बुद्धकालीन शिक्षा उच्च तहसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्छ : राष्ट्रपति

जमिनमुनि दबिएका पुरातात्विक तथा सांस्कृतिक महत्वका वस्तुहरू अझैंसम्म फेला परिरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तिनको अन्वेषणमा सम्बन्धित निकायले ध्यान पुर्‍याउनुपर्ने बताइन्।

नेपालभ्युज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई उच्च तह सम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएकी छन्।

बिहीबार लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सव एवम् केन्द्रीय पुस्तकालय भवन उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताइन्।

देशभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्विक, सांस्कृतिक सम्पदाको उत्खनन्, संरक्षण र सम्बर्द्धनमा अग्रसर हुनुपर्ने पनि उनको भनाइ थियो। जमिनमुनि दबिएका पुरातात्विक तथा सांस्कृतिक महत्वका वस्तुहरू अझैंसम्म फेला परिरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तिनको अन्वेषणमा सम्बन्धित निकायले ध्यान पुर्‍याउनुपर्ने बताइन्।

‘‘विशेषरूपमा कपिलवस्तु, रुपन्देही र नवलपरासी तथा देशैभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्विक, सांस्कृतिक सम्पदाको उत्खनन्, संरक्षण तथा सम्बर्द्धन गर्न अग्रसर हुनुपर्दछ,” उनले भनिन्, ‘‘लुम्बिनी क्षेत्रमा जमिनमुनि दबिएका कतिपय पुरातात्विक, सांस्कृतिक महत्वका वस्तुहरू अझैसम्म फेला परिरहेकाले तिनको थप अन्वेषणमा सम्वद्ध निकायले ध्यान पुर्‍याउनुपर्दछ।’’

लुम्बिनी विकास गुरुयोजना चाँडैं कार्यान्वयन हुन सकेमा लुम्बिनी उत्कृष्ट अन्तर्राष्ट्रिय, सांस्कृतिक पर्यटकीय स्थल बनेर देशकै अर्थतन्त्रमा टेवा पुग्ने उनले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved