएको छ। यो किसिमको राजनीति राम्रो होइन। सत्तामा जाने आफ्नो बलबुतामा हो। आफ्नो स्थिति बलियो नबनाइ अरूको आडमा सत्तामा पुग्न खोज्दा पार्टी स्वतः कमजोर हुन्छ ।

अहिलेको महाधिवेशनमा नेताहरूको विचारधारा पनि सही रूपमा प्रकट हुन सकेको छैन। कतिपय सन्र्दभमा नेताहरूमा विचार शुन्यताको अवस्था देखिन्छ। सभापति पदको दाबेदारी गर्ने मध्ये दुई नेताले मात्रै आफ्नो विचार सार्वजनिक गरेका छन्। शेरबहादुर देउवा र विमेलेन्द्र निधि। सत्तामा आउँदा अन्य नेताको योजना के हुन्छ भन्ने सार्वजनिक नै भएको छैन। उनीहरू मात्रै सत्ताको आकांक्षी देखिएका छन्। नेतृत्वको विरोध गरेर मात्रै नेतृत्वमा स्थापित हुन सकिदैन भन्ने तथ्य उनीहरूले बिर्सिएका छन्।

१४ औँ महाधिवेशनमा यदी इतर पक्षले देउवालाई हराउने हो भने त्यो पक्षले साझा उम्मेद्वार बनाउनुपर्छ। त्यसका लागि रामचन्द्र पौडेल सबैभन्दा उपयुक्त पात्र हुन्। केही समयलाई पौडेलको नेतृत्वलाई स्वीकार गर्दै इतर समुहले उनलाई साझा उम्मेद्वारका रूपमा प्रस्तुत गर्दा राम्रो हुने मेरो बुझाई छ।

नेपाली कांग्रेसमा युवा पुस्ता जबरजस्त रूपमा आएको छ, यो राम्रो हो। तर, जति पनि युवा आएका छन्् उनीहरू या त वैचारिक रूपमा प्रशिक्षित भएर आएका छन् या नेताबाट। वैचारिक रूपमा प्रशिक्षित भएर आएका गगन थापा, प्रदीप पौडेलहरूले पार्टीलाई नयाँ जीवन दिन सहयोग पुर्याउँछ। नेतालाई मात्रै आधार बनाएर राजनीतिमा आउनेहरू पार्टीलाई बलियो बनाउने भन्दा आफ्नो स्वार्थका कारण पार्टीसँग जोडिएका छन्। कुनै नेता स्थापित हुँदा उसँगको सम्पर्कका कारण आफ्नो स्वार्थ सिद्ध हुने मनसाय राख्दै उनीहरू राजनीतिमा लागेको देखिन्छ, यो गलत हो।

(डा. गौतमसँग नेपालभ्यूजकर्मी पुरुषोत्तम पौडेलले गरेको कुराकानीमा आधारित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved