एकता महाधिवेशन

तीन अध्यक्षको मतैक्यः राप्रपालाई एकतावद्ध बनाएर लैजानुको विकल्प छैन

फुटेका राप्रपाहरु फेरि जोडिएपछि हुन लागेको पहिलो महाधिवेशनको उद्घाटनसत्रमा बोल्ने क्रममा पार्टीका तीनै अध्यक्ष कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले अब पार्टीमा फुट नहुने र एकतावद्ध बनाएर अघि लैजानुको विकल्प नभएको बताए।

नेपालभ्युज

तीन अध्यक्षको मतैक्यः राप्रपालाई एकतावद्ध बनाएर लैजानुको विकल्प छैन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन हिजो बुधबारदेखि काठमाडौंमा शुरु भएको छ। भोलिसम्मका लागि निर्धारण गरिएको महाधिवेशनबाट नयाँ नेतृत्व भयन हुँदैछ।

फुटेका राप्रपाहरु फेरि जोडिएपछि हुन लागेको पहिलो महाधिवेशनको उद्घाटनसत्रमा बोल्ने क्रममा पार्टीका तीनै अध्यक्ष कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले अब पार्टीमा फुट नहुने र एकतावद्ध बनाएर अघि लैजानुको विकल्प नभएको बताए।

उद्घाटनसत्रमा बोल्नेक्रममा पार्टीमा बलियो एकता र फुटविरोधी मन्तव्यमा तीनै अध्यक्षको मतैक्य देखियो। तीनै अध्यक्षले आगामी दिनमा राप्रपामा फुट आउन नदिने प्रतिवद्धता पनि जनाए।

अध्यक्षत्रय थापा, राणा र लोहनीले पार्टीको बृहत्तर हितका लागि आफूहरु त्याग गर्न पनि तयार रहेको बताए। अध्यक्ष मध्येका एक कमल थापाले महाधिवेशनबाट पार्टीलाई एकतावद्ध बनाउने प्रतिज्ञा गर्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे।

थापाले नेतृत्व चयन सकेसम्म सर्वसम्मत हुने, नभए लोकतान्त्रिक विधि र प्रक्रियालाई मानेर अघि बढ्ने स्पष्ट पारे।

“यथासम्भव सर्वसम्मतीको आधारमा नेतृत्व चयन गर्ने हामीले प्रयास गर्नु पर्दछ”, थापाले भने, “कथमकदाचित सहमतिबाट हामीले नेतृत्व छनौट गर्न सकेनौँ भने पनि प्रजातान्त्रिक अभ्यास र विधिबाट नेतृत्व छानेर पार्टीलाई आगामी दिनमा एकतावद्ध ढंगबाट अघि बढाउने प्रतिज्ञा तपाई÷हामी सबैले गर्नु पर्दछ ।”

अर्का अध्यक्ष राणाले पार्टी एकतामा खतरा उत्पन्न हुन नदिन आफूले अध्यक्षमा दाबी नगर्ने निर्णय लिएको बताए। उनले अध्यक्षमा आफू विजय हुनेभन्दा पनि पार्टीलाई एकतावद्ध बनाउने कुरालाई आफूले प्राथमिकता दिएको बताए।

“मैले अहिलेको अवस्थामा पार्टीको बृहत्तर हित र एकताका लागि आफ्नो दाबी छोड्नुपर्छ भन्ने टुंगोमा पुगेँ । त्यो टुंगोमा पुग्दा धेरै साथीहरुले अत्यन्त चित्त दुखाए”, अध्यक्ष राणाले भने, “तर मैले आफू विजयी हुने भन्दा पनि पार्टीलाई एकतावद्ध राखेर अघि बढनुपर्ने अवस्थालाई प्राथमिकता दिएर आफूले अध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हुँ ।”

पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूले नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव अघि सारेको अर्का अध्यक्ष डा. लोहनीले बताए। डा. लोहनीले अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा यसअघि नै गरिसकेका छन्।

पार्टीमा नयाँ युगको शुरुवात महाधिवेशनले गर्ने भन्दै लोहनीले पार्टी फुट्ला कि भनेर चिन्ता नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे।

“तपाईहरुले पार्टी फुटलाकि भन्ने चिन्ता नगर्नुस्, पार्टीमा फुट हुँदैन । अब पार्टीलाई एकतावद्ध बनाएर लैजानुको विकल्प छैन”, डा. लोहनीले भने, “त्यही काममा हामी लाग्नेछौँ। नेतालाई सम्मान, कार्यकर्तालाई माया गरेर मात्रै पार्टीले मुलुकलाई निकास दिन सक्नेछ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved