फुटबललाई किन खेलको राजा मानिन्छ ?

आजको दुनियाँमा सबैभन्दा धेरै खेलिने, सबैभन्दा धेरै हेरिने, सबैभन्दा धेरै चासो दिइने खेलका रुपमा फुटबल प्रख्यात छ। यस खेलसँग मानिसको प्रेम झल्काउनेगरी धेरै साहित्य, सिनेमा र गीतहरु बनेका छन्। चर्चित गायक बब मार्लीकै भाषामा फुटबल पूरै ब्रम्हाण्डको स्वतन्त्रता हो।

फुटबललाई किन खेलको राजा मानिन्छ ?

काठमाडौं। आधुनिक फुटबलको शुरुवात १९ औँ शताब्दीमा बेलायतबाट भएको थियो। त्यसैले, बेलायतलाई ‘फुटबलको जननी’ भनिन्छ। यस अवधिमा यहाँ धेरै फुटबल क्लबहरु सक्रिय भइसकेका थिए।

सन् १९८३ मा बेलायतमा फुटबल संघको गठन गरियो। यसले खेलका नियमहरु तय गर्‍यो अनि देशका विभिन्न क्षेत्रीय फुटबल क्लबहरुलाई जम्मा गरेर पहिलो प्रतियोगिता सञ्चालन गर्यो।

सन् १९०४ मा फ्रान्समा विश्व फुटबल महासंघ (फिफा) गठन भयो। १९३० मा फिफाले विश्वकपको आयोजना गर्न थाल्यो। यसपछि फुटबलको क्रेज निरन्तर बढ्दै गयो।

आजको दुनियाँमा सबैभन्दा धेरै खेलिने, सबैभन्दा धेरै हेरिने, सबैभन्दा धेरै चासो दिइने खेलका रुपमा फुटबल प्रख्यात छ। यस खेलसँग मानिसको प्रेम झल्काउनेगरी धेरै साहित्य, सिनेमा र गीतहरु बनेका छन्। चर्चित गायक बब मार्लीकै भाषामा फुटबल पूरै ब्रम्हाण्डको स्वतन्त्रता हो।

बिर्सन नसकिने पक्ष, आधुनिक फुटबल शुरु हुनभन्दा शताब्दीऔंअघि नै यस खेलको अवधारणा तयार भइसकेको थियो भन्ने हो । चीनमा (ईसापूर्वको दोस्रो वा तेस्रो शताब्दीदेखि नै) गोलाकार वस्तुलाई लात्तीले हानेर खेल्ने खेल विकास भइसकेको इतिहासकारहरु बताउँछन्।

गोलाकार वस्तु सहजै पाइने र लात्ताले हानेर खेल्दा रोमान्चक पनि हुने भएकाले फरक नियम र फरक संस्कारसहित दुनियाँका धेरै कुनामा फुटबलजस्तै खेल खेलिएको हुनसक्ने इतिहासकारहरुको ठम्याई छ।

विश्वकपले बनायो प्रख्यात

अब, आधुनिक फुटबलमै फर्कौं। पहिलो विश्वकप आयोजना भएपछि यस खेलको लोकप्रियता विश्वव्यापी रुपमा बढ्यो। एकै नियम, उस्तै लय र उस्तै उर्जाका साथ यसलाई अहिले विश्वका दुई सयभन्दा बढी देशमा २६ करोड ५० लाखभन्दा धेरै मानिसले खेल्छन्।

झन्डै ३ अर्ब ५0 करोडभन्दा धेरै मानिसले आफूलाई फुटबलको फ्यान मान्ने गरेको फिफाको अनुमान छ। विश्वकै सबैभन्दा लोकप्रिय खेल भएकैले यसलाई ‘खेलहरुको पनि राजा’ मानिन्छ। फुटबल विश्वव्यापी फैलनुका केही कारणहरु यसप्रकार छन्।

सरल खेल

भनिन्छ, सरलतामा नै सुन्दरता झल्कन्छ। फुटबल खेलको प्रमुख विशेषता नै यसको सरलता हो। निकै सरल र साधारण खेलमा पर्छ फुटबल, त्यसैले धेरै मानिसले यसलाई मन पराउँछन्। बुझ्न सहज भएकाले पनि फरक–फरक भूगोल, फरक भाषा र संस्कारका मानिसहरुले यस खेलमा अपनत्व देखे।

सस्तो खेल

अन्य खेलमा जस्तो फुटबलमा महंगा सामान जरुरी पर्दैन, एउटा भकुण्डो भए खेल शुरु गर्न सकिन्छ। भकुन्डो किन्ने पैसाको अभाव भएमा भोगटेजस्ता फलफूल वा मोजा, कपडालगायतलाई डल्लो बनाएर पनि खेल्न सकिन्छ।

स्मरण रहोस्ः विश्वविख्यात फुटबलर पेले पनि बाल्यकालमा मोजाकै डल्लो बनाएर फुटबल खेल्थें। पेलेजस्ता हस्तीसँग मात्रै होइन, धेरै आम मानिसहरुसँग पनि बाल्यकालमा यसरी फुटबल खेलेको अनुभव छ।

सहज पहुँच

साधारण खेल भएकाले फुटबल जसले जहाँ पनि खेल्न सक्छ। बच्चादेखि बृद्धसम्म र महिलाले पनि यस खेलमा चासो दिन्छन्। ५४ वर्षको उमेरमा पनि जापानिज लिगमा व्यवसायिक फुटबल खेलिरहेका जापानका काजुयोसी म्यूरा फुटबलमा उमेरको हदबन्दी हुँदैन भन्ने उदाहरण हुन्।

शारीरिक अभ्यास र प्रेरणा
व्यवसायिक खेलबाहेक दैनिक शरीरिक अभ्यासको लागि पनि यो राम्रो खेल हो। फुटबल खेल्दा मानिसले औसत ५ देखि ७ माइलसम्म दौडने गर्छ, यसले कार्डियोभास्कुलर हेल्थलाई राम्रो बनाउँछ।

फुटबल खेल्दा हाड बलियो हुन्छ। त्यस्तै, मसल्स टोनिङ र शरीरको फ्याट कम गर्नसमेत यो खेल उपयोगी हुन्छ। यो खेल खेल्दा मस्तिष्कले निकै तीव्र गतिमा काम गर्छ। शरीर र मस्तिस्कबीचको सन्तुलनलाई अब्बल बनाउन पनि यो खेलको भूमिका महत्वपूर्ण रहन्छ।

यस खेलले मानिसभित्र लुकेको विजेता बन्ने आकांक्षालाई प्रकट गराइदिन्छ। त्यतिमात्र होइन, हारलाई स्वीकार्ने स्वभाव पनि विकास गराइदिन्छ। त्यहीकारण मानसिक स्वास्थ र सुदृढीकरणका लागि पनि फुटबल महत्वपूर्ण छ।

शारीरिक\मानसिक अभ्यास र मनोरञ्जन एकैपटक हुने भएकाले पनि धेरैको चासो यस खेलमा जोडिन्छ। फुटबल खेलमा प्रत्येक टोलीमा ११–११ जना खेलाडी मैदानमा रहने व्यवस्था भएपनि व्यवहारिक रुपमा यति धेरै मानिस जम्मा गर्न कठिन पनि हुनसक्छ।

त्यसैले, कम खेलाडी र कम क्षेत्रफलमै खेल्न सकिने फुटसल, बिच फुटबललगायत विकल्पहरु पनि छन्।

गोलको लक्ष्य
फुटबलको सर्वव्यापी सिद्धान्तलाई एउटै शब्दले व्याख्या गर्छ : गोल। बस, विपक्षीको पोष्टमा उसले भन्दा धेरै गोल गर्नुस्, खेल तपाईले जित्नुहुन्छ। गोलको यो सामान्य सिद्धान्त फुटबलको संविधान सरह हो ।

बाँकी सबै साना–तिना प्रावधान त यही गोलको सिद्धान्त वरपर घुम्ने ऐन, नियम न हुन्, जो समयअनुसार थपिने र परिवर्तन हुने भइरहन्छ।
आफूले गोल गर्ने र विपक्षी टिमलाई गोल गर्न नदिने सामान्य नियम बुझेका भरमै मानिसहरुले विश्वकप र ठूला–ठूला प्रतियोगिता हेरेर मज्जा लिनसक्छन्।

जबकी गल्फ, क्रिकेट, टेनिसजस्ता खेलको स्कोर बुझ्न धेरै नियमहरुबारे जानकारी राख्नुपर्ने हुन्छ।

लोकप्रिय खेल

बाल्यकालमा कम से कम एक पटक बललाई खुट्टाले नहानेकाहरु कमै होलान्। त्यही सानो बेलामा खेलेको सानो बल (चाहे त्यो प्लाष्टिकको होस्, रबरको होस् या आफैले बनाएको झुम्राको किन नहोस्)  फुटबलको संस्कार बसाल्ने जग बनिदिन्छ।

यो खेल समूहमा खेलिन्छ, मिलेर बस्दा जितिन्छ भन्‍ने यसले सिकाएको छ।  समूहमै रहेर कला र क्षमता अभिव्यक्त गर्ने ठूलो मौका व्यक्तिलाई मिलिरहेको हुन्छ। पेलेदेखि रोनाल्डोसम्म, म्याराडोनादेखि मेस्सीसम्मले समूहमै खेलेर आफ्नो पृथक शैलीलाई स्थापित गराएका छन् र विश्वकै महान् फुटबलरको उपमासमेत पाएका छन्।

व्यक्तिगत कलाको फ्युजन गर्दै समूहमा खेलिने भएकाले नै फुटबल लोकप्रिय र रोमान्चक बन्यो।

र, ठूलो ‘फ्यान फलोइङ’

विश्वभर तीन अर्ब ५० करोडभन्दा धेरै मानिसहरु फुटबलको फ्यान रहेको फिफाको अनुमान छ। फुटबलको लोकप्रियतालाई फैलाउन क्लब फुटबल र त्यसलाई पछ्याउने फ्यानहरुको भूमिका पनि ठूलो छ।

विशेषगरी, विश्वभरका मानिसले युरोपेली क्लबहरुको फलो गर्ने गरेका छन्। यी क्लबबाट खेल्ने युरोपेली, अफ्रिकी, एशियाली र दक्षिण अमेरिकी खेलाडीहरु सधैं चर्चामा रहने गरेका छन्।

ब्राजिल, अर्जेन्टिना र उरुग्वेजस्ता दक्षिण अमेरिकी देशले पनि फुटबलको साख टिकाइराख्न महत्वपूर्ण भूमिका खेलेका छन्। त्यसैले, विश्वकपसँगै युरोकप, दक्षिण अमेरिकी देशहरुको प्रतिस्पर्धा कोपा अमेरिका र अन्य क्लब प्रतियोगिताहरु हेर्ने फुटबल पारखीको संख्या ठूलो छ।

क्लबको होस् या देशको, ठूला म्याच हुने दिनमा विश्वको कुना कन्दारामा टीभी सेट अगाडि रहेका लाखौं दर्शकमा फुटबल मैदानमा प्रत्यक्ष उभिएजस्तै जोश हुन्छ। त्यो दर्शकको संख्या र त्यो जोशले नै फुटबललाई खेलहरुको राजा बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved