कांग्रेसको प्रदेश अधिवेशन : प्रदेश २ मा चारजना सभापतिको दौडमा

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रदेश–१ को अधिवेशन विराटनगरमा, प्रदेश–२ को जनकपुरमा, बाग्मतीको हेटौँडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको अधिवेशन धनगढीमा हुनेछ।

कांग्रेसको प्रदेश अधिवेशन : प्रदेश २ मा चारजना सभापतिको दौडमा

जनकपुरधाम। नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजबाट सातवटै प्रदेशमा एकसाथ शुरु हुँदैछ। पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो दुई बजे अधिवेशनको भर्चुअल्ली उद्घाटन गर्ने कार्यक्रम छ।

महाधिवेशन कार्यतालिका अनुसार आज अधिवेशन उद्घाटन र भोलिदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रदेश–१ को अधिवेशन विराटनगरमा, प्रदेश–२ को जनकपुरमा, बाग्मतीको हेटौँडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको अधिवेशन धनगढीमा हुनेछ।

प्रदेश अधिवेशनका लागि तीन-तीन जनाका दरले २१ जना अधिकृत तोकिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । बुधवार सम्ममा कांग्रेसका ६१ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेतृत्व चयन भएकामध्ये ३२ जिल्लामा संस्थापन पक्षका सभापति चयन भएका छन्। २७ जिल्लामा रामचन्द्र पौडेल समूह र दुई जिल्लामा नेता कृष्णप्रसाद सिटौला पक्षका सभापति चयन भएका छन्।

यी जिल्लामा अधिवेशन हुन बाँकी

प्रदेश दुईका आठ जिल्लामध्ये कुनैमा पनि जिल्ला अधिवेशन भएको छैन।  यसबाहेक चितवन, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नवलपरासी पूर्व, बाँके, कैलाली र अछाममा पनि जिल्ला अधिवेशन हुनसकेन। तर, यी जिल्लामा पनि प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको चयन भने भइसकेको छ।

प्रदेश २ मा सभापतिको ४ जना आकांक्षी

प्रदेश अधिवेशनका लागि जनकपुरधामस्थित तिरहुतीय गाछीमा सम्पूर्ण तयारी पूरा गरिएको छ। प्रदेश अधिवेशनको उद्घाटन बिहिबार भएपनि बन्दशत्र तथा निर्वाचनका कार्यक्रमहरु १७ र १८ मंसिरमा हुने तय छ।

प्रदेशमा वडा अधिवेशन, नगर अधिवेशन र क्षेत्रीय अधिवेशन सम्पन्‍न भएलगत्तै नेपाली कांग्रेस प्रदेश २ को प्रदेश अधिवेशन हुन लागेको हो।

प्रदेश २ को सभापतिमा प्रदेश २ काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, सप्तरी जिल्ला सभापति दिनेश यादव, महोत्तरी जिल्ला सभापति महेन्द्र राय यादव र रौतहटका सभापति कृष्णा यादव आकांक्षी छन्।

रामसरोज, दिनेश यादव र कृष्णा यादव कांग्रेस उपसभापति विमलेन्द्र निधि पक्षधर र  महेन्द्र राय यादव संस्थापन पक्षधर हुन्।

सभापतिका उम्मेदवार रामसरोज यादव प्रदेश २ का भैतिक पूर्वाधार विकासमन्त्री समेत हुन्। २०२९ सालमा विद्यार्थीकालदेखि नै उनले राजनीति सुरु गरेका थिए।

उनी ०४९ सालमा जिल्ला विकास समितिको सभापति समेत भएका थिए । उनले आफु पार्टी सभापतिमा विजयी भए प्रदेश २ मा कांग्रेसलाई पहिलो नम्बरको दल बनाउने दाबी गरेका छन्।

महोत्तरी जिल्ला सभापति महेन्द्र राय २०२९ सालदेखि कांग्रेसमा सक्रिय छन्।  बहुदलीय व्यवस्थाका लागि नेपाली कांग्रेसले अन्दोलन गरिरहेको बेला उनले कांग्रेस नेता सरोज कोइरालाको हातबाट भारतको मधुवनीमा पार्टी सदस्यता लिएका थिए।

२०३५ सालमा उनी महोत्तरीको जिल्ला सदस्यमा चुनिएका थिए। २०५६ सालमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४बाट प्रतिनिधिसभा सदस्यमा चुनिएर उद्योग वाणिज्य तथा आपूर्ती सहायक मन्त्री बनेका थिए।

रौतहट जिल्लाका सभापति कृष्णा यादव समेत प्रदेश २ को सभापतिका लागि तयारी गरिरहेका छन्। कृष्णा नेपाली कांग्रेसका उपसभापति निधि नजिकका नेता हुन्।

२०४२ सालबाट नेपाली कांग्रेसमा लागेका कृष्णाले दुईपटक रौतहट जिल्लाको नेतृत्व गरिसकेका छन्। उनी २०६४ सालमा रौतहटबाट संविधानसभा सदस्य चुनिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved