मनमायाको मुस्कान, जसलाई बुढ्यौलीले छुँदैन

यही जिन्दगीले उनलाई यहाँ ल्याइपुर्‍याएको छ। संघर्ष सिकाएको छ। त्यही संघर्षले कहिल्यै नझर्ने मुस्कान ओठमा टाँसिदिएको छ।

मनमायाको मुस्कान, जसलाई बुढ्यौलीले छुँदैन

काठमाडौं। केश फुलेर शिर हिमालसरी भएको छ। मुहारमा समय हिँडेका धर्साहरू प्रस्ट देखिन्छन्। नेटो काटेछ उमेरले। ओठमा भने जवानी मुस्कान छ। आवाज पनि उस्तै जोशिलो, चर्को। पाटन ढोकाको मूलढोकानिरै बस्छिन् उनी, पिपल छहारीमा पछ्यौरा ओढेर। अगाडि पसारिहेका हुन्छिन्, अलिकति कागती, अलिकति खुर्सानी, अलिकति अदुवा, अलिकति लसुन। बस् ! यत्ति।

नाम, मनमाया तामाङ। घर सर्लाही। बास काठमाडौंमा एक्लै। अँ, एक्लै।

“बाक्लो दाल र दिनकै मासु खान एक्लै बसेकी नि”, आफैलाई व्यंग्य गर्दै भन्छिन् उनी। छोरा, बुहारीसँग खटपट परेपछि एक्लै बस्न थालेकी रे।

बाचाल स्वाभावले नै पाटन ढोकामा सबैको प्रिय छिन् उनी। भन्छिन्, “मरेर जाने सास हो धुमधुम्ती परेर बस्न मन लाग्दैन, हात गोडा चलुन्जेल काम गरेर खान्छु।”

स्कुल कस्तो हुन्छ थाहै छैन उनलाई। हातमा किप्याड मोबाइल छ। आफन्तसँग कुरा गर्न मन लागे नजिकैका कसैलाई गुहार्छिन्।

“हातमा मोबाइल भए पनि समय थाहा पाउँदिन”, उनी सुनाउँछिन्, “राति ब्युँझिए ओछ्यानबाटै झ्याल बाहिर चिहाउँछु,  अँध्यारो देखे ओछ्यानमा पल्टिन्छु, झिसमिसे उज्यालो देखे बोरा बोकेर कालिमाटीतिर निस्कन्छु।”

कृष्ण गल्ली पुगेर बस चढ्छिन्। कालिमाटीबाट २० किलो अदुवा, एक ढक (पाँच केजी) लसुन, कागती, खुसार्नी ल्याउँछिन्। त्यति तरकारी बेच्न कहिलेकाहीँ त तीन, चार दिन लाग्ने उनी बताउँछिन्।

“धेरैजसोले बुढी आमाको तरकारी किनौं भनेर किन्छन्”, हाँस्दै सुनाउँछिन्, “तरकारी बेचेर महिनामा चार हजार डेरा भाडा र हरेक दिन ५० रुपैयाँको मासु खान पुग्छ।”

ओखलढुगांमा जन्मेकी मनमायालाई जन्मिएको तिथिमिति थाहा छैन।

सानै छँदा आमा-बा बितेपछि दाजुभाजुले हुर्काएछन्। त्यतिबेला पहाडको दुःख चर्को। “त्यसबेला बिहान, बेलुका खान रातभरि जाँतो पिस्नुपथ्र्यो। अहिले जस्तो सुख, सुविधा कहाँ थियो र ? हेर्दा आत्तिने भिरालो बाटो ज्यानको माया मारेर रातभरी हिँडेर पानी लिन जानुपथ्र्यो”, विगत सम्झिन्छिन् उनी।

पहाडको दुःखले धेरैलाई बसाई हिँड्ने बनायो। उनका दाजु–भाउजु पनि बसाईँ हिँडे, मधेसतिर। सर्लाहितिर। उनी पनि दाजु–भाउजुसँगै हिँडिन्। पहाडबाट गएकाहरूले सर्लाहीमा जंगल फडानी गरेर बसे।

“त्यसबेला हात्तिले खुबै दुःख दियो। अहिले त्यहिँ शहर बनेको छ”, सुनाउँछिन् उनी।

सर्लाहिमै बिहे भयो उनको। मागी विवाह। सेतो घोडा चढेर आएका थिए रे बेहुला।

“श्रीमान झारफुक गर्नुहुन्थ्यो, धेरैजसो घर बाहिर नै बस्नु हुन्थ्यो”, जवानी हाँसोमा विश्राम लाग्छ। उदासीको एक लहर झोक्का अनुहारमा छाउँछ। सम्झिनै नपरे हुन्थ्योजस्तै गर्दै भन्छिन्, “जीवनभर साथ निभाउने बाचा गरे तर आधा बाटोमा नै छोडेर गए। सुन बनाउन पुर्व गएका गाडि पल्टेर उतै अस्ताए।”

पति बितेपछि वियोग मात्र परेन, तीन छोराछोरीको लालनपालन गर्ने जिम्मेवारी पनि पर्‍यो। जिम्मेवारीले थिचेपछि गर्नैपर्‍यो। रातभरी नसुती रक्सी पार्थिन्। बिहानै बजारमा बेच्न जान्थिन्। कहिले झिसमिसेमै डोको बोकेर बागमती बगरमा दाउरा बटुल्न जान्थिन्। भन्छिन्, “दिउँसो गए तातोले खुट्टा भरी जलजलाउँदा फोका हुन्थे।”

गाउँमा पढाउन पुगेका मास्टरसँग छोरालाई पाँच कक्षासम्म त पढाइन्। तर छोरीलाई पढाउन सकिनन्। घरधन्धामा सघाउँदा सघाउँदै छोरी काठमाडौं आइन्, गलैँचा कारखानामा काम गर्न। छोरी भेट्न आएकी उनी यतै बसिन्।

“सर्लाहिको हपहपी गर्मी सम्झेर फर्किन मन लागेन। गलैंचा कारखानामा धागो डल्ला बनाउने काम पाएँ”, सुनाउँछिन् उनी, “काठमाडौं आउँदा कपालका रौं काला थिए, अहिले हिमाल जस्तै भएका छन्।”

केश फुलेर के भयो र ? जोश उस्तै छ। जाँगर उस्तै।

“१२ वर्ष अघि प्रेसर देखियो । डाक्टरले नखान भनेपछि रक्सी पनि छोडेँ, चुरोट पनि छोडेँ”, हाँस्दै बताइन्, “जिन्दगीको चौपटै माया लाग्छ।”

यही जिन्दगीले उनलाई यहाँ ल्याइपुर्‍याएको छ। संघर्ष सिकाएको छ। त्यही संघर्षले कहिल्यै नझर्ने मुस्कान ओठमा टाँसिदिएको छ।

पाटन ढोका अहिले उनका लागि गाउँ भएको छ। भन्छिन्, “काठमाडौंमा बस्ने बानी परिसक्यो सर्लाही जाँदा दुई दिन बस्दा सुनसान लाग्छ छटपटी भएर बस्न सक्दिनँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved