२ नम्बरबाहेकका प्रदेशमा कांग्रेसको मनोनयन शुरु, भोलि मतदान हुने

१२ मंसीरमा सर्लाहीको बलरा नगरपालिका-९ अचलगढमा कांग्रेसको वडा अधिवेशनस्थलमा गोली चलेपछि अधिवेशन सम्पन्न नहुँदा महाधिवेशनअन्तर्गत प्रादेशिक निर्वाचन हुन नसकेको हो।

नेपालभ्युज

२ नम्बरबाहेकका प्रदेशमा कांग्रेसको मनोनयन शुरु, भोलि मतदान हुने

कठमाडौं। १४ औँ महाधिवेशनअन्तर्गत नेपाली कांग्रेसको प्रादेशिक निर्वाचनका लागि आज ६ प्रदेशमा मनोनयन दर्ता शुरु भएको छ। शनिबार विहान ८ बजेदेखि निर्वाचन शुरु गर्ने कार्यतालिकाअनुसार मनोनयन दर्ता शुरु भएको हो।

प्रादेशिक निर्वाचन अन्तर्गत २ नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ भने शनिबार निर्वाचनको तयारी गरिएको छ। १२ मंसीरमा सर्लाहीको बलरा नगरपालिका-९ अचलगढमा कांग्रेसको वडा अधिवेशनस्थलमा गोली चलेपछि अधिवेशन सम्पन्न नहुँदा महाधिवेशनअन्तर्गत प्रादेशिक निर्वाचन हुन नसकेको हो।

प्रादेशिक निर्वाचन अन्तर्गत सबै स्थानमा सर्वसम्मतमा नेतृत्व चयनका लागि प्रयास भएको थियो। सर्वसम्मतको प्रयास सफल नभएपछि निर्वाचनमा जान लागिएको हो।

प्रादेशिक कार्यसमितिका लागि हुन लागेको नयाँ नेतृत्वको निर्वाचनमा बागमती प्रदेशमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ। हेटौँडामा हुने प्रदेश अधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष प्यानलमा प्रतिस्पर्धा हुने भएको हो।

प्रदेश सभापतिका लागि देउवा पक्षबाट इन्द्र बानियाँ, पौडेल पक्षबाट जगदीश्वर नरसिंह केसी र सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दिएका छन्। बानियाँ पूर्व गृह राज्यमन्त्री हुन् भने हाल उनी बागमती प्रदेशसभामा कांग्रेसको संसदीय दलको नेता हुन्।

पौडेल पक्षबाट बागमती प्रदेश सभापतिको आकांक्षी केसी यसअघि नुवाकोटमा लामो समयदेखि कांग्रेसको जिल्ला सभापतिको भूमिकामा रही सकेका व्यक्ति हुन्। सिटौला पक्षमा प्रधान यसअघि पूर्वरक्षामन्त्री हुन्।

बागमती प्रदेशमा त्रिपक्षीय ‘ह्यावी वेट’ प्रतिस्पर्धा हुने देखिएको छ। बानियाँको प्यानलबाट बागमती प्रदेशको उपसभापति पदमा प्रतिस्पर्धा गर्ने धर्मराज गौतम आफ्नो पक्षले निर्वाचन जित्ने दाबी गर्छन्। भन्छन्, “कांग्रेसको राजनीतिमा पछिल्लो समय युवा पुस्ताको उपस्थिति बलियो देखिए पनि अघिल्लो पिढीको महत्व अझै देखिएका कारण हाम्रो प्यानलको जित सुनिश्चित छ।”

तीनै पक्षले हालसम्म आफ्नो पक्षबाट को–को उम्मेदवार कुन पदमा निर्वाचनमा प्रतिस्पर्धा गर्छन् सो विषयमा जानकारी भने सार्वजनिक गरेको छैन। आज उम्मेदवारी दर्ताको समयसम्म सबै पक्षले आफ्नो पक्षका उम्मेदवार घोषणा गर्ने बताएका छन्।

सिटौला पक्ष बागमतीमा प्रतिस्पर्धामा उत्रिए पनि १ नम्बर प्रदेशमा देउवालाई सहयोग गर्ने भएको छ।

पौडेल पक्षबाट बागमती प्रदेश सभापतिको उम्मेदवार केसीले भने, “कांग्रेसमा केन्द्रदेखि जिल्लासम्म माहोल हाम्रो पक्षमा रहेका कारण जित हाम्रै हुनेछ।”

प्रदेशमा कांग्रेसले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरुका लागि निर्वाचन गर्दैछ।
प्रदेशस्तरीय कार्यसमिति चयनका लागि हुन लागेको अधिवेशनमा प्रदेशसभा निर्वाचनबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधि, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशभित्रका निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय कार्यसमितिका सदस्य प्रतिनिधि हुन्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved