लिङ्देनको उम्मेदवारी: कुलीन र जनजातिको टक्कर

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारीले एकातर्फ राप्रपामा रहँदै आएको कुलीनहरूको वर्चस्वलाई चुनौती दिएको छ भने अर्कोतर्फ अनुदार भनिएको पार्टीमा पनि जनजाति समुदायको नेतृत्व स्थापित हुने अवसर सिर्जना गरेको छ।

लिङ्देनको उम्मेदवारी: कुलीन र जनजातिको टक्कर
फाइल तस्वीर

काठमाडौं। पञ्चायती व्यवस्थाका शासकहरूले निर्माण गरेको पार्टीको रूपमा परिचित छ, राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)। राप्रपाको तीन दशक लामो इतिहास हेर्दा पञ्चायतकालकै शासकहरू सुर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पुशपति शमशेर राणा, प्रकाशचन्द लोहनी र कमल थापा बाहेक अन्यले नेतृत्व गरेको पाइँदैन। त्यसैले पनि राप्रपालाई कुलीनहरूको पार्टी भनिएको हो।

१६ मंसीरदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको राप्रपाको महाधिवेशनमा यो कुलीन घरानालाई चुनौती दिइरहेछन्, पूर्वी नेपालका जनजाति समुदायका राजेन्द्र लिङ्देनले। पार्टीलाई सानो घेराबाट निकालेर आम नागरिकको बनाउने एजेन्डासहित उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्।

रोचक त, लिङ्देनलाई राप्रपाको राजनीतिमा प्रवेश गराएर स्थापित गराउने कमल थापा नै यो महाधिवेशनमा उनको मुख्य प्रतिस्पर्धी छन्। कमल थापा र लिङ्देन दुवैले आज (१७ मंसीर) अध्यक्षका लागि आ-आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्।

संसदीय निर्वाचनमा कृष्णप्रसाद सिटौलालाई पराजित गरेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएदेखि लिङ्देन चर्चामा आएका हुन्।

राप्रपाको अध्यक्षमा थापाकै निरन्तरता हुनेछ कि लिङ्देन आउनेछन् भन्ने महाधिवेशन निर्वाचनबाट थाहा हुनेछ। तर त्यसअघि नै लिङ्देनको अग्रसरताले राप्रपा वृत्तमा मात्रै नभई सिंगो राजनीतिक वृत्तमा उनीबारे टिकाटिप्पणी शुरु भएको छ।

कमल थापाविरुद्ध उठ्न लिङ्देनलाई नेपालगञ्जका मेयर धवलशमशेर राणाले आड दिएका छन्। राणाको साथलाई पूर्व राजपरिवारको आडको रूपमा पनि लिइएको छ तर लिङ्देन स्वयं भने त्यसको खण्डन गर्छन्।

१६ मंसीरमा महाधिवेशनस्थल भृकुटिमण्डपमा पत्रकारहरूसँग लिङ्देनले पार्टीको सानो दायरा फराकिलो बनाउन र पार्टीले बोक्दै आएको एजेन्डालाई सर्वस्विकार्य बनाउन अध्यक्षमा दाबी गरेको बताए। तर उनले पूर्वराजा ज्ञानेन्द्रसँग आफ्नो भेट भएको भने लुकाएनन्। बरु अध्यक्षका अर्का दाबेदार कमल थापाले पनि पूर्वराजासँग भेट गरेको सूचना पनि चुहाए।

“एजेन्डा जसले बलियो बनाउँछ, सायद पूर्वराजपरिवारले पनि उसैलाई समर्थन गर्छ जस्तो लाग्छ”, उनले भने, “तर पार्टी पार्टी जस्तो नै बनेन। पार्टी बलियो नभइकन मुद्दा पनि बलियो हुँदैन।”

लिङ्देनको उदयले के फरक पार्छ ?

लिङ्देन पार्टी नेतृत्वमा आए राप्रपामा पहिलोपटक काठमाडौं बाहिरको राजनीतिक स्कुलिङबाट आएका व्यक्ति शीर्ष पदमा पुग्नेछन्। साथै लिङ्देन जनजाति समुदायका हुन्। दोस्रो जनआन्दोलनपछि नेपालमा जातीय, भाषिक र क्षेत्रीय समावेशीकरणको आवाज उठे पनि राप्रपा त्यसप्रति अनुदार रहँदै आएको थियो। संवैधानिक राजतन्त्र सहितको हिन्दू राष्ट्रलाई आफ्नो मुल एजेण्डा बनाएको राप्रपामा लिङ्देनको उदयले सोही विचारलाई नै प्रश्रय दिनेमा भने दुई मत छैन। उनी आफैँले हिन्दू राष्ट्र र राजतन्त्रको पुनर्स्थापनाको चर्चा गर्ने गरेका छन्।

राप्रपा नेता उज्जवल थापाले लिङ्देन नेतृत्वमा राप्रपाका लागि धेरै हिसाबले महत्त्वपुर्ण साबित हुने दाबी गर्छन्। उनी भन्छन्, “आजको समयमा देशभित्रको सबै समुदायलाई हामीले अपनत्व दिन सक्नुपर्छ, त्यो लिङ्देनले दिन सक्छन। एक त जनजाति समुदाय, त्यस पनि काठमाडौ बहिरको राजनीतिक स्कुलिङ। यो आफैँमा राप्रपाका लागी एउटा टर्निंग प्वाईन्ट हो।”

राजनीतिक विश्लेषक झलक सुवेदी पनि लिङ्देन अध्यक्षमा निर्वाचित भएमा राप्रपालाई लाग्दै आएको पूर्वपञ्चहरूको पार्टी भन्ने ट्यागबाट मुक्त हुने विश्लेषण गर्छन्।

“राष्ट्रिय स्तरका कुनै पनि पार्टीको नेतृत्वमा जनजाति समुदायको नेतृत्व हुने पहिलो पार्टी बन्न पुग्नेछ राप्रपा”, सुवेदी भन्छन्, “यसले गैर क्षेत्रीहरूबाट पनि नेतृत्व लिन सकिने सन्देश प्रवाह हुन्छ। साथै राप्रपाप्रति नयाँ पुस्ताको आकर्षण बढ्न सक्नेछ।”

शीर्षकै समर्थन

राप्रपाका शीर्ष तहका नेताहरूबीचको विवादले पनि लिङ्देनलाई अध्यक्षको बलियो दाबेदार बनाएको छ। भिन्दाभिन्दै रहेका तीनवटा राप्रपाको ०७६ फागुनमा भएको एकीकरणलाई वैधता प्रदान गर्ने महाधिवेशन हो यो।

एकीकरणदेखि राप्रपा तीन अध्यक्षीय प्रणालीमा गएको थियो। पशुपति शमशेर, प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त नेतृत्व गरिरहेका थिए। तर उनीहरूबीच शुरुदेखि नै मतो नमिल्ने विश्लेषकहरू बताउँछन्। एकीकरण भएदेखि नै राणा र लोहनी थापाको विरुद्धमा देखिएका थिए। आफ्नो उमेरले साथ नदिने भएपछि उनीहरूले लिङ्देनको उदय गराएको विश्लेषण गरिन्छ।

महाधिवेशन उद्घाटनअघि नै प्रकाशचन्द्र लोहनीले सार्वजनिक रूपमै लिङ्देनलाई आफ्नो समर्थन रहेको घोषणा गरेका थिए। राणाले भने तटस्थ रहने बताइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved