कांग्रेस १४ औँ महाधिवेशन

प्रदेश २ मा त्रिपक्षीय भिडन्त

रामसरोज यादवसँगै कृष्ण यादव र रञ्जित कर्ण सभापतिका उम्मेदवार

उपसभापति विमलेन्द्र निधिको पक्षबाट भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा कृष्णा यादवले पार्टी सभापति देउवाको समूहबाट उम्मेदवारी घोषणा गरेका हुन्।

प्रदेश २ मा त्रिपक्षीय भिडन्त

जनकपुरधाम। नेपाली कांग्रेसको प्रदेश २ सभापति पदका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको समूहबाट कृष्णा यादवले उम्मेदवारी घोषणा गरेका छन्।

यादवले शुक्रबार जनकपुुरधाममा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश २ को सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्।

यादवले नेपाली कांग्रेसलाई प्रदेश २ मा थप मजबुत बनाउने लक्ष्यका साथ आफूले सभापति पदमा उम्मेदवारी दिन लागेको दाबी गरे। उनले आफू प्रदेश सभापति पदमा जितेपछि यस प्रदेशमा कांग्रेसलाई पहिलो नम्बरको पार्टी बनाउने दाबी गरे।

यसअघि कांग्रेस सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका उपसभापति विमलेन्द्र निधिको पक्षबाट भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा कृष्णा यादवले पार्टी सभापति देउवाको समूहबाट उम्मेदवारी घोषणा गरेका हुन्।

रौतहट स्थायी घर भएका कृष्णा दोस्रो पटक जिल्ला सभापति भइसकेका छन्। उनले २०३६ सालदेखि नै आफू बहुदलको आन्दोलनमा लागेको बताए। २०५६ सालमा महासमिति सदस्य भएका उनी २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनको समयमा रौतहटको निर्वाचन क्षेत्र नम्बर–४ बाट संविधानसभा सदस्य बनेका थिए।

२०६७ र २०७२ सालमा रौतहटको जिल्ला सभापति बनिसकेका उनले अहिलेसम्म आफू पार्टीको क्रियाकलाप र सम्पूर्ण गतिविधिमा निरन्तर संलग्न रहेको बताए। उनलाई कांग्रेसका महोत्तरी सभापति महेन्द्र राय यादवले पनि सभापतिमा समर्थन गरेका छन्।

यादवले उम्मेदवारी घोषण गरिरहँदा उनीसँग कांग्रेस निवार्चन समिति प्रदेश २ का संयोजक समेत रहेका कांग्रेसका नेता रमेश रिजाल, केन्द्रीय सदस्यहरु महेन्द्र यादव, आनन्दप्रसाद ढुङ्गाना लगायतको समर्थन रहेको दाबी गरेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट प्रदेश नम्बर २ को सभापतिका लागि नेता रञ्जित कर्णले पनि उम्मेदवारी दिने घोषणा गरेका छन्। कर्णलाई वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइरालासहित संस्थापनइतर समूहले अन्तिममा आएर प्रदेश सभापतिको उम्मेदवार बनाएको हो।

पौडेल र कोइरालाको टिमबाट उम्मेदवार तय नभएपछि पूर्वसंविधानसभा सदस्य कर्णलाई उम्मेदवार बन्न उनीहरुले आग्रह गरेको स्रोतले जनाएको छ। उनले भने, “मलाई पार्टीका साथीहरूले प्रदेश २ सभापतिको उम्मेदवार बन्न आग्रह गर्नुभएकोले तयार भएको छु।”

यस्तै, सभापतिका लागि सप्तरी सभापति दिनेश यादवले पनि इच्छा देखाएका छन्। यद्यपि, उनी भने खुलेर अहिलेसम्म आएका छैनंन्। यादव जिल्ला विकास समितिका सभापति भइसकेका छन्।

प्रदेश २ को प्रथम अधिवेशन प्राविधिक कारणले स्थगित भए पनि आकांक्षी उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन्। प्रथम प्रदेश अधिवेशन शुरु भए पनि प्रतिनिधिको नाम आउने क्रम जारी रहेको भन्दै निर्वाचन समितिले निर्वाचन प्रक्रिया स्थगित गरेको जनाइसकेको छ।

प्रदेशका केही जिल्लामा क्षेत्रीय अधिवेशन समेत हुन नसकेकाले निर्वाचन प्रक्रिया अनिश्चित बनेको छ। प्रदेश अधिवेशन आयोजक समितिका संयोजक रमेश रिजालले छिट्टै जिल्लाहरुमा क्षेत्रीय अधिवेशन हुने र प्रदेशको निर्वाचन प्रक्रिया शुरु गर्ने बताए।

शनिबार मतदाता नामावली प्रकाशन, त्यसमाथिको दाबी विरोध, उम्मेदवारी दर्ता र त्यसपछि दाबी विरोधका कार्यक्रमहरु निर्धारण गर्ने योजना रहेको रिजालले बताए। उनले भने, “बाँकी रहेका जिल्लामा भोलिसम्म क्षेत्रीय अधिवेशन हुनेमा म विश्वस्त छु। यदि हुन सकेन भने त्यस अनुसारको प्रक्रिया अगाडि बढाइनेछ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved