राजनीतिक व्यवस्था नसुध्रिकोमा पूर्वराष्ट्रपतिको चिन्ता

“जन्मभूमिलाई कसरी आर्थिकरुपमा समृद्धि बनाउने भन्ने युवामा सपना र भिजन रहेको छ, त्यसलाई साकार बनाउन उचित वातावरण बनाउन सरोकारवालाले सहयोग गर्न जरुरी छ”, डा. यादवले भने।

नेपालभ्युज

काठमाडौं। पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकको राजनीतिक स्थिरताका लागि पञ्चायत, लोकतन्त्र र गणतन्त्र हुँदै ७० वर्षभन्दा बढी संघर्ष गरेर अहिलेको अवस्थामा आइपुगेको भए पनि अझै पनि देशको राजनीतिक व्यवस्था नसुध्रिएको र सुशासन प्रवद्र्धन हुन नसक्नु चिन्ताको विषय भएको टिप्पणी गरेका छन्।

नेपाली उत्पादनलाई विश्वबजारमा पहुँच अभिवृद्धि गर्ने र युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको गएराति उद्घाटन गर्दै डा. यदावले यस्तो बताएका हुन्।

डा यादवले विदेशी ज्ञान, सीप र प्रविधि भित्र्याएर युवा उद्यमशीलता विकासमा संस्थाले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

“जन्मभूमिलाई कसरी आर्थिकरुपमा समृद्धि बनाउने भन्ने युवामा सपना र भिजन रहेको छ, त्यसलाई साकार बनाउन उचित वातावरण बनाउन सरोकारवालाले सहयोग गर्न जरुरी छ”, डा. यादवले भने।

यादवले नेपाल अनुपम प्राकृतिक सुन्दरता र भौगोलिक विविधतायुक्त मुलुक भएको र विश्व पर्यटनका लागि आकर्षक गन्तव्य रहेको भन्दै देश घुम्ने र विश्वभरबाट पर्यटक नेपालमा भित्र्याउन पनि संस्थाले भूमिका खेल्नुपर्नेमा जोड दिए।

तराईको जङ्गल र चुरे क्षेत्र विनाश भइरहेको र विकासका नाममा डोजर लगाएर डाँडाकाँडा भत्काइएकोप्रति चिन्ता व्यक्त गर्दै यादवले जलवायु परिवर्तनको जोखिम नियन्त्रणका लागि पर्यावरण र चुरे क्षेत्रको संरक्षणमा विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए।

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासंघले नेपाली उत्पादनको विदेशमा प्रदर्शनी, बजारीकरणलगायत विषयमा सहजीकरण गर्ने र बढीभन्दा बढी युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved