पूर्वअफगानी सुरक्षाकर्मीलाई तालिबान लडाकुले छानी छानी मारेको आरोप

नेपालभ्युज

पूर्वअफगानी सुरक्षाकर्मीलाई तालिबान लडाकुले छानी छानी मारेको आरोप
फाइल तस्वीर

एजेन्सी । अमेरिका र उसका साझेदार देशले तालिबानलाई अफगानिस्तानका पूर्वसुरक्षाकर्मीलाई नमार्न आग्रह गरेको छ। तालिबानी समूहले अफगानिस्तानको पूर्वसुरक्षा फोर्समा काम गरेका व्यक्तिलाई छानी छानी मारेको भन्दै अमेरिकालगायतका देशले त्यस्तो नगर्न आग्रह गरेको हो।

२२ देशले जारी गरेको एक संयुक्त विज्ञप्तिमा अफगानिस्तानी सरकार र सुरक्षा फौजको पूर्वकर्मचारीमाथि हमला नगर्न भनेको हो। “हामी अफगानिस्तानी सरकारका पूर्वकर्मचारीको हत्या र बेपत्ता पारिएको घटनाप्रति गहिरो चासो व्यक्त गर्दछौं’ २२ देशले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अफगानिस्तानको तालिबानी शासकले १५ अगष्टमा सत्ताकब्जा गरेसँगै पूर्वसरकारका कर्मचारीलाई प्रतिशोध साँच्दै हत्या गर्ने र बेपत्ता पारेको आरोप छ।

अघिल्लो हप्ता ह्युमन राइट्स व्याचले सार्वजनिक गरेको प्रतिवेदनमा तालिबानले सत्ताकब्जा गरेसँग एक सयजनाभन्दा बढी मानिसको हत्या र बेपत्ता पारिएको जनाएको छ।

यस्तै तालिबानले सत्ताकब्जा गरेसँगै आत्मसमर्पण गरेको पूर्वअफगानी सुरक्षाकर्मीमध्ये ४७ जनालाई तालिबानले हत्या गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। १५ अगष्टदेखि ३१ अक्टोबरसम्ममा यो हत्या भएको प्रतिवेदनको दाबी छ।

तालिबानले पूर्वसरकारका कर्मचारीलाई कुनै हानी नगर्न जनाएको प्रतिबद्धताविरुद्ध कमदका रूपमा यी हत्यालाई लिइएको छ। अमेरिकाले जारी गरेको छोटो वक्तव्यमा बेलायत, यूरोपियन संघ र अन्य १९ देशको हस्ताक्षर रहेको छ।

‘हामी तालिबानले चाल्ने कदमअनुसार उसको मूल्याङ्कन गर्छौं’, २२ देशले जारी गरेको प्रतिवेदनको अन्त्यमा लेखिएको छ।

यसअघि मानव अधिकारसम्बन्धी काम गर्ने क्षेत्रले पनि तालिबानले पूर्वअफगानी कर्मचारीलाई छानी छानी हत्या गर्ने गरेको उल्लेख थियो। तालिबानले आफ्नो प्रतिबद्धताभन्दा फरक प्रकारको व्यवहार गरेको आरोप अमेरिकाले लगाएको छ।

गत अगष्टमा एम्नेष्टि इन्टरन्याशनलले एक प्रतिवेदन सार्वजनिक गरेको थियो। सार्वजनिक प्रतिवेदनका अनुसार ३० अगष्टमा तीन सयभन्दा बढी तालिबानी लडाकु पूर्व सुरक्षाकर्मी बसेको स्थानमा गएको बताइएको थियो। पूर्व सुरक्षाकर्मी आफ्नो परिवारसँग बसेको स्थानमा तालिबानी लडाकु गएका थिए।

उक्त प्रतिवेदनअनुसार सो स्थानमा आत्मसमपर्ण गरेका नौ पूर्वसरक्षाकर्मीको हत्या गरेको थियो। यस्तै दोहोरो भीडन्तमा दुई जना सुरक्षाकर्मीको निधन भएको थियो भने दुई सर्वसाधारणको पनि निधन भएको थियो। सोही झडपमा पनि एक १७ वर्षीया बालिकाको पनि निधन भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved